तीन दिन भारी वर्षाको सम्भावना नरहेको मौसमविद्को भनाइ, कोशी ब्यारेजमा सन् १९६८ यताकै बढी पानी प्रवाह

कोशी नदीमा पानीको तह खतराको स्थितिमा रहेको बताइएको छ

तस्बिर स्रोत, Hikmat Karki/Facebook

तस्बिरको क्याप्शन, कोशी नदीमा पानीको तह खतराको स्थितिमा रहेको बताइएको छ

पछिल्लो मनसुनजन्य विपद्का घटनामा १२५ जना भन्दा बढीको ज्यान गएको अधिकारीहरूले पुष्टि गरिरहँदा जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले आगामी तीन दिनमा भारी वर्षाको सम्भावना नरहेको बताएका छन्।

मौसम विज्ञान विभागका अधिकारीहरूले राजधानी काठमाण्डूसहित देशको पूर्वी भागका विभिन्न स्थानमा थोरै वर्षाको सम्भावना रहेको जनाएका छन्।

शुक्रवार बिहान यताको अविरल वर्षापछि देशका विभिन्न ठाउँमा बाढी तथा पहिरो गएका विवरणहरू आएका छन्।

सुरक्षा अधिकारीहरूले पछिल्लो विपद्‌मा १३५ जनाभन्दा धेरैले ज्यान गुमाएका र दर्जनौँ हराइरहेको जनाएका छन्।

सरकारले अब आफ्नो ध्यान सडकसहितका महत्त्वपूर्ण पूर्वाधारहरूको सञ्चालनमा केन्द्रित रहने जनाएको छ।

मौसम अधिकारीहरू के भन्छन्?

खोज तथा उद्धारमा सेना

तस्बिर स्रोत, Nepal Army

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान शाखाका मौसमविद् गोविन्द झाले आंशिक र सामान्य बदली भए पनि बिस्तारै मौसम खुल्दै आएको बीबीसीलाई बताए।

उनले भने, “तर पनि एक दुई स्थानमा जस्तै: कोशी प्रदेशको पहाडी भेगतिर छिटपुट वर्षा भइरहेको छ। खाँदबारी, लुक्लातिर पनि अलिअलि वर्षा भइरहेको छ। तर आगामी तीन दिनलाई एकदमै भारी वर्षाको सम्भावना छैन।”

उनले मनसुन अझै बाहिरिइनसकेकाले एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने बताए। ‘त्यो पनि क्षणिक खालको छ, धेरै छैन।”

अविरल वर्षाले ठूलो जनधनको क्षति भएको काठमाण्डू उपत्यकामा आइतवार बिहानबाटै घाम लागेको छ।

मौसमविद् झाले ‘बादल आउने जाने’ भइराखेको भए पनि काठमाण्डूको मौसममा सुधार भएको र दुई तीन दिनलाई खासै भारी वर्षाको सम्भावना नरहेको जनाए।

नेपाल प्रहरी

तस्बिर स्रोत, Nepal Police/X

यसअघि जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले निरन्तरको वर्षाले काठमाण्डूमा अभिलेख राख्न सुरु भएयता अहिलेसम्मकै धेरै वर्षा मापन भएको बताएका थिए।

जल तथा मौसम विज्ञान विभागसँग सन् १९७० देखि वर्षाको अभिलेख रहेको छ।

यसभन्दा अघि काठमाण्डू विमानस्थलमा सन् २००२ मा १७७ मिलिमिटर वर्षा २४ घण्टामा मापन गरिएकोमा शनिवार २३९.७ मिलिमिटर वर्षा मापन भएको छ।

मौसमविद् झाले काठमाण्डू उपत्यकाभित्र ९ ठाउँमा बर्षाको कीर्तिमान भङ्ग भएको बताए।

पानीपोखरी, चापागाउँ, बुढानीलकण्ठ, खोकना, नैकाप लगायतका केन्द्रहरूमा पनि ‘रेकर्ड ब्रेक’ भएको भन्दै उनले विभागले त्यससम्बन्धी थप विवरणहरू सार्वजनिक गर्ने जनाए।

सरकारी अधिकारीहरू के भन्छन्?

हजारौँ सुरक्षाकर्मी उद्धारमा खटिएका छन्

तस्बिर स्रोत, Nepal Army

नेपाल प्रहरीले जनाए अनुसार अविरल वर्षापछिको विपद्‌बाट कम्तीमा १३६ जनाको मृत्यु भएको छ भने ७३ जना घाइते भएका छन्। साथै ६३ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीका सह प्रवक्ता एसएसपी विश्व अधिकारीले बताए।

मौसममा केही सुधार आएसँगै बाढी तथा पहिरो प्रभावित क्षेत्रहरूमा हेलिकोप्टरमार्फ् उद्धारहरू अघि बढाउने प्रयास भइरहेको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने, “हामीले काभ्रेमा उद्धारकार्यका लागि हेलिकोप्टर पठाउन लाग्दैछौँ। बेथानचोक र पनौतीमा केही घाइते हुनुहुन्छ भन्ने खबर आएको छ। दुवैतर्फ बाटो अवरुद्ध भएर यात्रीहरू रोकिनुभएको छ। केही खाद्य सामग्री पुर्‍याउने र वृद्ध, अशक्तहरू हुनुहुन्छ भन्ने उद्धार गर्ने हाम्रो प्रयास हुनेछ।”

नेपाल विपद्

तस्बिर स्रोत, Reuters

उनले उद्धारबाहेक राहत वितरण र संवेदनशील पूर्वाधारहरूलाई सञ्चालन गर्नेमा सरकारी संयन्त्रको जोड रहने बीबीसीलाई बताए।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाण्डू उपत्यकामा पाँच ठाउँमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ भने कोशी प्रदेशमा छ ठाउँमा पूर्ण अवरोध छ।

आइतावार बिहानसम्मको आँकडा अनुसार बाग्मती प्रदेशमा २५ ठाउँमा त्यस्तो पूर्ण अवरोध थियो। त्यसबाहेक गण्डकी प्रदेशमा तीन ठाउँमा, लुम्बिनीमा सात र कर्णालीमा एक ठाउँमा अवरोध रहेको छ।

उनले सकेसम्म धेरै सडकहरू सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाए।

शनिवार साँझ काठमाण्डूको चन्द्रागिरी नगरपालिका र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा पहिरोले पुरिएको एउटा माइक्रो बसबाट १४ जनाको शव निकालिएको अधिकारीहरूले बताएका थिए।

सुरक्षाकर्मीहरूले सोही ठाउँबाट उत्तरी गोर्खाबाट आएको ठानिएको एउटा यात्रुवाहक बसबाट ३ जनाको शव निकालेका छन्।

त्यहाँ कति सवारी साधन पुरिएका छन् भन्नसक्ने अवस्था नरहेको बताउँदै सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले एउटा जेसीबीले पहिरो हटाइरहेको र त्यो काम सकिन अझै दुई दिनसम्म लाग्नसक्ने बताए।

शनिवारसम्म सुरक्षा निकायहरूले बाढी र पहिरो प्रभावित विभिन्न स्थानहरूबाट झन्डै ३१ सय मानिसहरूको उद्धार गरेका थिए।

तीनवटै सुरक्षा निकायका सदस्यहरू झ्याप्लेखोलाको पहिरो हटाउन खटिएका छन्

तस्बिर स्रोत, APF

तस्बिरको क्याप्शन, तीनवटै सुरक्षा निकायका सदस्यहरू झ्याप्लेखोलाको पहिरो हटाउन खटिएका छन्

कोशीमा ‘हाई रेड अलर्ट’

कोशी नदीमा जल सतह उच्च रहँदा अधिकारीहरूले ‘हाई रेड अलर्ट’ जारी गरेका छन्।

नदीको तहलाई ज्यादै खतरनाक भनेका अधिकारीहरूले कोशीको ५६ वटै ढोकाहरू खुल्ला गरिएको जनाएका छन्।

भारत सरकारको जल संसाधन विभागले नेपाल भारी वर्षाका कारण आइतरवार बिहान ५ बजे कोशी ब्यारेज वीर पुरबाट ६ लाख ६१ हजार क्यूसेकभन्दा बढी पानी प्रवाह भएको जनाउँदै त्यो सन् १९६८ यताकै सर्वाधिक रहेको उल्लेख गरेको छ।

उक्त विभागले विहान नौ बजे पानीको तह केही घटेको उल्लेख गर्दै भनेको छ, "अहिले त्यसमा कमी आइरहेको छ। बिहान ९ बजे कोशी ब्यारेजको प्रवाह ६,२८,४१५ क्युसेक पानीको प्रवाह भएको छ।"

गए राति गण्डक ब्यारेजमा ५ लाख ६२ हजार क्युसेक भन्दा पानीको प्रवाह भएकोमा आइतवार बिहान घटेर ४ लाख ९७ हजार भन्दा बढी कायम भएको भारतीय पक्षले जनाएको छ।

कोशी ब्यारेज

उक्त विभागले आफू निरन्तर तटबन्धको सुरक्षाका लागि काम गरिरहेको भन्दै नदी किनारा र तटबन्धको नजिकको क्षेत्रमा बसेका मानिसहरूलाई सतर्क रहन भनेको छ।

सप्तकोशी नदीमा पानीको बहाव उच्च हुँदै खतराको सङ्केत पार गरेपछि शनिवार अपराह्न ४ बजे देखी कोशी ब्यारेजको पुलबाट आवतजावत बन्द गरिएको थियो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उक्त क्षेत्रको निरिक्षण गरेका छन्।

उनले कोशी नदीमा पानीको बहाव क्रमिक रूपमा बढेको र सम्भावित जोखिमलाई आकलन गर्दै जिल्ला सुरक्षा समिति सुनसरी र सप्तरीलाई अत्यावश्यक सेवा बाहेक कोशी ब्यारेज पुलहुँदै जाने यातायात हाललाई नचलाउने व्यवस्था मिलाउन निर्देशन दिइएको उल्लेख गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।