के पछिल्लो विध्वंशकारी वर्षाको सम्बन्ध जलवायु परिवर्तनसँग छ?

तस्बिर स्रोत, Reuters
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
नेपालबाट मनसुन बाहिरिने प्रक्षेपण गरिएकै साता ठूलो जनधनको क्षति हुने गरी भएको वर्षाको सम्बन्ध मौसम अधिकारी तथा विज्ञहरूले जलवायु परिवर्तनसँग जोडेर हेरेका छन्।
तर उनीहरूले पूर्वसूचना हुँदाको अवस्थामा समेत कमजोर सुरक्षा तयारी हुँदा मानवीय क्षति ठूलो भएको प्रतिक्रिया दिएका छन्।
वन तथा वातावरण मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा बुद्धिसागर पौडेलले “मौसमी घटनाका सङ्ख्या र शक्ति” बढिरहेको र त्यो “हाम्रो वहन क्षमता” भन्दा बढ्ता रहेकाले त्यसलाई जलवायु परिवर्तनसँग जोडेर हेर्ने आधारहरू रहेको बताउँछन्।
“तर अप्रत्याशित वर्षा भएको जान्दा जान्दै पनि हाम्रो वहन क्षमता कति हो भन्ने तय गरिसकिएको छैन। त्यससम्बन्धी हाम्रो आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागले त्यसको मूल्याङ्कन गरेर प्रस्ट चित्र दिनसक्छ।”
जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाकी प्रमुख विभूति पोखरेल पछिल्लो समयमा मनसुनको प्रवृत्तिमा अस्वाभाविक क्रमहरू देखिएको बताउँछिन्।
त्यसैले प्रभावकारी पूर्वसूचना, सुरक्षा, उद्धार तथा राहत कार्यका लागि जलवायु परिवर्तनसँग जोडेर त्यस्ता मौसमी प्रवृतिहरूको विश्लेषण आवश्यक रहेको उनको भनाइ छ।
“मनसुन भित्रने र बाहिरिने क्रममै उल्लेख्य रूपमा तलमाथि परेको देखिएको छ। मनसुनी वर्षाबीचका अन्तर समेत अस्वाभाविक देखिएका छन्। चरम मौसमी घटना बढेका छन्,” विभागकी वरिष्ठ डिभिजनल मौसमविद् पोखरेल भन्छिन्।
गत विहीबारयता काठमाण्डू उपत्यकामा मात्रै झण्डै साढे पाँच दशककै सर्वाधिक वर्षा भएको मौसम विवरण सार्वजनिक भएको छ।
एकजना विज्ञले जलवायु परिवर्तनसँग जोडेर हेर्नका लागि प्रस्ट तथ्याङ्क विश्लेषण आवश्यक पर्ने भए पनि यस्ता प्रकृतिका वर्षाले प्रशस्त चेतावनी दिएको बताउँछन्।
त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा विपद् अध्ययन केन्द्रका निर्देशक रहेका वसन्तराज अधिकारी भन्छन्: “यो बेला पानी पर्नु स्वाभाविक भए पनि वर्षौँपछि काठमाण्डूमा यस्तो ठूलो वर्षा हुन पुग्यो। जसरी यस्ता चरम मौसमी घटनाहरू पछिल्लो समय भइरहेका छन् त्यसले सचेत हुनुपर्ने पाठ सिकाएको छ।”
केही दिनकै अन्तरमा चर्को गर्मी र भारी वर्षा

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
यो वर्ष असोज १६ (अक्टोबर २) गते मनसुन बाहिरिने प्रक्षेपण भइरहँदा असोज ११ र १२ गते देशव्यापी रूपमा ठूलो वर्षा भएको थियो।
२०८१ सालको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान अनुरूप नै गतसाताको मध्यमै अर्थात् पछिल्लो मनसुनी वर्षा सुरु नहुँदै सामान्यभन्दा १०३ प्रतिशत वर्षा भएको थियो।
तर आइतवार साँझसम्म थप पानी पर्दै ११६ प्रतिशत वर्षा हुन पुग्यो।
यो वर्ष नेपालमा मनसुनको अवधिमा १,४७९.७ मिलिमिटर वर्षा हुनुलाई सरदर मानिनेमा हालसम्म १७१६.३ मिलिमिटर वर्षा भइसकेको छ।
“यो वर्षा अस्वाभाविक हुन्छ भनेरै हामीले रेड अलर्ट जारी गरेका थियौँ। तर अति भारी वर्षा हुँदा पनि यति धेरै तहसम्म पानी पर्न सक्छ भनेर पहिल्यै ठोकुवा गर्न सक्ने हामी अझै छैनौँ,” जल तथा मौसम विज्ञान विभागकी विभूति पोखरेल भन्छिन्।
उनले अस्वाभाविक समयमा, अस्वाभाविक तवरले वर्षा हुनुलाई जलवायु परिवर्तनको नकारात्मक प्रभावका रूपमा हेर्न सकिने आधार रहेको बताइन्।
“यही वर्षा सुरु हुनु अघिसम्मका दिनमा मानिसहरूले यो वर्ष चर्को गर्मी भएको कुरा गरिरहेका थिए तर अर्को केही दिनमै परिस्थिति निकै भिन्न भइदियो।”
जलवायु परिवर्तनका हिसाबले नेपाललाई पहिल्यैदेखि जोखिमयुक्त वर्गमा राखिने गरेकाले अब चरम अवस्थालाई 'अपेक्षित' मान्दै तयारी थाल्नुपर्ने उनी बताउँछिन्।
लेखाजोखा आवश्यक
वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा बुद्धिसागर पौडेल जलवायु परिवर्तनसँग सम्बन्धित अन्तर सरकारी प्यानल, आईपीसीसी, ले ठूलो जनधनको क्षति गराउने यस्ता मौसमी घटनालाई चरम घटना बताउने गरेको भन्दै नेपालले “भरपर्दा आधार तय गर्दै त्यसको लेखाजोखा गर्न आवश्यक रहेको” बताउँछन्।
“यो स्वाभाविक छैन र यस्ता घटना पछिल्ला समय दोहोरिइरहेका छन् भन्ने प्रस्ट देखिराखिएका बेला मूल्याङ्कन गर्दै त्यसको जलवायु परिवर्तनसँग सम्बन्ध स्थापित गर्न सकिन्छ,” पौडेल भन्छन्।

तस्बिर स्रोत, Reuters
काठमाण्डू विश्वविद्यालयको वातावरणीय विज्ञान तथा इन्जिनियरिङ विभाग प्रमुख डा. रिजनभक्त कायस्थ भने पछिल्लो वर्षाका हकमा मौसम पूर्वानुमानहरू मिलेको भन्दै त्यसलाई जलवायु परिवर्तनको प्रभावका रूपमा जोडिहाल्न नमिल्ने ठान्छन्।
“कैयौँ वर्षको अन्तरालमा ढिलो गरी हुने यस्ता ठूला वर्षा दोहोरिने स्वाभाविक चक्र समेत हुनेगर्छ,” कायस्थ भन्छन्।
“जल तथा मौसम विज्ञान विभागले अतिवृष्टि हुने भन्दा भन्दै पनि त्यो यतिसम्म पर्ला भनेर यकिन गर्न नसक्दा मानिसहरूले त्यसको प्रस्ट शक्ति आकलन गर्न सकेनन्।”
उनी यो वर्ष 'ला नीन्या' भनिने मौसमी प्रक्रियाका कारण मनसुन लम्बिने पहिल्यै थाहा भएको बताउँछन्।
वर्षाको अस्वाभाविक समय, राज्यको कमजोर तयारी

तस्बिर स्रोत, Reuters
भूगर्भशास्त्री बसन्तराज अधिकारी भन्छन्, “हामीकहाँ क्लाउडबर्स्ट भनिने आरी घोप्टाएको जस्तो पानी पर्ने अवस्था भने यस पटक देखिएको थिएन। २४ घण्टाभन्दा बढी समय लगातार पानी परेको मात्र हो। तर हाम्रो पूर्वसावधानी कमजोर हुँदा जनधनको क्षति बढि भएको हो।”
उनले नेपालका राजमार्गमा पहिरो जाने सम्भावित ठाउँहरू पहिचान गर्दै विपद् सूचना व्यवस्थापन प्रणाली नहुँदा समेत छल्न सकिने कैयौँ अवस्थामा पनि मानिसहरूले ज्यान गुमाउनु परेको बताए।
जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले नेपालमा पछिल्ला धेरैजसो वर्षमा जुलाई र अगस्ट महिनामा ठूलो पानी पर्ने क्रम रहने गरेको पाइएकामा सेप्टेम्बरको अन्त्यतिर यतिठूलो वर्षा हुनुलाई स्वाभाविक मान्न नसकिने बताउँछन्।
“अहिले नसोचिएको बेलामा ठूलो वर्षा मात्र भएको छैन, मनसुनका धेरै दिनमा हुने गरेको वर्षा एकैदिनमा देखिन थालेको छ,” पोखरेल भन्छिन्।
“क्लाउडबर्स्ट बाहेक पनि थोरै मात्रामा हुने वर्षा समेत लगातार एक-दुई दिन हुँदा बाढीजन्य असरको जोखिम देखिन्छ। पछिल्लो वर्षामा हामीकहाँ त्यस्तो प्रवृत्ति देखिएको हो।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








