अस्तव्यस्त सडकमा ‘पहेँलो’ बस, चालकदेखि विद्यालयसम्मले ध्यान दिनुपर्ने कुरा के छन्?

प्रतीकात्मक तस्बिर
    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

दिउँसोको चार बज्यो। साबिकमा छोरा विद्यालयबाट घर फर्कने बेला भइसकेको थियो। तर, त्यस दिन काठमाण्डूका केशवप्रसाद दाहालका छोरा घर आइपुगेनन्। बरु निकै अप्रिय खबर आयो। कसैले फोनमार्फत उनलाई भन्यो ''स्कुल बसको झ्यालबाट तपाईँको छोराले टाउको निकालेछ। रूखमा ठोक्किएर घाइते भयो। अस्पताल लिएर जाँदै छौँ।”

दाहालले ठानेका थिए- सधैँजस्तै सामान्य चोटपटक लाग्यो होला। महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेपछि मात्र थाहा पाए उनका १२ वर्षीय छोराको अवस्था गम्भीर रहेछ।

अचेत उनलाई त्यहाँ भेन्टिलेटरमा राखिएको थियो। डाक्टरहरू भन्दै थिए- “हामी तपाईँको छोरालाई ठीक पार्न सक्दो प्रयास गर्दैछौँ।”

तर, चिकित्सकीय प्रयास विफल भयो। दुर्घटना भएको १२ घण्टा नबित्दै डाक्टरले उनलाई मृत घोषित गरे।

जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी दिनेशराज मैनालीका अनुसार उक्त बस करिब साढे तीन बजे विद्यार्थीहरूलाई घरघरमा छोड्न निस्किँदै थियो।

“सुन्नेका लागि यो एउटा दुर्घटनाको खबर मात्र हो तर हामीले सन्तान गुमाएका छौँ। यो कत्रो क्षति हो कसैले महसुस गर्न सक्दैनन्,” दाहालले बीबीसीसँग भने।

स्कूल व्यवस्थापनले घटना भएपछि सामान्य रूपमा सहानुभुति समेत प्रकट नगरेको र प्रहरीले पनि दुई दिनसम्म जाहेरी लिन नमानेको उनी बताउँछन्।

दुर्घटनाले पारेको मनोवैज्ञानिक असर

घटना भएयता दाहाल उनकी श्रीमती र कान्छो छोरालाई लिएर घर फर्कन सकेका थिएनन्। उनीहरू आफन्तकोमा बसेका थिए।

“हरेक कुरा छोरासँगै जोडिएका छन्। देखेपछि सहनै सकिँदैन। झन् ३ वर्षको भाइले ‘दादा कहिले आउनुहुन्छ?’ भनेर सोध्दा के जवाफ दिने?,” उनी प्रश्न गर्छन्।

विद्यालयको बसका कर्मचारीले राम्रोसँग निगरानी नगरेको र उनीहरूको गैर जिम्मेवारीका कारण आफ्नो छोराको ज्यान गुमेको दाहालको आरोप छ।

सम्बन्धित विद्यालयले “दुर्घटना भएको” स्वीकार्छ। यद्यपि, बीबीसीले घटनाक्रमबारे जानकारी माग्दा त्यहाँकी व्यवस्थापकले “समस्याको समाधान भइसकेको र आफूले यस विषयमा थप प्रतिक्रिया दिन नमिल्ने बताइन्।”

पीडित परिवारमा परेको पीडा र समस्या भने गुनासो वा आरोपमा सीमित छैन।

केशवका भाइ सुशीलका ९ वर्षीय छोरा र ७ वर्षीया छोरी पनि सोही विद्यालयमा पढ्थे। घटना हुँदा उनीहरू त्यही बसमा सवार थिए। जब एउटै घरमा, सँगै खेलेर हुर्किएका दाजु अब कहिल्यै फर्कँदैनन् भन्ने थाहा पाए तब उनीहरू दोहोर्‍याएर त्यही स्कुल बस चढ्न मानेनन्। त्यही स्कुल जान मानेनन्।

“परिवारकै सल्लाहमा घर नजिकैको बस चढ्न नपर्ने विद्यालयमा भर्ना गरिदियौँ। तर उनीहरूले पढ्न सकेका छैनन्। पहिलेजस्तो खेल्ने, बोल्ने पनि गर्दैनन्। निकै सुस्त भएका छन्,” दाहालले सुनाए।

उनीहरूको समस्यालाई घटनाक्रमले पारेको मनोवैज्ञानिक असरको रूपमा व्याख्या गर्छन् मनोपरामर्शविद् डा. डम्बरराज भट्ट।

“हरेकको व्यक्तित्व र स्वभाव अनुरूप असरको मात्रा फरक पर्छ। केहीलाई भने यो वर्षौँसम्म आघातको रूपमा रहन सक्छ,” उनले भने।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको स्कुल बस निर्देशिका, २०७४ का अनुसार स्कुल बसको सबै झ्यालमा कम्तीमा तीनवटा तेर्सो फलामे वा आल्मुनियमको ग्रील राख्नुपर्ने प्रावधान छ। उक्त प्रावधान विपरीत बस सञ्चालन गरिएकाले भयावह दुर्घटना प्रेरित भएको हुनसक्ने पीडित परिवार बताउँछ।

बालबालिका सवार गाडीका कर्मचारी र विद्यालय प्रशासनले हरेक बच्चाप्रति “जिम्मेवार र संवेदनशील” महसुस नगरे यस्ता घटनाहरू बढ्न सक्ने दाहालको चिन्ता छ।

प्रतीकात्मक तस्बिर

मापसे गरेरै स्कुल बस हाँक्नेहरू

स्कुल बसको सुरक्षा चिन्ता केशव दाहाल वा कोही एक व्यक्तिसँग मात्र सम्बन्धित विषय भने होइन।

गत कार्तिक २५ गते जुम्ला, चन्दननाथ नगरपालिका– ९ मा स्कुल बसले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको थियो।

त्यस्तै यसै वर्ष मङ्सिर महिनामा धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा १ मा स्कुलको बसको ठक्करबाट पुजारीको ज्यान गयो। ‍

काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयको एक तथ्याङ्कले झन् अर्को भयावह जोखिम चित्रण गर्छ। जसका अनुसार पछिल्ला तीन महिनामा २६ जना स्कुल बसका चालकहरू मादक पदार्थ सेवन गरेर सवारी हाँकेकै कारण कारबाहीमा परेका छन्।

गत साउन ८ गतेदेखि ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न विद्यालयका सवारी साधन चालकहरूलाई कारबाही तथा सचेत गराउने अभियान चलाउँदै आएको छ।

आम मानिसको गुनासो सम्बोधन गर्न र स्कुल बस निर्देशिका कार्यान्वयनका लागि त्यस्तो अभियान सुरु गरेको बताउँछन् कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट।

“अभिभावकहरूले विद्यालयका बसहरू तीव्र गतिमा हुइँकिएको र कतिपयले मादक पदार्थ सेवनगरी गाडी चलाएको गुनासो गरेपछि मापसे जाँचलाई अभियानकै रूपमा अघि बढाएका हौँ,” उनले जानकारी दिए।

यस्ता गतिविधिले सयौँ बालबालिका सुरक्षा जोखिममा रहने उनको भनाइ छ।

ट्राफिक प्रहरीले कारवाहीमा परेका चालकलाई जरिवाना तिराएर एक घण्टा लामो सचेतना कक्षामा सहभागी गराउँछ।

यद्यपि, उनीहरूलाई पुनः विद्यार्थी बोक्ने गाडी चलाउन दिने या नदिने भन्ने निर्णय भने सम्बन्धित विद्यालयकै हुने भट्टले बताए।

उनले भने, ”प्रशासनिक कारबाही सम्बन्धित विद्यालयले गर्छ। हामीले चाहिँ मापसेसँगै अन्य सुरक्षा जाँचमा कडाइ गरेका छौँ।"

निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सनका अध्यक्ष डीके ढुङ्गानाका अनुसार कारबाहीमा परेका चालकहरूसँग प्रत्यक्ष भेटगरी उनीहरूलाई सचेत गराइएको थियो।

त्यस्तै सम्बन्धित विद्यालयका प्रतिनिधिहरूलाई “कुनै पनि सर्तमा मादक पदार्थ सेवन गरेकालाई विद्यालयको गाडी चलाउन नदिन र त्यसो गरेको पाइएमा निष्कासन गर्न” निर्देशन दिएको उनले बताए।

“जस्तोसुकै परिस्थितिमा पनि विद्यालयका कर्मचारीले त्यस्तो गैरजिम्मेवारपूर्वक काम गर्नु हुँदैन,“ ढुङ्गानाले भने।

प्रतीकात्मक तस्बिर

दुर्घटनासँगै दुर्व्यवहारको त्रास

स्कुल बस चलाउनेदेखि सहचालकहरूको लापरबाही तथा गैर जिम्मेवारपूर्ण व्यवहारका कारण दुर्घटना मात्र नभई अन्य आपराधिक गतिविधिसमेत प्रेरित भएको बताउँछन् अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरी।

विभिन्न उमेर समूहका विद्यार्थीहरूले आफ्ना अभिभावकमार्फत् स्कुल बसको तीव्र गतिका कारण आफूलाई गाडी चढ्न डर लाग्नेदेखि चालक/सहचालकले अश्लील शब्द बोलेको, दुर्व्यवहार गरेकाजस्ता घटनाबारे सुनाएको उनले जिकिर गरे।

उनले भने, ”विद्यार्थीले ज्यानै गुमाउनेदेखि मनोवैज्ञानिक रूपमा निराश र त्रसित बनाउने काम भएका छन्। तर स्कुल बसको सुरक्षा नियमन गर्ने निकायहरू व्यवहारिक भएनन्। यस विषयमा सरोकार राख्नेहरूले जटिल समस्यालाई पनि गम्भीर रूपमा लिएका छैनन्।”

बालबालिकाको सुरक्षा अभिभावकहरूको पनि भूमिका रहेपनि बिहान स्कुल बसमा चढेदेखि पुनः अभिभावकको जिम्मा नलगाएसम्म विद्यालय प्रशासनले जिम्मेवारी बहन गर्नुपर्ने उनको तर्क छ।

उनी भन्छन्, ”काठमाण्डूको अस्तव्यस्त सडकमा गुड्ने स्कुल बसहरूमा बालबालिका घण्टौँ जाम, धुवाँ र धुलो सहन बाध्य छन्। त्यसमाथि मानवीय त्रुटिहरू पनि उनीहरूले नै सहनु पर्दा शारीरिक र मानसिक रूपमै कति असर पर्ला? यसबारे मनन गर्न र हरेक मानिस संवेदनशील हुनुपर्छ।”

जामको सकस

काठमाण्डू गोकर्णेश्वरकी लोप्साङ शेर्पा पहिले घरबाट करिब दुई किलोमिटर टाढा नारायणटारस्थित विद्यालयमा पढ्थिन्। विद्यालयसम्म उनको आवतजावत सहज थियो।

अचानक उनको विद्यालय जोरपाटीबाट नक्साल सर्‍यो।

उनको घर र विद्यालयको दूरी करिब ७ किलोमिटर भयो।

नयाँ ठाउँमा विद्यालय सर्दा सुरुमा त शेर्पा दङ्ग थिइन्।

“बसमा साथीहरूसँग पढाई बाहेकका रमाइला कुराकानी गर्थ्यौँ। झ्यालबाहिर देखिने सबैकुरा नयाँ लाग्थ्यो। तर बिस्तारै हरेक दिन एउटै बाटो र त्यहीँ बाटोमा जाम, एकदम झ्याउ लाग्न थाल्यो,” उनले भनिन्।

आजकल विद्यालयबाट घर आइपुग्दा आफूलाई निकै थकाइ लाग्ने उनको अनुभव छ।

“पहिले घर फर्किएपछि होमवर्क सक्नुपर्छ भन्ने लाग्थ्यो। आजकाल आराम गरिराख्न मन लाग्छ,” उनी सुनाउँछिन्।

“कहिलेकाहीँ जाममा बस्दाबस्दै भोलिपल्ट बुझाउनु पर्ने असाइनमेन्टहरू गर्न भ्याउँदिन कि भन्ने हुन्छ। त्यस्तो बेलामा स्ट्रेस बढ्छ।”

यस्तो महसुस हुनुलाई मनोवैज्ञानिक थकान वा हताशको सङ्ज्ञा दिन्छन् मनोपरामर्शविद् डम्बरराज भट्ट।

यस किसिमको असर बढ्दै जाँदा बालबालिकाको क्षमतामा ह्रास आउने, पढ्न मन नलाग्ने, अभिभावकले भनेको नमान्ने, मोबाइल/ल्यापटपजस्ता उपकरणमा बढी समय बिताउने र त्यसैलाई आफ्नो तनावसँग जुझ्ने उपायका रूपमा अपनाउनेजस्ता समस्या देखिन सक्ने उनी बताउँछन्।

काठमाण्डूको जाम

तस्बिर स्रोत, ROJAN SHRESTHA

उनी भन्छन्, ''बसका चालक, सहचालकको लापरवाह व्यवहार होस् या हाम्रा सडक संरचनाको अस्तव्यस्तता सामना गर्न बाध्य विद्यार्थीहरूमा विविध असर देखिन्छन्। विद्यार्थी स्वयंको व्यवहारमा नकारात्मक परिवर्तन देखिन सक्छ।”

जामले विद्यार्थीहरूको दैनिकीदेखि विकासक्रममा पारिरहेको असरलाई मध्यनजर गर्दै २०७२ सालदेखि विद्यालय समय एक घण्टा कम गरिएको जानकारहरू बताउँछन्।

पहिले बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म तय गरिएको विद्यालय अवधिलाई बिहान ९ देखि ४ बनाइएको हो।

यद्यपि, ठूला सहरहरूमा सवारी साधनको चाप बढेसँगै बढेको ट्राफिक अस्तव्यस्तताका कारण विद्यालयका सवारी साधनहरू पनि प्रभावित भएको बताइन्छ।

कतिपय जानकारले विद्यालयको सवारी साधनमा बालबालिकाको गोपनीयता हनन हुने खालका गतिविधि समेत भइरहेको विषयमा प्रकाश पारेका छन्।

भाइरल हुने मोह

थुप्रै विद्यालयका शिक्षकदेखि अन्य कर्मचारीहरूले विद्यार्थीलाई नचाएर, गाउन लगाएर वा अनेक अभिनय गर्न लगाएर खिचेको भिडिओहरू भाइरल भएका उदाहरण थुप्रै छन्।

तीमध्ये केही टिकटक भिडिओ स्कुल बसमा समेत छायाङ्कन भएको पाइन्छ।

सन् २०२२ को एप्रिल ४ मा सन्तोष गौतम नाम गरेका टिकटक प्रयोगकर्ताले काभ्रेपलान्चोकस्थित सिद्धार्थ विद्यालयका केही बालबालिकालाई आफूसँगै अभिनय गराएका छन्।

उक्त भिडिओमा प्रयोग गरिएको गीतले भने “कुनै महिलाको रूपको तारिफ र रूपले लट्ठै बनाउने क्षमता” को बखान गर्छ।

त्यस लगत्तै बनाएका प्रेम र वियोगसम्बन्धी अन्य भिडिओहरूमा पनि उनले थुप्रै बालबालिकालाई आफूसँगै प्रस्तुत गरेका छन्।

ती प्रयोगकर्ताले भिडिओहरूमा ‘गो भाइरल’ वा ‘भाइरल भिडिओ’जस्ता ह्यासट्याग समेत प्रयोग गरेका छन्।

स्कुल बसमा सवार बालबालिकालाई मनोरञ्जनात्मक सामग्रीहरूमा प्रयोग गर्नु र भाइरल हुने आशयले बनाएको भिडिओमा बालबालिकाको उपस्थिति मनोसामाजिक दृष्टिकोणबाट गलत ठहराउँछन् डा. भट्ट।

“चर्चामा आउन बालबालिकालाई प्रयोग गर्नु उनीहरूको गोपनीयता भङ्ग गर्नु हो। उनीहरूको अनुमति लिएरै पनि त्यस्ता सामग्री सार्वजनिक गर्नु नैतिक रूपमा गलत छ,” उनले भने।

त्यसो गर्नुले बालबालिकामा आफू पनि भाइरल हुनुपर्छ भन्ने भावना विकास हुनसक्ने उनी बताउँछन्।

यस्ता गतिविधिमाथि अभिभावक स्वयं, विद्यालय प्रशासन, ट्राफिक प्रहरी र प्याब्सनजस्ता निकायहरूले नियमित नियमन गर्नुपर्ने मत राख्छन् अभिभावक सङ्घका अध्यक्ष केशव पुरी।

आजकाल केही स्कुलका सवारी साधन पछाडि चालकको अनुशासनबारे जानकारी लिने हेतुले सम्पर्क नम्बर राखिएको पाइन्छ।

यद्यपि, केही विद्यालयले स्कुल बस निर्देशिका २०७४ अनुरूप पहेँलो रङ समेत नलगाएको पुरीको गुनासो छ।

“त्यसो हुँदा बालबालिका बोकेको गाडी हो या होइन भन्ने छुट्टाउन कठिन हुने र आम मानिसले उनीहरूप्रति अपनाउनु पर्ने संवेदनशीलता पनि अपनाउँदैनन्।”

साना बालबालिका बसभित्र निदाइ रहेको अवस्थामा चर्को हर्न बजाउने वा विद्यार्थी बोकेको गाडीलाई ओभरटेक गर्नेजस्ता व्यवहारबाट बच्न पनि पहेँलो रङ लगाइनु पर्ने उनको भनाई छ।

प्रतीकात्मक तस्बिर

किन कठिन निर्देशिका पालना?

अन्तर्राष्ट्रिय रूपमा शैक्षिक संस्थाका सवारी साधनहरूमा पहेँलो रङ लगाउने चलन छ।

सरोकारवाला निकायहरूको सहमतिमै नेपालमा पनि २०७२ सालदेखि नै विद्यालयका सवारी साधनहरूमा पहेँलो रङ लगाउन थालिएको हो। पछि उक्त निर्णयलाई निर्देशिकामा समेत समेटियो।

त्यसैले देशभरका अधिकांश विद्यालयहरूले आफ्नो बस वा अन्य सवारी साधनलाई पहेँलो बनाएका छन्। तर, कतिपय विद्यालयले भने भाडाका सवारी साधनको प्रयोग गर्ने भएकाले उनीहरूको बस, माइक्रो वा भ्यान अन्य रङको हुने प्याब्सनका अध्यक्ष डीके ढुङ्गानाले बताए।

त्यस्तो अवस्थामा भाडाका सवारी साधनको अगाडि पछाडि नै ‘यो गाडीले विद्यार्थी बोकेको छ’ वा ‘स्कुल बस’ अङ्कित बस लेखिनु पर्ने निर्देशिकामा उल्लेख छ।

त्यस्तै विद्यार्थीको टाउको ननिस्कने गरी डन्डी राख्नु पर्ने, निगरानीका लागि परिचालक वा थप कर्मचारी राख्नु पर्ने, पहिचानको लागि स्कुलको नाम प्रस्टसँग लेख्नु पर्ने, बसमा प्राथमिक उपचारको बाकस राखिनु पर्ने, गति सीमित हुनुपर्नेजस्ता स्पष्ट प्रावधानहरू निर्देशिकामा समेटिएका छन्।

तर, पछिल्ला केही घटनाक्रमले ती नियम सशक्त ढङ्गमा पालना नगरिएको सङ्केत गर्छ।

स्कुल बसमा भएको दुर्घटनामा छोरा गुमाएका केशवप्रसाद दाहालले आफ्नो मनोभाव व्यक्त गरे, ”एउटा बुवाको लागि आफ्नो सन्तानको बदलामा प्रस्ताव गरिने कुनै पनि क्षतिपूर्तिले राहत दिँदैन। त्यसैले बरु केहीबेर ढिला होस् तर हरेकको छोराछोरी घर फर्किउन्। उनीहरूको लागि स्कुल बस पनि घरजस्तै सुरक्षित होस्।”