त्रिशूलीमा हराएका बस र यात्रुको खोजी स्थगित, अब शनिवार पुनः सुरु हुने

भिडिओ क्याप्शन सुरु हुँदैछ, त्रिशूलीमा बस खसेपछि खोजीकार्य जारी

नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर दुईवटा यात्रुवाहक बस सडकबाट त्रिशूली नदीमा खस्दा बेपत्ता भएका यात्रु र बसको हालसम्म कुनै सङ्केत नभेटिएको अधिकारीहरूले बताएका छन्।

शुक्रवार बिहान झन्डै ३ः३० बजेतिर दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेर हराइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्।

साँझ झन्डै ६:३० बजेसम्म खोज्दा पनि बस र यात्रुबारे केही जानकारी नपाइएपछि खोजी कार्य आजलाई स्थगित गरिएको प्रहरी उपरीक्षक भावेश रिमालले बताए।

यद्यपि बसको पर्दा भने फेला परेको उनको भनाइ छ।

दिउँसो झन्डै ४:३० सम्म उद्धारकर्मीहरूले चुम्बक प्रयोग गरेर खोज्दा पनि सफलता नमिलेको जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताएका थिए।

उनका अनुसार नदीमा पानीको सतह दुई मिटरले घटे पनि पानी धमिलो भएकाले गोताखोरहरू धेरै भित्र पस्न सकेका छैनन्।

पहिरोले बगाएर नदीमा पुर्‍याएका दुई बसमध्ये एउटा वीरगन्जबाट काठमाण्डूतर्फ आउँदै गरेको र अर्को काठमाण्डूबाट गौरतर्फ जाँदै गरेको बताइएको छ।

पर्साको वीरगन्जबाट काठमाण्डूतर्फ आउँदै गरेको बसमा २४ जना र काठमाण्डूबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसमा २७ जना यात्रु भएको बुझिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।

उनका अनुसार गौरतर्फ जान लागेको बसका तीन यात्रु जीवितै छन्।

“त्यो ठाउँमा सडक त्रिशूलीको किनारनजिकै छ। माथिबाट आएको पहिरोले पल्टाएर र बगाएर दुईवटा बसलाई खोलामा पुर्‍याएको भन्ने प्रारम्भिक जानकारी छ,” शर्माले भने।

उनका अनुसार नदीमा पुगेका दुईमध्ये एउटा बस पानीमा देखिएको जानकारी सुरक्षा निकायले गराएको छ।

“तर बेपत्ता यात्रुहरू भेटिएको जानकारी हालसम्म आएको छैन,” उनले भने।

त्रिशूली नदीमा खोजी तथा उद्धारकार्यका लागि सुरक्षाकर्मीहरू परिचालित भएका छन्

तस्बिर स्रोत, APF Nepal

त्रिशूली नदीमा खोजी तथा उद्धारकार्यका लागि सुरक्षाकर्मीहरू परिचालित भएका छन्

तस्बिर स्रोत, APF Nepal

निरन्तरको वर्षाले गर्दा त्रिशूली नदीमा पानीको प्रवाह तीव्र भएका कारण खोजतलासमा समस्या भएको अधिकारीहरूले बताएका छन्।

बेपत्ताहरूको खोजीका लागि विपद् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली पनि पुगेको बताइएको छ।

नारायणघाट-मुग्लिन सडक खण्डमा दुर्घटनास्थल

पर्साको सखुवा प्रसौनी शोकमा

वीरगञ्जबाट काठमाण्डू जाँदै गरेकाे बस नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गएको पहिरोको लेदोले बगाउँदा पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाका पाँच जना बेपत्ता भएको वीरगञ्जस्थित हाम्री संवाददाता माधुरी महतोले बताएकी छन्।

घटनापछि सिङ्गो गाउँपालिका न शाेेकमा रहेको गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले बताए।

बसमा सवार पाँचमध्ये दुई जना गाउँपालिकाकै स्वास्थ्यकर्मी र एकै परिवारका तीन जना रहेको यादवले जानकारी दिए।

घटनाको झन्डै १२ घण्टासम्म पनि बस र यात्रु नभेटिँदा चिन्ता र निराशा छाएकाे छ ।

प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ताहरूको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।

“बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु,” प्रधानमन्त्रीको सामाजिक सञ्जाल फेसबुकमा शुक्रवार बिहान गरिएको पोस्टमा भनिएको छ।

राजमार्गमा पहिरो

तस्बिर स्रोत, Road division Bharatpur

प्रधानमन्त्री दाहालले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणसम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई समेत अपील गरेका छन्।

प्रधानमन्त्रीले देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति पनि दुःख व्यक्त गरेका छन्।

शुक्रवार प्रतिनिधिसभाको बैठकमा पनि उक्त दुर्घटना र पोखरामासहित देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति संसद्को ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसका शङ्कर भण्डारी, नेकपा एमालेका दामोदर पौडेल बैरागी र नेकपा माओवादी केन्द्रकी ज्ञानु बस्नेत सुवेदीसहितका सांसदले बोलेका थिए।

बेपत्ताको खोजी

राजमार्गमा पहिरो

तस्बिर स्रोत, Road division Bharatpur

बस र यात्रुको खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन भइसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

शुक्रवार बिहान नै नारायणगढ-मुग्लिङ सडकमा माथिबाट खसेको ढुङ्गाले लागेर एक बसचालकको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सत्रकिलोमा बिहान करिब ३ बजे लेदोसहितको पहिरो जाँदा ढुङ्गा लागेर बस चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

लु २ ख ६५६६ नम्बरको बसमा पहिरोसँगै खसेको ढुङ्गाले लाग्दा बस चालक नवलपरासी जिल्ला सुनवल नगरपालिका वडा नम्बर ४ निवासी ३६ वर्षीय मेगनाथ बिक गम्भीर घाइते भएका थिए।

उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

राजमार्ग अवरुद्ध

राजमार्गमा पहिरो

तस्बिर स्रोत, Road division Bharatpur

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चन्देश्वर साहका अनुसार नारायणगढ-मुग्लिन सडकखण्डको कालीखोलामा माथिबाट खसेको पहिरोका कारण राजमार्ग ठप्प भएको छ।

"त्यहाँ डोजर, एक्स्काभेटरसहितका उपकरण प्रयोग गरेर बाटो खुलाउने प्रयास भइरहेको छ। पूरै सडक खोल्न करिब साढे तीन घण्टा लाग्ने देखिएको छ," साहले टेलिफोनमा शुक्रवार बिहान भने।

उनका अनुसार दुई बस पहिरोले बगाएको सिमलतालमा क्षेत्रमा भने पहिरो पन्छाएर राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

नारायणी नदीमा बाढी

तस्बिर स्रोत, Ishwor Joshi/BBC

यसैबीच जल तथा मौसम पूर्वानुमान शाखाले चितवनस्थित देवघाट जल मापन केन्द्रमा शुक्रवार बिहान नारायणी नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाएको छ।

शाखाले चितवन र नवलपरासी जिल्लाको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेको छ।

काठमाण्डूबाट अशोक दाहाल र नारायणघाटबाट ईश्वर जोशीको रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।