नेपाल मौसम: फेरि पानी पर्ने पूर्वानुमान, यसपालिको हिउँदे झरी र हिमपातका तीन रोचक पक्ष

बैतडीमा जमेको हिउँ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बैतडीमा जमेको हिउँ

देशका केही भागमा बुधवार दिउँसोदेखि फेरि वर्षा र हिमपात हुनसक्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ।

गत साता मात्र हिउँदे वर्षा र हिमपात देखा परेर यो साताको सुरुदेखि मौसममा केही सुधार भएको थियो।

तर अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले पुन: मौसममा आंशिकदेखि सामान्यसम्म बदली हुने देखिएको विभागको पूर्वानुमान छ।

मौसमविद्‌हरूका भनाइमा यसपालिको मौसम बदली कम्तीमा दुई दिनसम्म जारी रहने र त्यस अवधिमा हल्कादेखि मध्यमसम्म वर्षा र हिमपातको सम्भावना देखिन्छ।

नेपालमा धेरै वर्षपछि हिउँद महिनामा यसरी हल्का तथा मध्यम वर्षा र हिमपात भइरहने अवस्था आएको उनीहरूले बताए।

त्यसका विभिन्न कारणहरू रहेको र त्यसमध्ये जलवायु परिवर्तन पनि एउटा हुनसक्ने कतिपय विज्ञको धारणा छ।

विभागको पूर्वानुमान

विभागले बुधवार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको रहेको र वाग्मती तथा प्रदेश-१ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ।

त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

केही दिनदेखि खुलेको मौसम फेरि बदली हुने पूर्वानुमान गरिएको छ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, केही दिनदेखि खुलेको मौसम फेरि बदली हुने पूर्वानुमान गरिएको छ

बुधवार राति पनि उक्त अवस्था कायम रहने अनुमान छ।

त्यस्तै बिहीवार पहाडी क्षेत्रमा आंशिक बदली रहने र प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।

शुक्रवार भने प्रदेश-१, मधेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने विभागको पूर्वानुमान छ।

यस वर्षको हिउँदे मौसमका रोचक पक्ष

मौसमविद्‌हरूका भनाइमा यस वर्षको हिउँदे मौसमका विभिन्न रोचक पक्षहरू देखिएका छन्।

पहिले गरिएका कतिपय पूर्वानुमानमा यस वर्षको हिउँदे याम सुक्खा हुने ठानिएको थियो। तर त्यस विपरीत हिउँदे मौसममा वर्षा र हिमपात धेरै भएको पाइएको छ।

त्यसको यकिन कारणबारे "थप अनुसन्धान" आवश्यक पर्ने कतिपयको भनाइ छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, हिमपहिरो आएको मुस्ताङको गाउँमा स्थानीयवासी अझै भयभीत

मौसमविद्, बाली वैज्ञानिक र जलवायुबारे जानकारसँगको कुराकानीमा यसपालिको हिउँदे मौसमबारेका तीन रोचक कुरा:

१. मनसुनदेखि जारी वर्षाको शृङ्खला

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखास्थित वरिष्ठ मौसमविद्‌ प्रतिभा मानन्धरका भनाइमा यस वर्ष मनसुनयता पनि सानै भए पनि वर्षा जारी छ र त्यसको शृङ्खला खासै टुटेको छैन।

उनले भनिन्, "मनसुनमा वर्षा भएयता नोभेम्बर महिनामा मात्रै वर्षा भएन। नभए मनसुनपछि पनि वर्षा भएकै छ। यस्ता कुरामा विश्वव्यापी मौसमसम्बन्धी गतिविधिको असर परेको हुन्छ।"

उनी त्यसको कारण धेरै हुनसक्ने र एउटा मात्र कुराले प्रभाव पारेको नहुन सक्ने बताउँछिन्।

त्यसमध्ये एउटा रोचक पक्षबारे उनले केही वर्षअघिको एउटा विश्लेषण उल्लेख गर्दै उनले भनिन्, "जुन साल चाहिँ मनसुन अलिकति राम्रो हुन्थ्यो, त्यो साल पछाडि पनि वर्षा राम्रो भइराख्थ्यो।"

उनले यसपालि पनि मनसुनका बेला बढी पानी परेकाले हिउँदमा समेत पानी धेरै परेको देखिएको बताइन्।

२. हिउँदे वर्षा प्रि-मनसुनसम्म जोडिन सक्ने

मौसमविद्हरूका अनुमानमा यसपालिको अवस्था हेर्दा हिउँदमा जारी वर्ष मनसुनपूर्व हुने वर्षासम्म जोडिन सक्ने देखिएको छ।

तर त्यसबारे थप विश्लेषण आवश्यक पर्ने उनीहरू बताउँछन्।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभाग केन्द्रीय विभागकी उप-प्राध्यापक एरिना स्थापित पनि त्यस्तो अनुमान गर्न सकिने बताउँछिन्।

उनले भनिन्, "प्रि-मनसुन सुरु सुरु हुन लागेको अवस्था यसपछि नै आउँछ, यो जोडिन पनि सक्छ।"

मनाङमा चौँरीगाई

तस्बिर स्रोत, RSS

"तर त्यसका लागि पूरै पूर्वानुमानको अवस्थालाई विस्तृतमा हेर्नुपर्ने हुन्छ।"

उनले जलवायु परिवर्तनको असरका कारणले हिउँदमा नेपालमा धेरै पानी पर्ने र हिमपात हुने अवस्था आएको हुनसक्ने बताइन्।

तर त्यसका लागि निश्चित स्थानलाई केन्द्रमा राखेर व्यापक अनुसान्धानको आवश्यकता पर्ने स्थापितको भनाइ छ।

वरिष्ठ मौसमविद्‌ मानन्धर पनि प्रि-मनसुनसम्म लगातार यस्तै वर्षाहरूले निरन्तरता पाउने जस्तो देखिएको बताउँछिन्।

उनले भनिन्, "अब यसपालि प्रि-मनसुनसम्म पनि … क्रमिक रूपमा वर्ष भइराख्ने जस्तो देखियो।"

उनी प्रि-मनसुनका बेलामा धेरै पानी पर्ने अवस्था आएमा त्यसले चट्याङ पर्ने सम्भावना पनि बढाउने बताउँछिन्।

तर त्यसबारे विभागले विस्तृत विश्लेषण गरेर प्रि-मनसुन अगाडि त्यसको विवरण दिने उनको भनाइ छ।

३. हिउँदे बालीको उत्पादकत्वमा वृद्धि हुनसक्ने

यसपालिको मौसमी गतिविधिका कारण हिउँदमा लगाइने बाली सप्रिने र उत्पादकत्व बढ्ने सम्भावना देखिएको बाली विज्ञहरूको भनाइ छ।

त्यस्तै मध्येका एक कृषि तथा वन विज्ञान विश्वविद्यालयको बाली विज्ञान विभागका प्रमुख सहप्राध्यापक सन्तोष मरहट्ठा भन्छन्, "यसपालिको हिउँदे वर्षा र हिमपात बालीका लागि खराब भन्दा फाइदाजनक नै हुने देखिएको छ।"

गहुँबारीमा हिमपात

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, गहुँबारीमा हिमपात

उनका भनाइमा अहिले गहुँ र मुसुरो बालीका लागि एकदमै उपयुक्त समयमा वर्षा भएको छ।

त्यसले गर्दा ती बालीको उत्पादकत्व बढ्ने सम्भावना देखिन्छ।

त्यस्तै तोरी फूल फुल्ने अवस्थामा भए पनि वर्षाले त्यसलाई खासै प्रभाव नपार्ने देखिएको उनी बताउँछन्।

उनले भने, "अहिलेकै अवस्था मात्र हेरेर सबै कुरा त भन्न सकिँदैन। पछि गएर एकदमै तातो हावा चल्ने भयो भने गहुँको उत्पादनमा असर पर्न सक्छ।"

"तर पोहोरको भन्दा चाहिँ उत्पदकत्व बढ्न यो पानीको राम्रै असर पर्छ!"

औसतभन्दा बढी वर्षा

यसपालि हिउँदको एक महिना बाँकी छँदै यो याममा औसतभन्दा धेरै पानी पर्ने स्पष्ट भइसकेको अधिकारीहरूले बताएका छन्।

गत वर्ष नेपालमा हिउँद याममा हुने औसत झन्डै ६० मिलिमिटर वर्षाको एक चौथाइ मात्र पानी परेको थियो।

तथ्याङ्कमा नेपाली हिउँद अवधिको औसत वर्षा।

जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूका अनुसार सन् २००७ यता पाँच वटा वर्षका हिउँदमा मात्र नेपालमा सरदरभन्दा धेरै वर्षा भएको छ।

नेपालमा विगत कैयौँ वर्ष हिउँदमा राम्ररी पानी पर्न नसकेको हुनाले सुक्खा भएको स्मरण गर्दै विज्ञहरूले यसपालिको हिउँदे वर्षालाई "सुखद" मानेका छन्।

सोह्र वर्षअगाडि २०६२ सालमा हिउँदमा निकै कम अर्थात् औसत ७.१ मिलिमिटर पानी परेको सरकारी विवरण छ।

नेपालमा विगत ३० वर्षमा भएको हिउँदे वर्षाको औसतलाई आधार मानेर प्रत्येक वर्ष जाडो याममा हुने वर्षालाई तुलना गरिन्छ।

अडिओ क्याप्शन सुरु हुँदैछ, मौसम पूर्वानुमानका चुनौती