ट्राफिक जाम: भीआइपीको आवतजावतमा पनि कम जाम गराउने ५ तरिका

तस्बिर स्रोत, Rojan Shrestha
यो साता चिनियाँ उच्चस्तरीय नेताको भ्रमणका क्रममा ट्राफिक व्यवस्थापन हुन नसक्दा सहरभरि जाम भएको छ।
सामाजिक सञ्जालदेखि लिएर चिया पसलका गफमा समेत यसलाई लिएर कतिपयले पाहुनाको समेत आलोचना गरे।
तर सडक व्यवस्थापनमा अनुभव हासिल गरेका विज्ञहरूले ट्राफिक प्रहरीका साथै परराष्ट्रका अधिकारीहरूले समन्वय गरेर केही उपाय अपनाएको भए जनताले पाउने सास्ती निकै कम हुनसक्ने औँल्याएका छन्।
उनीहरूले औँल्याएका त्यस्ता ५ उपाय यस्ता छन्:
१. ट्राफिक व्यवस्थापनको योजना
खासगरी विशिष्ट स्वदेशी अधिकारी हुन् वा विदेशी पाहुना - उनीहरूको आवागमन प्राय: अगाडि नै थाहा हुने भएकाले त्यसै बमोजिमको योजना बनाउन सकिने काठमाण्डूको ट्राफिक व्यवस्थापनमा दशकौँ बिताएका र हाल ललितपुर महानगरपालिकाको नगर प्रहरीका प्रमुख सिताराम हाछेथुले बताए।
"सवारी हुनुभन्दा पहिले नै आवागमन तथा मार्गको योजना बनाउन सकिन्छ," उनले भने।
सडक व्यवस्थापनसम्बन्धी विज्ञ आशिष गजुरेलको विचारमा पनि परराष्ट्र मन्त्रालय तथा ट्राफिक प्रहरीको निकायले बेलैमा समन्वय गरेमा विदेशी पाहुनाको आवागमनबाट अरूलाई कमसेकम वाधा पार्न सकिन्छ।
"नत्र त यो पाहुनालाई बोलाएर गाली ख्वाउने जस्तो भयो," हाछेथुले भने।
२. पिक आवरमा कम कार्यक्रम
काठमाण्डू उपत्यकामा सरदर १५ लाख जति गाडी गुड्ने अनि सहरको मध्ये भागमा गाडी गुड्ने अनुपात प्रत्येक १ मिनेटमा १२१ सम्म पुग्ने गरेको जानकारहरू बताउँछन्।
"त्यसको पनि अत्यधिक चाप बिहान र बेलुकीको कार्यालय समयमा हुन्छ जसलाई हामी पिक आवर भन्छौँ। उक्त समयको वरपर औपचारिक कार्यक्रम नराख्ने हो भने पनि सडकमा जाम कम गर्न सकिन्छ," हाछेथुले सुझाव दिए।
सवारीको समय र मार्गबारे दुई-चार दिन अगाडि नै सर्वसाधारणलाई सूचित गर्न सकिएको खण्डमा पनि उक्त चाप निकै कम गर्न सकिने गजुरेलले बताए।
३. भेटघाटको प्रबन्ध
विशिष्ट व्यक्तिहरूको भ्रमण हुँदा उनीहरूको बस्ने स्थान सकेसम्म विमानस्थलबाट नजिक अनि उनीहरूको भेटघाटको प्रबन्ध पनि सोही अनुकूल गर्न सकिएमा पनि धेरै जाम घट्ने जानकारहरूको सुझाव छ।
"पाहुनाको सवारी हुने मार्ग छनोटमा विचार पुर्याएर वैकल्पिक मार्ग प्रयोग गर्न सकिन्छ," गजुरेल भन्छन्।
त्यस्तै उनीहरूको उच्चस्तरीय भेटघाटको प्रबन्ध गर्दा ट्राफिक व्यवस्थापनको पाटोलाई पनि ध्यान दिन जरुरी भइसकेको हाछेथुले सुनाए।

तस्बिर स्रोत, Rojan Shrestha
४. लेन व्यवस्थापन
सवारीले गर्दा जाम हुने नभई ट्राफिक व्यवस्थापन गर्न नसक्दा जाम हुने कुरा सबैले बुझ्नुपर्ने बताइन्छ।
चौडा सडकमा समेत सवारीका लागि दुवै लेन खाली गराउने चलन देखिन्छ।
"त्यसो गर्नु जरुरी छैन। चार लेनको बाटो छ भने एक वा दुई लेनमात्र खाली गराए पुग्छ," गजुरेलले भने।
साथै सवारी हुने थोरै अगाडिमात्र सर्वसाधारणको गाडि रोक्दा पुग्ने उनीहरू बताउँछन्।
"पाहुना आउनु केही मिनेट अगाडिमात्र गाडि रोके हुनेमा यहाँ आधा घण्टा अगाडि देखि नै रोक्ने गरेको पाइन्छ," हाछेथुले थपे।

तस्बिर स्रोत, Getty Images
५. जोर बिजोर
अरू विकल्प नभएको खण्डमा केही समय वा निश्चित दिनका निम्ति जोरबिजोर प्रणाली लागु गर्न सकिने हाछेथुले बताए।
अनि गाडि रोक्दा पनि सकेसम्म स्कूलका गाडि तथा सार्वजनिक यातायातका साधनलाई जान दिने बरु निजी गाडिलाई रोक्ने गर्नु उचित हुने उनले बताए।
"सार्वजनिक सवारीसाधनमा चढ्नेहरू टाढा बाट आएका अनि त्यस्ता साधन नपाउँदा अलपत्र पर्ने हुनसक्छ। स्कूलका गाडिमा पनि केटाकेटी हुन्छन्। बरु निजी सवारीसाधनलाई केही ढिलो भएपनि गम्भीर असर पर्दैन," उनले भने।








