एक महिनामै तीन ठूला सडक दुर्घटना : जबाफदेही को?

कपिलवस्तु बस दुर्घटना

तस्बिर स्रोत, RSS

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

दाङ, पाल्पा र कपिलवस्तु जिल्लामा पछिल्लो झन्डै एक महिनामा तीन वटा ठूला सडक दुर्घटना भए।

पूर्वपश्चिम महेन्द्र राजमार्गमा दुई रात्रि बस र पाल्पामा एक जिप दुर्घटनामा ३२ जनाको ज्यान गएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भिमप्रसाद ढकाल यी तिन वटै घटनामा चालक जिम्मेवार देखिएको बताउँदै गाडीको खराब अवस्था लागि सवारी धनीको भूमिका मुख्य रहने बताउँछन्।

"कानुनले नियमन र कारबाही गर्ने पक्ष छँदै छ। तर सम्बन्धित सवारी पक्ष र यात्रुहरू समेत उत्तिकै चनाखो नभई नहुने अवस्था छ," प्रवक्ता ढकाल भन्छन्।

"यात्रा गरेकै गाडीभित्र वा बाहिर रहेकाहरूले नै केही अस्वाभाविक लागेमा वा कानुन मिचेको देखिएमा तत्कालै प्रहरीलाई सचेत गराउँदा समेत धेरै घटना रोक्न सकिन्छ।"

सडक सुरक्षाविज्ञहरू भने सडक दुर्घटना हुँदा धेरैजसो घटनामा चालक दोषी देखिने भए पनि धेरै कारणहरू जेलिएर आउने बताउँछन्।

विज्ञहरूले यी तीन घटनामा देखिएका तीन वटा दोष केलाएका छन्।

सवारी साधनको दोष

ट्राफिक प्रहरी

तस्बिर स्रोत, RSS

कपिलवस्तुमा बुधवार भएको दुर्घटना १० जनाको ज्यान गएको छ। उक्त दुर्घटनाअघि गियर परिवर्तन गर्न खोज्दा एक्कासि ठूलो आवाज आएर अनियन्त्रित भई गाडी पल्टिएको विवरणहरू आएका छन्।

एक सडक सुरक्षा विज्ञ आशिष गजुरेलले त्यसलाई 'गाडीको स्वास्थ्य'सँग जोडेर हेर्छन्।

"धेरै गाडीहरू कन्डिसनमा नभई गुडिरहँदा अनुशासित चालककै वशमा समेत सबै कुरा नहुन सक्छ," ट्राफिक इन्जिनियर समेत रहेका आशिष् गजुरेल भन्छन्।

"त्यसबाहेक राम्रोसँग डिजाइन नगरीकन बनाइएका सडक नेपालमा दुर्घटनाका मुख्य कारण हुन्।"

नेपालको कानुनमै प्रत्येक छ-छ महिनामा गाडीको समग्र अवस्थाको जाँच हुनुपर्ने व्यवस्था रहे तापनि त्यो हुन नसकेको विज्ञहरू बताउँछन्।

नेपालको सडक सुरक्षाबारे अध्ययन गरिरहेका यूकेको युनिभर्सिटी अफ वेस्ट अफ इङ्ल्याण्डका अनुसन्धाता पुष्पराज पन्तले कानूनी व्यवस्था त्यस्तो भए पनि एकातर्फ त्यसको नियमन नभएको र अर्कोतर्फ त्यस्तो जाँच गर्ने ठाउँको सुविधा निकै कम रहेको बताउँछन्।

"कपिलवस्तु घटनामा मेकानिकल त्रुटि रहेको प्रारम्भिक सङ्केत देखिन्छ। भवितव्य होइन भने हाम्रोमा गाडीको यात्रा सुरु गर्नुअघिको अवस्था कस्तो थियो भनेर फर्केर हेर्ने गरिँदैन," पन्त भन्छन्।

"त्यस बखत गति सामान्य रहेको भनिएको छ। तर दुर्घटनापछिको गाडीको अवस्था हेर्दा त्यसमा पनि शङ्का गर्नुपर्ने हुनसक्छ।"

सडकको दोष

फागुन १ मा पाल्पाको मस्याममा भएको जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो। १३ जना मात्र चढ्न मिल्ने उक्त जिपमा २६ जना चढेको पाइएको प्रहरीले बताएको थियो।

ट्राफिक इन्जिनियर गजुरेल त्यहाँ कानुन पालना नगरी क्षमताभन्दा बढ्दा यात्रु राख्ने र कमजोर सडक संरचनामा गाडी गुडाएको देखिएको बताउँछन्।

उनी भन्छन्: "नेपालमा भिरालो बाटोमा धेरैतिर गाडी गुड्ने भए पनि त्यहाँ सडक सुरक्षाका आधारभूत मापदण्ड बनाइएको देखिँदैन। कतै छेउमा बार हुँदैन त कतै मोड पुगिरहेको हुँदैन।"

सडक

सडक सुरक्षाविद् पुष्पराज पन्तले नेपालमा गरिएका कैयौँ सडक पूर्वाधार मूल्याङ्कनमा उल्लेख्य रूपमा मोडहरूमा समस्या देखिएको भए पनि सम्बन्धित निकायले त्यसमा काम गर्ने तदारुकता देखाएको नपाइएको बताउँछन्।

"सरकारलाई सडकका कमजोरी थाहा हुँदा हुँदै पनि त्यहीँ दुर्घटना हुनु सबैभन्दा चिन्ताजनक कुरा हो," पन्त भन्छन्।

"त्यसबाहेक सडक सुधार र स्तरोन्नतिका नाममा ढिलो गरी काम हुँदा यात्राको समय लम्बिने र ड्राइभर छिट्टै थाक्ने अर्को समस्या छ।"

ठूला दुर्घटनाबाहेक सडकको बनोटकै समस्याका कारण बर्सेनि सयौँको सङ्ख्यामा नेपालमा पैदल यात्रु एवं दुई पाङ्ग्रे सवारी चालकहरूले ज्यान गुमाउने गरेको पाइन्छ।

विश्व ब्याङ्कको एक विवरण अनुसार नेपालमा सडक दुर्घटनाका ७० प्रतिशतभन्दा धेरै पीडित पैदल यात्रु एवं साइकल तथा मोटरसाइकल चालक भएका छन्।

चालकको दोष

गत असोज तेस्रो साता अमलेखगन्जमा बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको थियो
तस्बिरको क्याप्शन, गत असोज तेस्रो साता अमलेखगन्जमा बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको थियो

झन्डै एक महिनाअघि दाङको भालुबाङमा एक रात्रि बस पुलबाट राप्ती नदीमा खस्दा समेत १० जनाले ज्यान गुमाएका थिए।

प्रहरी र घाइते यात्रुहरूले त्यसको कारण गाडीको तीव्र गति बताएका थिए भने चालकले चक्का नघुमेको बयान दिएका थिए।

अनुसन्धाता पुष्पराज पन्तले चालकहरूलाई जिम्मेवार बनाउने र सजग गराउने गरी पर्याप्त कामहरू नभएको बताउँछन्।

"यात्रुवाहक बस, रात्रि बस चलाउँदा हुनुपर्ने सजगताको लागि विशिष्ट नियम आवश्यक पर्छ। तर न यहाँ ड्राइभर फेर्ने कुरा हेरिएको हुन्छ, न उसलाई आराम गर्ने व्यवस्था हुन्छ न त त्यस्तो सवारी चलाउन ऊ सक्षम भए नभएको नै जाँचिएको हुन्छ," पन्त भन्छन्।

"नेपालमा धेरैजसो गाडीका सहयोगीहरू नै ड्राइभर बन्ने प्रवृत्ति भए पनि गाडी हाँक्ने जिम्मेवारी विशेष हो भन्ने बोध गराउने गरी उनीहरूलाई प्रशिक्षित गर्न आवश्यक छ।"

भालुबाङ दुर्घटनामा चेकपोस्टमै नरोकीकन तीव्र गतिमा सवारी साधन हाँकेको पृष्ठभूमिमा दुर्घटना भएको देखिनु नै सार्वजनिक सवारी चलाउनको लागि "पर्याप्त रूपमा प्रशिक्षित र जिम्मेवारी बोध नभएको" व्यक्तिले गाडी चलाएको ट्राफिक इन्जिनियर गजुरेल ठान्छन्।

उनी भन्छन्: "राम्रोसँग गाडी हाँक्न जान्ने ड्राइभरहरू समेत सम्भावित दुर्घटना हुने अवस्थाबारे जानकार नभएका हुन सक्छन्। त्यसबारे उनीहरूलाई प्रशिक्षित गर्ने काम निकै आवश्यक छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।