बालेनः के बालेन्द्र शाहको कामले काठमाण्डू महानगरमा पार्किङ र जामको समस्या हट्ला? यस्ता छन् सीताराम हाछेथुका सुझाव

तस्बिर स्रोत, RSS
काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहले यो साता आफ्नै अग्रसरतामा खासगरी नक्सामा पार्किङ भनेर राखेको तर व्यवहारमा व्यापारिक प्रयोजनमा लगाइएका बेसमेन्टजस्ता संरचना भएका भवनहरूमा डोजर लगाएर कारबाही गरेका छन्।
यसो गर्नुको एक मुख्य उद्देश्य महानगरपालिकाको अव्यवस्थित पार्किङ अनि त्यसैले निम्त्याउने ट्राफिक जामको समस्या सम्बोधन गर्नु रहेको बताइएको छ।
काठमाण्डू उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त भाइकाजी तिवारीका अनुसार उपत्यकामा घर निर्माण गर्दा बेसमेन्ट वा भूमिगत तला पार्किङलाई छुट्ट्याउन २०५८ सालदेखि नै विभिन्न नीतिगत प्रोत्साहन गरिएको हो।
"२०६४ सालको मापदण्डमा दुई तलासम्म बेसमेन्ट बनाएर पार्किङको प्रयोजन गर्न पाउने र त्यसो गर्दा थप राजस्व नलाग्ने अनि फार भनिने फ्लोर एरिया रेसियोमा त्यसको गणना नगरिने छूट दिइएको थियो। नक्सा शुल्क पनि छूट थियो," उनले भने।
तर धेरैले त्यस्तो छूट लिए पनि व्यवहारमा पार्किङलाई प्रयोग नगरेको हुँदा अहिले मेयर बालेन शाहले चालेको कदम उपयुक्त भएको उनी ठान्छन्।

तस्बिर स्रोत, RSS
"बेसमेन्ट मात्र होइन कतिपयले भुइँतल्लामा पनि पार्किङ गराउँछु भनेर नक्सा पास गराएका छन्। तिनलाई पनि खाली गराउनुपर्छ," उनले भने।
तिवारीजस्तै अधिकांश मानिसले उनको कदम र उद्देश्यको खुलेर प्रशंसा गरिरहेका छन्।
के भन्छन् हाछेथु?

तस्बिर स्रोत, Facebook/Balen
तर काठमाण्डूको ट्राफिक व्यवस्थापनमा दशकौँ बिताएका र हाल ललितपुर महानगरपालिकाको नगर प्रहरीका प्रमुख सिताराम हाछेथुले मेयर शाहका पछिल्ला कारबाहीले भनिएजस्तो पार्किङ र जामको समस्यामा कुनै फरक पार्न नसक्ने टिप्पणी गरेका छन्।
"एउटा पूर्व ट्राफिकको नाताले भन्नुपर्दा अहिले बालेनजीका कारबाहीले पार्किङ वा जामको समस्यामा केही सम्बोधन हुँदैन," उनले भने।
साँघुरा बेसमेन्ट वा भूमिगत तला खाली गराए पनि अधिकांशमा गाडी आउजाउ गर्न पुग्ने ठाउँ नभएको उनले बताए।
"धेरैले बेसमेन्ट पार्किङ भने पनि त्यहाँ गाडी घुमाउन पुग्दैन, उचाइ पनि पुग्दैन। मैले अहिले बालेनजीले कारबाही गरेका ठाउँका भिडिओ हेरेको छु। त्यस्ता धेरै ठाउँ खाली गराए पनि पार्किङलाई सहज हुँदैन।"

तस्बिर स्रोत, Getty Images
उनका अनुसार अहिले काठमाण्डू उपत्यकामा १५ लाख जति गाडी गुड्छन्।
शहरको मध्ये भागमा गाडी गुड्ने अनुपात प्रत्येक १ मिनेटमा १२१ पुगेको र त्यो भनेको अत्यधिक भएको उनी बताउँछन्।
हाछेथुका चार सुझाव
"ट्राफिक समस्या विकराल छ। तर साँघुरा बेसमेन्ट खुला गराएर यसको हल निस्कँदैन। शायद नियम पालना गराउने हिसाबमा यो कारबाही सही होला तर पार्किङ र जाम व्यवस्थापनमा यसले सघाउ पुर्याउँदैन," उनी भन्छन्।
ठूल्ठूला भवनका बेसमेन्टहरू खुला गर्दा त्यसलाई पार्किङमा प्रयोग गर्न सकिने उनले बताए।

तस्बिर स्रोत, Getty Images
२९ वर्षसम्म ट्राफिक व्यवस्थापनमा अनुभव बटुलेका हाछेथुले काठमाण्डूमा पार्किङ र जाम व्यवस्थापन गर्न मुख्य चारवटा सुझाव दिएका छन्।
पहिलो, नक्साको स्वीकृति लिँदा नै प्रस्ट कति चौडाइ र कति उचाइको पार्किङ बेसमेन्ट बन्न लागेको भनेर खुलाउनु पर्छ। त्यसो गर्दा पार्किङमा तिनको यथोचित प्रयोग हुनसक्छ।
दोस्रो, अहिलेका ठूला भवनमा १०-२० गाडी पार्किङको व्यवस्था मिलाउँदैमा शहरको पार्किङ व्यवस्थित हुन सक्दैन। बरु महानगरले नै आफ्नो स्रोतमा बहुतले पार्किङका संरचना बनाउनुपर्छ।
तेस्रो, कुनै पनि व्यक्तिले गाडी किन्दा उसले त्यो गाडी कहाँ राख्छ। घरमा ग्यारेज छ कि छैन वा छैन भने कहाँ राख्ने हो भनेर हेरेर मात्र गाडी किन्ने स्वीकृति दिनुपर्छ।
चौथो, सडकहरूलाई एक तर्फी अर्थात् वान वे बनाउनुपर्छ।
"हामीले ट्राफिक व्यवस्थापनमा तीन तरिकाले जाम घटाउन सक्छौँ। एक, ट्राफिक लाइटमार्फत, दुई आकाशे सडक वा फ्लाइओभरमार्फत् अनि तीन, वान वेमार्फत्। नेपालमा पहिलो र दोस्रोभन्दा साधन स्रोत अनि खर्चको हिसाबबाट पनि वान वे सहज हुन्छ," उनले भने।
उनका अनुसार काठमाण्डूको कोर वा मध्ये इलाकामा अहिले २.६ किलोमिटर मात्र वान वे छ। त्यसलाई ६ किलोमिटर पुर्याउन उनले सुझाव दिए।









