सडक दुर्घटनामा धेरै क्षति पुग्छ तर हवाई दुर्घटनामा जस्तो सरकारले 'ध्यान दिँदैन'

गत वर्ष असोजमा अमलेखगन्जमा १६ जनाको ज्यान जानेगरी भएको सडक दुर्घटना (बायाँ) र गत बुधवार १८ जनाको ज्यान जानेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई दुर्घटना (दायाँ)

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, गत वर्ष असोजमा अमलेखगन्जमा १६ जनाको ज्यान जाने गरी सडक दुर्घटना भएको थियो (बायाँ) भने गत बुधवार १८ जनाको ज्यान जाने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई दुर्घटना (दायाँ) भयो
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

नेपालमा केही साताभित्रै दर्जनौँ मानिसको ज्यान जाने गरी सडक र हवाई दुर्घटना भए।सवारीसाधन र विमान दुर्घटनामा पर्दा राज्यले व्यक्त गरेको चासो र देखाएको व्यवहार "असमान" भएको भन्दै केहीले आलोचना गरेका छन्।

गत असार २८ गते बिहान चितवनस्थित नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेका थिए। बसका केही यात्रुको शव फेला परेको छ भने अझै कैयौँ यात्रुहरू हराइरहेका छन्।

दुर्घटनामा परेकाु दुई बस र अधिकांश यात्रुको अवस्था अज्ञात रहेकै बेला गत बुधवार काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा त्यसमा यात्रारत १८ जनाको ज्यान गयो। मुख्य विमानचालक चाहिँ बच्न सफल भए।

यी दुई दुर्घटनामा सरकारले देखाएको चासो तथा तदारुकतालाई लिएर सामाजिक सञ्जालमा कैयौँले आलोचना गरिरहेका छन्।

उनीहरूले ठूलो मानवीय क्षति भएको सडक दुर्घटनालाई सरकारले "बेवास्ता गरेको" तथा "आवश्यक संवेदनशीलता नदेखाएको" भन्दै प्रश्न उठाएका छन्। हवाई दुर्घटनाका हकमा प्रधानमन्त्री र मन्त्रीहरूले चासो लिएको मात्र होइन संवेदनशीलता देखाएको उनीहरूको भनाइ छ।

यी घटनालाई जोडेर राज्यले नै दुर्घटनामा ज्यान गुमाउने नागरिकमाथि समेत "विभेद गरिरहेको" आरोप कतिपयले लगाएका छन्।

यद्यपि सरकारी अधिकारीहरू त्यसमा सत्यता नभएको बताउँछन्।

त्रिशूलीमा खसेका बस र यात्रुको अवस्था

त्रिशूली नदीमा दुई बस खसेको ठाउँ

तस्बिर स्रोत, RSS

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत असार २८ गते काठमाण्डूबाट गौर जाँदै गरेको र वीरगन्जबाट काठमाण्डूतर्फ आउँदै गरेका दुई बस पहिरोले बगाएपछि त्रिशूली नदीमा खसेका थिए।

हालसम्म दुवै बस फेला पर्न सकेका छैनन्। ती बसमा कम्तीमा ६२ जना चढेको पुष्टि भएको छ। अधिकारीहरूले बसमा रहेका यात्रुबारे पटकपटक फरकफरक विवरण सार्वजनिक गरेका थिए।

सडकबाट नदीमा खस्दै गर्दा काठमाण्डूबाट गौर जाँदै गरेको बसका तीन यात्रु भने बाँच्न सफल भएका थिए।

हालसम्म कुल २५ शव फेला परेका र १९ वटाको सनाखत भएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बताए।

उनले भने, "अहिले पनि खोजतलास कार्य जारी छ। मित्रराष्ट्र भारतबाट आएको टोलीले पनि आज सातौँ दिन पनि खोजी कार्य जारी राखेको छ।"

उनका अनुसार लामो खोजी अभियानमा पनि हालसम्म दुर्घटनामा परेका बसहरू समेत फेला परेका छैनन्।

सौर्य एअरलाइन्सको दुर्घटनापछिको अवस्था

सौर्य एअरलाइन्सको विमान दुर्घटनास्थल निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सौर्य एअरलाइन्सको विमान दुर्घटनास्थल निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

सौर्य एअरलाइन्सको एउटा विमान गत बुधवार बिहान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परी आगो लागेपछि एक बालकसहित १८ जनाको मृत्यु भएको थियो।

उक्त विमानमा चालकदलका दुई सदस्य र सौर्य एअरलाइन्सका कर्मचारीहरू चढेको बताइएको छ। विमानमा एक कर्मचारीकी पत्नी र उनीहरूका छोरा पनि थिए। विमानका क्याप्टेन मनीषरत्न शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो र उनको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ।

उक्त घटनाको छानबिनका लागि सरकारले एउटा आयोग गठन गरेको छ।

तर मृतकहरूको शव शुक्रवार दिउँसोसम्म हस्तान्तरण भएको छैन। पीडित परिवारले बीमा तथा कम्पनीले दिने क्षतिपूर्तिको यकिन नभई शव नबुझ्ने अडान राखेको विवरणहरू आएका छन्। त्यसबारे शुक्रवार दिउँसो वार्ता हुने जनाइएको छ।

सरकारले उक्त दुर्घटना भएपछि विशेष तदारुकता देखाएको थियो र प्रधानमन्त्री केपी शर्मा ओली आफैँ उपचाररत क्याप्टेनको अवस्था बुझ्न अस्पताल पुगेका थिए।

घटना भएकै दिन छानबिनका लागि सरकारले आयोग बनायो भने दुर्घटनाको भोलिपल्ट बिहीवार राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय पनि गर्‍यो।

विभेदको आरोप

त्रिशूलीमा हराएका बसको खोजी गर्दै सशस्त्र प्रहरी

तस्बिर स्रोत, APF NEPAL

तस्बिरको क्याप्शन, त्रिशूलीमा हराएका बसको खोजी गर्दै सशस्त्र प्रहरी

जहाज दुर्घटनाप्रति सरकारले देखाएको तदारुकता र शोक मनाउने घोषणाप्रति सामाजिक सञ्जालमा कैयौँले प्रश्न उठाए।

उनीहरूले चितवनको सडक दुर्घटनालाई उल्लेख गर्दै सरकारको आलोचना गरेका हुन्।

यद्यपि सरकारी अधिकारीहरू तथा जानकारहरू विश्वमै हवाई दुर्घटनालाई निकै संवेदनशील मानिने बताउँछन्।

त्यसको एउटा कारण भनेको "हवाई सेवा सुरक्षित हुन्छ" भन्ने मान्यता रहेको र त्यसलाई सुरक्षित बनाउन कैयौँ अन्तर्राष्ट्रिय मापदण्डहरू पालन गर्नुपर्ने नियम भएको उनीहरूको भनाइ छ।

तर ट्राफिक इन्जिनियर आशीष गजुरेल भन्छन्, "सार्वजनिक सवारीसाधन र मोटरसाइकल चढ्नेहरू कम पहुँचवाला कम हुने भएकाले राज्यले विभेद देखाएको हो। त्यसै कारणले यसमा वास्ता पनि नगरेको हो।"

उनी मानवीय क्षतिका हिसाबले नेपालमा अहिले पनि सडक दुर्घटना ठूलो रोगजस्तै रहेको बताउँछन्।

"वर्षमा कम्तीमा ३,००० मानिसहरू सडक दुर्घटनाका कारण मारिन्छन्। यो भनेको ठूलो मानवीय क्षति हो तर राज्यले यसलाई गम्भीर रूपमा कहिल्यै लिएन," उनले भने।

हवाई दुर्घटनाबारे अन्तर्राष्ट्रिय चासो धेरै हुने भएकाले पनि सरकार त्यसप्रति अलि बढी सतर्क बनेको देखिएको उनको बुझाइ छ।

"तर सडकमा मर्ने पनि मानिस नै हुन् आकाशमा मर्ने पनि मानिस नै हुन् तर पहुँचवाला नभएकैले सडकमा मर्नेको वास्ता नभएको हो," उनी भन्छन्।

नेपालको सडक सुरक्षाबारे अध्ययन गरिरहेका यूकेको यूनिभर्सिटी अफ वेस्ट अफ इङ्ल्यान्डका अनुसन्धाता पुष्पराज पन्तले पनि त्यस्तै प्रश्न उठाएका छन्।

उनले सामाजिक सञ्जाल 'एक्स'मा लेखेका छन्, "सौर्य विमान दुर्घटनाका दिवङ्गतप्रति हार्दिक श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनमा गहिरो समवेदना छ। तर असार २८ मा त्रिशूली नदीमा दुई यात्रुवाहक बससहित लगभग ६५ जना हताहत हुँदा हाम्रो राष्ट्रिय झन्डा झुकेको थाहा भएन। राज्यले नागरिकको मृत्युमा विभेद गर्न पाइन्छ?"

विगत ६ वर्षमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या . . आव २०८०/८१ को ११ महिनाको तथ्याङ्कमा आधारित .

अधिकारी के भन्छन्?

सरकारी अधिकारीहरू भने ती दुई दुर्घटनामा राज्यले विभेद नगरेको र दुवैमा संवेदनशील भएको बताउँछन्।

गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले भने, "राज्यले कुनै पनि दुर्घटनामा विभेद गरेको छैन र गर्न मिल्दा पनि मिल्दैन। हामीले दुर्घटना भएका बसहरूको खोजी तथा उद्धारका लागि पनि उत्तिकै तदारुकता देखाएर खोजबिन गरिरहेका छौँ।"

उनले सौर्य एअरलाइन्सको विमान दुर्घटनामा परेका १८ जनाको मृत्यु पुष्टि भएकाले राज्यले शोक मनाउने निर्णय गरेको बताए।

"तर ती बसमा रहेका यात्रुमध्ये २५ जनाको मात्र शव भेटिएको छ। राज्यले अहिले नै सबैलाई मृतक घोषणा गर्न कानुनी रूपमा पनि मिल्दैन। त्यसैले हामीले जहाज दुर्घटनामा परेकाहरूका लागि जस्तो शोक मनाउने घोषणा नगरेका हौँ," उनले भने।

यद्यपि मृतकहरूप्रति शोक व्यक्त भइरहेको र सबै यात्रुको अवस्था पत्ता लगाउन राष्ट्रिय मात्र नभएर छिमेकी मुलुक भारतबाट समेत टोली झिकाएर खोजी जारी राखिएको उनले बताए।

हवाई दुर्घटना

तस्बिर स्रोत, Reuters

सडक दुर्घटनाका कारण

नेपालमा बर्सेनि सडक दुर्घटनामा परेर झन्डै २,५०० जनाजतिको ज्यान जाने गरेको विवरणहरू आउने गरेका छन्।

यद्यपि आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा झन्डै २,१०० जनाको ज्यान गएको र झन्डै ६,००० जना गम्भीर घाइते भएको प्रहरीको विवरण छ।

त्यसमध्ये काठमाण्डू उपत्यकामा मात्रै १७७ जनाको ज्यान गएको पाइएको काठमाण्डू उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता विश्वराज खड्काले जानकारी दिए। गत वर्ष उपत्यकाभित्र १८७ जनाको ज्यान गएको थियो।

खड्काका भनाइमा नेपालमा मुख्य रूपमा सडक दुर्घटनाका कारकमा मानव व्यवहार नै बढी देखिएको छ। "पहिलो कारण भनेकै चालकको लापरबाही देखिएको छ," उनले भने।

त्यसपछिका कारणहरूमा तीव्र वेग, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने, जथाभावी ओभरटेक गर्ने लगायतका कारण आउने खड्काले बताए।

"यान्त्रिक गडबडीका कारण पनि दुर्घटनाहरू हुने गरेका छन्," उनले भने।

नेपालमा सवारीसाधनहरूको अवस्था जाँच गर्ने केन्द्रहरू खासै छैनन्। त्यसले गर्दा ट्राफिक प्रहरीले अवलोकनका आधारमा मात्र कहिलेकहीँ त्यस्तो जाँच गर्ने गरेको छ।

त्यस्तै सडकको अवस्थाले पनि दुर्घटना निम्त्याउने गरेको पाइएको ट्राफिकहरू बताउँछन्।

"प्रमुख कारण मानवीय नै भएकाले चालक सचेत भएमा धेरै दुर्घटनालाई कम गर्न सकिन्छ," उनले भने।

ट्राफिक प्रहरीले त्यसबारे निरन्तर जनचेतना जगाइरहेको र नियम उल्लङ्घन गर्नेलाई कारबाही पनि गरिरहेको उनको भनाइ छ।

दुर्घटनामा परेको एउटा सवारीसाधन

तस्बिर स्रोत, Getty Images

ठूलो जनधनको क्षति

सडक दुर्घटनाका कारण बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको अधिकारीहरू बताउँछन्।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार सडक दुर्घटनाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक क्षति उत्पन्न गरिरहेको छ।

उनले विभागको विभागीय बुलेटिन-२०८१ मा लेखेका छन्, "राष्ट्रिय योजना आयोगको सर्भेले निम्न र मध्यम आय भएका मुलुकले सडक दुर्घटनाको कारण कुल गार्हस्थ्य उत्पादनको करिब ५ प्रतिशतको क्षति बेहोर्नुपरिरहेको अनुमान गरेको छ।"

"नेपालले आर्थिक वर्ष २०७५/७६ मा सडक दुर्घटनाको कारण १ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति बेहोर्नुपरेको थियो।"

यातायात व्यवस्था विभागले नेपाल प्रहरीसँग लिएर सार्वजनिक गरेको विवरणअनुसार विगत छ वर्षमा नेपालमा सडक दुर्घटनामा परेर झन्डै १५,००० जनाले ज्यान गुमाएका छन्।

सुरुको विवरणमा गम्भीर घाइते भनेर रिपोर्ट गरिएकामध्ये कैयौँको ज्यान पछि जाने गरेकाले यो सङ्ख्या अझ धेरै हुने सडक सुरक्षाविज्ञ गजुरेलको दाबी छ।

उनी भन्छन्, "सडक दुर्घटनाको यस्तो भयावह स्थिति हुँदा पनि सडक सुरक्षा हेर्ने कुनै निकाय नबनाउनु सरकारको कमजोरी हो। यसका लागि एउटा छुट्टै प्राधिकरणको आवश्यकता भइसक्यो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।