मौसम निगरानी गर्ने भूउपग्रहले खिच्यो पृथ्वीभरि चट्याङ परेको दृश्य

भिडिओ क्याप्शन सुरु हुँदैछ, भिडिओः साहिल, युरोप र मध्य अफ्रिकामा बिजुली चम्किँदा जे देखियो
    • Author, जोनाथन एमस
    • Role, बीबीसी विज्ञान संवाददाता

युरोपको मौसम निगरानी गर्ने निकाय यूमेट्स्याटले विश्वभरि बिजुली चम्किएको देखिने आकर्षक भिडिओहरू सार्वजनिक गरेको छ।

ती भिडिओहरू भूमध्यरेखामा पर्ने अफ्रिकी भूभागको आकाशमा पृथ्वीको सतहभन्दा ३६,००० किलोमिटर माथिबाट खिचिएका हुन्। एउटा नयाँ उपकरणले गत डिसेम्बरमा ती भिडिओ खिचेको हो।

आफ्नो पूर्ण क्षमतामा काम गर्न थालेपछि उक्त उपकरण मौसम पूर्वानुमानकर्ताहरूका लागि एउटा महत्त्वपूर्ण साधन बन्ने छ। त्यसले आँधी र प्रचण्ड हावाहुरी उत्पन्न भएको पत्ता लगाउन सक्छ।

प्रायः ठूलो वर्षा हुनु, असिना पर्नु र ठूलो हावाहुरी चल्नुअघि बिजुली चम्किन्छ र चट्याङ पर्छ।

यूमेट्स्याटका महानिर्देशक फिल इभान्सले ती भिडिओहरूलाई "अद्भुत" को सङ्ज्ञा दिएका छन्।

"अमेरिकीहरूले एउटा यस्तै उपकरण केही वर्षअघि आफ्नो भूमिमाथि पठाएका थिए। तर युरोप र अफ्रिकाका लागि यो पहिलो हो," उनले बीबीसी न्यूजसँग भने।

"रेजलूशन (स्पष्टता) र पर्फर्मन्स (कार्यसम्पादन) का दृष्टिकोणमा हाम्रो 'इमिजर' अझ बढी उन्नत छ। त्यसैले यसबाट प्राप्त चित्र र दृश्य कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरामा निकै उत्साह छ।"

के हो यूमेट्स्याट?

मेटिओस्याट-१२ अर्बौँ यूरो खर्च गरिएको युरोपको मौसम निगरानी प्रणाली सुधार परियोजनाको अङ्ग हो

तस्बिर स्रोत, EUMETSAT

तस्बिरको क्याप्शन, मेटिओस्याट-१२ अर्बौँ यूरो खर्च गरिएको युरोपको मौसम निगरानी प्रणाली सुधार परियोजनाको अङ्ग हो

यूमेट्स्याटले मौसम निगरानी गर्न युरोपका विभिन्न देशहरूले पृथ्वीको कक्षमा पठाएका उपकरणहरू व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ। यो एउटा अन्तरसरकारी संस्था हो।

उक्त संस्थाले भर्खरै प्रक्षेपण गरिएको मेटिओस्याट-१२ प्ल्याटफर्मको परीक्षण गरिरहेको छ।

यो मौसम निगरानी गर्ने अत्याधुनिक अन्तरिक्षयान हो। वैज्ञानिकहरूले यसको प्रयोगबाट "नाउकास्टिङ" भनिने विधिमा थप परिवर्तन गर्न सकिने अपेक्षा गरेका छन्। केही घण्टाअगाडि अर्थात् निकै छोटो समयावधिमा चुनौतीपूर्ण वायुमण्डलीय अवस्थाबारे चेतावनी दिने विधिलाई नाउकास्टिङ भनिन्छ।

बिजुली चम्किने प्रवृत्तिको निगरानी उक्त अन्तरिक्षयानको एउटा मुख्य काम हो।

मेटिओस्याट-१२ को बिजुली डिटेक्टर (संसूचक) मा चारवटा दूरबिनयुक्त क्यामरा छन्। ती युरोप, अफ्रिका, मध्यपूर्व र दक्षिण अमेरिकाका केही भागतिर फर्किएका छन्।

रेडलाइन
रेडलाइन

यो उपकरणले कसरी काम गर्छ?

यो उपकरणमा जडित डिटेक्टरहरूले बादलबाट जमिनमा, बादलबाट बादलमा र बादलभित्रै उत्पन्न हुने बिजुलीबाट आउने 'लाइट पल्स' अर्थात् 'प्रकाशको सङ्केत' निरन्तर खोजिरहन्छन्।

एउटा घटना पनि नछुटाई तिनले यो काम अहोरात्र गरिरहन्छन्।

"बिजुली पत्ता लगाउने न्यूनतम समयावधि ०.६ मिलिसेकन्ड हो। अर्थात् आँखा झिम्काउनुभन्दा १,००० गुना चाँडो," उक्त उपकरण डिजाइन गर्ने इटलीको एअरोस्पेस कम्पनी लिओनार्दोसँग आबद्ध गुइया पास्तोरिनीले भने।

जुन १२ मा यूकेको आकाशमा चम्किएको बिजुलीको भिडिओ पनि उक्त उपकरणले खिचेको छ।

"उक्त स्याटलाइटले ती चट्याङ र बिजुलीको स्थान एकदम स्पष्ट रूपमा पहिचान गरेको छ अनि मेसोस्केल कन्भेक्टिभ सिस्टम (एमसीएस)ले त्यसलाई अझ राम्रो बनाएको छ," बीबीसी वेदरका साइमन किङले भने।

"यो यस्तो घटना हो जुन निश्चित अवस्थामा अझ बढ्छ र यसले अरू चट्याङ र बिजुली जन्माउँछ।"

चट्याङ र बिजुली प्रायः चरम मौसमका द्योतक हुन्

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, चट्याङ र बिजुली प्रायः चरम मौसमका द्योतक हुन्

युरोपमा चट्याङ र बिजुली पत्ता लगाउनका लागि निकै प्रभावकारी प्रणालीहरू उपलब्ध छन्। एटीडीनेट नामक प्रणालीले आफ्नो रेडिओ फ्रिक्वन्सीबाट उत्सर्जित सङ्केत पत्ता लगाउँछ। त्यहाँ रेडार पनि प्रयोग गरिन्छ।

"तर ती सञ्जालले मुख्यतः बादलबाट जमिनमा पर्ने चट्याङ पत्ता लगाउँछन्, बादलबाट बादलमा वा बादलभित्रै पर्ने चट्याङ हैन," यूके मेट अफिसका साइमन कीओगले भने।

"बादलबाट जमिनमा पर्ने चट्याङको अंश वायुमण्डलमा उत्पन्न हुने चट्याङ र बिजुलीमध्ये केवल १० प्रतिशत छ। बाँकी ९० प्रतिशत गतिविधि बादलभित्रै हुन्छ जुन यो अप्टिकल स्याटलाइटले पत्ता लगाउँछ। यी प्रणालीहरू एकअर्काका परिपूरक हुन् भन्ने मलाई लाग्छ।"

मेटिओस्याट-१२ बाट पृथ्वी यस्तो देखिन्छ
तस्बिरको क्याप्शन, मेटिओस्याट-१२ बाट पृथ्वी यस्तो देखिन्छः यो प्रविधिबाट अफ्रिकालाई निकै लाभ हुने देखिन्छ।

पृथ्वीमा सबैभन्दा धेरै चट्याङ अफ्रिकामा पर्छ। तर त्यहाँ निकै कम सङ्ख्यामा रेडिओ फ्रिक्वन्सी प्रणालीहरू छन्। तसर्थ मेटिओस्याटबाट उपलब्ध सूचना त्यहाँका मौसम पूर्वानुमानकर्ताका लागि उपयोगी हुनसक्छ।

समुद्रको निगरानीमा पनि त्यस्तो सूचना उपयोगी हुन्छ। उक्त उपकरणले आन्ध्र महासागरमाथि हुने गतिविधिको निगरानी गरिहन्छ। त्यसबाट लामो दूरीका हवाई उडानको बाटोलाई सुरक्षित बनाउन सहयोग पुग्न सक्छ।

जलवायुबारे अनुसन्धान गरिरहेका वैज्ञानिकहरूले पनि उक्त उपकरणबाट प्राप्त डेटामा पक्कै पनि रुचि राख्ने छन्। त्यसले उनीहरूलाई चट्याङसम्बन्धी तथ्याङ्कमा सुधार गर्न सघाउने अपेक्षा गर्न सकिन्छ।

बिजुली चम्किएको दृश्य खिच्ने उपकरणमा सुनबाट बनेका चारवटा दूरबिन छन्

तस्बिर स्रोत, THALES ALENIA SPACE

तस्बिरको क्याप्शन, बिजुली चम्किएको दृश्य खिच्ने उपकरणमा सुनबाट बनेका चारवटा दूरबिन छन्

वायुमण्डल रसायनशास्त्रीहरू पनि यसमा आकर्षित हुने छन्।

चट्याङमा हुने ऊर्जाले हावामा विद्यमान "प्रतिक्रिया नगर्ने" नाइट्रोजनलाई "प्रतिक्रिया गर्ने" रूपमा लगिदिन्छ। वर्षासँगै जमिनमा खस्दा त्यस्तो नाइट्रोजनले माटो मलिलो पार्छ।

चट्याङ परेर डढेलो फैलिन सक्ने स्थान पहिचान गर्ने मोडलमा सुधार गर्न पनि उक्त उपकरणबाट प्राप्त डेटा उपयोगी हुनसक्छ।

उक्त अन्तरिक्षयानको परीक्षण यो वर्षभरि चल्ने छ।

यूके, फ्रान्स र जर्मनीसहित विभिन्न देशका मौसम पूर्वानुमान गर्ने निकायहरूले सन् २०२४ देखि मेटिओस्याट-१२ बाट प्राप्त सूचना नियमित रूपमा प्रयोग गर्न थाल्ने छन्।