'नग्न' योद्धा जसले ब्रिटिशलाई भारत कब्जा गर्न मद्दत गरे

अनुपगिरि गोसाईँको चित्र

तस्बिर स्रोत, WILLIAM PINCH

तस्बिरको क्याप्शन, अनुपगिरी गोसाईं एक तपस्वी पनि थिए
    • Author, सौतिक विस्वास
    • Role, भारत संवाददाता

उनलाई सधैँ एक डरलाग्दो नेतृत्वकर्ताको रूपमा चित्रण गरियो जसले पैदल वा घोडामा सवार जटाधारी तथा नग्न योद्धाहरूलाई तोपहरूसहित युद्ध मैदानमा लिएर जान्छन्।

तर अनुपगिरी गोसाईं एक तपस्वी समेत थिए।

हिन्दुहरूका देवता शिवमा समर्पित एक व्यक्ति वा नागा साधु जो भारतका सम्मानित र धार्मिक पुरुषहरूमध्ये एक हुन्।

नग्न, खरानी घसेका र लट्टा परेको कपाल भएका तपस्वीहरूको एक विशेष सम्प्रदाय छ। उनीहरू प्रायः विश्वको सबैभन्दा ठूलो धार्मिक उत्सव मध्येको एक कुम्भ मेलामा देखिन्छन्।

वारियर एसेटिक्स एन्ड इन्डियन एम्पायर्सका लेखक विलियम आर पिन्चका अनुसार गोसाईं एक “तपस्वी योद्धा” थिए।

नागाहरू "डरलाग्दा र अनियन्त्रित" छविका लागि कुख्यात थिए।

यो १८औँ शताब्दीका नागाहरूको तुलनामा भिन्न चित्रण थियो किनकि त्यतिबेला नागाहरू "अस्त्रहरूले सुसज्जित र अनुशासित" थिए र "उत्कृष्ट घोडचढी तथा पैदल सेना"को रूपमा चिनिन्थे, कनेटिकटको वेस्लेयान युनिभर्सिटीका इतिहासविद् पिन्चले भने।

उन्नाइसौँ शताब्दीको प्रारम्भमा इस्ट इन्डिया कम्पनीका अधिकारी जेम्स स्किनरले एक नागा सिपाहीको चित्र बनाएका थिए।

त्यसले नाङ्गो खुट्टा र कम्मरमा अस्त्र, गोला बारुदलगायत सामग्री बोक्न छालाको पेटी लगाएको मानिसलाई चित्रण गर्छ।

उनको कपाल निकै बाक्लो र लट्टा परेको देखिन्छ। टाउको वरपर बेरिएको उनको कपाल सुरक्षा कवच जस्तो प्रतीत हुन्छ।

देब्रे हातमा लामो नाल भएको बन्दुक समातेका उनको निधारमा अबीरको टीका देखिन्छ।

"नागाहरू आकस्मिक हमला गर्ने र आमने-सामने भएर भिड्ने सिपाहीहरूको रूपमा प्रतिष्ठित थिए। अनुपगिरिको मातहतमा उनीहरू घोडसवार तथा पैदल सैनिकको पूर्ण सेनामा विकसित भए जो सर्वश्रेष्ठ कहलिएका सेनासँग पनि प्रतिस्पर्धा गर्न सक्थे," पिन्चले भने।

सन् १७०० को अन्तिम दशकमा अनुपगिरि र उनका भाइ उमरावगिरिले २०,००० भन्दा बढी मानिसहरूको नेतृत्व सम्हालेका थिए।

अठारौँ शताब्दीको अन्त्यसम्मा त्यस्ता तपस्वी सैनिकहरूको सङ्ख्या नाटकीय रूपले वृद्धि भएको थियो।

शिवभक्त तपस्वीहरू

तस्बिर स्रोत, BRITISH LIBRARY

तस्बिरको क्याप्शन, शिवभक्त तपस्वीहरू

लेखक तथा इतिहासकार विलियम डेलरिम्पलले अनुपगिरिलाई "डरलाग्दो नागा कमान्डर"को रूपमा वर्णन गरेका छन् जसलाई हिम्मत बहादुर शीर्षकको मुगल उपाधि दिइएको थियो जसको अर्थ 'साहसिलो व्यक्ति' हो।

इस्ट इन्डिया कम्पनीको इतिहास र त्यसले कसरी भारतमाथि प्रभुत्व जमाउन सक्यो भन्नेबारे लेखिएको आफ्नो पुस्तकमा डेलरिम्पलले मुगल कमान्डर मिर्जा नजफ खानको सेनाको बारेमा चर्चा गरेका छन्।

उक्त सैन्य बलमा विभिन्न तहका सैनिकहरू सामेल थिए, जस्तै अनुपगिरि गोसाईंका "जटाधारी नागाहरू” जो आफ्नो ६,००० नग्न योद्धा र ४० वटा तोप लिएर उपस्थित भएका थिए।

उक्त पुस्तकमा अनुपगिरिले गरेका सेवाहरूको प्रसङ्गसमेत उल्लेख गरिएको छ जसअन्तर्गत घोडचढी तथा पैदलगरी १०,००० गोसाईं (तपस्वीहरूलाई सामूहिक रूपमा जनाउने शब्द) सिपाहीहरूको बल, पाँच वटा तोप, बन्दोबस्तीका सामान र पालहरूले भरिएको असङ्ख्य बयल गाडा तथा करिब बाह्र लाख रुपैयाँ (सन् २०१९ को सटही अनुसार एक करोड ६० लाख पाउन्ड) समावेश थियो।

रातो धर्सा
रातो धर्सा

अनुपगिरिलाई अठारौँ शताब्दीको अन्त्यको सम्भवतः सबैभन्दा सफल "सैन्य उद्यमी" वा भाडाको सैनिकका रूपमा व्याख्या गरिएको छ।

यो एक उपयुक्त पदवी हो किनकि तत्कालीन राजाहरूले नियुक्त गर्ने निजी सिपाहीहरू लगभग सबै भाडाका हुने गर्थे। बनारस (अहिले वाराणसी भनिन्छ) सहरका न्यायाधीश रहेका थोमस ब्रुकले भनेका छन्, "एकजना स्थानीय मानिसका अनुसार उनी त्यस्ता व्यक्ति थिए जो नदी पार गर्दा आफ्ना दुई खुट्टा दुई वटा डुङ्गामा राख्थे। ताकि डुब्दै गरेको डुङ्गालाई त्याग्न सकियोस्।“

यी आकर्षक तपस्वी योद्धा सर्वव्यापी थिए भन्ने कुरा आश्चर्यजनक होइन।

"अनुपगिरि सर्वव्यापी थिए किनभने उनी सबैले चाहने प्रकृतिका मानिस थिए। यद्यपि उनीमाथि भर पर्न नचाहने केहीले भने उनको निन्दा गर्थे। मानिसहरू सिपाही, जानकारी, सल्लाह साथै गोप्य र आपराधिक कार्यमा सहयोग चाहिँदा उनीकहाँ पुग्थे," पिन्चले लेखेका छन्।

अनुपगिरिले चौतर्फी दिशामा युद्ध लडे।

सन् १७६१ को पानीपतको युद्धमा उनले मुगल सम्राट् र अफगानहरूको पक्षबाट मराठाहरू विरुद्ध लडे।

तीन वर्षपश्चात् बुक्सारको लइाइँमा उनी मुगल सेनमा सामेल भएर अङ्ग्रेजविरुद्ध लडेका थिए।

दिल्लीमा फारसी साहसी व्यक्ति नजफ खानको उदयका लागि पनि अनुपगिरिले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

पछि उनले मराठाहरूको साथ त्यागे र ब्रिटिश सेनामा सामेल भए।

सन् १८०३ मा आफ्नो जीवनको उत्तरार्धमा उनले मराठाविरुद्ध ब्रिटिश सेनाको विजयमा समेत भूमिका निर्वाह गरे।

साथै ब्रिटिशहरूलाई दिल्ली कब्जा गर्न मद्दत गरे। यो एउटा त्यस्तो घटना थियो जसले इस्ट इन्डिया कम्पनीलाई दक्षिण एसिया तथा विश्वमै सर्वोच्च शक्तिका रूपमा स्थापित गरेको पिन्चको भनाई छ।

नग्न तपस्वीको तस्बिर

तस्बिर स्रोत, BRITISH LIBRARY

"अठारौँ शताब्दीको उत्तरार्धमा मुगल र मराठाको पतन र त्यससँगै ब्रिटिश शक्तिको उदय हुने घटनाक्रमहरू जति धेरै खोतलिन्छ, त्यति नै पृष्ठभूमिमा अनुपगिरि गोसाईंको उपस्थिति देखिन्छ," पिन्चले भने।

सन् १७३४ मा उत्तरी भारतको रणनीतिक रूपमा महत्त्वपूर्ण प्रान्त बुन्देलखण्डमा जन्मेका अनुपगिरि र उनका जेठा दाइलाई आफ्नो बुबाको मृत्युपश्चात् उनीहरूकी गरिब विधवा आमाले एक लडाकुलाई दिएकी थिइन्।

यहाँ यस्ता कथाहरू सम्भवतः अप्रमाणित छन् जसमा उनले माटाका सिपाहीहरूसँग खेल्दै आफ्नो बाल्यकाल बिताएको प्रसङ्ग उल्लेखित छ।

मौखिक परम्पराहरूका अनुसार १६औँ शताब्दीमा मुस्लिमहरूको आक्रमणबाट बच्न अनुपगिरिजस्ता मानिसहरूलाई सशस्त्र रहने अनुमति दिइएको थियो।

तर पिन्चले पत्ता लगाए अनुसार, अनुपगिरिले मुगल सम्राट् शाह आलमलगायत मुस्लिम रोजगारदाताहरूको सेवा गरे र अफगान राजा अहमद शाह अब्दालीको पक्षमा सन् १७६१ को पानीपतको युद्धमा मराठाहरू विरुद्ध लडे।

रातो धर्सा
रातो धर्सा

"अनुपगिरिको प्रतिभा सत्तामा आफ्नो अपरिहार्यता दर्साउने उनको क्षमतामा निहित थियो। उनको जन्म उच्च घरानामा भएको थिएन तर उनलाई कसरी र कहिले लड्ने वा कहिले भाग्ने भन्नेबारे ज्ञान थियो,” पिन्चले भने।

"उनलाई विपक्षी र सहयोगीहरूलाई कसरी विश्वस्त पार्ने भन्ने थाहा थियो र आफूसँग गुमाउनु पर्ने केही छैन भन्ने चेत थियो।"

त्यो एउटा यस्तो दुनियाँ थियो जहाँ तपस्वी योद्धाहरूलाई सबैकुरा सञ्चालन गर्ने अनुमति थियो र यसका लागि उनीहरूप्रति "सम्मान वा डर प्रकट गरिन्थ्यो किनकि उनीहरू मृत्युलाई जितेका व्यक्तिहरू मानिन्थे।"

बङ्गाल र विहारमाथि ब्रिटिश नियन्त्रण स्थापित गर्ने बक्सरको निर्णायक युद्धबारे डेलरिम्पलको नाटकीय वर्णनमा अनुपगिरिको तिघ्रामा गम्भीर चोट लागेको र उनले अवधका गभर्नर शुजा-उद-दौलालाई युद्ध मैदान छोड्न मनाएका थिए भन्ने उल्लेख छ।

"यो कुनै लाभहीन मृत्युको क्षण होइन," उनी भन्छन्।

"हामी अर्को दिन सजिलै जित्नेछौँ र बदला लिनेछौँ।"

उनीहरूले डुङ्गाको पुल प्रयोग गरेर नदी पार गर्छन् र लगत्तै अनुपगिरिले त्यसलाई ध्वस्त पार्न आदेश दिन्छन्।

यसरी यी तपस्वी योद्धा फेरि अर्को युद्ध लड्नका निम्ति बच्न सफल हुन्छन्।