दाङको भालुबाङमा शुक्रवार राति बस दुर्घटना, भारतीयसहित १२ जनाको मृत्यु

तस्बिर स्रोत, RSS
- Author, माधव नेपाल र बिमला चौधरी
- Role, बुटवल/नेपालगञ्ज
महेन्द्र राजमार्ग अन्तर्गतको सडक खण्ड दाङको भालुबाङमा शुक्रवार राति एक यात्रुवाहक बस पुलबाट नदीमा खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपालगञ्जबाट काठमाण्डूतर्फ जाने क्रममा रहेको उक्त बस राप्ती नदीमाथि रहेको पुलको बार तोड्दै नदीमा खसेको प्रहरीले जनाएको छ।
राति साढे १० बजेतिर भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा बाँके, मकवानपुर, चितवन काठमाण्डू, जुम्ला, रुकुमका यात्रुहरू रहेको अधिकारीहरूले बताएका छन्।
दुई जना भारतीय नागरिकहरूको समेत घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सबै यात्रुहरूको सनाखत भएको प्रहरीले जनाएको छ।
१४ जनाभन्दा धेरै यात्रुको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको जनाइएको छ।
कारण

तस्बिर स्रोत, Pradeep Bashyal/BBC
प्रहरीका अनुसार नेपाल यातायात प्रालिको उक्त बस पुलमा आइपुग्दा अनियन्त्रित भएर खसेको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरीक्षक लोकराज न्यौपानेले बसको पट्टा भाँचिएर बस अनियन्त्रित भएको प्रारम्भिक आकलन रहेको बीबीसीलाई बताएका छन्।
दुर्घटनामा सामान्य घाइते भएका चालक लालबहादुर नेपालीले पुलमा चक्का नघुमेपछि दुर्घटना भएको बयान दिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी सहायक निरीक्षक हरिभक्त रोकायाले चालकले पुल सुरु हुनुअघिको ट्राफिक चेक पोस्टमा समेत नरोकीकन तीव्र गतिमा सवारी चलाएको देखिएको बताउँछन्।
दुर्घटनाका एक घाइते यात्रुले उक्त बस तीव्र गतिमा रहेको बीबीसीलाई बताएका छन्।

तस्बिर स्रोत, RSS
जसलगत्तै झन्डै तीन दर्जनको सङ्ख्यामा प्रहरी परिचालन गरेर उद्धार गरिएको अधिकारीहरूले जनाएका छन्।
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइतेहरूको दाङ, कोहलपुर र बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सडक सुरक्षा किन कमजोर?
जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण - २०२२ ले नेपालमा प्रत्येक एक लाख जनसङ्ख्यामा १४ जनाको सडक दुर्घटनामा मृत्यु हुने देखाएको छ।
एकजना विज्ञ पुष्पराज पन्तले सडक सुरक्षाबारे जबाफदेही हुने एउटै निकाय नहुँदा बर्सेनि ठूलो सङ्ख्यामा मानिसहरूले ज्यान गुमाउँदा पनि त्यसप्रति कोही उत्तरदायी नदेखिएको बताउँछन्।
“नेतृत्वकर्ताहरूमा जसरी भए पनि गाडी गुडाउन पाए हुन्थ्यो भन्ने सोच मात्र छ। सडक सुरक्षामा ध्यान नै पुगेको छैन,” नेपालको सडक सुरक्षाबारे अध्ययन गरिरहेका यूकेको युनिभर्सिटी अफ वेस्ट अफ इङ्ल्याण्डका अनुसन्धानदाता पन्तले भने।
“हजारौँ शङ्कास्पद नक्कली लाइसेन्स बाँडिएका खबर, तीव्र गतिमा गाडी हुँदा पनि रोक्ने संयन्त्र नभएको अवस्था, सम्भावित दुर्घटना स्थलमा कमजोर सावधानीयुक्त सङ्केत तथा पूर्वाधार हुने अवस्था निकै चिन्ताजनक छ।”
उनले सधैँ दुर्घटनापछि मात्रै कारण खोज्नेभन्दा त्यस्तो अवस्थाका लागि जिम्मेवार सडकका पक्षलाई नियमित मूल्याङ्कन गर्दै त्यसमा सुधार गर्नु अत्यावश्यक रहेको बताउँछन्।
नेपालमा हुने अधिकांश सडक दुर्घटनाको मुख्य कारणका रूपमा चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटि देखिने गरेको अधिकारी तथा विज्ञले बताउने गरेका छन्।
नेपालका खराब र राम्ररी डिजाइन नगरी बनाइएका सडक समेत दुर्घटनाका लागि जिम्मेवार देखिने गरेको विज्ञहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।











