बालेनको योजना अनुसार खुलामञ्चमा भूमिगत पार्किङ बनाउँदा ‘ट्राफिक व्यवस्थापन थप जटिल बन्नसक्ने’

खुलामञ्च

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर

काठमाण्डू महानगरपालिकाले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना अघि बढाइरहेका बेला सहरी ट्राफिक व्यवस्थापन तथा यातायात विज्ञहरूले त्यसले उपत्यकाको ट्राफिक व्यवस्थापन हुन नसक्ने बताएका छन्।

उनीहरूका बुझाइमा काठमाण्डू उपत्यकाभित्र सार्वजनिक यातायातमा सुधार नगरी थप पार्किङ स्थल तोक्ने वा निर्माण गर्ने कार्यले बढ्दो ट्राफिक जाम कम हुने देखिँदैन।

तर महानगरपालिकाले उक्त क्षेत्रमा भूमिगत पार्किङ बनाउनका लागि सम्भाव्यता अध्ययनको प्रक्रिया अघि बढाइसकेको अधिकारीहरूले बताएका छन्।

खुलामञ्चमा पार्किङ बनाउने योजनाको उपत्यकावासी र कतिपय वातावरण संरक्षण अभियानकर्मीहरूले विरोध गरिरहेका छन्।

यद्यपि महानगरपालिका प्रमुख बालेन्द्र शाह पार्किङसम्बन्धी महानगरको योजना अघि बढाउन दृढ देखिएको बताइन्छ।

पार्किङको समस्या हल हुँदैन

पार्किङ

तस्बिर स्रोत, Getty Images

एकजना ट्राफिक इन्जिनियर आशिष गजुरेलले महानगरभित्र भएका खुला स्थान मासेर पार्किङ बनाउने निर्णयले सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई थप अस्तव्यस्त बनाउने बताए।

“यसरी खुला स्थान मासेर पार्किङ बनाउने कुरा नै गलत हो। त्यसमाथि यसले ट्राफिकसम्बन्धी समस्या समाधान गर्दैन, उल्टै बढाउँछ,” उनले भने।

“महानगरपालिकाले सार्वजनिक यातायातमा सुधार गरेर निजी सवारीसाधन किन्न निरुत्साहित गर्नुपर्नेमा धरहरामा पनि पार्किङ, खुलामञ्चमा पनि पार्किङ, काठमाण्डू टावरमा पनि पार्किङ बनाउने होइन।”

उनका बुझाइमा यसरी धेरै पार्किङ बनाउने अभियान अघि बढाउँदा सर्वसाधारण निजी सवारीसाधन किन्न प्रोत्साहित हुने र सहरी ट्राफिक व्यवस्थापन अझ जटिल हुने देखिन्छ।

“सार्वजनिक यातायातमा सुधार र जुनसुकै बेला उपलब्ध हुने बनाउन सकियो भने यस्ता पार्किङको आवश्यकता पर्दैन र खुला स्थान खुलै रहन्छन्।”

काठमाण्डूको ट्राफिक व्यवस्थापनमा दशकौँ बिताएका र हाल ललितपुर महानगरपालिकाको नगर प्रहरीका प्रमुख सिताराम हाछेथु चाहिँ खुलामञ्चमा पार्किङ बनाउनु भनेको उपत्यकामा ट्राफिक जामलाई दोबर बनाउनु जस्तो भएको बताउँछन्।

बीबीसीसँग उनले भने, “खुलामञ्च, रत्नपार्क क्षेत्रमा पार्किङ बनाउनु भनेको काठमाण्डूमा हुने ट्राफिक जामलाई दोबर बनाउनु हो। पुरानो बसपार्क र खुलामञ्चमा बसपार्क हुँदा त जाम बढेको थियो।”

“त्यहाँ पार्किङ भएपछि न्यूरोड, सुन्धारादेखि त्रिपुरेश्वरसम्म र दरबारमार्ग, बागबजारदेखि जमल, कान्तिपथसम्म सबैतिरबाट मानिसहरू पार्किङ गर्न आउँछन्।”

“त्यसरी पार्किङ गर्न आउँदा र निस्केर जाँदा ट्राफिक व्यवस्थापन कति असहज हुन्छ? त्यसबारे कसले सोच्ने?”

उनले ट्राफिक व्यवस्थापनका लागि समेत असहज हुने खुलामञ्च जस्ता स्थानमा पार्किङ बनाउने अवधारणा नै गलत भएको बताए।

कहिले भूमिमाथि कहिले भूमिगत पार्किङ

महानगरपालिकाले खुलामञ्चमा यसअघि पनि पार्किङ बनाइसकेको छ।

पुरानो बसपार्क रहेको स्थानमा भूमिगत पार्किङसहितको काठमाण्डू टावर निर्माण सुरु गरिएपछि २०७३ सालमा बसपार्कलाई अस्थायी रूपमा खुलामञ्चमा सारिएको थियो।

तर उक्त क्षेत्रमा ठेकेदारले स्थायी संरचनाहरू बनाएकोलगायतका विवाद उत्पन्न भएका थिए।

त्यस्तै स्थानीयवासीले समेत विरोध जनाएपछि ६ वर्षपछि उक्त स्थानबाट बसपार्क हटाइएको थियो।

अहिले फेरि सोही स्थानमा भूमिगत पार्किङका लागि महानगरले प्रक्रिया अघि बढाएको हो।

विरोध

त्यसको पनि कैयौँ वातावरण संरक्षण अभियानकर्मीहरूले विरोध जनाएका छन्।

काठमाण्डू महानगरपालिकाकै कतिपय वडाध्यक्षहरूले पनि त्यसप्रति असहमति व्यक्त गरिरहेका छन्।

उक्त क्षेत्र पर्ने वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीले औपचारिक रूपमा नै पत्र पठाउँदै त्यसप्रति असहमति जनाएको बताएका छन्।

कतिपय विज्ञ पनि खुलामञ्चको ‘सदुपयोग’ गर्न खोज्नु सकारात्मक भए पनि त्यो “वैज्ञानिक” हुनुपर्ने र सबैको “चित्त बुझाएर” मात्र त्यस्ता कार्य अघि बढाउनुपर्ने सुझाव दिन्छन्।

महानगरको योजना

काठमाण्डू महानगरपालिकाले चालू आर्थिक वर्षको आफ्नो वार्षिक कार्यक्रममा वडा नम्बर ११ मा भूमिगत पार्किङ बनाउने योजना राखेको थियो।

तर पछि नगर कार्यपालिकाको बैठकबाट महानगरले नीतिगत निर्णय गर्दै खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना अघि सार्‍यो।

उक्त क्षेत्रमा सम्याउने कार्य पनि महानगरले गरिसकेको छ।

महानगरपालिकाका अधिकारीहरूले दिएको जानकारी अनुसार उक्त क्षेत्रमा पार्किङ बनाउन सम्भाव्यता अध्ययनका लागि नगर विकास कोषलाई पत्राचार पनि भइसकेको छ।

तर खुला मञ्चमा पार्किङ बनाउने खबर आएसँगै कैयौँले त्यस्तो कार्यप्रति विरोध जनाए।

विरोध जनाएपछि भने महानगरपालिकाका पदाधिकारीहरूले “उपत्यकावासीको राय विपरीत निर्माण कार्य नहुने” बताउन थालेका छन्।

खुलामञ्च

तस्बिर स्रोत, Kathmandu Metropolitan City Office

प्रक्रिया कहाँ पुगेको छ?

खुलामञ्चमा पार्किङ बनाउने योजना खासै अघि नबढेको अधिकारीहरू बताउँछन्।

त्यसको कारण उपत्यकावासीसहित विज्ञहरूबाट भएको विरोध हुनसक्ने कतिपयको बुझाइ छ।

यद्यपि महानगरपालिकाले उक्त क्षेत्रमा पार्किङ बनाउने र त्यसको सम्पूर्ण प्राविधिक कार्यका लागि सहयोग गरिदिन नगर विकास कोषलाई भनेको कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बताए।

उनले भने, “महानगरले हामीलाई सम्पूर्ण प्राविधिक सहयोगका लागि पत्राचार गरेको छ। त्यस अनुसार हामीले सुरुमा उक्त क्षेत्रमा पार्किङ बनाउन उपयुक्त छ कि छैन भनेर अध्ययन गर्छौँ।”

उनले अहिले उक्त क्षेत्रमा पार्किङ बनाउनु हुँदैन भन्ने आवाज उठेकाले त्यसबारे सबै सरोकारवाला र स्थानीयवासीसँग पनि छलफल गरेर मात्र थप प्राविधिक कार्य अघि बढाउने बताए।

महानगरपालिकाले पनि उक्त योजनाबारे हालसम्म खासै धेरै प्रगति भइनसकेको जनाएको छ।

विरोधकर्ता के भन्छन्?

उपत्यकाका केही वातावरण अभियानकर्मी तथा सम्पदा बचाउ अभियानकर्मीहरूले महानगरपालिकाको निर्णयप्रति विरोध जनाइरहेका छन्।

उनीहरूले त्यसबारे महानगरपालिकालाई समेत जानकारी गराएका छन्।

सोमवार पनि ‘मुक्त टुँडिखेल’ अभियान सञ्चालन गरिरहेको समूहका सदस्यहरूले महानगरपालिका पुगेर उपमेयर सुनिता डंगोललाई एउटा ज्ञापनपत्र बुझाए।

उनीहरूले बुझाएको ज्ञापनपत्रमा महानगरपालिकाले उक्त सार्वजनिक जग्गालाई आफ्नै जग्गा जसरी उपयोग गर्न नसक्ने स्मरण गराइएको छ।

त्यस्तै खुला क्षेत्र भनेको भूमिगत संरचना बनाएर माथिमात्र खुला राख्ने भन्ने अर्थमा महानगरपालिकाले लिएको उल्लेख छ।

उक्त अभियानका संयोजक विजय श्रेष्ठले उपमेयर महानगरपालिकालाई अघि बढाएको योजना रोक्न माग गरेका छन्।

अभियानका प्रवक्ता सञ्जय अधिकारीले महानगरपालिकालाई खुलामञ्चमा कुनै पनि संरचना बनाउने अधिकार नभएको बताए।

साथसाथै त्यहाँ पार्किङ बनाएर समस्याको हल नहुने भएकाले आफूहरूले दबाब दिएको उनको भनाइ छ।

"हाम्रो अभियानमा जोडिनु भएका विज्ञहरूले पनि यस्ता खुला स्थानमा पार्किङ वा अन्यखाले ट्राफिक व्यवस्थापनसम्बन्धी समस्या हल नहुने बताइरहनु भएको छ," उनले भने।

यो Facebook पोस्ट छोड्नुहोस्
Facebook को सामग्रीलाई अनुमति छ?

यो लेखमा Facebook बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Facebook cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

Facebook पोस्ट समाप्त

महानगरपालिका पदाधिकारी के भन्छन्?

सोमवार ज्ञापनपत्र बुझ्ने क्रममा महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले खुलामञ्चको विषय संवेदनशील भएको बताइन्।

उनले “सार्वजनिक स्थलको संरक्षण हुनुपर्छ भन्नेमा आफ्नो विमति नरहेको” स्पष्ट पारिन्।

उनले भनिन्, “पार्किङमा नीतिगत रूपमा अघि बढिएको थियो र सम्भाव्यता अध्ययन गर्न लागेका हौँ।”

“यी सबै चरणमा पहिलो प्राथमिकता भनेको आवश्यकता हो कि होइन भन्ने हो।”

उनले जनप्रतिनिधिहरूले जनताको मर्म र भावनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र महानगरले त्यसलाई मनन् गरेको दाबी गरिन्।

डंगोलले भनिन्, “यो (खुलामञ्च) ऐतिहासिक थलो हो। यसमा जनताको रायविना निर्माण अघि बढ्दैन।”

रानीपोखरी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, रानीपोखरी

खुलामञ्च क्षेत्रका वडाध्यक्षको पनि असहमति

खुलामञ्च क्षेत्र पर्ने वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीले पनि जनताको भावना विपरीत पार्किङ निर्माण हुन नहुने बताएका छन्।

बीबीसीसँग कुराकानी गर्दै उनले भने, “पहिले त्यहाँ बनाउन मिल्छ कि मिल्दैन भनेर हेरौँ भन्ने हिसाबले कुरा अघि बढेको हो। तर अब जनभावना त्यो बनाउनु हुँदैन भन्ने देखियो।”

“त्यसैले जनभावना विपरीत गएर महानगरपालिकाले पार्किङ बनाउनु हुँदैन।”

उनले सोमवार मात्रै आफूले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेखेर खुलामञ्चबारेको निर्णय पुनर्विचार गर्न आग्रह गरेको उनले बताए।

सोमवारै भएको नगर कार्यपालिका बैठकमा पनि आफूले उक्त कुरा उठाएको र अन्य वडाध्यक्षहरूले पनि त्यसमा साथ दिएको उनको भनाइ छ।

“बैठकमा कुरा उठाउँदा मेयरले अहिले नगर विकास कोषले सित्तैमा सम्भाव्यता अध्ययन गरिदिने भएकाले मात्र त्यस्तो अध्ययन गराउन लागिएको जानकारी दिनुभयो,” उनले भने।

विज्ञ के भन्छन्?

कतिपय विज्ञहरू खुलामञ्चलाई उपयुक्त ढङ्गले उपयोग गर्न सकिने बताउँछन्।

तर त्यसका लागि वैज्ञानिक र सामाजिक पक्षलाई हेरिनुपर्ने उनीहरूको भनाइ छ।

त्यस्तैमध्येका एक शहरी पूर्वाधार विज्ञ भाइकाजी तिवारी भन्छन्, “खुलामञ्चमा संरचना नै बनाउनु हुँदैन भन्ने होइन तर त्यसको सदुपयोग हुनुपर्‍यो। दुरुपयोग हुनु भएन।”

उनी विश्वका कतिपय देशहरूमा भूमिगत संरचनाहरू बनाएर माथि ठूला पार्क बनाएको अवस्था पनि रहेको बताउँदै तर त्यसको आवश्यकताको पुष्टि गरी जनमत तयार पार्नसक्नुपर्ने बताउँछन्।

यस्ता संरचना बनाउन हुने फाइदा र बेफाइदाबारे बहस र छलफल गरी उपयुक्त हुने अवस्थामा मात्र संरचनाहरू निर्माण गर्न तिवारी सुझाव दिन्छन्।