चीनमा मिटू अभियान: एक प्रखर महिलालाई यसरी चुप लगाउन खोजिँदैछ

तस्बिर स्रोत, GETTY IMAGES
- Author, जाओयिन फेङ्ग, टेस वोङ्ग
- Role, वाशिङ्टन र सिङ्गापुरबाट
सियाङ्जी थकित लाग्छिन्। बेइजिङबाट बीबीसीसँग फोनमा कुराकानी गर्दै उनले भनिन्, "माफ गर्नुहोला। म आधा घण्टादेखि रोइरहेकी थिएँ।"
यो चीनका एकजना सबैभन्दा चर्चित सेलेब्रेटीविरुद्ध लागेको यौन दुर्व्यवहारको मुद्दाको फैसला आएको भोलिपल्टको कुरा हो।
यो त्यही मुद्दा थियो, जसले सियाङ्जीलाई चीनमा अनलाइन अभियान मिटूको चेहरा बनाइदिएको थियो।
तर अहिले तीन वर्षपछि आएर उनको यात्रा एउटा बन्द गल्लीमा पुगेको छ।
अदालतले सियाङ्जीको मुद्दालाई यौन उत्पीडन साबित गर्न पर्याप्त प्रमाण नभएको भन्दै खारेज गरिदिएको छ।
बीबीसीसँग कुराकानी गर्नु पूर्व सियाङ्जीले चिनियाँ सामाजिक सञ्जाल वीबोमार्फत् आफ्नी एक समर्थकसँग सम्पर्क गर्ने कोसिस गरेकी थिइन्।
तर अदालतको फैसला लगत्तै उनको र उनकी समर्थकको पनि वीबो एकाउन्ट ब्लक गरियो।
उनकी समर्थक सार्वजनिक रूपमै सियाङ्जीको पक्षमा खुलेर बोलेका कारण उनको पनि वीबो ब्लक गरिएको हो। आफूलाई अनलाइन समर्थनबाट पनि टाढा बनाइएको थाहा पाएर सियाङ्जीका आँखामा आँसु आए।
"मानिसहरूका एकाउन्टहरू लगातार बन्द गरिएका छन्। उनीहरूसँग सम्पर्क गर्न मसँग अन्य कुनै उपाय छैन। मैले उनीहरूलाई धन्यवाद भन्ने अवसर पनि गुमाउनु पर्यो," उनले भनिन्।
"विगत तीन वर्षमा चीनका नारीवादीहरूलाई एक अर्काबाट टाढा बनाइएको छ।"
सन् २०१८ मा मिटू अभियान चीन पुग्दा सियाङ्जी आफूमाथिका यौन उत्पीडनका घटना बाहिर ल्याउने कैयौँ महिलामध्ये एक थिइन्।
आवाजमाथि दमन
उनको वास्तविक नाम जोउ सियावोसुयान हो तर उनी आफ्नो उपनामबाट चिनिन्छिन्।
सियाङ्जीले एउटा तीन हजार शब्दको लेख लेखेर सरकारी प्रसारक सीसीटीभीका एकजना उद्घोषक सु चङमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन्।
उक्त पत्र सामाजिक सञ्जालमा भाइरल भएको थियो।
उनले सन् २०१४ मा आफू २१ वर्षकी हुँदा आफूमाथि यौन दुर्व्यवहार भएको आरोप लगाएकी थिइन्।
त्यसबेला एक इन्टर्नका रूपमा काम गरिरहेकी सियाङ्जीले अन्तर्वार्ता पाउने आसमा उनको ड्रेसिङ रुममा पुग्दा सु चङ ले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।
सु चङ भने त्यसबेला लाखौँ चिनियाँका लागि मनपर्ने उद्घोषक दिए र उनी हरेक वर्ष टेलिभिजनका लागि 'स्प्रिङ फेस्टिभल' ठूलो समारोहको उद्घोषण गर्थे।
सियाङजीले सुका तर्फबाट मानहानीको मुद्दा भोगिरहेकी छन्

तस्बिर स्रोत, Reuters
सियाङ्जीले एउटा अर्को लेखमा उक्त घटनाको विस्तृत विवरण दिँदै सु चाङले आफूलाई ५० मिनेटसम्म पटक पटक गलत ढङ्गले समातेको र आफूले अस्वीकार गर्दा समेत जबरजस्ती चुम्बन गरेको आरोप लगाएकी छन्।
त्यस अवधिमा कैयौँ पटक कर्मचारीहरू उक्त कोठामा आउने र जाने गरे तर डर र लाजका कारण आफूले त्यसबारे कसैलाई केही भन्न नसकेको उनले लेखेकी छन्।
सु चङ एकजना अर्का कर्मचारीसँग गफ गर्न थालेपछि मात्र आफू त्यहाँबाट उम्कन सफल भएको सियाङ्जीले बताएकी छन्।
"सु विरुद्ध बोल्दा मेरो पढाइमा असर पर्छ भनेर मलाई डर लागेको थियो त्यसले गर्दा मैले लड्ने हिम्मत पाइनँ," त्यसबेला उनले लेखेकी थिइन्।
सु ले ती आरोपहरूको लगातार खण्डन गरेका छन्।
उनले आफू एउटा अपमानजनक अभियानको सिकार बनेको भन्दै "एकदमै धेरै अपमानको सामना गर्नुपरेको" बताएका छन्।
उक्त घटनाको भोलिपल्ट आफू प्रहरीकहाँ गएको सियाङ्जीले बताएकी छन्।
तर प्रहरीले त्यसबेला चीनमा "सकारात्मक ऊर्जा"को राष्ट्रिय अभियान चलिरहेकाले मौन बस्न भनेको उनले लेखेकी थिइन्।
उक्त राष्ट्रिय सरकारी अभियानका सु चङ एक हिस्सा बनेका थिए।
त्यो अभियानको उद्देश्य मानिसहरूमा असल व्यवहार बढाउने रहेको थियो।
त्यसैले प्रहरीले प्रतिष्ठित र असल व्यवहार भएका व्यक्तिका रूपमा अभियानमा सामेल गरिएका सु चङको विरुद्ध उजुरी लिन मानेन।
उक्त कारणले आफू मिटू अभियानसम्म मौन बसेको सियाङ्जीको भनाइ छ।
यो मामिला सुले सियाङ्जीमाथि मानहानीको मुद्दा लगाएपछि अझ धेरै चर्चामा आयो।
त्यसपछि सियाङ्जीको जीवन पनि पूरै रूपमा बदलियो।
वुहानको एउटा मध्यम वर्गीय परिवारमा जन्मिएकी सियाङ्जी १८ वर्षको उमेरमा चलचित्र निर्देशनको अध्ययनका लागि बेइजिङ पुगेकी थिइन्।
त्यस बेलादेखि उनी पटकथा लेखकका रूपमा पनि काम गरिरहेकी थिइन्।
उक्त घटनापछि उनले काम छाड्नुपर्यो।
विगत तीन वर्षदेखि उनी आफ्नो पुरानो बचत र स्वतन्त्र लेखनबाट अनियमित रूपमा हुने आम्दानीबाट गुजारा गरिरहेकी छन्।
उनका वकिलले यो कानुनी लडाइँका बेला सामान्य मात्र शुल्क लिएकाले उनलाई त्यसले केही राहत भने भयो।
उनले आफ्नो ध्यान कानुनी लडाइँ र अन्य यौन उत्पीडितको आवाज उठाउन केन्द्रित गरिन्।

तस्बिर स्रोत, Reuters
सामाजिक सञ्जालमार्फत् कैयौँ महिलाले उनीसँग मद्दत पनि मागे र उनका तीन लाखभन्दा बढी फलोअर्स पनि भए।
अर्कोतर्फ सामाजिक सञ्जालमा उनका गतिविधि रोक्ने चिनियाँ अधिकारीका कोसिसहरू पनि तीव्र भए।
सियाङ्जीलाई वीबोमा केही पोस्ट गर्न रोकियो। त्यति मात्र होइन मि टू अभियानका लागि चीनमा प्रचलित शब्द "राइस बन्नी"लाई सामाजिक सञ्जालबाट हटाइयो।
पहिले उनले आफ्ना समर्थकलाई लेख पठाएर पनि सामाजिक सञ्जालमा पोस्ट गराइन् तर पछि उनका समर्थकका खाता पनि बन्द गरिदिन थालियो।
हालैका दिनमा उनीमाथि गरिएका व्यक्तिगत टिप्पणी र आलोचना पनि बढेका छन्।
केही 'राष्ट्रवादी' ब्लगरहरूले उनलाई 'झूटो बोलेको' र 'विदेशी शक्तिसँग मिलेको' आरोप लगाएका छन्।
यसै साता चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्समा छापिएको एउटा टिप्पणीमा विदेशी शक्तिले चिनियाँ समाजलाई विभाजित गर्न मि टू अभियानको प्रयोग गरेको बताइएको थियो।
सियाङजीलाई कानुनले पनि झड्का दियो। उनका भनाइमा एउटा नयाँ कानुन आएपछि अदालतले उनको मामिलालाई यौन उत्पीडन मान्न अस्वीकार गर्यो।
उनका अनुसार अदालतमा उनलाई आफ्नो कुरा राख्न र उत्पीडनको प्रमाण देखाउन गरिएको कोसिसमा अवरोध गरियो।
उनले सबुदका रूपमा सन् २०१४ मा आफूले उक्त घटना हुँदा लगाएको लुगा पेस गरेकी थिइन्।
सुरुवाती जाँचमा त्यसमा सुको डीएनए भेटिएन। उनले फेरि जाँच गर्न अपिल गर्दा अदालतले उक्त लुगा नै नभेटिएको जवाफ दियो।
अदालतले सु लाई बयानका लागि बोलाउनु पनि आवश्यक नरहेको बताएको सियाङ्जीको भनाइ छ।
चिनियाँ कानुनका विशेषज्ञ डारिअस लङ्गरिनोले बीबीसीसँग बताए अनुसार अदालतको तर्क बलियो नलागेको बताए।

तस्बिर स्रोत, Getty Images
केही चिनियाँहरू अदालतको यो फैसलाका पछि राजनीतिक कारण थियो।
उता सियाङ्जीमाथि मानहानीको मुद्दा चलिरहेको छ। त्यसमा एक लाख डलर क्षतिपूर्तिको माग गरिएको छ।
बीबीसीले यसबारे सु र उनका वकिलसँग सम्पर्कको प्रयास गरेको थियो। तर उनीहरूका तर्फबाट कुनै जवाफ आएन।
गत हप्ता उनका एकजना समर्थकले पोस्ट गरेको भिडिओमा सियाङ्जी अदालतबाट निस्केपछि निराश भएको देखिन्छ।
उनी भन्छिन्, "जब त्यो घटना भयो म २१ वर्षकी थिएँ। अहिले म २८ वर्षकी भए र म थाकिसके... मलाई थाहा छैन अरू तीन वर्ष म लड्ने हिम्मत जुटाउन सक्छु कि सक्दिन।"
उनी यी सबै घटनाहरूपछि अब उनले पुन: आफ्नो करिअर अघि बढाउन सक्छिन् कि सक्दिनन् भनेर डराउने गरेको सियाङ्जीले बीबीसीलाई बताइन्।
उनलाई उनका केटा साथी, परिवारका सदस्य र साथीहरूले भावनात्मक सहारा दिएका छन्।
उनलाई लेख्न र साथीहरूसँग कुरा गर्न सबैभन्दा मन पर्छ।
"कुरा गर्नु भनेको घाउमा मल्हम लगाउनु जस्तो हो। त्यसैले त सामाजिक सञ्जालमा बोल्न रोकिनु यस्तो पीडादायक भएको छ," उनी भन्छिन्।
उनी दु:खी व्यक्तिलाई बोल्न रोक्नु भनेको उसलाई सिद्ध्याउन चाहनु हो भन्ठान्छिन्।
सियाङ्जीको मुद्दा हालैका साताहरूमा अदालतले खारिज गरिदिएको दोस्रो 'हाइ प्रोफाइल' मुद्दा हो।
यसअघि चिनियाँ अदालतले अलीबाबा कम्पनीका एक प्रबन्धक विरुद्ध लागेको यौन उत्पीडनको आरोपको खारेज गरिदिएको थियो।
चीनमा यौन उत्पीडनका कमै मात्र मुद्दामा पीडितले जितेका छन्।
यौन उत्पीडन साबित गर्न पीडितले अदालतमा कैयौँ सबुदहरू दिनुपर्ने हुन्छ।

तस्बिर स्रोत, Getty Images
त्यसैले कैयौँ पीडितहरू आफूमाथि भएको उत्पीडनबारे सामाजिक सञ्जालमा लेख्छन्।
न्यूयोर्क विश्वविद्यालयकी रिसर्च फेलो आरन हालगुवा चीनमा संस्थाहरू यस्ता पीडितका उजुरीप्रति कारबाही गर्न असफल भएकाले कैयौँ महिलाहरूले सामाजिक सञ्जालमा लेख्नु उनीहरूको बाध्यता भएको बताउँछिन्।
तर सामाजिक सञ्जालमा लेखिएपछि आरोप लागेका व्यक्तिले मानहानि मुद्दा लगाइदिन्छन् र महिलाहरू प्राय: त्यस्ता मुद्दा हार्छन्।
गत ज्यानुअरीमा आएको एउटा कानुनमा महिलाहरूले उत्पीडनको मुद्दा हाल्न पाउने र कम्पनीहरूले पनि यस्ता मामिलाको राम्ररी जाँच गर्नुपर्ने तथा त्यसलाई रोक्न ठोस कदम उठाउनुपर्ने उल्लेख थियो।
तर अदालतका फैसलाहरूले त्यसको कार्यान्वयनमा प्रश्न खडा गरेका छन्।
अभियानकर्मीहरू सियाङ्जीको मामिलामा अदालतको फैसला चीनमा मि टू अभियानप्रति स्पष्ट हमला भएको बताउँछन्।
एकजना अभियानकर्मी लिआङ सियाओवेनले बीबीसीलाई उक्त फैसलापछि ३०० नारीवादी समूहको वीच्याट ग्रुप बन्द गरिएको बताइन्।
तर सियाङ्जीको मामिलापछि चीनमा महिला अधिकारलाई लिएर जागरूकता बढेको देखिएको छ।
नारीवादी कार्यकर्ता लू पिन मि टू अभियान महिलाको आवाज उठाउने भएकाले महत्त्वपूर्ण भएको बताउँछिन्।
सियाङ्जीलाई पनि आफ्नो मुद्दाले न्यायको लडाइमा केही त प्रगति हासिल भयो भन्ने लागेको छ।
उनी भन्छिन्, "हामी साथसाथ लड्छौँ। हामीले पहिले केही हदसम्म जित हासिल गर्यौँ। मैले मेरो कोसिस खेर गयो भनेर एक सेकेन्डका लागि पनि सोचेकी छैन।"








