काठमाण्डू-तराई द्रुतमार्ग: जहाँ बन्दै छ धरहरा जत्तिकै अग्लो खम्बा भएको पुल

- Author, अशोक दाहाल र विजय गजमेर
- Role, बीबीसी न्यूज नेपाली, लेनडाँडा मकवानपुर
धरहरा जत्तिकै उचाइ भएको खम्बामाथि बन्ने पुल कस्तो होला? निर्माणाधीन काठमाण्डू-तराई द्रुतमार्गमा पर्ने एउटा पुलको खम्बा धरहरा जत्तिकै अग्लो हुने दाबी गरिएको छ।
काठमाण्डूको धरहरा टावर नवर्निर्माणपछि यसको जमिनमाथि गजुर सहितको उचाइ ८३.८५ मिटर रहेको विवरण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजनिक गरेको थियो। दुई वटा भूमिगत तलासहित धरहराको कुल उचाइ ९२.२५ मिटर छ।
काठमाण्डूको यो २२ तले धरहरा जत्तिकै अग्लो खम्बामाथि बनिरहेको पुल काठमाण्डू-तराई द्रुतमार्गस्थित मकवानपुरको लेनडाँडा नजिकै पर्छ।
उक्त स्थानमा फरक फरक दुई वटा पुलका लागि ठड्याइएका कैयौँ खम्बाहरू मध्ये सबैभन्दा गहिरो भागबाट उठाइएको एउटा खम्बाको उचाइ जमिन मुनिको भाग बाहेक नै ८३ मिटर रहेको निर्माणमा संलग्न एक जना इन्जिनियरले बताए।
“यहाँ बनिरहेका चार वटा खम्बाको उचाइ ७५ देखि ८३ मिटरसम्म छ। यो धरहराभन्दा अग्लो छ,” विगत पाँच महिनादेखि द्रुतमार्गमा प्रमुख पुल इन्जिनियरका रूपमा काम गरिरहेका कोरियाली परामर्शदाता कम्पनीका किम डो हुन्ले भने।
नेपालकै सबैभन्दा अग्लो पुल

धरहराको गजुर बाहेकको उचाइ भन्दा यो पुलको उचाइ अग्लो रहेको निर्माणमा संलग्न अर्का एक कामदारले दाबी गरे।
“धरहराको वास्तविक उचाइ र यसको उचाइ बराबर छ। जमिनमुनिबाट हिसाब गर्दा यसको उचाइ अझै बढी हो,” पुल निर्माणमा संलग्न पोली च्याङ्दा कम्पनीका साइट इन्जिनियर प्रसन्नकुमार झा भन्छन्।
“यसको पिअर (खम्बा) मात्रै ७२ मिटर छ। तर जमिन मुनिको भागमा रहेको संरचना समेत जोड्ने हो भने ११० मिटर भन्दा माथि छ,” झा भन्छन्।
इन्जिनियरहरूका अनुसार पुलको पिअर भनिने खम्बा भन्दा तल रहने पाइलक्याप र जमिनमुनि रहने पाइल भनिने जग र तथा पिअरक्याप सहितका संरचनाका कारण यो पुल अग्लो भएको हो।
इन्जिनियर झा नेपालमा यस्तो किसिमको पुल अहिलेसम्म नबनेको दाबी गर्छन्।
पुल भूकम्प प्रतिरोधी छ?

पुल बनेको जटिल भौगोलिक संरचना र पुलको भारका कारण पिलरको जमिनमुनि रहने पाइलको गहिराइ मात्रै ३० मिटर रहेको उनीहरूको दाबी छ।
यो पुलको पाइल क्याप ४ मिटर लामो र पिअर क्याप करिब ६ मिटर रहेको बताइएको छ।
विगत पाँच महिनादेखि प्रमुख पुल इन्जिनियरका रूपमा काम गरिरहेका किम डो हुन् जापानको ओशाकामा गत ज्यानुअरीमा आएको ७.५ म्याग्निट्यूटको भूकम्पमा कैयौँ पुलका पिअरहरू भत्किएको बताउँछन्।
“यसका खम्बाहरू त्यहाँका पुलमा रहेका भन्दा बलियो र मोटो बनाएका छौँ। त्यसकारण यो पुलले त्यो भन्दा ठूलो भूकम्प धान्न सक्छ,” उनले भने।
तर विज्ञहरू भूकम्पको गहिराई र केन्द्रबिन्दुका आधारमा त्यसले संरचनाहरूमा पुर्याउने क्षति फरक पर्ने बताउँछन्।
काठमाण्डू-तराई द्रुतमार्गमा बनिरहेका यी अग्ला पुलहरूले ८ म्याग्निट्यूडसम्मको भूकम्प धान्नसक्ने उनको दाबी छ।
“फल्ट क्षेत्रमा अवस्थित रहेका कारण हामीले सम्भावित भूकम्पको असरलाई ध्यान दिएर पुलको डिजाइन गरेका छौँ। यसमा पुलको तल्लो भाग माथिल्लो भागलाई आइसोलेट गरिएको छ। तल्लो भागमा हलचल हुँदा माथिल्लो भागमा धेरै हलचल हुँदैन,” उनले भने।
“यसले तल्लो भागमा हलचल हुँदा पैदा हुने शक्ति माथिल्लो भागमा आउनुअघि आइसोलेट गर्छ।”
यो पुलमा भूकम्पको जोखिमलाई ध्यान दिँदै ब्यालेन्स क्यान्टिलिभर प्रविधि प्रयोग गरिएको दाबी गरिएको छ। अनुसन्धानहरूले तीव्र हावा चल्ने र भूकम्पको जोखिम भएका ठाउँमा यस्तो प्रविधि उपयुक्त हुने देखाएको जानकारहरू बताउँछन्।
मकवानपुरको यो क्षेत्र भूकम्पको फल्ट लाइनमा पर्ने विज्ञहरूको भनाइ छ।
भूकम्पको फल्ट लाइनमा पर्ने देखिएका कारण पनि द्रुतमार्गमा बनिरहेका अग्ला पुलहरूमा भूकम्प प्रतिरोधी प्रविधिलाई विशेष ध्यान दिइएको दाबी गर्छन्।
कति भार थेग्छ?

यो पुलको एउटा खम्बाले १२०० किलोन्युटन सम्मको भार थेग्ने दाबी गरिएको छ।
कुल २७० मिटर लामो हुने यो पुलमा ७ देखि ८ मिटरका हेभी ट्रकहरू एकै पटकमा १०० वटासम्म धान्नसक्ने हुन्को दाबी छ।
“१०० वटा हेभी ट्रकहरू पुलमाथि गुड्दा वा जाममा रहँदासम्म पुललाई कुनै असर पुग्दैन,” उनले भने।
नेपालमा यस्तो अग्ला पुलहरू बनाइएको पहिलो पटक भएको पुल निर्माणमा संलग्न इन्जिनियरहरू बताउँछन्।
कुल ७०.९७ किलोमिटर लामो द्रुतमार्गमा पछिल्लो पटक हेरफेर गरिएको विस्तृत परियोजना प्रतिवेदन अनुसार ८९ वटा लामा र छोटा पुलहरू बन्नेछन्। त्यसमध्येका केही पुलहरू निकै लामा र अग्ला छन्।
यहाँ बन्ने कतिपय पुलहरूमा बियरिङ प्रविधि प्रयोग गरिएको र धेरैमा ब्यालेन्स क्यान्टिलिभर प्रविधि प्रयोग गरिएको परामर्शदाता कम्पनीले जनाएको छ।
“मेरो छेउका यी पुलहरूमा फ्री क्यान्टिलिभर प्रविधि प्रयोग गरिएको छ। यसमा जगको सपोर्ट बिना नै पुल बनाउन सकिन्छ,” धेद्रे र महादेवटारको बीचमा रहेका दुई वटा अग्ला पुलहरू देखाउँदै हुन्ले भने।

धेद्रेबाट काठमाण्डूतर्फ अर्को एउटा सुरुङ पार गरेपछि महादेवटार र धेद्रेबीचमा पनि करिब ६० मिटर अल्गा र ४३० मिटर लामा दुई वटा पुलहरू बनिरहेका छन्।
यी पुलहरूको निर्माण आगामी वर्षसम्म पूरा भइसक्ने द्रूतमार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाको दाबी छ।
कडा चट्टानी भूभाग रहेका कारण पुल निर्माणका लागि जग खन्न चुनौती देखिएको यसमा संलग्न प्राविधिकहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








