यसपालि 'हिले दशैँ'को सम्भावना कति

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ४ मिनेट
यो वर्ष नेपालबाट मनसुन बाहिरिने प्रक्षेपण गरिएको दिन अर्थात् अक्टोबर २ को भोलिपल्ट घटस्थापना वा दशैँ सुरु हुने दिन छ।
सामान्यतः मनसुन बाहिरिने भनी तोकिएको मितिको आसपास पानी पर्ने क्रम जारी रहने गरेको विगतको अनुभव छ। त्यसमाथि यस पटक 'ला नीन्या' भनिने मौसमी प्रक्रियाका कारण मनसुन बाहिरिइसक्दा समेत सुक्खा भइहाल्ने अवस्था कम हुने मौसम अधिकारीहरूले बताएका छन्।
'ला नीन्या' सक्रिय हुँदा भने नेपालमा सरदरभन्दा बढी वर्षा हुन्छ। नेपाली अधिकारीहरूले वर्षायामअगावै यस वर्ष सरदर भन्दा बढ्ता वर्षा हुने बताएका थिए।
भूमध्यरेखीय पूर्वी अथवा मध्यप्रशान्त महासागरमा सरदरभन्दा कम तापक्रम हुनुलाई नै 'ला नीन्या'को अवस्था भनिन्छ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर मनसुन भित्रने र बाहिरिने प्रक्षेपण गरिएको मिति नै पनि यकिन रूपमा नमिल्ने तर 'चारपाँच दिन तलमाथि' जहिल्यै हुने गरेको बताउँछिन्।
"अक्टोबर ३ तारिकबाटै शरद् ऋतुजस्तो आकाश खुलिहाल्छ भन्ने पनि होइन। तर सेप्टेम्बरको तेस्रो साताबाट पानी पर्ने क्रम उल्लेख्य रूपमा कम हुँदै जान्छ।"
अहिलेसम्म कति पानी पर्यो

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
जल तथा मौसम विज्ञान विभागले सेप्टेम्बर १ सम्मको विवरणअनुसार मनसुनी वर्षाको झन्डै चारमहिने अवधिमध्ये अब एक महिनाभन्दा कम समय बाँकी छँदा १,३२३.८ मिलिमिटर अर्थात् यस ऋतुमा सरदर पर्ने पानीको झन्डै ९० प्रतिशत पानी परिसकेको छ।
मनसुन अवधिभर १,४७९.७ मिलिमिटर पानी पर्नुलाई सरदर वर्षा भन्ने गरिन्छ।
नेपालमा पछिल्ला पाँच वर्षको मनसुन बाहिरिने मिति छिटोमा अक्टोबर ११ भएको देखिएको छ। अघिल्ला दुई वर्ष यो मिति मध्यअक्टोबरसम्मै पुगेको छ।
विवरण राख्न थालिएको सन् १९६८ यता सन् २०१३ मा नेपालबाट सबैभन्दा ढिलो गरी १९ अक्टोबरमा मनसुन बाहिरिएको थियो।
दशैँमा के होला

तस्बिर स्रोत, Getty Images
त्यसैले विभागको जलवायु मूल्याङ्कन शाखाकी वरिष्ठ डिभिजनल मौसमविद् विभूति पोखरेल पछिल्ला मौसमी प्रवृत्तिले दशैँसम्मै पानी पर्न सक्ने देखाएको बताउँछिन्।
"केही पछि अझ स्पष्ट सङ्केत देखा पर्छन्। हाम्रोतिर मात्र नभएर मनसुनी प्रभाव हुने अन्य क्षेत्रहरूबाट समेत मनसुन बाहिरिने सङ्केत जेजसरी देखा पर्छ, त्यसलाई हेरेर समेत यहाँ त्यसको विश्लेषण गरिन्छ," पोखरेल भन्छिन्।
मनसुनको प्रभाव रहने भारतको राजस्थानतिरबाट बाहिरिन थाल्ने क्रम सुरु भएपछि नेपालमा स्पष्ट सङ्केत देखिन थाल्ने बताइन्छ।
"अहिलेको समय मनसुन सक्रिय भएको समय हो र कहीँकतैबाट समेत त्यो बाहिरिएको छैन। त्यसैले अहिल्यै धेरै भन्न सकिने अवस्था रहन्न।"
दुई वर्षअघिको दशैँमा टीकाकै दिन नेपालका धेरै स्थानमा पानी परेको थियो।
पोखरेल भन्छिन् "टीकाकै दिन नपरिहाले पनि घटस्थापनापछिका कुनै दिन पानी पर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन।"
अर्का एक मौसमविद् भने मनसुनको बाँकी अवधिमा ठूलो वर्षा हुने अवस्था अब खासै नरहेको भन्दै दशैँको मौसम 'घमाइलो' नै हुने देखिने बताउँछन्।
त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम केन्द्रीय विभागका प्रमुख दीपक अर्याल भन्छन्, "अबका दिनमा मनसुनको ठूला प्रणाली आउने क्रम लगभग कम भइसकेको छ। नेपालमा सरदरभन्दा बढि पानी पर्ने भनिए पनि त्यो निकै धेरै नभईकन एकदुई सय मिलिमिटर मात्र बढ्ता हुन सक्छ।"
वर्षा भइहाले कस्तो हुन्छ

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
मनसुन सकिएपछि खास गरी दुई प्रवृत्तिका कारण वर्षा हुन सक्ने मौसमविद्हरू बताउँछन्।
प्राध्यापक दीपक अर्यालका अनुसार त्योमध्ये एउटा चक्रवातका कारण हुने वर्षा हो र धेरैजसो हकमा दक्षिणपश्चिमतर्फको अरब सागरमा विकसित हुने प्रणालीले यस्तो वर्षा ल्याउँछ।
सामान्यतः त्यस्तो वर्षा मनसुन सकिएको एक महिनामा हुने र सेप्टेम्बरको अन्त्यतिर त्यसको अनुमान गर्न सकिने उनी बताउँछन्।
"त्यस वर्षाले तल्लो भेगमा हल्का वर्षा मौसम केही बदली हुने भए पनि पहाडी भेगमा भने उल्लेख्य हिमपात गराउने गर्छ।"
अन्यथा मनसुन सकिएपछि पर्ने पानी सानो क्षेत्रमा वाष्पीकरणका कारण हुने चट्याङहरूसहितको मात्र हुने बताइन्छ।
"त्यसले ठूलो क्षेत्र पनि समेट्दैन र त्यो व्यापक पनि हुँदैन। ती एकडेढ घण्टा पर्ने सिमसिमे पानी मात्र हुन्छन्।"
मनसुनी प्रवृत्ति
सामान्यतः जुन एक तारिखतिर भारतको केरला तटमा आइपुग्ने मनसुन त्यसपछि पश्चिमतर्फ फैलिन थाल्छ। यस वर्ष नेपालमा जुन १० मा मनसुन भित्रिएको थियो।
सामान्य गतिमा भित्रने र बाहिरिने अवस्थामा मनसुनी अवधि ११२ दिनको हुने बताइन्छ।
नेपालमा मनसुन कहिले भित्रिन्छ र बाहिरिन्छ?
| साल | आरम्भ | अन्त्य |
|---|---|---|
| २०१२ | जुन १६ | सेप्टेम्बर २८ |
| २०१३ | जुन १४ | अक्टोबर १९ |
| २०१४ | जुन २० | अक्टोबर ७ |
| २०१५ | जुन १३ | अक्टोबर ३ |
| २०१६ | जुन १५ | अक्टोबर १२ |
| २०१७ | जुन १२ | अक्टोबर १६ |
| २०१८ | जुन ८ | अक्टोबर ५ |
| २०१९ | जुन २० | अक्टोबर १२ |
| २०२० | जुन १२ | अक्टोबर १६ |
| २०२१ | जुन ११ | अक्टोबर ११ |
| २०२२ | जुन ५ | अक्टोबर १६ |
| २०२३ | जुन १४ | अक्टोबर १५ |
| २०२४ | जुन १० |
तर नेपालमा सन् १९७९ मा सबैभन्दा कम अवधिको ७३ दिने मनसुन देखा परेको थियो। त्यति बेला २४ जुनमा भित्रिएर ४ सेप्टेम्बरमा मनसुन बाहिरिएको थियो।
सबैभन्दा लामो अवधिको मनसुनी प्रभाव भने सन् २००८ मा १३० दिन देखिँदा मनसुन १० जुनमा भित्रिएर १७ अक्टोबरमा बाहिरिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
























