दक्षिण अफ्रिका कुकुर आक्रमण: 'बच्चालाई खाने कुकुर भएको संसारमा हामी बाँच्न सक्दैनौँ'

चेतावनी: केही पाठकलाई यसमा भएका विवरण मन विचलित पार्ने खालको हुनसक्छ।
दक्षिण अफ्रिकाको फोमोलोङका बासिन्दा गत आइतवार बिहान एउटा डरलाग्दो चिच्याहटमा बिउँझिए।
त्यस्तो चिच्याहट एक जना तीन वर्षीय बालकबाट आएको थियो जसलाई एउटा अमेरिकी पिट बुल जातको आक्रामक कुकुरले मरणासन्न हुने गरी आक्रमण गरेको थियो।
ती बालक छिमेकीको घरअगाडिको गेटमा साथीहरूसँग थिए जहाँ धेरैजसो दुई वटा पिट बुल कुकुरहरू खोरमा बाँधेर राखिएको हुन्थ्यो। तर त्यो बिहान ती कुकुरहरूलाई यतिकै छोडिएको थियो।
बालबालिकाहरू खेलिरहेका बेला ती कुकुरले केकेत्सो साउलेलाई झम्टिए।
उनको विक्षिप्त परिवारका अनुसार त्यस्तो बर्बर खालको आक्रमण धेरै बेरसम्म चल्यो।
"कसैले उनलाई नतानेको भए कुकुरहरूले उनको पुरै शरीर खाइसक्ने थिए," उनको विचलित फूपू थबेलेङ साउलेले भनिन्।
"एकापट्टिको उनको अनुहार नै थिएन र गिदीको भाग पनि देख्न सकिन्थ्यो।"
कुकुरले झम्टिएका बेला खिचिएको भिडिओमा भयभीत आफन्त र छिमेकीहरू के गर्ने र कसरी कुकुरलाई रोक्ने भनेर हेर्दै चिच्याइरहेको देखिन्छ।
त्यस्तैमा कसैले कुकुरहरूमाथि तातोपानी खन्याइदियो ताकि मानिसहरूले मृत केकेत्सोको शरीर त्यहाँबाट तानेर लैजान सके।

आक्रोशको भुमरीमा उक्त ठाउँमा मानिसहरू भेला भए र ती कुकुरहरूमाथि जे भेटिन्छ त्यसैले हान्न थाले।
उनीहरूले एउटा कुकुरलाई पक्रिन सके र आगो लगाइदिए।
प्रहरी त्यसपछि आइपुग्यो र कुकुर पाल्ने २१ वर्षीय लेबोहाङ पालीलाई गिरफ्तार गर्यो। खतरनाक कुकुर राखेको आरोपमा उनीमाथि दुई वर्ष जेल वा जरिवाना वा दुवै हुनसक्ने अभियोग लगाइएको छ।
दोस्रो कुकुरलाई भने एउटा पशु कल्याणकारी समूह एसपीसीएले लिएर गयो र उसलाई मारिदियो।
त्यसयता पालीलाई करिब १८ डलर बराबरको धरौटी तिराइएको छ। उनी अब आफू भाडामा बसेको घरमा फर्किएलान् वा नफर्किएलान् स्पष्ट छैन।
जोहानेसवर्गको २५० किलोमिटर दक्षिण पश्चिममा पर्ने फ्रि स्टेट प्रान्तस्थित क्षेत्रमा हामी पुग्दा साउले परिवारको घरबाहिर सप्ताहान्तमा भएको जलाइएको कुरा त्यतिकै छरिएका थिए।
कुकुर जलाइएको ठाउँमा ढुङ्गा, जलेका टायर देखिन्थ्यो। आइतवार आफूहरूले के देखे भनेर बासिन्दाहरू आफ्नो आक्रोश पोख्न आएका थिए।
"उक्त घटनाले हाम्रो मुटु छियाछिया भएको छ," सानी छोरी च्यापेकी एक भर्खरैकी देखिने आमा इमिली मोइरानेले भनिन्।
"हामी अब पिट बुल कुकुर चाहँदैनौँ," उनले भनिन्। उनीहरूका अनुसार यदि कुकुर पाल्ने मानिसले कारबाही भोग्नुपरेन भने "न्याय आफ्नो हातमा" लिनेछन्।
साउले घरभित्र केकेस्तोकी फुपूले उनको हाँसिरहेको आफ्नो भदाको फोटो फोनमा देखाइन्।
परिवारको पीडाबारे उनले आँसु नखसाली बोल्ने प्रयत्न गरिन्।
"जे भयो त्यो ठीक होइन। बालकको आमा, हजुरबुवा र हजुरआमाले पनि घटना प्रत्यक्ष देखे," उनले भनिन्।
"ती कुकुरहरूले बालकलाई किन खाए भनेर बुझ्न उनीहरूलाई समय लाग्नेछ।"
पिट बुल त्याग्दै
कुकुरले झम्टिँदाको तमासा देख्ने एकजना बाहिरियाले मलाई उक्त क्षेत्रमा अर्को पिट बुल भएको बताए जुन साउले घरको ठ्याक्कै अघिल्तिर थियो।
कुकुरका मालिक मोकेटे सेलेबानोले मलाई स्वागत गरेर घरको पछाडिपट्टि लगे जहाँ खैरो रङ्गको पिट बुल उनी र उनको श्रीमतीसँग खेलिरहेको थियो।

"यो सानो छ - मेरो छोरा जस्तै हो," उनले भने।
तर पिट बुललाई लिएर समुदायको आक्रोशबाट उनी भयभीत छन् र अब आफ्नो घरपालुवा पिट बुललाई त्याग्दैछन्।
"बच्चा खाने कुकुरहरू भएको संसारमा हामी बाँच्न सक्दैनौँ। यदि समुदाय आक्रोशित छ भने हामीले गर्नसक्ने केही छैन। तर यो कुकुर गएको हेर्न म र मेरो श्रीमतीका लागि निकै पीडादायी हुनेछ।"
पिट बुलले झम्टिने गरेका हालैका घातक घटनापछि उनी जस्तै धेरैले आफ्ना कुकुरहरू त्यागेका छन्।
केकेस्तोको मृत्यु भएको तीन दिनपछि इस्टर्न केप प्रान्तमा पिट बुलले नै आक्रमण गरेका एकजना १५ महिने बालकको पनि अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।
एउटा गैरसरकारी समूह एनिमल्स २४-७ ले सन् २००४ यता दक्षिण अफ्रिकी सञ्चारमाध्यममा कुकुरले गरेका घातक हमलाको विवरण राखेको छ।
विगत १८ वर्षमा पिट बुलको हमलाका कारण ३७ जनाको मृत्यु भएको छ जसमा यो साता ज्यान गुमाएका दुई बालबालिकाहरू समेटिएका छैनन्।
त्यसरी ज्यान गुमाउनेमा १८ बालबालिका छन् जसमध्ये पाँच जनाको गएको वर्षमात्रै ज्यान गएको हो।








