भूपू गोर्खा सैनिक भन्छन् 'हाम्रो नागरिकता नखोसियोस्'
ब्रिटिस राहदानी पाइसकेका भूतपूर्व गोर्खा सैनिकहरूले वंशजका आधारमा आफूहरूले लिएको नेपाली नागरिकतालाई निरन्तरता दिन पाउनु पर्ने माग गरेका छन्।
ब्रिटिस सरकारले उतै बसोबास गर्न चाहनेका लागि हाल उपलब्ध गराएको राहदानी सम्मानार्थ मात्र भएकाले आफ्नो नेपाली नागरिकतालाई निरन्तर मान्यता दिइनु पर्ने उनीहरूको माग छ।
तीन वर्षअघि जारी नयाँ संविधानले यस्ता ब्रिटिस गोर्खालाई समेत गैर आवासीय नेपाली सरहको नागरिकता उपलब्ध गराउने व्यवस्था गरेकाले त्यसलाई संशोधन गर्न उनीहरूले अनुरोध गरेका छन्।

नेपालको संविधानले ब्रिटिस राहदानी लिएर उतै बसोबास गरिरहेका हजारौँ भूपू गोर्खा सैनिकलाई समेत गैर आवासीय नेपालीकै वर्गमा राखेको भन्दै भूतपूर्व गोर्खाले त्यसको विरोध गरेका हुन्।
बसोबास
सन् २००९ मा ब्रिटिस सरकारले ब्रिटिस गोर्खाहरूलाई त्यहाँ बसोबासका लागि आवासीय अनुमति र राहदानी दिने निर्णय गरेको थियो।
त्यसपछि नेपालबाट ब्रिटेन गएर उतै बसोबास गरिरहेकाहरू र तिनका सन्तानले समेत वंशजका आधारमा नेपाली नागरिकता पाउनु पर्ने उनीहरूको माग छ।
त्यो माग पूरा होस् भन्दै उनीहरूले विभिन्न अभियान समेत अघि बढाएका छन्।
त्यस्तैमध्येको एक अभियानको नेपालमा संयोजन गर्दै आएका एकजना भूतपूर्व गोर्खा सैनिक हिमाल राई भन्छन्, "हाम्रा भावी सन्ततिलाई पाहुना बनाउनु नपरोस्। आफ्नो बाबु छोराछोरीलाई भेट्नका लागि भिसा लिनु नपरोस् भनेर यो नागरिकताको निरन्तरताको कुरा अघि बढाएका हौँ।"
भेटघाट
भूतपूर्व ब्रिटिस गोर्खा सम्बद्ध विभिन्न संघसंस्थाहरूले आफ्नो माग बारे जानकारी गराइरहेका छन्। साथै संविधान संशोधनका लागि राजनीतिक दलका नेताहरूलाई भेटेर आग्रह समेत गरिरहेका छन्।
बिहीवार पनि उनीहरूले राजधानी काठमाण्डूमा विभिन्न दलका नेता र कानुनविद्लगायतलाई बोलाएर समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे।
त्यस कार्यक्रममा बोल्दै एकजना संविधानका जानकार वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले ब्रिटिस गोर्खाहरूलाई अन्य गैर आवासीय नेपाली सरह व्यवहार गरिनु नहुने बताए।
उनले संविधानमा गोर्खा र तिनका सन्ततिका लागि छुट्टै व्यवस्था गर्न सकिने अवस्था रहेको दाबी गरे।
व्यवस्था
ज्ञवालीले भने, "ब्रिटिस गोर्खाहरूलाई पनि गैर आवासीय नेपाली सरह नै संविधानको धारा १४ अनुसारको व्यवहार गरिने देखिएको छ। तर, धारा १४ को मात्र व्यख्या गरेर यो पर्याप्त हुँदैन।"
उनले कुनैपनि मुलुकले वंशजका आधारमा पाएको नागरिकता खोस्न सजिलो नभएको बताए।
उनले हाल गोर्खालाई दिइएको ब्रिटिस राहदानी सम्मानार्थ भएकाले उनीहरूलाई विदेशी नागरिकता लिएको वर्गमा राख्न नहुने दाबी गरे।
नेपालको कानुनी व्यवस्था अनुसार विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता अन्त्य हुने गर्छ।
आश्वासन
छलफलमा सहभागी हुन पुगेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिटिस गोर्खाले पाउने नागरिकताका बारेका भ्रम अन्त्यका लागि आफूले संसदीय समितिलगायतमा पहल गर्ने आश्वासन दिए।
उनले भने, "अहिले त संसदीय समितिमा संघीय कानुनको विषय छलफलमा पनि छ, त्यहाँको छलफल, राजनीतिक नेतृत्वको छलफल र पार्टीको केन्द्रीय सचिवालय बैठकमा पनि तपाईंहरूले उठाएको नागरिकता सम्बन्धी विषयमा छलफल अगाडि बढाउने म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु।"
तीन वर्ष अघि जारी भएको नेपालको संविधानले पहिलो पटक विदेशमा बसोबास गर्ने नेपालीलाई समेत गैर आवासीय नागरिकता प्रदान गर्नसक्ने व्यवस्था गरेको छ।
तर, यस्तो नागरिकता प्राप्त गरेका व्यक्तिले अन्य अधिकार पाए पनि राजनीतिक अधिकार पाउँदैनन्।
ब्रिटिस गोर्खाहरूले भने आफू र आफ्ना सन्तानहरूले वंशजकै आधारमा नागरिकता पाउने प्रावधानको निरन्तरताको माग राख्दै आएका छन्।









