यातायात सहज बनाउन अनुगमन

सवारी साधन
तस्बिरको क्याप्शन, अधिकांश दुर्घटना दशैंतिहार जस्ता चाडवाडकै आसपासमा हुने गरेको प्रहरीले जनाएको छ

चाडपर्वका बेला हुनसक्ने दुर्घटना रोक्नका लागि सवारीसाधनको अनुगमन गर्न विशेष टोली खटाइएको यातायात व्यवस्था विभागले जनाएको छ।

लामो समयदेखि खुल्दै र बन्द हुँदै गरेको मुग्लिन-नारायणघाट सडकको बाटोमा सवारीसाधनको आवतजावत सहज पार्न पनि छुट्टै टोली खटाइएको र आधा घण्टाभन्दा बढी समय सवारीसाधन जाम बस्नु नपर्ने व्यवस्था गरिएको नेपाल प्रहरीले जनाएको छ।

गत वर्ष देशभर सडक दुर्घटनामा करिब २३ सय जनाको ज्यान गएको थियो।

जसमध्ये सबैभन्दा धेरै मोटरसाईकल दुर्घटनाका कारण भएको प्रहरी विवरणले देखाएको छ।

दुर्घटना

६ हजार भन्दा बढी संख्यामा मोटरसाईकल दुर्घटना भएका थिए।

त्यस्तै २ हजार भन्दा बढी संख्यामा बस दुर्घटना भएका थिए।

यी मध्ये अधिकांश बस दुर्घटना दशैंतिहार जस्ता चाडवाडकै आसपासमा हुने गरेको प्रहरीले जनाएको छ।

गत वर्ष असोज महिनामा बस दुर्घटनामा मात्र २ सय जना भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ।

अनुगमन

क्षमताभन्दा बढी यात्रु बोक्ने तथा राम्रो हालतमा नरहेका गाडी चलाउँदा यस्ता दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ।

यसवर्ष यस्ता घटना कम गराउन भनी विषेश अनुगमन शुरु गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए।

उनले भने, "सवारी साधनमा क्षमताभन्दा बढी मानिस बस्न दिएका छैनौं। विभिन्न अनुगमन टोली बनाएका छौं र तोकिएभन्दा बढी भाडा दर लिएका केही व्यक्तिहरुलाई कारवाही पनि गरेका छौं।"

यसका साथै नियमित चेकजाँचलाई तीव्र पारिएको र प्रहरी बिट नभएका स्थानमा पनि अनुगमन गर्ने व्यवस्था गरिएको नेपाल प्रहरीले जनाएको छ।

व्यवस्था

त्यस्तै केही समय यता यात्रुहरुको टाउको दुखाइको विषय बन्दै आएको मुग्लिन- नारायणघाट सडकखण्डमा नियमित सवारीसाधन चलाउने बन्दोबस्त गरेको प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए।

उनले भने, "त्यो बाटोलाई चार भागमा विभाजन गरेका छौं र हरेक खण्डमा कम्तीमा एउटा डोजर र एक एक्सकाभेटर राख्ने र कुनै पनि ठाउँमा गाडी बिग्रेमा वा जाममा परेमा त्यसलाई कम्तीमा ३० मिनेटभित्र त्यहाँबाट हटाउने व्यवस्था मिलाएका छौं।"

यस पटकको दशैंमा काठमाण्डूबाट करिब २२ लाख मानिस बाहिर जाने यातायात व्यवस्था विभागले बताएको छ।

हालसम्म झण्डै ४ लाख मानिस राजधानीबाट बाहिर गइसकेका छन्।

यसरी दशैँमा बाहिर जानेमध्ये १५ लाख भन्दा धेरै मानिसले सार्वजनिक साधन प्रयोग गर्नेछन्।