ब्रह्माण्ड 'बूढो' भयो, नयाँ ताराहरू बन्ने गति पनि घट्यो

राति आकाशतिर फर्किएर ताराहरू हेर्दै गरेका एक व्यक्तिको तस्बिर

तस्बिर स्रोत, Anadolu via Getty Images

    • Author, फर्नान्डो डुआर्टे
    • Role, बीबीसी वर्ल्ड सर्भिस

कुनै वस्तु पनि सधैँभरि टिक्दैन, हाम्रो ब्रह्माण्ड पनि। खगोलविद्हरूले विगत दुई दशकदेखि ब्रह्माण्डले आफ्नो 'स्वर्णयुग' पार गरिसकेको देखाउने सङ्केत फेला पार्न थालेका छन्। नयाँ ताराहरू निकै न्यून सङ्ख्यामा उत्पन्न हुनुलाई ब्रह्माण्ड "बूढो" हुँदै गएको बलियो सङ्केत मानिएको छ।

यसको अर्थ ब्रह्माण्डमा ताराहरू घट्न थाले भन्ने चाहिँ होइन है! ब्रह्याण्डमा १० नील वटाजति ताराहरू भएको अनुमान गरिएको छ। उक्त सङ्ख्यामा १ पछाडि २४ वटा शून्य हुन्छन्।

यद्यपि खगोलशास्त्रीहरू नयाँ ताराहरू उत्पन्न हुने दर चाहिँ घट्न थालेको ठान्छन्।

तारा जन्मिन्छ अनि मर्छ

वैज्ञानिक समुदाय ब्रह्माण्डको उमेर १३.८ अर्ब वर्ष पुगेको मान्यता राख्छ। महा विस्फोट पनि भनिने 'बिग ब्याङ'को केही समयपछि ताराहरू बन्न थालेका थिए भन्ने विज्ञहरूको ठम्याइ छ।

गत वर्ष जेम्स वेब स्पेस टेलिस्कोपले हाम्रो आकाशगङ्गा 'मिल्की वे'मा पत्ता लगाएका तीनवटा ताराहरूको उमेर झन्डै १३ अर्ब वर्ष थियो।

ताराहरू वास्तवमा तातो ग्यासका विशाल पिण्ड हुन्। सबै ताराहरू एउटै तरिकाले बन्छन्।

अन्तरिक्षमा धुलो र ग्यासका विशाल बादलहरू हुन्छन्। तिनलाई 'नेब्युला' भनिन्छ। ताराहरू तिनै नेब्युलामा बन्छन्। गुरुत्वाकर्षणले ग्यासलाई एक ठाउँमा बाँध्छ। ग्यास निकै तात्छ र प्रोटोस्टार अर्थात् 'शिशुतारा' उत्पन्न हुन्छ।

चम्किलो केन्द्रको तल र माथि सुन्तला र नीलो रङगका चक्राकार बादलहरू। पृष्ठभूमिमा ससाना ताराहरू देखिन्छन्

तस्बिर स्रोत, Nasa/Esa/CSA/STScI; Processing: J DePasquale/A Pagan/A Koekemoer (STScI)

तस्बिरको क्याप्शन, प्रोटोस्टारहरूलाई ग्यास र धुलोका बादलहरूले घेरेका हुन्छन्

ताराको मध्यभाग तातेर तापक्रम लाखौँ डिग्री पुग्दा त्यहाँ भएका हाइड्रोजन परमाणुहरू च्यापिएर हीलिअम बन्छन्। त्यो प्रक्रियालाई 'न्यूक्लिअर फ्यूजन' अर्थात् 'पारमाणविक संलयन' भनिन्छ। त्यस क्रममा प्रकाश र ताप निस्किन्छ। त्यसपछि बल्ल तारा स्थिर र "मेन सीक्वन्स" भनिने आफ्नो जीवनको मुख्य चरणमा पुग्छ।

वैज्ञानिकहरूको आकलनअनुसार ब्रह्माण्डमा भएका झन्डै ९० प्रतिशत ताराहरू अहिले त्यस्तो चरणमा छन्। तीमध्ये हाम्रो सूर्य पनि पर्छ। त्यस्ता ताराहरू सूर्यभन्दा १० गुना सानादेखि २०० गुनासम्म ठूला छन्।

समयक्रममा ती ताराहरूमा भएको 'इन्धन' सकिन्छ र ती मर्न थाल्छन्। त्यसका लागि ताराहरूले भिन्नाभिन्दै बाटो लिन सक्छन्।

हाम्रो सूर्यजस्ता कम पिण्डमान भएका ताराहरूमा अर्बौँ वर्षसम्म निस्तेज हुँदै जाने प्रक्रिया उत्पन्न हुन्छ।

तर सूर्यको भन्दा कम्तीमा पनि आठ गुना पिण्डमान भएका ठूला ताराहरूको अन्त्य निकै नाटकीय हुन्छ। तिनमा विशाल विस्फोट हुन्छ। त्यसलाई 'सूपरनोभा' भनिन्छ।

ताराको जीवनचक्र देखाउने चित्राङ्कन

पुराना ताराको वर्चस्व

तारा निर्माण हुने प्रवृत्तिहरूको अध्ययन गर्ने अन्तर्राष्ट्रिय खगोलशास्त्रीहरूको टोलीले ब्रह्माण्डमा अस्तित्वमा आउन सक्ने ताराहरूमध्ये ९५ प्रतिशतको जन्म भइसकेको सन् २०१३ मा सार्वजनिक गरेका थिए।

"आकाशगङ्गाहरूले ग्यासलाई तारा बनाउँछन्। अहिले तिनले घट्दो दरमा त्यसो गरिरहेका छन्," क्यानडास्थित यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियामा प्राध्यापन गर्ने ब्रह्माण्डशास्त्री डग्लस स्टक भन्छन्।

उनी युरोपेली अन्तरिक्ष निकाय ईएसएका यूक्लिड र हर्शल टेलिस्कोपहरूबाट प्राप्त डेटाको विश्लेषण गरिएको एउटा अध्ययनमा संलग्न थिए। त्यसबारे एउटा शोधपत्र प्रकाशोन्मुख छ।

उनी र उनको टोलीमा भएका वैज्ञानिकहरूले २६ लाख वटा आकाशगङ्गाको अध्ययन गरेका छन्। यूक्लिडको परियोजनाले ब्रह्माण्डको थ्रीडी नक्सा बनाउन सघाउँछ।

सुन्तला रङ्गका बादलहरू, पृष्ठभूमिमा ससाना तारा छन् भने अगाडिपट्टि नयाँ तारा बन्न लागेका चम्किला तीनवटा अलिक ठूला बिन्दु छन्

तस्बिर स्रोत, Esa/Euclid/Euclid Consortium/Nasa; Processing: JC Cuillandre (CEA Paris-Saclay)/G Anselmi

तस्बिरको क्याप्शन, युरोपेली अन्तरिक्ष निकायको यूक्लिड अन्तरिक्ष परियोजनाले नयाँ ताराहरू बन्दै गरेका क्षेत्र पत्ता लगाएको

खगोलशास्त्रीहरूको विशेष रुचि अन्तरिक्षमा ताराबाट छरिएको धुलोबाट उत्पन्न हुने तापमा थियो। बढी सङ्ख्यामा तारा बन्ने आकाशगङ्गाहरूमा बढी तातो धुलो हुन्छ किनभने त्यस्ता आकाशगङ्गामा ठूलाठूला र अझ ताता ताराहरू हुन्छन्।

प्राध्यापक स्कटका अनुसार आकाशगङ्गाहरूमा अर्बौँ वर्षको अवधिमा तापक्रम घट्दै गएको पत्ता लागेको छ।

"अधिकतम तारा निर्माण हुने अवधि हामीले निकै अघि छिचोलिसकेका छौँ। तारा निर्माण हुने प्रत्येक पुस्तामा अब निकै कम सङ्ख्यामा नयाँ ताराहरू बन्ने छन्," उनले भने।

चिसिँदै मर्ने छ ब्रह्माण्ड

पुराना ताराहरू मरेपछि तिनका अवशेषबाट नयाँ ताराहरू बन्न सक्ने सम्भावना रहन्छ। तर त्यो त्यति सजिलो चाहिँ छैन।

सबैले बुझ्ने गरी एउटा उदाहरण लिऔँ। निर्माण सामग्रीहरू प्रयोग गरेर हामी नयाँ घर बनाउन सक्छौँ। नयाँ घर बनाउँदा हामीले पुरानो घरका सामान फेरि प्रयोग गर्न खोज्नुपर्छ। तर सबै कुरा उपयोगी हुन्छन् भन्ने छैन।

"त्यसको अर्थ पुराना सामान प्रयोग गर्दा हामीले अलिक सानो घर मात्र बनाउन सक्छौँ। जति पटक घर भत्काइन्छ अर्को घर बनाउन काम लाग्ने सामग्रीको परिमाण घट्दै जान्छ र अन्तिममा घर बनाउन नपुग्ने अवस्था आउँछ," प्राध्यापक स्कट भन्छन्।

ताराको सन्दर्भमा पनि ठिक त्यस्तै हुन्छ।

"प्रत्येक पुस्ताका ताराहरूमा ऊर्जाको स्रोत घट्दै जान्छ र अन्ततः नयाँ तारा बनाउन पर्याप्त ऊर्जा बाँकी हुँदैन," उनले भने।

"ब्रह्माण्डमा बढी पिण्डमान भएका ताराहरूभन्दा कम पिण्डमान भएका ताराहरू बढी छन्।"

सौर्य ज्वाला निस्किँदै गरेको देखिने सूर्यको सुन्तला रङगको चम्किलो तस्बिर

तस्बिर स्रोत, Nasa/SDO

तस्बिरको क्याप्शन, खगोलशास्त्रीहरूका अनुसार सूर्य अबको ५ अर्ब वर्षपछि नष्ट हुन थाल्ने छ

ब्रह्माण्डको अन्त्य कुनै न कुनै बेला हुन्छ भन्ने वैज्ञानिकहरूको अनुमान छ। तर उनीहरूले ब्रह्माण्ड कहिले र कसरी नष्ट हुन्छ भन्ने प्रश्नको उत्तर भने दिन सकेका छैनन्।

अहिले तापका कारण ब्रह्माण्ड नासिन्छ भन्ने सिद्धान्तले बढी मान्यता पाएको छ।

त्यसलाई "बिग फ्रीज" पनि भनिन्छ। यो सिद्धान्तका अनुसार ब्रह्माण्ड निरन्तर फैलिँदै जाँदा प्राणीहरूको अस्तित्वका लागि अनुकूल हुनेसम्मको तहमा चिसिने गरी ऊर्जा वितरण भइरहन्छ। ताराहरू टाढिन थाल्छन्, तिनमा ऊर्जाको स्रोत सकिँदै जान्छ र नयाँ ताराहरू बन्न छोड्छन्।

"ब्रह्माण्डमा उपलब्ध ऊर्जाको परिमाण अनन्त छैन," प्राध्यापक स्कट भन्छन्।

शून्यैशून्य

ताराको मृत्युको कुरा सुनेर शोकाकुल मुद्रामा आकाशतिर हेर्न लाग्नुभएको छ भने यो कुरा पनि थाहा पाइराख्नुहोस् - ताराहरू मर्न निकै लामो समय लाग्छ।

आकाशगङ्गाको मध्यभागमा रहेको एउटा चम्किलो नीलो ताराको क्लस्टरबाट खैरो र खरानी रङ्ग ग्यास र धुलोका लामा बादलहरू बाहिरतिर घुम्दै छन्

तस्बिर स्रोत, Esa/Webb/Nasa/CSA/J Lee/PHANGS-JWST Team

प्राध्यापक स्कट आगामी १० खर्बदेखि १,००० खर्ब वर्षसम्म नयाँ ताराहरूको जन्म भइरहने अनुमान गर्छन्। त्यो भनेको हाम्रो सूर्य नष्ट हुने ठानिएकोे समयभन्दा निकै पछि हो।

'बिग फ्रीज'को अवस्था उत्पन्न हुन अझ बढी समय लाग्न सक्छ।

यो वर्षको आरम्भतिर नेदरल्यान्ड्सका खगोलशास्त्रीहरूले ब्रह्माण्ड झन्डै १,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०० वर्षपछि अन्त्य हुने प्रक्षेपण गरेका थिए।

यो सङ्ख्या देखेर तपाईँ कतै आत्तिनु त भएन? त्यसमा १ पछि ७८ वटा शून्य छन्!

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।