स्याम मानेक्श: मृत्युको एक दशकपछि चर्चामा आएका भारतीय युद्धनायक र उनको ‘गोर्खा सम्बन्ध’

तस्बिर स्रोत, Getty Images
"यदि कसैले मर्न डराउँदिन भन्छ भने कि उसले ढाँटेको हो कि ऊ गोर्खा हो।"
भारतीय तथा ब्रिटिश सेनामा काम गर्ने नेपाली मूलका सैनिकको वीरताको प्रशंसा गर्दै उनले यसो भनेको बताइन्छ। उनी अर्थात् भारतीय युद्धनायक स्याम मानेक्श।
मृत्यु भएको ११ वर्षपछि उनको जीवनीमा आधारित चलचित्र बनाउने घोषणा भएको छ। र, सामाजिक सञ्जालमा उनको चर्चा चुलिएको छ।
मानेक्श सन् १९७१ मा पाकिस्तानसँगको युद्धका बेला भारतीय सेनाको प्रधानसेनापति थिए। उक्त युद्धपछि तात्कालिक पूर्वी पाकिस्तान बाङ्ग्लादेशको रूपमा जन्मिएको थियो।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1

मानेक्शको जीवनीमा आधारित फिल्म 'फर्स्ट लूक' को पोस्टर बिहीवार उनको जन्मजयन्तीको अवसरमा सार्वजनिक गरिएको छ।
सो चलचित्रमा विकी कौशलले मानेकशाको भूमिका निर्वाह गर्नेछन्।
नेपाल साइनो
भारतीय सेनामा कार्यरत नेपाली सैनिकमाझ उनी लोकप्रिय थिए। उनी 'स्याम बहादुर' उपनाम पनि चिनिन्थे।
भारतमा ब्रिटिश शासन हुँदा सन् १९१४ मा उनको जन्म एउटा पारसी परिवारमा भएको थियो।
उनको मृत्यु सन् २००८ मा भएको थियो। करिब चार दशक सैनिक सेवामा बिताएका उनी पाँचवटा युद्धमा सहभागी थिए।
दुई देशका प्रधानसेनापतिलाई एकअर्काले सम्मान गर्ने प्रचलनअनुसार उनलाई १९७२ मा नेपाली सेनाको मानार्थ महारथी उपाधि पनि दिइएको थियो।
प्रधानसेनापतिको पदावधि सकिएपछि उनलाई भारतले फिल्ड मार्शलको उच्चतम सैन्य पद दिएको थियो।
सो पद पाउने उनी पहिलो भारतीय सैनिक अधिकृत पनि हुन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2

जनरल मानेकशाबारे बीबीसी हिन्दीका रेहान फजल लेख्छन् -
उनको पूरा नाम स्याम होर्मूजजी प्रामजी जम्शेदजी मानेक्श थियो। तर सम्भवत: पूरा नाम लिएर निकै थोरैले मात्र उनलाई सम्बोधन गरे होलान्।
उनका साथी, पत्नी, नाति, उनका अधिकृत वा उनी मातहतका सहकर्मीले कि उनलाई स्याम भनेर बोलाउँथे वा 'स्याम बहादुर'। उनी सबैभन्दा पहिले सन् १९४२ मा चर्चामा आए।
दोस्रो विश्वयुद्धमा म्यान्मारको मोर्चामा एक जापानी सैनिकले आफ्नो मशिनगनबाट सातवटा गोली उनीमाथि प्रहार गरे।

तस्बिर स्रोत, BharatRakshak.com

उनको जीवनी लेखेका मेजर जनरल वीके सिंहले बीबीसीलाई भने, "उनका कमान्डर मेजर जनरल कोवानले त्यही बेला आफ्नो मिलिट्री क्रस निकालेर उनको छातीमा टाँसिदिए। किन कि मृत सैनिकलाई मिलिट्री क्रस दिइँदैन।"
मानेक्श घाइते भएपछि सबै घाइतेलाई त्यही अवस्थामा छाड्ने आदेश दिइयो किन कि उनीहरूलाई फिर्ता ल्याउँदा पछि सरेको बटालियनको गति कम हुन्थ्यो। तर उनका अर्दली सुबेदार शेर सिंहले उनलाई आफ्ना काँधमा बोकेर पछाडि ल्याए।
'कोही पछि नहट्नू'
मानेक्शको अवस्था यति बिग्रिएको थियो कि डाक्टरहरूले उनको उपचारमा आफ्नो समय खेर फाल्न चाहेनन्।
त्यसपछि सुबेदार शेर सिंहले डाक्टरहरूतर्फ आफ्नो राइफल तेर्स्याएर भने, "मैले आफ्नो अधिकृतलाई जापानीसँग लडिरहेका बेला आफ्नो काँधमा बोकेर ल्याएको छु। तपाईँले उपचार नगरेकै कारण हाम्रोअघि उनको मृत्यु होस् भन्ने म चाहन्नँ। उनको उपचार गर्नूस् नत्र म गोली हान्छु।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3

डाक्टरले अनिच्छुक हुँदै उनको शरीरबाट गोली निकाले। र, क्षतिग्रस्त आन्द्राको भाग काटे। आश्चर्यजनक रूपमा मानेक्श बाँचे। याङ्गुन हुँदै उनलाई भारत ल्याइयो।
सन् १९६४ मा लेफ्टिनेन्ट कर्नेल स्याम मानेकशाको दिल्लीस्थित सैनिक मुख्यालयमा सरुवा भयो।
सन् १९४८ मा जब वीपी मेनन कश्मीरलाई भारतलाई विजय गराउन महाराज हरि सिंहसँग कुरा गर्न श्रीनगर जाँदा स्याम मानेक्श पनि सँगै थिए। सन् १९६२ मा चीनसँगको युद्ध हारेपछि स्यामलाई बिजी कौलको ठाउँमा चौथो कोरको जिम्मेवारी दिइयो।
जिम्मेवारी लिएपछि स्याम मानेक्शले सीमामा खटिएका सैनिकलाई सम्बोधन गर्दै भने, "आजदेखि तपाईँहरू कोही पनि लिखित आदेश नदिइँदासम्म कहीँ पनि पछि नहट्नू। ध्यान दिनूस्, त्यस्तो आदेश कहिल्यै दिइनेछैन।"
अनुशासन र ठट्टा
त्यही बेला प्रधानमन्त्री जवाहरलाल नेहरू र रक्षामन्त्री यशवन्तराव चव्हाण सीमा क्षेत्रको भ्रमणमा गए।
नेहरूकी छोरी इन्दिरा गान्धी पनि सँगै थिइन्।
स्याम मानेक्शका एडीसी ब्रिगेडियर बहराम पन्ताखी आफ्नो किताब 'स्याम मानेक्श-द म्यान एन्ड हिज टाइम्स'मा लेख्छन्, "स्यामले इन्दिरा गान्धीलाई गोपनीयताको शपथ नलिएकाले तपाईँले अपरेशन रूममा पस्न पाउनुहुन्न भनिदिए। त्यसबेला इन्दिरालाई त्यो कुरा नराम्रो लागे पनि सौभाग्यले त्यही कारण उनीहरूबीचको सम्बन्ध नराम्रो भएन।"
सार्वजनिक जीवनमा हाँसोठट्टाको निम्ति चिनिएका बनाएका स्याम मानेक्श निजी जीवनमा पनि अनौपचारिक थिए।
उनकी छोरी माया दारूवालाले बीबीसीलाई भनिन्, "मानिसहरू ठान्छन्- स्याम निकै ठूलो जनरल हुन्, उनले कैयौँ लडाइँ लडे, उनका लामालामा जुँगा छन्, घरमा पनि त्यही रबाफका साथ बस्दा हुन्। तर उहाँ बच्चाले जसरी हामीसँग जिस्किनुहुन्थ्यो। हामीलाई हैरान पार्नुहुन्थ्यो।"
रक्षासचिवको प्रतिकार
यस्तो बानी भए पनि अनुशासन वा सैनिक नेतृत्व र कर्मचारीतन्त्रबीच सम्बन्धबारे उनी कुनै सम्झौता गर्दैनथे।

तस्बिर स्रोत, sainiksamachar.nic.in

उनको मिलिट्री असिस्टेन्ट भई काम गरेका लेफ्टिनेन्ट जनरल दीपेन्द्र सिंहले एउटा प्रसङ्ग सुनाए, "एक पटक सैनिक मुख्यालयमा बैठक हुँदै थियो। रक्षासचिव हरीश सरीन पनि थिए।
सरीनले एकजना कर्नेललाई झ्याल खोल्न आदेश दिँदै भने, "यू देयर, ओपन द विन्डो।"
कर्नेल उठ्न खोज्दै थिए, स्याम मानेक्श त्यही बेला कोठामा प्रवेश गरे।
रक्षासचिवतर्फ हेर्दै उनले भने, "सचिव महोदय, अबदेखि तपाईँले मेरा कुनै पनि अफिसरसँग यो भाकामा कुरा नगर्नुहोला। उनी अफिसर कर्णेल हुन् यू देयर होइनन्।"
त्यसबेला निकै शक्तिशाली सचिव हरीश सरीनले माफी माग्नुपर्यो।
इदी अमिनसँग भोज
एक पटक युगान्डाका सेनाप्रमुख इदी अमिन भारत भ्रमणमा आए।
त्यसबेला उनी युगान्डाको राष्ट्रपति बनिसकेका थिएनन्। भ्रमणको अन्तिम दिन स्याम मानेक्शले उनको सम्मानमा भोजको आयोजना गरे।
त्यहाँ उनले आफूलाई भारतीय सेनाको पोसाक निकै मन परेको भन्दै आफूलाई मिल्ने १२ वटा पोसाक युगान्डा लग्ने इच्छा व्यक्त गरे।
स्याम मानेक्शको आदेशमा रातारात कनोट प्लेसको चर्चित सिलाइ पसल खोल्न लगाइएयो र इदी अमिनको निम्ति सैन्य पोसाक तयार पारियो।
पतिपत्नीको अलग कोठा
उनको घुर्ने बानी थियो। छोरी माया दारूवालाका अनुसार त्यसैले उनकी आमा सीलू र बुबा स्याम कहिल्यै एउटै कोठामा सुतेनन्।
एक पटक उनी रुस गएका बेला उनका सम्पर्क अधिकृत जनरल कुप्रियानो उनीहरूलाई छाड्न होटल गए। ती अधिकृत बिदा फर्किन लाग्दा सीलूले सोधिन्, "मेरो कोठा कहाँ छ?"

तस्बिर स्रोत, BHARATRAKSHAK.COM

रुसी सैनिक अधिकृत अक्कबक्क परे।
मानेक्शले स्थिति सामान्य बनाए। उनले भने, "म निकै घुर्छु र मेरी श्रीमतीलाई निन्द्रा नपर्ने रोग छ। त्यसैले हामी अलगअलग कोठमा सुत्छौँ।"
त्यहाँ पनि उनको ठट्टा गर्ने बानी गएन।
रुसी जनरलको काँधमा हात राख्दै उनले कानमा खुसुक्क भने, "आजसम्म उनले बाहेक मैले चिनेका अरू महिलाले मेरो घुराइबारे गुनासो गरेका छैनन्।"
इन्दिरा गान्धीसँगको सम्बन्ध
सन् १९७१ को लडाइँमा इन्दिरा गान्धी सेनाले मार्च महिनामै पाकिस्तानविरुद्ध आक्रमण गरोस् भन्ने चाहन्थिन्।
स्याम मानेक्शले त्यसो गर्न अस्वीकार गरे किन कि भारतीय सेना आक्रमणका लागि तयार थिएन।
इन्दिरा गान्धी असन्तुष्ट भइन्। मानेक्शले तपाईँ युद्ध जित्न चाहनुहुन्छ कि हुन्ने भनेर सोधे।
त्यसपछि मानेक्शले भने, "मलाई छ महिनाको समय दिनूस्, ग्यारेन्टी दिन्छु जित तपाईँकै हुनेछ।"
इन्दिरा गान्धीसँगको उनको सहज व्यवहारका कैयौँ कथा चर्चित छन्।

तस्बिर स्रोत, Sam Manekshaw Family

मेजर जनरल वीके सिंह भन्छन्, "विदेश भ्रमणबाट फर्किएकी इन्दिरा गान्धीलाई रिसीभ गर्न उनी पालम विमानस्थल गएका थिए।
गान्धीलाई देख्नेबित्तिकै उनले भने, "तपाईँको हेयर स्टाइल गज्जब देखिएको छ।"
गान्धीले हाँस्दै भनिन्, "अरू कसैले त विचारै गरेनन्।"
देश सुम्पेर हजार रुपैयाँ चुक्ता
छोरी माया दारूवालाका अनुसार उनी प्राय: भन्थे, "जब हामीले देशलाई जिताउँछौँ, त्यो निकै गौरवको विषय भएको मानिसलाई लाग्छ। तर त्यसमा कहीँ न कहीँ उदासीको पक्ष पनि लुकेको हुन्छ किनकि मान्छेहरू पनि मारिएका हुन्छन्।"
स्याम मानेक्शको निम्ति आफ्नो नेतृत्वमा पाकिस्तानविरूद्ध भएको लडाइँ जित्नु सबैभन्दा गर्वको कुरा थिएन।
युद्धबन्दी बनाइएका पाकिस्तानी सैनिकले भारतमा आफूहरूलाई निकै राम्रो व्यवहार गरिएको स्वीकार गर्नु उनको निम्ति सबैभन्दा ठूलो क्षण थियो।
सन् १९४७ मा मानेक्श र यहया खाँ दिल्लीस्थित सैनिक मुख्यालयमा खटिएका थिए। यहया खाँलाई मानेक्शको मोटरसाइकल निकै मन परेको थियो। उनी त्यो किन्न चाहन्थे तर मानेक्शले बेच्न मानेका थिएनन्।
देश विभाजनपछि यहाया खाँले पाकिस्तान जाने निर्णय गरे। अनि मानेक्श मोटरसाइकल बेच्न तयार भएर र एक हजार मूल्य तोके। छिट्टै पैसा पठाइदिने वाचा गर्दै यहयाले मोटरसाइकल पाकिस्तान लगे।
वर्षौं बिते पनि मानेक्शले पैसा पाएनन्। धेरै वर्षपछि जब पाकिस्तान र भारतको युद्ध भयो, त्यसबेला दुवै जना आआफ्नो देशका सेनाप्रमुख थिए।
लडाइँ जितेपछि मानेक्शले ठट्टा गर्दै भने, "२४ वर्षसम्म मैले यहया खाँको चेकको प्रतीक्षा गरेँ, तर कहिल्यै पाइनँ। आखिर उनले सन् १९४७ मा लिएको उधारो आफ्नो देश दिएर चुक्ता गरे।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 4









