त्रिशूलीमा बस र यात्रु खोज्न आएको भारतीय टोलीले जानुअघि के निष्कर्ष सुनायो

तस्बिर स्रोत, APF Nepal
चितवनको सिमलताल दुर्घटनामा हराइरहेका ३६ जना यात्रु र उनीहरू यात्रारत दुईवटा बसको खोजीका लागि आएको भारतीय टोलीले त्रिशूली नदीमा पानीको वेग “आफूहरूले सोचेको भन्दा धेरै” भएका कारण उपलब्धि हासिल गर्न नसकेको बताएको नेपाली अधिकारीहरूले जनाएका छ।
पानीमा खोजीका लागि प्रयोग हुने सोनर क्यामेरा, चुम्बकसहितका उपकरण लिएर आएको चार जना गोताखोर र प्राविधिक समेतको १२ जनाको टोली आइतवार स्वदेश फर्किएको छ।
नेपालबाट बिदा हुनुअघि भारतीय टोलीले उच्च वेग सहितको धमिलो पानी भएका कारण आफूहरूसँग भएका उपकरणले नतिजा नदिएको प्रतिक्रिया दिएको एक अधिकारीहरूले बताए।
“उहाँहरूले जाने बेलामा त्रिशूलीको पानीको वेग र धमीलोपन सोचेभन्दा पनि धेरै रहेछ, हाम्रो लागि पनि राम्रो सिकाइ र नयाँ अनुभव भयो भन्ने कुरा गर्नुभयो,” भारतीय टोलीलाई आइतवार बिदाइ गरेका चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भूसालले बीबीसी न्यूज नेपालीसँग भने।
भारतको न्याश्नल डिजास्टर रेस्पोन्स फोर्सका विशेषज्ञहरूले एक सातासम्म गरेको खोजीबाट पनि बस र थप बेपत्ताहरू पत्ता लाग्न सकेनन्।
नेपालको अनुरोधमा आएको भारतीय प्राविधिक टोली साउन ६ गतेबाट एक सातासम्म नेपालका सुरक्षा निकायहरूसँग मिलेर खोजीमा खटिएको थियो।

तस्बिर स्रोत, APF Nepal
हालसम्म दुर्घटनामा परेका २५ जना यात्रुहरूको शव नेपाल र भारतका विभिन्न ठाउँमा भेटिएको छ भने दुर्घटनाको १७औँ दिनसम्म पनि ३६ जनाको अवस्था अज्ञात रहेको अधिकारीहरूले बताएका छन्। साउन ७ गतेबाट थप शवहरू पनि भेटिएका छैनन्।
खोजी र उद्धार कार्यमा समन्वय गरिरहेका सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्रका प्रशिक्षक प्रहरी वरिष्ठ उपरीक्षक माधव पौडेलले भारतीय टोलीले पनि त्रिशूलीको जटिलता आफूहरूका लागि नौलो भएको आफूहरूसँग बताएको जानकारी दिए।
“नदीका खोँचहरूको विकटता र तीव्र बेगका कारण हामीसँग भएका गंगा नदीमा समेत प्रभावकारी भएका उपकरणहरूले पनि काम गर्न सकिएन भन्ने उहाँहरूको कुरा थियो,” पौडेलले भने।
“पानीको वेगका कारण भएका उपकरणले पनि एक ठाउँमा स्थिर भएर हेर्न सकिएन। पानीको वेग कम भएको ठाउँमा त्यही उपकरणले खोज्छ तर त्रिशूलीमा पानीको वेग बढी भएका कारण राम्रो नतिजा दिएन।”
अहिलेसम्मको आकलन के छ?

तस्बिर स्रोत, APF Nepal
नेपाली र भारतीय दुवै टोलीको पछिल्ला दिनहरूको खोजी बस नदीमा खसेको भनिएको सिमलताल र जुगेडीबीचको क्षेत्रमा केन्द्रित थियो।
त्रिशूलीमा हराइरहेका दुवै बस त्यही तीन किलोमिटर क्षेत्रमा रहेको हुनसक्ने आशङ्का गरिए पनि नेपाली र भारतबाट आएका प्राविधिकहरूसँग भएका उपकरण र जनशक्तिले उक्त क्षेत्रमा प्रभावकारी खोजी गर्न नसकेको सशस्त्र प्रहरीका पौडेलले बताए।
“बसहरू त्यसभन्दा तल बगाएर पुर्याएको छैन भन्ने नै हाम्रो प्रारम्भिक निष्कर्ष छ। किनभने त्यो ठाउँमा नदी दुवैतर्फबाट खोँच बनेर गहिरो गरी बगेको छ, कुनाकाप्चा पनि धेरै छन् र माथिबाट हेर्दा भुल्का परे जस्तो देखिए पनि तल हेर्दा चट्टान र २६ मिटरसम्म गहिरो भागहरू भएको पाइयो। त्यो भनेको एउटा आठ-नौ तल्लाको घर जति गहिरो ठाउँ हो,” उनले भने।

भारतीय टोलीले पनि सिमलताल र चितवनकै गाइघाटबीचको क्षेत्रमा बस हुनसक्ने आकलन गरेको र त्यसबारे विस्तृत प्रतिवेदन दिने जनाएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी भुसालले बताए।
“सीमलताल र गाइघाटबीचको तीन किलोमिटर क्षेत्रमा बस हुनसक्ने आफूहरूको निष्कर्ष सहितको प्रतिवेदन दिन्छौँ भन्नुभएको छ,” भुसालले भने।
भारतीय टोली फर्किए पनि नेपाली सुरक्षा निकायबाट हराइरहेका बस र यात्रुहरूको उद्धार जारी रहने उनले जानकारी दिए।
त्रिशूलीले सिकाएको पाठ

तस्बिर स्रोत, APF Nepal
विपद् व्यवस्थापनमा जापानबाट विद्यावारिधि गरेका सृजन मल्ल सिमलताल दुर्घटनाले विपद् व्यवस्थापनमा नेपालको अक्षमता देखाएको बताउँछन्।
“हाम्रो क्षमता कुन स्तरमा छ भन्ने यो घटनाले देखाएको छ। (विसं) २०७२ सालको भूकम्पले पूर्वतयारीबारे हाम्रो आँखा खोलेजस्तै यसले हाम्रो विपद् प्रतिकार्य कस्तो हुनुपर्छ भनेर आँखा खोलेको छ,” उनले भने।
“अब हामीले हाम्रो नदी प्रणालीबारे अध्ययन गर्नुपर्छ र त्यो काम राज्यले त्यो काम आफ्नै साधन स्रोतबाट गर्नुपर्छ त्यसका लागि बजेट व्यवस्थापन पनि हुनुपर्छ।”
उनले त्रिशूले नदीको बहावको अवस्थाबारे अहिलेसम्म पनि थाहा नहुनु आफैँमा दुखद भएको बताए।
“त्रिशूलीमा साना साना गाडीहरू खसेर नभेटिएका घटनाहरू त यसअघि पनि भएका हुन् नि तर हामीले त्यसबाट किन पाठ सिकेनौँ, हाम्रो क्षमता किन बढाएनौँ?” उनको प्रश्न छ।
सशस्त्र प्रहरीका पौडेलका अनुसार त्रिशूलीमा सवारी साधनहरू नभेटिएको यो पहिलो घटना नभएको बताउँछन्।
पूर्व गृहमन्त्री माधव घिमिरे विसं २०७३ सालमा आफू चढेको गाडी सहित त्रिशूलीमा बेपत्ता भएका थिए। उनी र उनी चढेको गाडी हालसम्म भेटिएको छैन।
“हामीले खोजीका क्रममा त्रिशूलीले ठुला-ठूला ढुङ्गाहरू पनि बगाउने गरेको पायौँ। आज ढुङ्गा भएको ठाउँमा अर्को दिन खोजी गर्दा हुँदैन,” पौडेलले भने।
“हिउँदमा त्रिशूलीको अवस्थाका बारेमा विज्ञहरू सहित अध्ययन गर्नुपर्ने महसुस भएको छ।”

तस्बिर स्रोत, APF Nepal
विपद् व्यवस्थापनमा लामो काम गरेको बताउने नेपाली सेनाबाट अवकाशप्राप्त मल्ल यस्ता किसिमका विपद् व्यवस्थापनका लागि राज्यले आवश्यक महत्त्व नदिएको ठान्छन्।
“यो कुरा सरकारहरूको प्राथमिकतामा परेन। विपद् व्यवस्थापन प्राधिकरणलाई कानुनी रूपमा क्षमतावान् निकाय बनायौँ। तर काम गर्ने वातावरण दिएनौँ। यो जिम्मेवारी राज्यले सुरक्षा निकाय र मन्त्रालयहरूलाई दिएको छ बजेट पनि मन्त्रालयहरूलाई दिइएको छ,” उनले भने।

विपद् प्रतिकार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई जिम्मेवारी दिइएको भए पनि त्यसका लागि आवश्यक बजेट ती निकायहरूलाई नदिइएको उनको दाबी छ।
“उनीहरूले आफ्नो नियमित बजेटबाटै त्यो काम गरिरहेका छन्। शान्ति सुरक्षाको बजेटबाटै विपद् व्यवस्थापनका उपकरण जुटाएका छन् र जनशक्ति खटाएका छन्,” मल्लले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








