त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलः कुहिरोका कारण बिहान अवरुद्ध, आकाश खुलेपछि उडान सुरु

तस्बिर स्रोत, RSS
बाक्लो कुहिरोका कारण प्रभावित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ११ बजेबाट उडानहरू सुरु भएको अधिकारीहरूले बताएका छन्।
"बिहान ११ बजेर २ मिनेटमा दोहाबाट आएको हिमालय एअरलाइन्सको विमान सुरुमा अवतरण गरेको हो," अन्तर्राष्ट्रिय उडान हेर्ने एक अधिकारीले बीबीसीसँग भने।
त्यसपछाडि विदेशबाटै आएका अरू पाँचवटा विमानले अवतरण गरेको उनले बताए।
ती अधिकारीका अनुसार त्यसअघि विदेशबाट आएका कतिपय विमानहरू काठमाण्डूको आकाशमा फन्को मारेका थिए भने कतिपय विमान मोडिएर भारततिर गएका थिए।
बिहान सवा ११ बजेबाट पहाडी क्षेत्रमा आन्तरिक उडानहरू पनि सुरु भएको जानकारी अर्का अधिकारीले दिएका छन्।
"तराईका कतिपय ठाउँमा बाक्लो हुस्सु लागेर त्यतातिर अझै सुरु भइसकेको छैन," उनले बीबीसीसँग भने।
यसअघि बिहान साढे ६ बजे विमानस्थल खुला भएयता कुनै पनि विमान उड्न वा अवतरण गर्न सकेको थिएन।
विमानस्थल अधिकारीहरूका अनुसार विदेशबाट नेपाल आएका जजीरा एअरवेज, कतार एअरवेज, हिमालय एअरलाइन्स, फ्लाई दुबई लगायतका विमानले घण्टौँ फन्को मारेका थिए।
अङ्ग्रेजी वर्षको पूर्वसन्ध्या परेकोले आज झन् मानिसहरूको ओहोरदोहोर बढी हुने दिन भएको व्यवसायीहरूले बताएका छन्।
मौसममा कहिले सुधार होला?
"आज बिहानैबाट काठमाण्डू र तराईका धेरै जिल्लामा बाक्लो हुस्सु-कुहिरो लागेर उडानहरू प्रभावित भएका हुन्," मौसमविद् समीर श्रेष्ठले बीबीसीसँग भने।
शुक्रवार मध्याह्नबाट मौसम सुधार आउने उनले बताए।
अहिले देशभरि आंशिक बदली रहेको र धेरै स्थानमा हुस्सु-कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तस्बिर स्रोत, RSS
महाशाखाका अनुसार शुक्रवार दिउँसो गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग तथा बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यो पनि हेर्नुहोस्









