सहारा मरुभूमिमा विगत आधा शताब्दीमा पहिलो पटक डुबान, हेर्नुहोस् दुर्लभ तस्बिरहरू

औसतमा एक वर्षमा पर्नेभन्दा बढी पानी परेपछिको दक्षिणपूर्वी मोरक्कोको सहारा मरुभूमि क्षेत्र

तस्बिर स्रोत, Associated Press

तस्बिरको क्याप्शन, दक्षिणपूर्वी मोरक्कोमा औसतमा एक वर्षमा पर्नेभन्दा बढी पानी यसपालि दुई दिनमै पर्‍यो

दक्षिणपूर्वी मोरक्कोको सहारा मरुभूमिमा विगत ५० वर्षमा पहिलो पटक डुबान हुँदाका केही रोचक तस्बिरहरू सार्वजनिक भएका छन्।

दुई दिनसम्म भारी वर्षा हुँदा त्यहाँ औसतमा एक वर्षमा पर्नेभन्दा बढी पानी परेको थियो। त्यसका कारण मरुभूमिमा दुर्लभ मानिने डुबान भएको थियो।

"यति छोटो समयमै यति धेरै पानी परेको ३० देखि ५० वर्ष भइसकेको थियो," मोरक्कोको मौसमसम्बन्धी निकायका एक अधिकारी हुसिन यूआबेबले अमेरिकी समाचारसंस्था असोसिएटेड प्रेसलाई भने।

दुर्लभ वर्षा

सहारा मरुभूमिमा भारी वर्षापछि जमेको पानी

तस्बिर स्रोत, Associated Press

तस्बिरको क्याप्शन, भारी वर्षाका कारण यस क्षेत्रमा मौसमी प्रक्रिया बदलिन सक्ने आकलन गरिएको छ

उत्तरी, मध्य र पश्चिमी अफ्रिकामा एक दर्जन देशमा फैलिएको सहारा मरुभूमिलाई संसारकै सबैभन्दा लामो तातो मरुभूमि मानिन्छ।

दक्षिणपूर्वी मोरक्कोलाई संसारको सबैभन्दा सुक्खा ठाउँमध्ये एक मानिन्छ। यहाँ ग्रीष्मयामको उत्तरार्धमा पानी पर्नुलाई दुर्लभ मानिन्छ।

मोरक्कोको राजधानी रबाटबाट झन्डै ४५० किलोमिटर दक्षिणमा रहेको ट्यागूनाइटमा २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै वर्षा मापन गरिएको छ।

कारण के

सहारा मरुभूमिमा भारी वर्षापछि जमेको पानी

तस्बिर स्रोत, Associated Press

तस्बिरको क्याप्शन, मौसमविज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय संस्था 'डब्ल्यूएमओ'का अनुसार संसारभरिकै वर्षाचक्र बदलिने आवृत्ति अहिले बढेको छ

यस्तो वर्षालाई मौसमविद्‌हरूले 'अतिउष्णक्षेत्रीय आँधी' ('एक्स्ट्राट्रपिकल स्टोर्म') भनेका छन्। मोरक्कोको मौसमसम्बन्धी निकायले असोसिएटेड प्रेसलाई बताएअनुसार हावामा पानीका मात्रा धेरै हुँदा त्यसले वाष्पीकरणलाई प्रोत्साहित गर्छ र थप आँधीबेहरी ल्याउने वातावरण बनाउँछ।

नासाले सार्वजनिक गरेका र भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा जगोरा र टाटा सहरका बीचमा रहेको क्षेत्रमा पानी भरिएको देखिन्छ। यो विगत ५० वर्षसम्म सुक्खा थियो।

डुबानअघि दक्षिणपूर्वी मोरक्कोको मेर्जोगा गाउँको मरुभूमि

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, डुबानअघि दक्षिणपूर्वी मोरक्कोको मेर्जोगा गाउँको मरुभूमि

मौसमविज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय संस्था 'डब्ल्यूएमओ'का अनुसार संसारभरि नै वर्षाचक्र छिटो छिटो बदलिने क्रम अहिले बढेको छ।

"बढ्दो तापमानको परिणामस्वरूप 'हाइड्रोलजिकल साइकल' अझ तीव्र बन्न पुगेको छ," 'डब्ल्यूएमओ'की महासचिव सेलेस्ट सउलोले एक पत्रकार सम्मेलनमा भनिन्।

"अनि यो अझ अनियमित र पूर्वानुमान गर्न नसकिने भएको छ। कि एकदमै धेरै कि त एकदमै कम पानीका कारण हामी अझ धेरै समस्या भोग्दै छौँ।"

विश्वव्यापी तापमान वृद्धिका कारण चरम मौसमी घटना बढ्न थालेकाले सहारा मरुभूमि क्षेत्रमा भविष्यमा पनि यस्ता घटना हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।