विध्वंश मच्चाउने गरी २५ ठाउँमा वर्षाको नयाँ रेकर्ड, काठमाण्डूको पानीपोखरीमा '५० वर्षपछि धेरै वर्षा'

उद्धार

तस्बिर स्रोत, RSS

जल तथा मौसम विज्ञान विभागले देशभरिका विभिन्न २५ स्थानमा अभिलेख राख्न सुरु भए यताकै सबैभन्दा धेरै वर्षा भएको जनाएको छ।

विभागका अनुसार सन् १९७१ देखि कायम भएको उच्च वर्षाका रेकर्ड शुक्रवार र शनिवारको वर्षाले तोडेको छ।

काठमाण्डूको पानीपोखरी केन्द्रमा मापन भएकोमध्ये सबैभन्दा पुरानो रेकर्ड शनिवार तोडिएको बताइएको छ।

जल तथा मौसम विज्ञान विभागसँग सन् १९७० देखि वर्षाको अभिलेख रहेको छ। शुक्रवार बिहान ८:४५ देखि शनिवार बिहान ८:४५ बजेसम्म १४ वटा जिल्लाका २५ मापन केन्द्रहरूमा वर्षाको नयाँ रेकर्ड कायम भएको विभागले जनाएको छ।

विभागकी सूचना अधिकारी विभूति पोखरेलले देशभरिका यति धेरै ठाउँमा एकै पटक वर्षाको नयाँ रेकर्ड कायम हुनु असामान्य भएको बताइन्।

“देशभरिका धेरै ठाउँमा एकै पटक रेकर्ड ब्रेक हुने गरी वर्षा भएको छ। यसलाई सामान्य रूपमा लिन सकिँदैन। यसले हामीलाई स्तब्ध बनाएको छ,” उनले भनिन्।

मौसमविद्‌हरूले यस्तो विषम घटनाको कारण जलवायु परिवर्तनको असर हुनसक्ने समेत बताइरहेका छन्।

“यस्तो विषम घटनामा जलवायु परिवर्तनको असर हुनसक्छ,” यसबारे थप अध्ययनहरू आवश्यक रहेको पोखरेलले बताइन्।

कहाँकहाँ नयाँ रेकर्ड बन्यो

वर्षाका कारण भएको डुबान

तस्बिर स्रोत, Nepali Army

विभागका अनुसार काठमाण्डूकै ११ वटा मापन केन्द्रमा वर्षाको नयाँ रेकर्ड कायम भएको छ।

काठमाण्डूको पानीपोखरी, त्रिभुवन विमानस्थल, बुढानीलकण्ठ, जीतपुरफेदी, नागार्जुन तथा ललितपुरका गोदावरी, खुमलटार, टिकाथली, खोकना, चापागाउँ र भक्तपुरको नंखेल मापन केन्द्रमा नयाँ रेकर्ड बनेको हो।

विभागका अनुसार मकवानपुरको दामन मापन केन्द्रमा २४ घण्टामा सबैभन्दा धेरै वर्षा मापन भएको छ। यो केन्द्रमा ४१० मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ। उक्त केन्द्रमा यसअघि सन् १९९३ मा ३७३.२ मिलिमिटर वर्षा मापन भएको थियो।

त्यस्तै काभ्रेपलान्चोकको खोपासी मापन केन्द्रमा ३११.६ मिलिमिटर वर्षा मापन भएको छ।

अर्घाखाँचीको सन्धिखर्क, चितवनको गोविन्दबस्ती, धादिङको गजुरी, झापाको चन्द्रगढी विमानस्थल, काभ्रेकै पाँचखाल र धुलिखेल, नुवाकोटको ककनी, पाल्पाको बल्ड्याङगढी, पाँचथरको फिदिम, सिन्धुपाल्चोकको बाहुनेपाटी, तनहुँको सखर र खैरनीटारमा वर्षाको नयाँ रेकर्ड कायम भएको छ।

नयाँ रेकर्ड बनेका स्थानहरू

तस्बिर स्रोत, DHM Climate Section

विभागका अनुसार त्यस अवधिमा देशभरिका २४१ वटा वर्षा मापन केन्द्रहरू मध्ये २२९ वटा केन्द्रमा वर्षा मापन भएको थियो। जसमध्ये १६२ वटा केन्द्रमा ५० मिलिमिटर भन्दा बढी, १२३ वटा केन्द्रमा १०० मिलिमिटर भन्दा बढी, ३३ वटा केन्द्रमा २०० मिलिमिटर भन्दा बढी र पाँच वटा केन्द्रमा ३०० मिलिमिटर भन्दा बढि वर्षा भएको थियो।

वर्षाको रेकर्ड

तस्बिर स्रोत, DHM

आकाशबाट परेको पानीको मात्राअनुसार वर्षालाई पाँचवटा वर्गमा विभाजन गरिन्छ -

अतिभारी वर्षा - २०० मिलिमिटर वा त्योभन्दा बढी

धेरै भारी वर्षा - १०० मिलिमिटरदेखि २०० मिलिमिटरसम्म

सामान्य वर्षा - ५० मिलिमिटरदेखि १०० मिटरसम्म

मध्यम वर्षा - १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म

हल्का वर्षा - १० मिलिमिटरभन्दा कम

अबको पूर्वानुमान कस्तो छ?

इन्द्रेणी

तस्बिर स्रोत, RSS

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतवार साँझ कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भएको छ।

विभागले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ। ती क्षेत्रमा हुन सक्ने गेग्र्यान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।

सोमवार पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा मङ्गलवार पनि केही स्थानमा वर्षा भए पनि अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।