नागढुङ्गा आसपासको ट्राफिक जाम कहिले हट्ला

नौबिसे क्षेत्रमा देखिएको जाम

तस्बिर स्रोत, .

Published

केहीदिन यता काठमाण्डूको प्रमुख नाका नागढुङ्गा आसपासमा हुने गरेको जाममा घण्टौँ बिताउनु परेको चर्को गुनासो आइरहेका बेला अधिकारीहरूले त्यस्तो समस्या अब केही दिनपछि अन्त्य हुने बताएका छन्।

उक्त सडक खण्डमा आफ्ना कारणले नभइ ठूला मालबाहक सवारी साधनका कारण जाम भएको सडक विभागका अधिकारीहरूको भनाइ छ।

करिब पाँच किलोमिटर लामो नागढुङ्गा-पिपलमोड सडकखण्डको मर्मत सुरु भएसँगै सवारी साधन घण्टौँ जाममा पर्ने गरेका छन्।

यसै साता चितवनबाट काठमाण्डू आउन लागेको एम्बुलेन्स त्यही जाममा पर्दा बाटोमै बिरामीको ज्यान गएको विवरण सार्वजनिक भएपछि त्यो सडकको अवस्थालाई लिएर चिन्ताहरू व्यक्त भएका हुन्।

तर आफ्नो कामले भन्दा पनि अन्य कारणले जाम हुने गरेको सडक विभागको भनाइ छ।

कारण के?

विभागका प्रवक्ता मुक्ति गौतम भन्छन्, "राति ११ बजेपछि बिहान ३ बजेसम्म मात्र सडक मर्मतको काम गरेका छौं। त्यो पनि आधा भाग अर्थात चार मिटर सवारी साधनलाई आउन जान दिने गरी।"

"त्यसैले हाम्रो कारणले होइन त्यहाँ चल्ने ठूला मालबाहक ट्रकहरूले गर्दा बाटो जाम भएको हो। ती उकालोमा छिटो कुद्न सक्दैनन् जसले गर्दा पछाडिका गाडी पनि मारमा पर्छन। अबको तीन दिनमा हाम्रो काम सकिन्छ।"

खाल्डाखुल्डी पुर्ने काम लगभग सकिएको र अब पिच गर्न मात्र बाँकी रहेको गौतमले बताए।

तर दशैँलाई लक्षित गरी ठूलो सङ्ख्यामा मालबाहक सवारी साधन काठमाण्डू भित्रिरहेका र काठमाण्डूबाट यात्रु बाहिरिने क्रम तीव्र बनिरहेका बेला सडक मर्मत गर्नाले जाम बढेको बताइन्छ।

काठमाण्डू भित्रिने प्रमुख नाकाको सडक खण्ड निर्माण छिटो गर्न सरकारले पर्याप्त चासो नदिएकैले आफूहरूले सास्ती भोग्नु परेको मंगलबार काठमाण्डूबाट नारायणगढ जाँदा जाममा परेकी लक्ष्मी अर्यालले बताइन्।

मर्का

उनी भन्छिन्, "बिहानको ६ बजे देखिनै जाममा परियो। हामी ६-७ घण्टा जाममा पर्‍यौँ। दुई चार जना ठेकेदार लगाएर काम गरेको भए छिटो सकिन्थ्यो होला। शौचालय समेत नभएको ठाउँमा जाम हुन्छ। तर के गर्नु सरकारलाई हामी जस्तो साधारण मान्छेको मर्काको के चासो छ र? ठूलाबडाहरूलाई यो सडकबाट यात्रा गर्न पर्दैँन।"

आठ मिटर चौडा सडकको आधा भाग बन्द हुँदा स्वत: जाम हुने जानकारहरू बताउँछन्।

त्यस्तै नागढुङ्गादेखि कलंकीसम्मको विस्तार गरिएको बाटो पनि मर्मत नहुँदा उक्त सडक खण्डमा समेत जाम हुने गरेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ट्राफिक छल्न केबलकारबाट सरर