पोखरामा पहिरोबाट ११ जनाको मृत्यु, पुरञ्चौरमा एकै परिवारमा निम्तिएको भयानक विपत्ति

- Author, कृष्णमणि बराल
- Role, पुरञ्चौर, कास्की
बिहीबार राति पोखराका तीन भिन्नभिन्न ठाउँमा गएको पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माका अनुसार पोखरा पुरञ्चौरमा एकै परिवारका सात जनाको पहिरोले पुरिएर मृत्यु भएको हो।
पहिरोले पुरिएरै पोखरा-३२ चैतपुर, बाह्रबिसेमा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
यस्तै मादी गाउँपालिका-११ मा पहिरोमा पुरिएर ८० वर्षीय महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्रास र शोकमा पुरञ्चौर

पुरञ्चौरमा घटना घटेको घरको आडैमा रहेको तीन घरमा कतै आंशिक क्षति त कतै सम्भावित जोखिम देखा परेपछि उनीहरूले सामान सारिरहेका छन्।
उक्त घटनापछि पुरञ्चौरमा मानिसहरू एकसाथ शोक र त्रासमा छन्।
त्यस ठाउँमा बिहीवार बिहानैबाट माटो खस्न थालेपछि पीडित परिवारलाई घरमा नबस्न साँझसम्म सल्लाह दिइएको छिमेकीहरू बताउँछन्।
तर छोरी-ज्वाइँ आएको र घरमा बिरामी भएको भन्दै उनीहरूले घर नछाडेको छिमेकीहरूले बताएका छन्।

राति १० बजेतिर खाना खाएर परिवारका सबै जना एकै ठाउँ बसेका बेलामा पहिरो खसेको देखिएको प्रहरीले जनाएको छ। घटना भएका बेला एकजना छोरा भने ढोकाको आडैमा रहेकाले भागेर ज्यान जोगाएका छन्।
पोखराबाट उत्तर पश्चिममा रहेको उक्त घर सडकनजिकै पर्छ र यसअघि जोखिमयुक्त ठाउँका रूपमा नहेरिएको पुरञ्चौरबासीहरू बताउँछन्।
कस्ता हुन्छन् पहिरोका सङ्केत?
पहिरो आउनुभन्दा केहीअघि आउने सङ्केतले समेत ज्यान जोगाउन केही समय दिने भूगर्भशास्त्रका सहप्राध्यापक रञ्जनकुमार दाहालको भनाइ छ।
"राति सुतिरहँदा जमिन थर्कने र कटकट आवाज आउनेजस्ता सङ्केतले समेत पहिरो आउन लागेको जनाउ दिन्छ," उनी भन्छन्।
"मूल फुटेर धमिलो पानी आइरहेको अवस्था कतै देखा परेमा समेत त्यहाँ पहिरो जाँदैछ भन्ने बुझ्नुपर्छ।"
आसपासमा स-साना पहिरो धेरै जाँदा समेत ठूलो पहिरोको लागि भू-अवस्थिति बन्न सक्ने र कतिपय अवस्थामा ठूलो पहिरोको सङ्केत हुने हुनाले तिनको नियन्त्रण सानै स्वरूपमा गर्न थाल्नुपर्ने विज्ञहरूको मत पाइन्छ।

"आसपासमा रूख ढल्किँदा वा बारीका कान्लामा साना पहिरो जान थाल्दा त्यसलाई जनाउका रूपमा बुझेर सजग हुनुपर्छ।"
पहिरोविज्ञका रूपमा परिचित दाहालले घटनाअगावै समेत भिरालो भेगमा बस्नेहरूले घरको नजिक भल काट्ने काम नभएका भए त्यसो गरेर पानी जम्न दिन नहुने बताउँछन्।
त्यसले त्यस्ता ठाउँमा हुने थप सुरक्षाका उपायलाई भरपर्दो बनाउने उनको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा विपद् अध्ययन केन्द्रका निर्देशक वसन्तराज अधिकारीले विगत वर्षमा समेत पहिरो गएका ठाउँ र हालसम्म चिराहरू देखा परेका ठाउँमा पहिरोको जोखिम उच्च हुने बताए।
उनले भने, "त्यस्ता ठाउँमा अलिअलि पानी पर्दा समेत पहिलेका चिरा परेका ठाउँ जोखिमयुक्त हुन्छन्।"
बाढी र पहिरोका बेलामा तपाईँले निम्न काम गर्नुपर्छ?
- यदि व्यक्तिगत सुरक्षामा कुनै खतरा महसुस भयो भने विलम्ब नगरी आपत्कालीन सेवा दिने निकायलाई फोन गरिहाल्नुहोस्।
- बाढीको पानीमा नहिँड्नुहोस्, पौडी नखेल्नुहोस्। केवल ६ इन्च अग्लो तीव्र गतिमा बगिरहेको पानीले तपाईँलाई लडाउन सक्छ भने दुई फिट पानीले कारलाई बगाउन सक्छ।
- नदी किनारमा नहिँड्नुहोस्।
- बाढीको पानी नचलाउनुहोस्। ढल मिसिएर यो दूषित भएको हुन सक्छ। यदि तपाईँले त्यस्तो पानी छुनु भयो भने सफा पानीले आफ्नो हात र लुगा राम्ररी धुनुहोस्।
- बालबालिकालाई बाढीको पानीमा वा त्यसको नजिकै खेल्न नदिनुहोस्।
- पहिरो जानसक्ने संवेदनशील क्षेत्रमा नजानुहोस्।
- बाढी वा पहिरो आएको स्थानमा हेर्नका लागि नजानुहोस् त्यो जोखिमपूर्ण हुनसक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








