नेपाल मौसमः पानी पर्ने क्रम जारी, केही नदीमा जलसतह खतराको तहमाथि पुगेपछि सतर्क रहन एसएमएस अलर्ट

तस्बिर स्रोत, RSS
नेपालमा जारी वर्षाका कारण देशका विभिन्न नदीमा पानीले सतर्कताको तह पार गरिसकेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले एसएमएस अलर्ट जारी गर्दै ती नदीका तटीय क्षेत्र र खासगरी डुबान भइरहने भूभागका बासिन्दालाई सुरक्षित रहन अनुरोध गरेको छ।
मङ्गलवार बिहान ११ बजेसम्म डडेलधुरास्थित महाकाली नदी पारीगाउँ जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखास्थित वरिष्ठ जलविद् विक्रम श्रेष्ठ जुवाका अनुसार कैलालीस्थित कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा र जुम्लास्थित तिला नदी सेरीघाट जलमापन केन्द्रमा नदीको जलसतहले सतर्कताको तह नाघेको छ।
ती नदीका तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बस्ने मानिसहरूलाई मङ्गलवार रातिसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए।
डोटीस्थित पश्चिम सेती नदी गोपाघाट जलमापन केन्द्रमा पनि जलसतहले खतरा तह पार गरेको भन्दै मङ्गलवार दिउँसोसम्म उच्च सतर्कताका साथ रहन महाशाखाले अनुरोध गरेको छ।
त्यसैगरी कैलाली, खुटिया खोला मुडीभर केन्द्रमा नदीको जलसतह सतर्कता तहनजिक रहेको तथा माथिल्लो भूभागमा थप वर्षा हुने पूर्वानुमान रहेकोले जलसतह थप बढ्न सक्ने हुँदा बुधवारसम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
२४ घण्टामा कति पानी पर्यो?
मौसम पूर्वानुमान महाशाखास्थित वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मङ्गलवार बिहानसम्म २४ घण्टाको अवधिमा विशेषगरी सुदूरपश्चिमका अधिकांश केन्द्रहरूमा १०० मिलिमिटरभन्दा बढी पानी परेको मापन गरिएको छ।
गण्डकी प्रदेशका केही मापन केन्द्रमा पनि १०० मिलिमिटरभन्दा बढी र लुम्बिनी तथा कर्णाली प्रदेशका केही केन्द्रमा १०० मिलिमिटरभन्दा कम पानी परेको रेकर्ड गरिएको उनले बताइन्।

तस्बिर स्रोत, RSS
प्रदेश नं १ का मापन केन्द्रहरूमा ५० मिलिमिटरभन्दा बढी पानी परेको छ भने प्रदेश नं २ र वाग्मती प्रदेशका केन्द्रमा त्यसभन्दा कम वर्षा मापन गरिएको छ।
जलविद् विक्रम श्रेष्ठ जुवाका अनुसार सोमवार बिहान ८ बजेदेखि मङ्गलवार बिहान ८ बजेसम्म २४ घण्टाको अवधिमा सबैभन्दा बढी डडेलधुरामा पानी परेको छ।
त्यहाँको साहुखर्क भन्ने स्थानमा ३४७.८ मिलिमिटर वर्षा भएको मापन गरिएको छ।
यति वर्षा सामान्य कि असामान्य?
नेपालमा अक्टोबर र नोभेम्बर महिनालाई 'पोस्ट-मनसुन' अर्थात् वर्षाउपरान्तको समय मान्ने गरिएको मौसमविद्हरू बताउँछन्।
अहिले 'पोस्ट-मनसुन'कै अवस्था रहेकोले पानी परिरहेको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर बताउँछिन्।
यो बेला पानी पर्नु सामान्य भए पनि अहिले नेपालमा परिरहेको पानीको प्रवृत्तिबारे जलविद् विक्रम श्रेष्ठ जुवाको चाहिँ केही फरक मत छ।
"अक्टोबरमा पानी नपर्ने गरेको त होइन, तर पश्चिमतिर यसरी नदीमा जलसतह खतरा तह नै पार हुनेगरी वर्षा हुनु अलि असामान्य देखिन्छ," बीबीसी नेपालीसँग उनले भने।

तस्बिर स्रोत, RSS
बुधवारसम्म मौसम कस्तो रहन्छ?
मङ्गलवार प्रदेश नं १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं १ का केही स्थान, प्रदेश नं २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा वाग्मती प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ।
बुधवार चाहिँ प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ।
देशका मध्य र पूर्वी उच्च पहाडी, हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी एवं हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

तस्बिर स्रोत, RSS
प्रदेश नं १, २, वाग्मती, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चाहिँ ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहीवारबाट मौसममा क्रमिक सुधार हुने देखिएको छ।








