चन्द्रमा पुगेर फर्किएका र अझै जीवित अन्तरिक्षयात्रीहरू अहिले के गर्दै छन्

अपोलो ११ मिशनका क्रममा खिचिएको चन्द्रमामा खिचिएको मानिसको पदचिह्नको तस्बिर

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, चन्द्रमामा अब कसले पहिलो पाइला टेक्ला?
    • Author, बेन फेल
    • Role, बीबीसी न्यूज

अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् १९६० र १९७० को दशकमा सञ्चालन गरेको अपोलो मिशनमा सहभागी भई २४ अन्तरिक्षयात्री चन्द्रमा पुगे। उनीहरू सबै जना अन्तरिक्ष अन्वेषणका अग्रणी थिए।

सन् १९७० मा अपोलो-१३ मा समस्या उत्पन्न भएको थियो। कमान्डर जिम लभलले उक्त यानलाई सुरक्षित रूपमा पृथ्वी फिर्ता गराए। गत साता ९७ वर्षको उमेरमा उनको निधन भयो। उनको मृत्यु भएपछि अब पृथ्वीको कक्षबाट पनि टाढा अन्तरिक्षमा यात्रा गरेका पाँच जना मात्रै जीवित छन्।

मानिसले चन्द्रमामा अन्तिम पटक पाइला टेकेको ५० वर्ष नाघिसकेको छ। अहिले फेरि मानिसलाई चन्द्रमामा पुर्‍याएर सुरक्षित फिर्ता ल्याउने प्रयासमा विभिन्न देशहरू देखिएका छन्।

नासाको 'आर्टिमिस' कार्यक्रमले एक दशकभित्र अन्तरिक्षयात्रीहरूलाई फेरि चन्द्रमामा पुर्‍याउने लक्ष्य लिएको छ। चीनले पनि सन् २०३० सम्म मानवजातिलाई चन्द्रमामा अवतरण गराउने उद्देश्य लिएको छ। चीनले सन् २०२४ मा चन्द्रमाको सबैभन्दा टाढाको ठाउँमा एउटा मानवरहित यानलाई सकुशल अवतरण गराइसकेको छ।

केही निजी कम्पनीहरूले पनि वैज्ञानिक अनुसन्धानका लागि यानहरू चन्द्रमामा पुर्‍याउने प्रयास नगरेका होइनन्। तर त्यस क्रममा सफलताभन्दा पनि दुर्घटनाहरू धेरै भएका छन्।

नासाले सन् १९७२ पछि पहिलो पटक गत वर्ष चन्द्रमामा मानवसहितको यान पठाउने योजना बनाएको थियो। तर तयारीका लागि थप समय चाहिने निष्कर्षमा पुग्दै उक्त निकायले आर्टिमिस-२ प्रक्षेपणको मिति सार्दै २०२६ मा पुर्‍यायो।

दुई निजी कम्पनी स्पेसएक्स र बोइङले पनि आफ्नै प्रविधि विकासलाई निरन्तरता दिइरहेका छन्। तर ती अझै सफल भइसकेका छैनन्।

नासाका अन्तरिक्षयात्री जिम लभल

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, अपोलो-१३ जिम लभलको अन्तिम मिशन थियो। उनको गत साता निधन भयो

बोइङको 'स्टारलाइनर'ले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा पुर्‍याएका दुई अन्तरिक्षयात्रीलाई अलपत्र छाड्नुपरेको घटना उक्त कम्पनीका लागि लज्जाको विषय बन्यो।

अर्को कम्पनी स्पेसएक्सको 'स्टारशिप'मा पनि अन्तरिक्षतिर प्रक्षेपण गरिएको केही बेरमा विस्फोटन भयो। त्यस्तो घटना पर्यवेक्षकहरूका लागि नौलो भने होइन।

विभिन्न कारणले चन्द्रमामा पुनः पुग्ने योजनामा विलम्ब भइरहेको छ भने चन्द्रमामा पुगेर फर्किएका अन्तरिक्षयात्रीहरूको सङ्ख्या पनि घट्दो क्रममा छ।

अपोलो-८ को पहिलो चन्द्रमा मिशनमा जिम लभलसँगै फ्र्याङ्क बोर्मन र बिल एन्डर्स पनि सहभागी थिए। त्यस क्रममा उनीहरूले अपोलो-११ अवतरणका लागि पछि प्रयोग गरिएको 'कम्यान्ड/सर्भिस मोड्यूल' तथा त्यसको जीवनरक्षा प्रणालीको परीक्षण गरेका थिए।

उनीहरूको यानले पृथ्वी फर्किनुअघि १० पटक चन्द्रमामा परिक्रमा गरेको थियो। त्यति बेला लभल अपोलो-१३ को कमान्डर बनेर चन्द्रमामा पाइला टेक्ने पाँचौँ व्यक्ति बन्लान् भन्ठानिएको थियो। तर त्यो योजना सार्थक भएन।

अपोलो १३' नामक चलचित्रले जीवित रहन उनले गरेको सङ्घर्षको कथा प्रस्तुत गरेको छ। उक्त चलचित्रमा टम ह्याङ्क्सले लभलको भूमिका निर्वाह गरेका छन्।

सन् १९७३ मा नासाबाट अवकाश पाएपछि लभलले दूरसञ्चार उद्योगमा काम गरे। उक्त घटनाका बेला सञ्चारमाध्यमको ध्यानाकृष्ट गरेकी उनकी पत्नी मर्लिनको २०२३ को अगस्ट महिनामा मृत्यु भएको थियो।

चन्द्रमा पुगेका चार जना र अपोलो अभियानमा सहभागी भएका तर योजना हुँदाहुँदै चन्द्रमामा पुग्न नसकेका एक अन्तरिक्षयात्री को हुन्? अनि उनीहरूका कथा कस्ता छन्?

बज एल्ड्रिन (अपोलो-११)

बज एल्ड्रिन (दायाँ) उनका टोली सदस्यहरू नील आर्म्सट्रङ र माइकल कोलिन्स अन्तरिक्षयात्रामा जानुअघि

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, बज एल्ड्रिन (दायाँ) र एपोलो ११ मा उनका टोली सदस्यहरू नील आर्म्सट्रङ र माइकल कोलिन्स अन्तरिक्षयात्रामा जानुअघि

सन् १९६९को जुलाई २१ मा भूतपूर्व लडाकु विमानचालक एड्विन "बज" एल्ड्रिन चन्द्रमामा अवतरण गरेको यानबाट बाहिर निस्किएर चन्द्रमाको माटोमा पाइला टेक्ने दोस्रो व्यक्ति बने। त्यसको झन्डै २० मिनटअघि उनका कमान्डर नील आर्म्स्ट्रङले चन्द्रमामा पहिलो पाइला टेकेका थिए।

त्यहाँ एल्ड्रिनको मुखबाट निस्किएको पहिलो शब्द थियो, "सुन्दर दृश्य।"

आर्म्स्ट्रङले उनलाई "यो विशेष छैन त?" भनेर सोधे। "अद्भुत नीरवता," एल्ड्रिनले प्रतिक्रिया दिए।

तर आफू दोस्रो भएकोमा एल्ड्रिनले त्यति सहज मानेनन्। उनीसँगै चन्द्रमा गएका सहयात्री माइकल कोलिन्सका अनुसार "चन्द्रमामा पुग्ने दोस्रो व्यक्ति भएकोमा हर्षित हुनुभन्दा पनि पहिलो नभएकोमा उनी बढी थकथकी मान्थे।"

तर एल्ड्रिनले आफ्नो उपलब्धिमा गौरव गरेकै देखिन्थ्यो। चन्द्रमाबाट फर्किएको कैयौँ वर्षपछि एक दिन अपोलो-११ अभियान भएकै थिएन भनेर टिप्पणी गर्ने एक व्यक्तिलाई त्यति बेला ७२ वर्षीय एल्ड्रिनले च्यापुमा मुक्का हानिदिएका थिए।

सन् २०१२ मा नील आर्म्स्ट्रङको निधन भएपछि एल्ड्रिनले भनेका थिए, "एक सच्चा अमेरिकी नायक र मैले चिनेका सबैभन्दा राम्रो पाइलटको निधनमा विश्वभरिका दशौँ लाख मानिसहरू मसँगै शोक मनाउँदै छन्।"

जीवनमा पछि अनेकौँ सङ्घर्ष गर्नुपरे पनि उनले साहसिक यात्रा कहिल्यै छाडेनन्। उनी ८६ वर्षको उमेरमा पनि उत्तरी ध्रुव र दक्षिणी ध्रुव दुवैको यात्रामा निस्किए।

उनी चर्चित हस्तीमध्ये पर्छन्। उनी अन्तरिक्ष कार्यक्रम र विशेष गरी मङ्गल ग्रहको अन्वेषण गर्नुपर्ने पक्षमा उभिँदै आएका छन्।

"हामी त्यहाँ [मङ्गल ग्रहमा] पुग्नु र फर्किनु मात्र पर्छ भन्ने मलाई लाग्दैन। हामीले अपोलोका बेला त्यसो गरिसक्यौँ," उनी भन्छन्।

नयाँ पुस्ताका मानिसहरू उनलाई एनिमेशनमा आधारित चलचित्र शृङ्खला 'टोइ स्टोरी'का पात्र बज लाइटयिअरको भूमिकाबाट चिन्छन्।

ज्यानुअरी २०२३ मा उनले ९३ वर्षको उमेरमा चौथो पटक बिहे गरे।

चार्ल्स ड्यूक (अपोलो-१६)

चन्द्रमामा हिँड्ने मानिसमध्ये अहिले चार जना मात्र अझै जीवित छन्।

तीमध्ये चार्ल्स ड्यूक एक हुन्। उनी चन्द्रमामा पुग्दा मात्रै ३६ वर्षका थिए। त्यसैले उनी चन्द्रमामा पाइला टेक्ने सबैभन्दा कान्छो व्यक्ति बने।

बीबीसीसँग एउटा अन्तर्वार्तामा पछि उनले त्यहाँको "अद्भुत भौगोलिक संरचना"बारे सुनाएका थिए।

"त्यसको सौन्दर्य... अन्तरिक्षको कालिमा र चन्द्रमाको क्षितिजबीच विद्यमान स्पष्ट भिन्नता... म त्यो कुरा कहिल्यै बिर्सिन सक्दिनँ। त्यो निकै अपत्यारिलो थियो।"

उनले नासाको चन्द्रमा अन्वेषण मिशनमा त्यसअघि पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका थिए।

सन् १९६९ मा अपोलो-११ अवतरण हुँदा उनी 'क्याप्स्यूल कम्यूनिकेटर' थिए। मिशन नियन्त्रणका क्रममा लाइनमा एकातिर ड्यूक थिए भने नील आर्म्स्ट्रङ अर्कातिर।

चन्द्रमामा यान अवतरण भएपछि आर्म्स्ट्रङले भने, "ह्यूस्टन, यो ट्रयाङ्क्विलिटी बेस हो। ईगल (यान)ले अवतरण गरेको छ।"

आफ्नो विशिष्ट लवजमा ड्यूकले जबाफ दिए, "रोजर, ट्रयाङ्क्विलिटी। हामीले [तपाईँको] सन्देश प्राप्त गर्‍यौँ। हामी केही जना तपाईँहरूका लागि सास रोकेर नीलोकालो हुने गरी बसेका थियौँ, अब हामीले फेरि सास फेर्न पायौँ।"

"मैले साँच्चै भनेको थिएँ। अन्तिम मिनेटतिर म सास रोकेरै बसेको थिएँ," पछि उनले बीबीसीसँग भनेका थिए।

ह्यूस्टनस्थित एपोलो‍-११ मिशन नियन्त्रण कक्षमा चार्ल्स ड्यूक, जेम्स लभल र फ्रेड हेज

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, चार्ली ड्यूक नामले पनि चिनिने चार्ल्स ड्यूक जेम्स लभल र फ्रेड हेजसँग अपोलो-११ को मिशन नियन्त्रण कक्षमा

सन् २०२२ मा बीबीसीसँगको कुराकानीमा ड्यूकले नासाको आर्टिमिस मिशनप्रति आफू उत्साहित भएको बताएका थिए। तर नयाँ पुस्ताका अन्तरिक्षयात्रीका लागि त्यो सोचे जसरी सहज भने नहुनेतर्फ पनि उनले सचेत गराएका थिए।

"उनीहरूले अवतरणको लागि [चन्द्रमाको] दक्षिणी ध्रुवनजिकको ठाउँ छानेका छन्, चन्द्रमामा यदि कतै बरफ छ भने त्यही क्षेत्रमा छ। त्यसैले कठिन हुन सक्छ। तर हामी सफल भइछाड्छौँ," उनले भनेका थिए।

अहिले उनी आफ्नी पत्नी डोरथीसँग टेक्ससको सान आन्टोनियोनजिकै बस्छन्। उनीहरूको बिहे भएको ६० वर्ष भइसक्यो।

फ्रेड हेज

नासाले तालिमका लागि प्रयोग गर्ने जेटका अगाडि फ्रेड हेज

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, फ्रेड हेज र उनको टोलीका सदस्यहरू पृथ्वी फर्किँदा आफूले कमाएको ख्याति देखेर छक्क परेका थिए

सन् १९७० मा अपोलो-१३ पृथ्वीबाट ३,२१,००० किलोमिटर टाढा रहेको बेला अन्तरिक्षयानभित्रै विस्फोट भयो र पूरै अभियान स्थगित गर्नुपर्‍यो। उक्त दुर्घटनामा परेर पनि जोगिने अन्तरिक्षयात्रीहरूमध्ये फ्रेड हेज पनि थिए।

नासाले क्षतिग्रस्त अन्तरिक्षयान र त्यसको चालक दललाई सुरक्षित रूपमा फर्काउन गरेको प्रयास पूरा विश्वले व्याकुल भएर नियालिरहेको थियो। फर्किँदा हेज अनि उनका सहकर्मीद्वय जेम्स लभल र ज्याक स्विगर्ट प्रसिद्ध भइसकेका थिए।

"त्यहाँ माथि हुँदा मैले केही छुटाएँ कि जस्तो मलाई महसुस भयो," द टुनाइट शो नामक टेलिभिजन कार्यक्रममा कार्यक्रम प्रस्तोता जोनी कार्सनसँग उनले भनेका थिए।

हेज चन्द्रमामा चाहिँ कहिल्यै पुग्न सकेनन्। उनलाई अपोलो-१९ को कमान्डर योजना थियो। तर बजेट कटौतीका कारण उक्त मिशन स्थगित भयो। अपोलो-१७ पछिका सबै अभियानहरू त्यसरी नै तुहिएका थिए।

पछि उनले नासाको 'एन्टर्प्राइज' नामक स्पेस शटल प्रोटोटाइपको परीक्षणमा पाइटल बनेर काम गरे।

अपोलो अभियानमा सहभागी आफ्ना धेरै सहकर्मीहरूले जस्तै हेजले पनि नासा छोडेपछि पूरै अवकाश नलिँदासम्म एरोस्पेस उद्योगमा काम गरे।

ह्यारिसन श्मिट (अपोलो-१७)

चन्द्रमामा ह्यारिसन श्मिट अमेरिकी झण्डानजिकै

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, चन्द्रमामा पुग्ने पहिलो वैज्ञानिक ह्यारिसन श्मिट थिए

त्यति बेलाका अधिकांश अन्तरिक्षयात्रीहरू अमेरिकी सेनाका विमानचालक थिए। तर ह्यारिसन श्मिटसँग त्यस्तो अनुभव थिएन।

उनी भूगर्भशास्त्री र प्राज्ञिक व्यक्ति थिए। नासाका अन्तरिक्षयात्रीहरूलाई चन्द्रमामा कस्तो भूगर्भीय क्षेत्रमा ध्यान दिने भनेर सिकाउँदासिकाउँदै उनी सन् १९६५ मा आफैँ वैज्ञानिक-अन्तरिक्षयात्री बनेका थिए।

श्मिट १९७२ को डिसेम्बरमा चन्द्रमामा पाइला टेक्ने अन्तिम दुई व्यक्तिमध्ये एक हुन्। उनी कमान्डर यूजीन सर्ननले नेतृत्व गरेको अपोलो-१७ अभियानका सदस्य थिए।

नासा छोडेपछि सन् १९७५ मा उनी आफ्नो गृहनगर न्यूमेक्सिकोबाट अमेरिकाको सिनेटमा निर्वाचित भए। उनले सिनेटमा एक कार्यकाल मात्र काम गरे।

त्यसपछि उनले विभिन्न उद्योगहरूमा परामर्शदाताको रूपमा काम गर्दै आएका छन्। उनी प्राज्ञिक क्षेत्रमा पनि सक्रिय छन्।

डेभिड स्कट (अपोलो-१५)

अन्तरिक्षयात्रीको पोसाकमा खिचिएको डेभिड स्कटको तस्बिर

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, डेभिड स्कट चन्द्रमामा पाइला टेक्ने सातौँ व्यक्ति हुन्

चन्द्रमामा पाइला टेकेका चार जीवित व्यक्तिमध्ये डेभिड स्कट पनि हुन्। उनी अपोलो-१५ का कमान्डर थिए। उनी चन्द्रमामा 'गाडी' गुडाउने पहिलो व्यक्ति पनि हुन्।

स्कट र उनको टोलीका सदस्य जेम्स इर्विनले १९७१ मा 'लुनर रोभिङ भिअकल' (एलआरभी) को परीक्षण गरेका थिए। त्यसलाई "चन्द्रमामा मान्छेको पहिलो पाङ्ग्रा" पनि भनिएको थियो।

प्रतिघण्टा १२ किलोमिटरको गतिमा गुड्ने उक्त वाहनले अन्तरिक्षयात्रीहरूलाई चन्द्रमा पुर्‍याइएको ल्यान्डरबाट हिँडेरभन्दा धेरै चाँडो लामो दूरीको यात्रा गर्न सजिलो बनायो।

"पहिलो मिशनमा यसले काम गर्छ कि गर्दैन भन्ने लागेको थियो," त्यस बेलाको कुरा सम्झँदै उनले पछि भनेका थिए। "त्यसलाई बाहिर निकाल्ने र खोल्ने काम पनि रोमाञ्चक थियो। अनि त्यसले साँच्चिकै काम पनि गर्‍यो।"

चन्द्रमाबाट फर्केपछि स्कटले नासामा विभिन्न व्यवस्थापकीय भूमिकामा काम गरे। पछि उनले निजी क्षेत्रमा पनि काम गरे।

उनले कैयौँ चलचित्र र टेलिभिजन परियोजनामा पनि सल्लाहकारको रूपमा काम गरेका छन्।

एचबीओको लघुशृङ्खला 'फ्रम द अर्थ टु द मून' र अपोलो-१३ मा पनि उनले काम गरे।

अब चन्द्रमाको यात्रा गर्ने साहसी व्यक्तिहरूले कस्तो उपलब्धि हात पार्लान् त?

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।