‘बसमा मेरो परिवारका पाँच जना थियौँ, म मात्रै बाँचेँ’

जोगेश्वर यादव
    • Author, ईश्वर जोशी
    • Role, नारायणगढ

चितवनको सिमलतालमा भएको बस दुर्घटनामा तीन जना बाँच्न सफल भएको अधिकारीहरूले बताएका छन्।

काठमाण्डूबाट रौतहट जाँदै गरेको बस मध्यरातमा नदीमा खसेपछि जोगेश्वर राय, नन्दन दास र सुरज गुप्ता पौडी खेलेर बाँचेका हुन्। सुरज गुप्ता भरतपुर अस्पतालबाट डिस्चार्ज भएका छन् भने बाँकी दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

बीबीसीले दुर्घटनामा बाँच्न सफल जोगेश्वर राय र नन्दन दाससँग कुरा गरेको छ।

'पाँच-छ घुट्की पानी पिएँ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'बसमा छोरा, जेठी छोरी र एक-एक जना नाति र नातिनी थिए, पाँच जनामा चार जना सबै खतम भए'

काठमाण्डूमा उपचार गरेर घर फर्कँदै गरेको बताउने जोगेश्वर रायले आफू चढेको गाडी एक्कासि हल्लिएको र चार पटक पल्टा खाएर खोलामा खसेको बताएका छन्।

“त्यसपछि म पनि डुबेँ। पाँच-छ घुट्की पानी पिएँ,” उनले बीबीसीसँग भने।

“त्यहाँबाट कसरी कसरी बाहिर निस्किएर म पौडी खेलेर किनारमा आएँ।”

पौडिएर नदी किनारमा पुगेपछि अँध्यारोमा छामछुम गरेर सडकसम्म आएको उनले सुनाएका छन्।

रायका अनुसार उनीसँगै बसमा उनका छोरा,छोरी, नाति र नातिनी पनि थिए।

“बसमा छोरा, जेठी छोरी, एक जना नाति र एक जना नातिनी थिए। पाँच जनामा म मात्रै बाचेँ,” रायले भने।

घाइतेहरूका अनुसार उनीहरूलाई प्रहरीले त्यहाँबाट गाडी चढाएर अस्पताल पुर्‍याएको हो।

'हामीलाई मर्ने भयौँ भन्ने लागिरहेको थियो'

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘पौडी खेलेर बाँचेका’ रौतहटका नन्दन दास

दुर्घटनामा बाँच्न सफल अर्का व्यक्ति रौतहटका नन्दन दासले मुग्लिनमा खाना खाएर बस अघि बढेको एक डेढ घण्टा पछि दुर्घटना भएको बताएका छन्।

उनले माथिबाट पहिरो आएको र बस पल्टिएर नदीमा पुगेको बताए।

नदीमा पुगेपछि झ्यालबाट बाहिर निस्किएर पौडिँदै किनारमा पुगेको उनले बताएका छन्।

“बच्ने हो भगवान्‌ले बचायो भनेर पौडी खेलिरहेको थिएँ। तर राति कहाँ पौडी खेलिरहेको थिएँ। भित्र जाँदै छु कि बाहिर आउँदै छु भन्ने पनि थाहा थिएन। तर किनारमै आइपुगेँ,” उनले भने।

उनले पौडी खेल्दै जाँदा ढुङ्गा र त्यसपछि झाडी भेटिएको र झारहरू समातेर सडकमा निस्किएको बताए।

“त्यसपछि पहाड चढ्न सुरु गर्‍यौँ, चढ्दै-चढ्दै माथि सडकमा आयौँ,” उनले भने।

उनले त्यहाँबाट आफूहरूलाई प्रहरीले अर्को बस चढाएर नारायणगढ पठाइदिएको बताएका छन्।

“त्यतिबेला पानी पनि झमझम परिरहेको थियो,” उनले भने।

बस पल्टिएपछि आफूहरूलाई मरिन्छ भन्ने लागेको उनले सुनाए।

“हामीलाई मर्न जाँदै छौँ भन्ने लागिरहेको थियो,” दासले सुनाए।

दुई जना सँगै बाहिर निस्किएको र अर्को एक जना केही समयपछि बाहिर भेट भएको दासले बताएका छन्।

उनले आफूले नदेखे पनि बाँचेका अरू साथीहरूले अर्को बस पनि खसेको आफूलाई सुनाएको बताए।

बेपत्ताहरूको खोजी गरिँदै

तस्बिर स्रोत, APF Nepal

पहिरोका कारण दुईवटा यात्रुवाहक बस सडकबाट त्रिशूली नदीमा खस्दा कैयौँ यात्रुहरू बेपत्ता भएको हुन सक्ने अधिकारीहरूले आशङ्का गरेका छन्।

दुईवटा बसमा रहेको ठानिएका ६० जना भन्दा धेरैको खोजीमा सुरक्षा निकाय र गोताखोर परिचालन गरिएका छन्।

दुर्घटनामा परेका पर्साको वीरगन्जबाट काठमाण्डूतर्फ आउँदै गरेको बसमा कम्तीमा २१ जना र काठमाण्डूबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसमा ४१ जना यात्रु भएको बुझिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।