आइन्स्टाइनको सापेक्षतासम्बन्धी पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिक्यो

आइन्स्टाइनले सापेक्षताको सिद्धान्त तयार गर्दै गर्दाको पाण्डुलिपि

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यो कागजात मङ्गलवार प्यारिसस्थित क्रिस्टिको लिलामी घरमा बिक्रीमा राखिएको थियो

अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एउटा पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिकेको छ।

प्यारिसस्थित क्रिस्टिको लिलामी घरमा भएको यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको किर्तिमान तोडेको छ।

सैद्धान्तिक भौतिकशास्त्रीको महान् वैज्ञानिक काम देखिएका उपलब्ध दुई मध्ये यो एउटा कागज हो।

सन् १९१५ मा प्रकाशित यो सिद्धान्तले मानवजातिको अन्तरिक्ष, समय र गुरुत्त्वाकर्षणबारेको बुझाइ परिवर्तन गरिदिएको थियो।

हिसाबकिताबको यो पाण्डुलिपि आइन्स्टाइन र उनका स्वीस सहकर्मी मिसेल बेसोले सन् १९१३ र १९१४ तयार गरेका थिए। यी कागजात पनि बेसोले नै राखेका थिए।

अल्बर्ट आइन्स्टाइन

तस्बिर स्रोत, Reuters

क्रिस्टिको लिलामी घरले यी पाण्डुलिपिलाई जोगाएर राख्ने बेसोको सोचको तारिफ गरेको छ।

"आइन्स्टाइनले त्यस्ता थिए जसले आफूले लेखेका थोरैमात्रै कागजात राखे, त्यसैले यो पाण्डुलिपि रह्यो भन्ने तथ्य मात्रै पनि हाम्रा लागि असाधारण हो," लिलामी घरका विज्ञ भिन्सेन्ट बेल्लोएले भने।

पाण्डुलिपिमा कालो कलमले हिसाबकिताब गरिएको छ र बेल्लोएका अनुसार सिद्धान्त तर्जुमा गर्ने दौरान त्यहाँ थुप्रै गल्ती देखिन्छ।

लिलामी घर क्रिस्टिले यो बिक्रीले "यी कागजातको महत्त्व बुझ्ने विश्वभरिका सङ्ग्रहकर्तालाई आकर्षित" गरेको जनाएको छ।

तर ५४ पृष्ठको यो पाण्डुलिपि कसले खरिद गरेको भन्ने खुलाइएको छैन।

आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले ब्रह्माण्ड, ग्रहका कक्ष र ब्ल्याक होलको उत्पत्तिमा थप स्पष्टता ल्याएको थियो।

गत मे महिनामा आइन्स्टाइनको सबैभन्दा चर्चित E=mc² इक्वेसनबारे उनले लेखिएको पत्र १२ लाख डलरमा अमेरिकामा बिक्री भएको थियो।