बाढी र पहिरोको उच्च जोखिम भएका विभिन्न जिल्लामा रात्रिकालीन बस नचलाउन निर्देशन

मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पश्चिमको मुसिकोटमा गएको पहिरो

तस्बिर स्रोत, RSS

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै सम्भावित क्षति रोक्न रात्रिकालीन बस सञ्चालन नगर्न निर्देशन दिएको छ।

नेपालका अधिकांश स्थानमा बुधवार रातिसम्म वर्षा हुने मौसमविद्हरूले बताएका छन्।

यसअघि बाढी र पहिरोका सम्भावित घटनालाई दृष्टिगत गर्दै जोखिमयुक्त क्षेत्रमा रात्रिकालीन यातायातमा रोक लगाउने तयारी भइरहेको गृह मन्त्रालयका अधिकारीले बताएका थिए।

“रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका जिल्लामा रात्रीकालीन बस नचलाउने” विपद् जोखिम प्राधिकरणले सूचना जारी गर्दै भनेको छ।

उच्च जोखिममा कुनकुन जिल्ला

प्राधिकरणका अनुसार उच्च जोखिममा यी जिल्ला परेका छन् -

कोशी प्रदेश - ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम

बागमती प्रदेश - रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा

गण्डकी प्रदेश - म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा

लुम्बिनी प्रदेश - कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची र रुकुम पश्चिम

सुदूरपश्चिम प्रदेश - कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी।

जलमग्न सडक

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भूसालका अनुसार बाढी, पहिरो र डुबानको जोखिम भएका क्षेत्रमा रातको समयमा राजमार्गहरू बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने बताएका थिए।

“आगामी वर्षालाई विचार गर्दै प्रमुख जिल्ला अधिकारीहरूलाई सतर्क पनि गराउँदै छौँ र भारी वर्षाको अवधिमा रातिको समयमा सवारीसाधनहरू स्थिति हेरेर बन्द गर्नेबारे पनि छलफल हुँदै छ,” जोखिम कम गर्नेबारे भइरहेको तयारीबारे भूसालले भने।

गत असार अन्तिम साता चितवनको सिमलतालमा पहिरोले दुइटा यात्रुवाहक बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएका थिए।

त्यस बेला पनि गृह मन्त्रालयले जोखिमका आधारमा रात्रिकालीन सवारीमा रोक लगाउने निर्णय लिएको थियो।

उनका अनुसार स्थानीय प्रशासनले स्थानीय आवश्यकता हेरेर त्यसको निर्णय लिन सक्छन्।

उनका अनुसार जोखिम देखिएका जिल्लाहरूमा रातिको समयमा अत्यावश्यक बाहेकका सार्वजनिक र निजी सवारीसाधन चलाउन निषेध गरिने छ।

लमजुङमा गएको पहिरो

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर

मौसम पूर्वानुमान महाशाखाले बुधवारसम्म भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले सहरी तथा तराईका क्षेत्रहरूमा डुबानको जोखिम रहेको जनाएको छ।

"ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ," महाशाखाले जारी गरेको सूचनामा भनिएको छ।

वर्षाको पूर्वानुमान के छ

जल तथा मौसम विज्ञान विभागले मङ्गलवार राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै ठूलो वर्षाको सम्भावना रहेको र सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन वा चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान सार्वजनिक गरेको छ।

गौचरस्थित मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले हलुका र मध्यम किसिमको वर्षा बुधवार बेलुकासम्मै जारी रहने देखिएको बताए।

“न्यूनचापीय रेखा सरदरभन्दा उत्तरतर्फ सरेर नेपालको पूर्वी भागतिर आएको छ। यसका कारण हिजैबाट मनसुन सक्रिय भएको छ र यो बुधवार बेलुकासम्मै रहने देखिन्छ,” अर्यालले भने।

महाशाखाका अनुसार उक्त प्रणालीका कारण गएको २४ घण्टामा बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा धेरै ठूलो वर्षा भएको छ।

महाशाखाले सप्तरीका केही स्थान, चितवन, सिन्धुपाल्चोक, काठमाण्डू उपत्यकाका केही स्थान, सिन्धुली, उदयपुर, मोरङ र सुनसरीको धरान क्षेत्रमा धेरै ठूलो वर्षा मापन गरिएको जनाएको छ।

चौबीस घण्टाभित्र ५० मिलिमिटरदेखि १०० मिलिमिटरबीचको अवस्थालाई 'भारी वर्षा' भएको मानिन्छ भने १०० मिलिमिटरभन्दा बढी वर्षा हुँदा त्यसलाई 'अतिभारी' मानिन्छ।

सिन्धुलीको मरिन खोला स्टेशनमा २१६ मिलिमिटर र सत्तरीको राजविराज क्षेत्रमा १८८ मिलिमिटरसम्म वर्षा भएको महाशाखाले जनाएको छ।

बागमतीमा बाढी

मनसुनी वर्षाको झन्डै चारमहिने अवधिमध्ये डेढ महिनाभन्दा बढी समय बितिसक्दा हालसम्म यस अवधिमा हुने औसत वर्षाको परिमाणको ६६.३ प्रतिशत वर्षा भएको जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले जानकारी दिइन्।

"हामीले यो मनसुनमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेका छौँ र अहिलेसम्मको प्रवृत्तिले पनि त्यही देखाउँछ," उनले भनिन्।

सडक अवरोध

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, वर्षाका कारण कतिपय राजमार्गहरू पनि अवरुद्ध भएको समाचार छ

वर्षाले डुबान र पहिरोले मानवीय क्षति

अविरल बर्षाका कारण जनकपुरस्थित मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत डुबानमा परेको राससले जनाएको छ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, अविरल बर्षाका कारण जनकपुरस्थित मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत डुबानमा परेको राससले जनाएको छ

सोमवार रातिबाट भएको निरन्तरको वर्षाका कारण काठमाण्डूका प्रमुख नदीहरूका तटीय क्षेत्र जलमग्न भएका विवरणहरू आएका छन्।

बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको र सडक किनार तथा बस्तीसम्म आउन सक्ने जोखिम रहेको भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेको छ।

राष्ट्रिय समाचार समितिले सिंहदरबारमा रहेको नेपाली कांग्रेस संसदीय दलको कार्यालय परिसरमै पानी जमेको तस्बिर प्रकाशित गरेको छ।

गृह मन्त्रालयका अनुसार गुल्मीमा पहिरोमा मानवीय क्षति भएको छ।

गुल्मीको मुसीकोट नगरपालिका वडा नं १ मा पहिरोले च्यापेर ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी रामकुमार केसीले जानकारी दिएका छन्।

घरमा माथिबाट आएको लेदोसहितको पहिरोले च्याप्दा घरमा बसेका ४ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका थिए।

उडान प्रभावित

उच्च वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले बताएका छन्।

“लामो समय उडान रोकिएको अवस्था छैन, न्यून भिजिबिलिटी भएको समयमा कुनैकुनै उडानहरू केही समय रोकिएर पुनः उडेका थिए,” झाले भने।

उनका अनुसार कतिपय उडानहरूलाई विमान सेवा कम्पनीले अर्को विमानस्थलमा डाइभर्ट गर्नुपरेको थियो।

'ट्रङ्क रूट' भनिने रातको समयमा समेत विमान उडान र अवतरण गर्न सक्ने क्षमताका विमानस्थलमा उडान प्रभावित नभए पनि पहाडी जिल्लाका कतिपय विमानस्थलमा उच्च वर्षा भएको समयमा उडान प्रभावित हुन सक्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।