झ्याप्लेखोलामा फसेका यात्रुलाई 'सुरुङमार्ग प्रयोग गरेर उद्धार', बीपी राजमार्गको अवस्था के छ

तस्बिर स्रोत, Jeevan Nepal
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
विगत केही दिनदेखिको अविरल वर्षाले देशका विभिन्न स्थानमा व्यापक जनधनको क्षति भएको छ। त्यस क्रममा काठमाण्डू उपत्यका प्रवेश गर्ने दुई मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
त्यसले काठमाण्डू उपत्यकाको देशका अन्य भागसँग सम्पर्कविच्छेदको अवस्था बनेको अधिकारीहरूले बताएका छन्।
काठमाण्डू उपत्यकाको एउटा मुख्य नाका नागढुङ्गानजिकै रहेको झ्याप्लेखोलामा पहिरो आउँदा त्यहाँ केही सवारीसाधनहरू पुरिएका र कैयौँ मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
काठमाण्डूको अर्को नाका साँगालाई जोड्ने र देशको पूर्वी भागको मुख्य प्रवेशमार्गका रूपमा रहेको बीपी राजमार्गमा पनि धेरै स्थानमा पहिरो गएर क्षति पुगेको छ।
विशेष गरी काभ्रे र सिन्धुली जिल्लामा पर्ने उक्त राजमार्गका विभिन्न भागमा पहिरो तथा नदी कटान हुँदा हजारौँ यात्रुहरू सडकमै अलपत्र परेका छन्।
अधिकारीहरूले झ्याप्लेखोलामा पुरिएका सवारीसाधनहरूलाई निकाल्ने तथा बीपी राजमार्गमा अलपत्र यात्रुहरूको उद्धार गर्ने कार्य थालिएको बताएका छन्।
झ्याप्लेखोलामा के भएको हो

झ्याप्लेखोलामा पहिरो पन्छाउने र पहिरोले पुरिएका गाडीहरूबाट शव निकाल्ने काम जारी रहेको प्रहरीले जनाएको छ।
धादिङका प्रहरी उपरीक्षक गौतकुमार केसीले भने, "हामीले यहाँ पुरिएका गाडीलाई निकाल्ने काम गरिरहेका छौँ। अहिलेसम्म दुईवटा माइक्रोबस र एउटा बस देखिएका छन् र शवहरू निकालिएका छन्।"
उनले अन्य गाडीहरू पनि पहिरोमा पुरिएका हुन सक्ने भएकाले त्यसका लागि खोजी कार्य जारी राखिएको बताए। उक्त स्थानबाट हालसम्म ३५ वटा शव निकालिएको अधिकारीहरूले जनाएका छन्।
उनका अनुसार उक्त क्षेत्रमा पहिला पनि जमिन भासिने गरेको थियो।
"एकदमै भिरालो खालको जमिन भएकाले पनि यहाँ ठूलो पहिरो गयो, अनि रोकेर राखिएका गाडीहरूलाई पनि पुर्यो।"
'अलपत्र यात्रुलाई गन्तव्यतर्फ पठाइयो'
प्रहरीले दिएको जानकारीअनुसार झ्याप्लेखोलामा अलपत्र परेका यात्रुहरूलाई गन्तव्यतर्फ पठाइएको छ।
"हामीले काठमाण्डू र धादिङका स्थानीय तहसँग समन्वय गरेर अलपत्र परेका यात्रुहरूलाई गन्तव्यतर्फ पठाएका छौँ," उनले भने।
काठमाण्डू उपत्यका भित्रिने यात्रुहरूलाई चन्द्रागिरि नगरपालिकाको समन्वयमा बसको व्यवस्थापन गरी केही माथिसम्म पैदलै हिँडाएर त्यसपछि बसबाट गन्तव्यतर्फ पठाइएको अधिकारीहरूको भनाइ छ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले भने, "हामीले धादिङको स्थानीय तह र प्रहरी प्रशासनको पनि समन्वयमा बसको व्यवस्था गरेर यात्रुलाई पठाउन सहयोग गरिरहेका छौँ।"
"पहिरो खुलाउनका लागि हेभी इक्युप्मन्ट र इन्धनको व्यवस्था गरेर धमाधम काम भइरहेको छ। त्यसका लागि नगरपालिकाले आफ्नो तर्फबाट सबै सहयोग गरिरहेको छ।"
त्यस्तै उपत्यकाबाट बाहिरिने क्रममा अलपत्र परेका यात्रुहरूलाई पनि त्यसै गरी पठाइएको र हाल उक्त क्षेत्रमा खासै धेरै यात्रु नरहेको प्रहरी उपरीक्षक केसीले बीबीसीलाई बताए।

तस्बिर स्रोत, Jeevan Nepal
यात्रु उद्धारमा सुरुङमार्ग प्रयोग
अधिकारीहरूले यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन र आकस्मिक सेवाका लागि नागढुङ्गा–सिस्नेखोला निर्माणाधीन सुरुङमार्गलाई उपयोग गरिएको छ।
"सुरुङमार्गमा बस नै वारपार गराइएकोभन्दा पनि साना गाडीहरूमा ल्याएर त्यहाँबाट हामीले व्यवस्था गरिएको बसबाट गन्तव्यतर्फ पठाइएको छ" गिरीले भने।
उनका अनुसार सुरुङमार्ग हुँदै उद्धार गरिने यात्रुका लागि नगरपालिकाले बसको व्यवस्थापन गरेको हो।
धादिङका प्रहरी उपरीक्षक केसीले पनि विशेष गरी "आकस्मिक सेवाका गाडी"लाई सुरुङमार्गबाट पठाइएको बताए।
"कतिपय बिरामी र आकस्मिक सेवाका गाडीलाई हामीले सुरुङबाट पठाएका हौँ।"
बीपी राजमार्गको अवस्था के छ

तस्बिर स्रोत, RSS
अधिकारीहरूले दिएको जानकारीअनुसार काठमाण्डूको अर्को मुख्य नाका साँगातर्फ आउने बीपी राजमार्गका कैयौँ स्थानमा पहिरो खसेको र सयौँ यात्रुहरू फसेको अधिकारीहरूले बताएका छन्।
काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले बीबीसीसँग भने, "काभ्रेका विभिन्न स्थानमा १,५०० देखि २,००० जनाजति यात्रुहरू फसेको भन्ने कुरा आएकाले हामीले उहाँहरूलाई पुग्ने गरी खाद्यान्न पठाएका छौँ।"
"सेनाको हेलिकप्टरले पहिले खाद्यान्न लिएर जाने अनि घाइते, अपाङ्ग, जेष्ठ नागरिक, गर्भवती र बिरामीहरूलाई ल्याउने काम गरिरहेको छ।"
हालसम्म १२८ जनाको हेलिकप्टरबाट उद्धार भइसकेको उनले जानकारी दिए।
बीपी राजमार्गमा पर्ने मङ्गलटार भन्ने स्थानमा रोशीखोलाले टापुजस्तो बनाएको एउटा स्थानबाट ८०० जनालाई डोरीको सहायताले उद्धार गरेर सुरक्षित स्थानमा सारिएको उनले बताए।
उनले कतिपय यात्रुहरू पैदलै पनि आइरहेको र आइतवार बेलुकासम्म भकुन्डेबेँसीसम्मको बाटो खुलाउने प्रयासमा रहेको बताए।
"सातवटा एक्स्क्याभेटर लगाएर हामी धुलीखेलदेखि भकुन्डेबेँसीसम्मको बाटो बेलुकासम्म खुलाउने प्रयासमा छौँ। त्यसो गर्न सकियो भने त्यहाँसम्म पैदलै आएका यात्रुलाई उद्धार गरेर ल्याउन सकिन्छ।"

तस्बिर स्रोत, RSS
काठमाण्डू आउँदै गरेकालाई सिन्धुलीतर्फ फर्काइयो
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माका अनुसार बीपी राजमार्गबाट काठमाण्डूतर्फ आउँदै गरेका कैयौँ यात्रुलाई सुरक्षित स्थलतर्फ फर्काइएको छ।
उनले भने, "विभिन्न स्थानमा २००-३०० यात्रुहरू फस्नुभएको थियो। उहाँहरूलाई सुरक्षित रूपमा फर्काइएको छ। काठमाण्डू जाने अवस्था नभएपछि सुरक्षित स्थानमा ल्याइएको हो।"
उनले सिन्धुली जिल्लामा पर्ने मूलकोट र खुरकोटजस्ता बजारहरू डुबेका तर त्यहाँ मानवीय क्षति नभएको बताए।
"सिन्धुली र रामेछाप जोड्ने पुल बगाएकाले यी दुई जिल्लाहरूबीच भने अहिले सडक सम्पर्क टुटेको अवस्था छ। हामीले आज बेलुकासम्म नेपालथोकसम्मको बाटो पहिरो पन्छाएर खोल्ने कोसिस गरिरहेका छौँ," उनले आइतवार दिउँसो बीबीसीसँग भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








