नराम्रो अनुभूतिका सकारात्मक पक्ष कस्ता छन्

बिरालो

तस्बिर स्रोत, Getty Images

    • Author, डेभिड रबसन
    • Role, बीबीसी फ्यूचर

कल्पना गर्नुहोस् तपाईँले भर्खरै केही नकारात्मक अनुभूति गर्नुभयो। साथीले तपाईँको जन्म दिन बिर्सिए वा लामो छुट्टीपछि तपाईँ काममा फर्कनुपर्‍यो, यस्तो बेला तपाईँले मनमा आउने भावनासँग तपाईँ कसरी जुझ्नुहुन्छ?

तपाईँ यसको कुनै अर्थ छैन भनेर आफ्नो चित्त बुझाउने प्रयास गर्न सक्नुहुन्छ। खराब समाचारबारे नसोच्ने प्रयास गर्न सक्नुहुन्छ। तर जब यसले तपाईँलाई प्रभाव पार्छ, तपाईँ आफू किन चाहिनेभन्दा बढी संवेदनशील भनेर प्रश्न गर्ने कोसिस पनि गर्न सक्नुहुन्छ।

यस्तो प्रवृत्तिमा रहेको ठानेर आफूलाई दण्डित गर्नेलाई 'मुड शेम' भनेर व्याख्या गर्ने गरिएको छ। मुड शेमको अर्थ नराम्रो महसुस गर्नुलाई व्यक्तिगत असफलताका रूपमा लिनु हो।

जीवनको सकारात्मक पक्षलाई निरन्तर हेर्नु बलियो वा साहसी बन्नु जस्तो देखिन्छ।

तर यदि त्यसो मात्रै गरियो भने हामी घटनाक्रममाथि उपयुक्त प्रतिक्रिया आउँदा पनि आफै असन्तुष्ट रहन सक्छौँ।

हामीले असहज मनस्थिति जस्तै निराशा, चिन्ता, आक्रोश वा दु:ख छल्न चाहनु स्वाभाविक हो।

हालैका मनोवैज्ञानिक अध्ययनहरूले यस्ता भावनाहरूले जीवनका उपयोगी उद्देश्यहरू पूरा गर्न सघाउँछन्। तर ती मूल्यहरूलाई बुझ्न सिकेर र पूर्वाग्रह बिना स्वीकार गरेर हामी शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो बनाउन सक्छौँ।

नकारात्मक भावना स्वीकार गर्नुपर्ने आवश्यकताबारे लेखिरहँदा मैले गम्भीर डिप्रेसन, तनाव वा विज्ञको सहायता चाहिने अरू कुनै मानसिक समस्याको कुरा गरिरहेको छैन। किनभने मानसिक स्वास्थ्य सहयोग चाहिने अवस्थामा पीडालाई लम्ब्याएर केही उपलब्धि प्राप्त हुँदैन।

बरु म हाम्रो जीवनमा केही घण्टा वा दिनसम्म प्रभाव पार्ने अस्थायी भावनाबारे चर्चा गरिरहेको छु। तीनले हाम्रो दीर्घकालीन स्वस्थपनमा खासै जोखिम पार्दैनन् र त्यसलाई रोक्ने प्रयास गर्न आकाङ्क्षा पलाउँछ।

महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नकारात्मक भावना बादल फाटे जसरी हराएर पनि जाने गर्छन

इट्लीका एक जना दार्शनिक इलारिया गासपारीले आफ्नो हालैको एउटा पुस्तक द सेक्रेट लाइफ अफ इमोसन्समा उल्लेख गरे अनुसार हाम्रा भावनाहरूलाई दबाउन खोज्दा त्यसले 'लाज' र 'डर' निम्त्याउँछ। त्यसबाहेक आफ्नो जीवनमा खुसी देखिने मानिसहरू प्रति ईर्ष्या समेत जाग्छ। त्यसपछिको उब्जने भावना हामीले रोक्न खोजेको भाव भन्दा 'बलियो र अझ गहिरो' हुने उनको भनाइ छ।

उनले भनिन्, 'मलाई भावुक बन्नु अस्थिर र असन्तुलित बन्नु होइन बरु विश्वलाई अनुभव गर्ने क्रममा जीवित, खुल्ला र कमजोर बन्नु हो भनेर बुझ्न लामो समय लाग्यो,' उनले लेखेकी छन्।

गासपारीले आफ्नो व्यक्तिगत अनुभवका आधारमा लेखिरहेकी थिइन् तर विभिन्न चरणमा भएका वैज्ञानिक अध्ययनहरूले 'नराम्रो महसुस गर्नुलाई व्यक्तिगत असफलताका रूपमा लिँदा' त्यसले नराम्रो प्रभाव पार्ने पुष्टि गरेका छन्। उक्त अनुसन्धानलाई बुझ्न तल उल्लेख गर्न लागिएका प्रश्नहरूलाई हेर्नुहोस्। एक (कहिल्यै पनि हुँदैन/एकदमै दुर्लभ रूपमा हुन्छ) देखि सात (अधिकांश समय हुन्छ/सधैँ हुन्छ)सम्मको स्केलमा तपाईँ यी भनाइलाई कति अङ्क दिनुहुन्छ।

  • म आफूलाई मैले महसुस गरिरहेको जस्तो ठान्नु हुन्न भनेर भन्छु
  • म आफूलाई मैले महसुस गरिरहेको जस्तो ठानेकोमा आलोचना गर्छु
  • मलाई लाग्छ मेरा कतिपय भावना नराम्रा र अनुपयुक्त छन् र मैले त्यस्तो अनुभव गर्नुहुन्न।

एक हजार सहभागीहरूलाई प्रश्न राख्दा युनिभर्सिटी अफ क्यालिफोर्निया बर्क्लीकी आइरस मसले उक्त स्केलमा मानिसहरूले जति उच्च अङ्क प्राप्त गरे उनीहरूमा डिप्रेसन र तनावको लक्षण देखिने सम्भावना बढी रहेको पाइएको थियो। उनीहरूको जीवनप्रतिको सन्तुष्टि र मनोवैज्ञानिक स्वास्थ्य पनि कमजोर रहेको जस्तो देखिएको थियो। आफ्ना भावनाहरूलाई 'खराब' वा 'अनुपयुक्त' नभन्ने मानिसहरूको मानसिक स्वास्थ्य राम्रो रहेको पाइएको थियो।

राम्रो र नराम्रो हेर्ने दृष्टिकोण

यो विषयमा मेरो रुचि आफ्नो पुस्तक द एक्स्पेक्टेशन इफेक्टका बारेमा अनुसन्धान थालेपछि सुरु भएको थियो। हामीले जीवनका कैयौँ क्षेत्रका आफैँ पूरा हुने खालका भविष्यवाणीहरू गर्न सकिनेबारे धेरै प्रमाणहरू छन्। उदाहरणका लागि चिकित्साविज्ञानका क्षेत्रमा शारीरिक लक्षण जस्तै चोटलाई मानिसले गर्ने व्याख्याले हामी त्यसप्रति कस्तो शारिरिक प्रतिक्रिया जनाउँछौँ त्यसलाई प्रभाव पार्न सक्छन्।

हाम्रा भावनाका बारेमा पनि त्यही नै सत्य हो कि होइन भन्नेबारे मलाई कौतूहल जागेको थियो। भावनाहरूलाई बदल्नुभन्दा त्यसलाई सोच्ने हाम्रो दृष्टिकोण हामी बदल्न सक्छौँ र त्यसले उक्त अनुभूति र दीर्घकालसम्म हाम्रो स्वास्थ्यमा राम्रो प्रभाव छाड्न सक्छ।

निराशाले नराम्रो अनुभव गराउनसक्छ तर त्यसले तपाईँलाई हामीले उक्त भावनाका कारण आफ्ना गल्तीबाट सिक्न सक्छौँ भन्ने आत्मसाथ गर्न सघाउन सक्छ। उक्त भावनालाई सकारात्मक अर्थ दिँदै त्यसका सम्भावित प्रयोगहरूलाई स्वीकार गरेर तपाईँ 'अस्वस्थ' जस्तो बन्नुभन्दा तपाईँले मस्तिष्क र शरीरले उदास हुँदा जनाउने प्रतिक्रियालाई नै परिवर्तन गर्न सक्नुहुन्छ।

बर्लिनमा गरिएको एउटा अध्ययनले ठ्याक्कै त्यस्तै देखाएको छ। अनुसन्धानकर्ताहरूले मानिसहरूलाई आफ्ना कैयौँ भावनाहरू जस्तै डर, आक्रोश वा निराशालाई अङ्कमा तुलना गर्न भनेका थिए। त्यसबाहेक आफ्नो उपयुक्तता, उपयोगिता र सार्थकताबारे पनि प्रश्न गरेका थिए।

समग्रमा 'खराब मनस्थितिमा' पनि सकारात्मकता देखेका व्यक्तिहरू मानसिक र भौतिक अवस्थाको मापनमा पनि राम्रो पाइएका थिए। मधुमेह वा मुटुसम्बन्धी रोगको जोखिम र मांसपेशीको शक्ति पनि राम्रो पाइएको थियो।

प्रगतिको इन्धन

त्यसयता मैले आफ्ना भावनालाई स्वीकार गर्नुका सम्भावित फाइदा र त्यसले पार्ने शक्तिशाली प्रभावहरूका कैयौँ प्रमाणहरू फेला पारेको छु।

तनावलाई लिनुहोस्। हामी तनावमा भएका बेला हाम्रो एकाग्रता बिग्रने र त्यसले कठिन काम गर्न सक्ने हाम्रो क्षमतालाई कमजोर बनाउने ठान्न सक्छौँ। आराम महसुस गर्न सकेको खण्डमा मात्रै हामी परीक्षा वा अन्तरवार्तामा सफल हुनसक्ने हाम्रो बुझाइ हुनसक्छ।

तर उक्त भावनालाई हामीले शक्तिको स्रोतका रूपमा पनि हेर्न सक्छौ।

अभिनेता रोबर्ट प्याटीन्सनले यो रणनीतिलाई चलचित्र सेट भित्र उत्पन्न हुनसक्ने चिन्तासँग जुझ्न प्रयोग गरेको पाइन्छ। हालैका अध्ययनले यस्तो खालको धारणा राख्दा त्यसले तात्कालिक चुनौतीहरू जस्तै कठिन परीक्षा वा सार्वजनिक मन्तव्यमा सहयोग पुर्‍याउने देखिएको छ। दीर्घकालमा थकान जस्ता समस्या समेत यसले घटाउने बताइन्छ।

मनोभावना

तस्बिर स्रोत, Getty Images

आक्रोशित भावनामा पनि त्यस्तै अपेक्षा गर्न सकिन्छ। हामी त्यस्तो अवस्थामा स्व नियन्त्रण चाँडै कमजोर हुन्छ भनेर ठान्न सक्छौँ तर उक्त भावनाले हामीलाई दृढ बनाउने र हामीले गर्नुपर्ने काम सक्नतर्फ क्षमता केन्द्रित गर्न सघाउन सक्छ भनेर पनि हामीले हेर्न सक्छौँ। त्यस्तो सोचाइले वार्ता जस्ता अवस्थामा तपाईँको प्रस्तुतिलाई निर्धारण गर्न सक्छन्।

वैज्ञानिकहरूले अहिले पनि भावनाहरूले हाम्रो शारीरिक स्वास्थ्यमा पार्ने प्रभावबारे अध्ययन गरिरहेका छन्।

जब हामी व्यक्तिगत रूपमा जोखिम हुने तनावलाई महसुस गर्छौँ हामीले कर्टिसोल जस्ता हर्मोनहरूको तहमा घटबढ र सुनिने जस्ता अवस्था महसुस गर्ने सम्भावना बढी रहन्छ। त्यस्तो शारीरिक परिवर्तनले शरीरलाई तत्कालीन अवस्थाका जोखिमसँग जुझ्न तयार बनाए पनि लामो समय त्यसलाई कायम राख्दा नराम्रो प्रभाव पर्न सक्छ।

यदि हामी प्रत्येक नराम्रो मनस्थिति अनुपयुक्त, लाजमर्दो र सम्भावित रूपमा हाम्रा लागि क्षति पुर्‍याउने किसिमको हो भनेर ठान्छौँ भने त्यसले हाम्रो कमजोरी र एक्लो मनोदशालाई अझ बलियो पार्छ र अझ बढी शारीरिक प्रभाव पार्छ।

तर यदि हामी ती भावनाहरूलाई स्वीकार गर्छौ भने हामी थप तनावका चरणबाट अलग रहन सक्छौँ।

त्यसले हामीलाई बलियो र स्वायत्त भावना दिन सक्छ। साथै ती भावबाट उत्पन्न हुनसक्ने शारीरिक प्रतिक्रियाहरूलाई कमजोर बनाएर हाम्रो शरीरमा कम क्षति पुर्‍याउँदै ठिक हुने अवसर दिन्छ।

झन्डै २८ हजार मानिसहरूमा गरिएको एउटा अध्ययनले हाम्रो मनस्थितिलाई हेर्ने दृष्टिकोणका दीर्घकालीन प्रभावहरू रहेका देखाएको छ। सहभागीहरूलाई आफ्नो मानसिक तनाव र चिन्ताको तह र तनावले शरीरमा हानी पुर्‍याउँछ कि पुर्‍याउँदैन भन्नेबारे उनीहरूका सोचाइ भन्न लगाइएको थियो।

ती अपेक्षाहरूले मृत्युको जोखिमलाई समेत निर्धारण गरिरहेको जस्तो पाइएको थियो। उच्च तनावबाट गुज्रिरहेका र तनावले आफ्नो स्वास्थ्यमा हानी गरिरहेको छ भन्ने विश्वास गरिरहेका मानिसहरूमा अध्ययन अवधिभरमा हेर्दा तनाव महसुस गर्ने तर त्यसको प्रभावको नकारात्मक अपेक्षा नबोक्ने मानिसमा भन्दा ठूलो परिमाणमा मृत्युदर पाइएको थियो।

वैज्ञानिकहरूले आम्दानी, शिक्षा, शारीरिक गतिविधि र धूम्रपान जस्ता जीवनशैलीसँग जोडिएका विषयलाई अलग गरेर अध्ययन गरेका थिए। उनीहरूले अन्तरसम्बन्ध पुष्टि गर्न नसकेका कारण त्यसलाई शङ्कासहित हेर्नुपर्ने हुन्छ। तर त्यसले छोटो समय गरिएका अध्ययनहरूको जस्तै सिलसिला देखाउँछ जसले हाम्रा भावनाहरूलाई हेर्ने हाम्रो दृष्टिकोण हाम्रो भावना जत्तिकै महत्त्वपूर्ण छन् भन्नेमा जोड दिइरहेका छन्।

*डेभिड रबसन लन्डनमा बस्ने विज्ञान सम्बन्धी लेखक हुन्। यो लेख सुरुमा बीबीसी फ्यूचरमा प्रकाशित भएको थियो।