नेपाल मौसमः कतै हिमपहिरो कतै सडक बन्द, अब कस्तो होला मौसम

तस्बिर स्रोत, RSS
गत मङ्गलवार मनाङको नासोँ गाउँपालिका-४ स्थित तप्की लेकमा हिमपहिरो गएको खबर गाउँपालिका अध्यक्ष चन्द्र घलेले पाए।
सुरुमा त जमेको हिउँ पग्लियो होला भन्ने ठानेका थिए। केही समयमा अर्को खबर पाएः हिमपहिरोमा परी एक जना स्थानीय बासिन्दा पनि बेपत्ता भएका छन्।
लेकमा रहेको गोठ सार्न त्यहाँ पुगेका थिए सोही वडाका ५२ वर्षीय आच्छु गुरुङ।
“बोल्न नसक्ने मानिस रहेछन्। हिमपहिरो गएको खबर आएपछि उनका परिवारले उनी त्यहीँ रहेको जानकारी दिए। हामीले तत्काल खोजी कार्य सञ्चालन गर्न कोसिस गर्यौँ। तर आजसम्म पनि हिमपहिरो जाने क्रम जारी छ,” घलेले बीबीसीसँग शुक्रवारभने।
बेपत्ता व्यक्तिको खोजी र उद्धारका लागि सुरक्षाकर्मी साथै स्थानीयवासीहरू तयारी अवस्थामा रहे पनि मौसम प्रतिकूल रहेको उनले बताए।
“मान्छे पुग्न सक्ने स्थिति छैन। हिउँ पग्लिरहेको छ। हिलो उस्तै छ,” नासोँ-४ का वडाध्यक्ष तर्कबहादुर गुरुङले जानकारी दिए।
उस्तै घटना म्याग्दीको धवलागिरी गाउँपालिका-१ मा पनि भयो।
करिब ३५ सय मिटरको उचाइमा रहेको गोठबाट तीनजना गोठालाले परिवारलाई आफूहरू अलपत्र परेको जानकारी दिए। साथै स्थानीय रामबहादुर छन्त्याल हिउँमा हराएको खबर पुर्याउन लगाए।
“त्यतिबेला गाउँमै करिब तीन फिट गहिरो हिउँ जमेको थियो। अडचनका बाबजुद तत्काल अवस्था अवलोकनका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन भयो,” वडाध्यक्ष झकबहादुर छन्त्यालले भने।
बिहीवार सेनाले उनीहरूका लागि आवश्यक खाद्यान्न र अन्य चार जना सहयोगी पुर्यायो। बेपत्ता मानिसको अवस्था शुक्रवारसम्म अज्ञात नै थियो।
“सेनाले ल्याएकोबाहेक थप खबर पाएका छैनौँ। हिमपात र वर्षाका कारण बिजुली पनि अवरुद्ध छ। गोठमा रहेकाहरूसँग सम्पर्क हुन सकेको छैन,” उनले भने,”मौसममा सुधार हुनासाथ अलपत्रको उद्धार र बेपत्ताको खोजी थाल्छौँ।”
वडाध्यक्ष छन्त्यालका अनुसार गुर्जा गाउँस्थित गोठ बस्ने लेक क्षेत्रमा छ महिना हिउँ रहन्छ। हरेक वर्ष हिउँ परेपछि खर्क बस्नेहरू बेसीमा आवतजावत गर्दैनन्।

तस्बिर स्रोत, RSS
अवरोध
यस साताको सुरुवातदेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपात र देशभरका अधिकांश स्थानमा पानी पर्यो।
त्यसबाट जनजीवन प्रभावित हुनुका साथै सडकदेखि सञ्चार समेत अवरुद्ध भए।
मङ्गलवार रातिदेखि भएको हिमपातका कारण दोलखाको कुरीमा विद्युतीय र सञ्चार सेवा अवरुद्ध भएको छ।
दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले समस्याबारे जानकारी पुष्टि गरे। “हालसम्म हिउँकै कारण त्यहाँ गएर मर्मत गर्न सम्भव भएको छैन,“ उनले भने।
वातावरण सहज हुनासाथ मर्मत सम्भारको काम हुने उनले बताए।
त्यस्तै बझाङ, बाजुरा र बैतडीका सडक हिमपात र वर्षाका कारण अवरुद्ध भएको विवरणहरू सार्वजनिक भएका थिए।

तस्बिर स्रोत, RSS
बझाङका प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरका अनुसार बैतडीतर्फबाट आउने सवारी साधनहरू दुई दिनसम्म जिल्लामा भित्रिन पाएनन्।
“शुक्रवारदेखि फाट्टफुट्ट आउन थालेका छन् तर हिलोका कारण अवस्था सहज भने बनेको छैन,” कुँवरले भने।

तस्बिर स्रोत, RSS
अधिकारीहरूले बेपत्ता मानिसको खोजीदेखि प्राविधिक समस्या समाधान मौसम सफा भएपछि सुरु गर्ने बताएका छन्।
तर मौसम पूर्वानुमान महाशाखाले भने केही दिन मौसममा पूर्ण रूपमा सुधार नदेखिने जनाएको छ।

तस्बिर स्रोत, RSS
“बिहीवारसम्म भएको हल्कादेखि मध्यम हिमपात र वर्षाको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव आगामी केही दिनसम्म रहन्छ। तत्काल मौसम सफा हुन्छ भन्न सकिँदैन,” वरिष्ठ मौसमविद् शान्ति कँडेलले बीबीसीसँग भनिन्।
शुक्रवार बिहानैदेखि पूर्वदेखि पश्चिमसम्मका तराई भूभागहरूमा बाक्लो हुस्सु र कुहिरो लाग्यो। त्यस्तै पहाडी भूभागहरूमा पनि मौसम आंशिक बद्लिएको र पूर्ण रूपमा सफा नभएको मौसमविद् कँडेलले बताइन्। त्यैले जाडो बढेको उनको भनाइ छ।
”आगामी केही दिनसम्म मौसमी अवस्था सामान्य देखिँदैन। यद्यपि जनजीवन नै प्रभावित हुने गरीदेशव्यापी वर्षा वा हिमपात चाहिँ हुँदैन।”

तस्बिर स्रोत, RSS
उद्धार कार्य र मर्मत सम्भारका लागि तत्काल हिउँ पग्लिएर वा बाटो सुख्खा भएर वातावरण सहर्ष नबन्ने उनको तर्क छ।
कृषिलाई भने फाइदा
हिमपात र हिउँदे वर्षाका कारण कृषकहरूलाई भने फाइदा पुर्याएको बताउँछिन् अर्की मौसमविद् इन्दिरा कँडेल।
त्यस्तै वर्षाका कारण वायुमण्डलमा तैरिएर रहेको धुलो समेत पखालिएको छ।
“सकारात्मक पाटाहरू पनि छन्। तर चिसो बढेसँगै मानिसमा श्वासप्रश्वासको समस्या पनि देखिने सम्भावना उत्तिकै रहन्छ,” उनले भनिन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ।

तस्बिर स्रोत, RSS

तस्बिर स्रोत, RSS
मौसमविद् शान्ति कँडेलका अनुसार आगामी केही दिनसम्म प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना देखिन्छ। तर अन्य स्थानहरूमा वर्षाको सम्भावना नरहेको बताइन्।
“मौसम चिसो नै रहन्छ र धेरैजसो आंशिक बदली हुने र कहिले काहीँ सामान्यतया बदलीको अवस्था पनि छ,” उनले भनिन्।
अबको केही दिन तराई भूभागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने क्रम यथावत् रहने बताइएको छ। बिहान लागेको हुस्सु तथा कुहिरो हट्न समय लाग्ने र दिउँसोसम्मै रहने भनिएको छ।
तराईमा शीतलहरको सम्भावना कति
हरेक वर्षजसो शीतलहरका कारण तराईमा जनजीवन प्रभावित हुने गरेको छ।
तुसारो पनि फरक किसिमको हुने विज्ञ इन्दिरा कँडेलको भनाइ छ। कुनै तुसारो बिहान देखिन्छ र घाम लाग्दै गएपछि हराउँछ। केही भने दुई चार दिनसम्म रहन्छन्।
यस वर्ष पनि चिसो बढ्दो छ तर शीतलहरबारे भने पूर्वानुमान कठिन भएको बताउँछिन् मौसमविद् शान्ति कँडेल।
“शीतलहर कहिलेदेखि सुरु हुन्छ भन्न सकिने अवस्था छैन। तर अबको केही दिनसम्म तराई क्षेत्रमा चिसोका कारण जनजीवन प्रभावित नै रहन्छ। घाम एकदम कम लाग्छ,” उनले भनिन्।
शीतलहरबाट बच्नका लागि जनतादेखि सङ्घसंस्थाहरूले पनि आवश्यक तयारी भने गर्नुपर्ने सुझाव दिइन्।
“चिसोले शीतलहरको रूप लिनुअघि नै तयारी गर्नु उचित हो। कुरेर बस्दा ढिला हुन सक्छ।”
चिसो बढ्दो
पूर्ण रूपमा वर्षा र हिमपात गराउने प्रणाली नरहे पनि चिसो भने नघट्ने विज्ञहरू बताउँछन्। मध्य जाडोको समय भएकाले अधिकतम तापक्रम अझै घट्छ।
“मौसम सफा हुँदा पनि न्यूनतम तापक्रम सधैँभन्दा बढी हुन्छ।त्यसैले चिसोबाट बच्न आवश्यक पूर्व तयारी गर्नु उचित हुन्छ,” मौसमविद् कँडेल भन्छिन्।
हिमपात र हिउँदे वर्षापछिको मौसममा परेको प्रभाव हट्न केही समय लाग्ने विज्ञहरू बताउँछन्।
नेपालमा मंसिर १५ देखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ।

यो पनि हेर्नुहोस्












