पूर्वी नेपालमा ३६ घण्टादेखि अविरल वर्षा, नारायणगढ-मुग्लिन सडक राति बन्द रहने

धादिङको धुनीबेँसी नगरपालिकामा सुरुङमार्गनजिक सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, अविरल वर्षाका कारण नौबिसे–काठमाडौँ सडक अवरुद्ध भयो
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

पूर्वी नेपालमा शुक्रवार बेलुकासम्म ३६ घण्टादेखि अविरल वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वर्षाका कारण देशभरि विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ।

निरन्तर वर्षा भएकाले प्राकृतिक विपत्ति निम्तिन सक्ने भन्दै अधिकारीहरूले सतर्क रहन आग्रह गरेका छन्।

पहाडी भेगमा शुक्रवार उडान हुन सकेन भने देशभरि विभिन्न राजमार्गहरू बाढी र पहिरोका कारण प्रभावित भएका छन्।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पूर्व-पश्चिम महेन्द्र राजमार्गलाई काठमाण्डूसँग जोड्ने सडकको नारायणगढ-मुग्लिन खण्ड शुक्रवार राति बन्द गर्ने निर्णय गरिएको बताएका छन्।

“विपद् जोखिम प्राधिकरणको सूचना र निरन्तरको वर्षालाई विचार गर्दै आज साँझ ७ बजेबाट भोलि बिहान ५ बजेसम्म रामनगरदेखि मुग्लिनसम्मको सडकमा सार्वजनिक र निजी सवारीसाधन चलाउन रोक लगाउने निर्णय भएको छ,” यादवले बीबीसीसँग भने।

धनकुटा र खोटाङसहित केही जिल्लामा मुख्य सडकहरू पहिरोका कारण अवरुद्ध भएको नेपाल प्रहरीका सहायक प्रवक्ता विश्व अधिकारीले बताएका छन्।

अन्यत्र कस्तो प्रभाव

काभ्रेपलान्चोकको रोशी गाउँपालिकास्थित चारसयबेँसीमा लेदोका कारण शुक्रवार बीपी राजमार्ग अवरुद्ध भयो

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, अविरल वर्षाका कारण काभ्रे जिल्लामा शुक्रवार बीपी राजमार्ग अवरुद्ध भयो

ट्राफिक प्रहरीका अनुसार मलेखुमा पहिरोका कारण काठमाण्डू मुग्लिन सडकखण्ड साँझबाट अवरुद्ध भएको छ। त्यसअघि नागढुङ्गा-नौबिसे सुरुङमार्गनजिकै माथिबाट निरन्तर लेदो बगेका कारण अपराह्न लामो समयसम्म सवारी आगमन रोकिएको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार सूचना प्रकाशित गर्दै अत्यन्त जरुरी रहेको अवस्थामा बाहेक यात्रा नगर्न भनेको थियो। प्राधिकरणले शुक्रवार र शनिवार पहाडी तथा हिमाली जिल्लामा रात्रिकालीन बस नचलाउन भनेको छ।

नेपाल प्रहरीका अनुसार देशका प्रमुख राजमार्गहरू चालु अवस्थामा रहे पनि काठमाण्डूबाट पूर्व जाने प्रमुखमध्येको बीपी राजमार्ग शुक्रवार बिहानैबाट ठप्प भएको छ।

काभ्रेको रोशी गाउँपालिकामा माथिबाट बगेर आएको लेदो र पहिरोले अस्थायी मार्ग अवरुद्ध गरेपछि राती पनि उक्त सडक ठप्प हुने प्रहरीले जनाएको छ। त्यस्तै मकवानपुरको फाखेलमा पहिरोले सडक थुनेका कारण फर्पिङ हुँदै हेटौँडा जोड्ने राजमार्ग अवरुद्ध छ। ललितपुर हुँदै हेटौँडा जोड्ने कान्ति राजमार्ग पनि मकवानपुरको ठिङ्गनमा पहिरोका कारण ठप्प रहेको ट्राफिक प्रहरीले जनाएको छ।

पूर्व -पश्चिम राजमार्ग पनि ठाउँ ठाउँमा प्रभावित भए पनि पूर्ण अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

“ठाउँठाउँमा जनशक्ति तयारी अवस्थामा राखिएको छ। राजमार्ग अवरुद्ध भएको अवस्थामा पन्छाउनका लागि डोजरसहितका उपकरणहरू पनि तयारी अवस्थामा छन्,” प्रहरी सहायक प्रवक्ता अधिकारीले भने।

कैयौँ ठाउँमा पहिरोका घटनाहरू भए पनि यो समाचार तयार गर्दासम्म मानवीय क्षतिको विवरण आएको छैन।

जलमग्न मलङ्गवा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, वर्षाका कारण तराईका जिल्लाहरू पनि प्रभावित भएका छन्

आन्तरिक उडान प्रभावित

त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार शुक्रवार देशका अधिकांश पहाडी क्षेत्रमा आन्तरिक उडान हुन सकेन। पूर्वका चन्द्रगढी, विराटनगर, लुक्ला लगायतका विमानस्थल अनि मध्य क्षेत्रमा पर्ने चितवन र पश्चिमका पोखरा, सुर्खेत लगायतका विमानस्थलहरूमा उडानहरू स्थगित भए।

पश्चिम तराईका धनगढी र भैरहवा र पूर्वी तराईको जनकपुरमा मात्रै उडान भएको उनले बताए।

नेपालबाट बाहिरिने तथा भित्रिने अन्तर्राष्ट्रिय उडानहरू भने स्थगित भएका छैनन्।

“केही उडानहरू केही समयका लागि होल्ड भए पनि डाइभर्ट गर्नुपर्ने वा स्थगित गर्नुपर्ने अवस्था आएको छैन,” शेर्पाले भने।

कहाँ कति वर्षा भयो

वर्षा मापन

तस्बिर स्रोत, DHM

जल तथा मौसम विज्ञान विभागका अनुसार झापाको चन्द्रगढी मापन केन्द्रमा २४ घण्टामा २९९ मिलिमिटर वर्षा मापन भएको छ। विभागका अनुसार १४० मिलिमिटरभन्दा बढी पानी पर्दा त्यसलाई 'अतिभारी वर्षा' भनिन्छ।

त्यस्तै झापाकै गौरादह, केचना, अनारमनी र बाहुनडाँगी क्षेत्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

“कोशी प्रदेशको पनि दक्षिणपूर्वी क्षेत्रका झापा, मोरङ र इलाम क्षेत्रमा हिजो बिहानैबाट निरन्तर पानी परिरहेको छ,” गौचरस्थित मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले भने।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा अन्य क्षेत्रको तुलनामा काम वर्षा मापन भए पनि देशैभरि शुक्रवार वर्षा भइरहेको छ।

“पूर्वी नेपालमा भोलि (शनिवार) साँझबाट मात्रै वर्षा कम हुँदै जाने देखिन्छ। मौसमी प्रणाली पूर्वबाट पश्चिमतर्फ सर्दै गइरहेका कारण आइतवारबाट पश्चिमी क्षेत्रमा वर्षा केही कम हुन सक्ने देखिन्छ,” उनले भने।

काठमाण्डू उपत्यकामा खोकना र गौरीघाट क्षेत्रमा बागमती नदी, बलम्बुमा बल्खुखोला र गोङ्गबु बसपार्कनजिकै विष्णुमती नदीमा जलसतहले सतर्कताको बिन्दु नाघेको छ।

विभागले ती क्षेत्रमा यात्रा गर्ने र बसोबास गर्ने मानिसहरूलाई शुक्रवार रातिसम्मै उच्च सतर्कता अपनाउन सूचित गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।