कोभिड नेपाल: महामारीले बालबालिकाको 'विकास र सिकाइमा असर', जोखिम कसरी कम गर्ने

तस्बिर स्रोत, RSS
- Author, स्वेच्छा राउत
- Role, बीबीसी न्यूज नेपाली
कोभिड-१९ महामारीको समयमा नेपालका बालबालिकाको समग्र विकास प्रभावित भएको देखिएको एउटा अध्ययनले देखाएको छ।
संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफको अध्ययनअनुसार दुईदेखि चार वर्ष उमेर समूहका पाँच बालबालिकामध्ये एकजना विकासको लयभन्दा बाहिर रहेको देखिएको हो।
“महामारीले नेपालका बालबालिकाको विकास र सिकाइमा रहेको असमानतालाई झन् जटिल बनाएको छ। विशेषगरी उनीहरूको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थालाई असर पारेको छ,” अध्ययनको निष्कर्षमा भनिएको छ।
युनिसेफले गत अगस्टमा देशभरिका बालबालिका भएका २८,५३ घरमा प्रारम्भिक बाल विकास सूचकाङ्क (ईसीडीआई) सर्वेक्षणले गरेको थियो।
फोनमार्फत् गरिएको उक्त सर्वेक्षणले बालबालिका विकासको लयबाट टाढिने उच्च जोखिममा रहेका देखाएको हो।
उल्लिखित जोखिममा ग्रामीण क्षेत्रमा बस्ने बालबालिका, कम आय भएका परिवारका बालबालिका, अशिक्षित वा न्यून शिक्षा स्तर भएका अभिभावक रहेका बालबालिका र प्रारम्भिक बाल शिक्षाबाट वञ्चित बालबालिका रहने जनाइएको छ।
शिक्षाबाट वञ्चित हुँदा बालबालिकाले कुनै पनि विषयवस्तुमाथि आफ्नो दृष्टिकोण बनाउन नसक्ने शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्।

तस्बिर स्रोत, RSS
बीबीसीसँग उनले भने,”शिक्षा नपाउँदा कुनै पनि बालबालिकाले सहमति वा विमति जनाउन सिक्दैनन्। दुई वर्षसम्म सिकाइबाट टाढा रहँदा उसले कुनै पनि समस्याको समाधान वा विकल्प खोज्न सक्दैन।”
सोही प्रसङ्गमा जोरपाटीकी अप्सरा बुढाथोकीले आफ्नो अनुभव सुनाइन्। उनी प्रारम्भिक बाल शिक्षिका हुन्।
स्थानीय ग्रीन तारा चाइल्ड हेभन विद्यालयमा पढाउने उनी भन्छिन्,”विगतका वर्षहरूको तुलनामा महामारीपछि विद्यालय भर्ना हुने विद्यार्थीको सङ्ख्यामा कमी आएको छ। यो पक्कै रोगको त्रासकै कारण हो। मैले मेरी कान्छी छोरीलाई समेत लामो समय आफूसँगै विद्यालय लग्न सकिनँ।”
उनले चार वर्ष पूरा हुन लागेकी छोरीलाई विद्यालय लिएर जान थालेको तीन साता भयो। अहिले प्रारम्भिक कक्षाका अन्य बालबालिकाको तुलनामा आफ्नी छोरीको उमेर ठूलो लाग्छ उनलाई।
“सिक्न खोज्ने र कक्षामा सक्रिय रहने उनी चाह नै देखाउँदिनन्। दिनभरि घरमा सुत्ने र एक्लै खेल्ने बानी लागेकाले हुनसक्छ ऊ कक्षाका अन्य विद्यार्थीसँग घुलमिल समेत हुन सकेकी छैनन्,” अप्सराले सुनाइन्।
प्रारम्भिक बाल शिक्षामा भाग लिने बालबालिकामध्ये पनि निजी विद्यालय जानेहरूको तुलनामा सामुदायिक प्रारम्भिक बाल शिक्षामा भाग लिनेहरू विकासको लयभन्दा बाहिर हुने जोखिम धेरै छ।
यस विषयमा शिक्षाविद् कोइरालाको भने फरक मत छ। पढ्ने र पढाउने कार्य विद्यालयमै गर्नुपर्छ भन्ने चिन्तन त्याग्नपर्ने उनी बताउँछन्।
उनले भने,”घरमै पढ्न सकिन्छ भन्ने संस्कृति स्थापित गर्न आवश्यक छ। त्यो प्रक्रिया बालबालिकालाई कुनै उपकरणको उपयोगिता के भन्ने बुझाएर वा चामल र पानीको अनुपात मिलाउन लगाएर हुनसक्छ।“

तस्बिर स्रोत, Reuters
बाल विकासका लागि के गर्न आवश्यक छ?
बालबालिकाको समग्र विकास र सिकाइमा उनीहरूको हेरचाह गर्नेहरूसँग किताबहरू पढ्ने, कथाहरू सुनाउने, गीत गाउने, घुम्न जाने, वस्तुहरूको नाम भन्ने, गन्ने, वा चित्र कोर्ने जस्ता क्रियाकलापले सकारात्मक प्रभाव पार्ने जनाइएको छ।
प्रतिवेदनअनुसार त्यस्ता कार्यले बालबालिकाको चेतनालाई प्रस्फुटित गर्न मद्दत पुर्याउँछ। यद्यपि तथ्याङ्कले महामारीअघिको तुलनामा ती कार्यमा अभिभावकको संलग्नतामा कमी आएको देखाउँछ।
सन् २०१९ मा ७३ प्रतिशत बालबालिका यस्ता प्रारम्भिक कार्यमा संलग्न थिए। तर २०२१ मा उक्त सङ्ख्या ३१ प्रतिशतमा सीमित रह्यो।
यसै वर्षको अक्टोबर महिनामा गरिएको थप सर्वेक्षणले भने कडा निषेधाज्ञाबाट सामान्य अवस्थामा फर्किएसँगै आमाहरूको संलग्नता बढेको देखायो। यद्यपि बुबाहरूको अभिभावकत्वको संलग्नता भने ६ प्रतिशत कायम रहेको सर्वेक्षणको निचोड छ।
प्रविधिमा पहुँच नहुँदा सिकाइबाट वञ्चित
रसुवाको ग्रामीण भेगबाट ४० वर्षीय आइतमान तामाङले बीबीसीसँग भनेका थिएः “मोबाइल नभएकै कारण मेरो छोराले पढ्न पाएन।“
महामारीको समयमा सङ्क्रमण नियन्त्रणका लागि विद्यालयहरू बन्द गरिएको थियो। विकल्पका रूपमा भर्चुअल उपस्थितिमा कक्षा सञ्चालन भए। तर प्रविधिको पहुँच नभएका बालबालिका भने वैकल्पिक विधिमार्फत् हुने सिकाइबाट वञ्चित रहे।
युनिसेफले सर्वेक्षण गरेकोमध्ये आधा जति बालबालिका पूर्वप्राथमिक तहमा भर्ना भएका रहेछन्। महामारी नियन्त्रणका लागि विद्यालय बन्द हुँदा ३४ प्रतिशत बालबालिका वैकल्पिक विधिबाट सिकाइमा संलग्न हुन पाएनन्।

तस्बिर स्रोत, SCIENCE PHOTO LIBRARY
केहीको घरमै ट्युसनको व्यवस्था भए पनि अनलाइन कक्षा, मोबाइल फोनबाट हुने शिक्षण, रेडियो, टिभी, दूरशिक्षण जस्ता आपत्कालीन सिकाइ माध्यमहरू कम प्रयोग भएका देखियो।
रेडियो, टिभी र टेलिफोनमा आधारित शिक्षण सिकाइजस्ता न्यून-प्रविधि सहितका समाधानहरू पनि कम मात्रै प्रयोग भएको जनाइएको छ।
अनलाइन कक्षाजस्ता उच्च-प्रविधिको प्रयोग निजी प्रारम्भिक बाल शिक्षा अर्थात् मोन्टेसरी वा निजी विद्यालयका बालबालिकाले मात्र प्रयोग गरे।
प्रविधिको असमान पहुँचलाई इङ्गित गर्दै भनिएको छः यसकै कारण निजी प्रारम्भिक बाल शिक्षामा सहभागी बालबालिका र अन्य बीचको विकासात्मक अन्तर देखिएको हुनसक्छ।
‘कम्प्युटर र मोबाइल मात्र प्रविधि होइनन्’
शिक्षाविद् कोइराला आधुनिक उपकरण वा इन्टरनेटलाई मात्र प्रविधि मान्न नहुने तर्क अघि सार्छन्।
व्यावहारिक सिकाइ र त्यसको विकासका लागि शहरदेखि गाउँघरसम्म उपलब्ध हुने विविध सामाग्रीलाई सिकाइको विषय बनाउनुपर्ने उनले बताए।
”कुटो, कोदालो, हलो नाम्लो लगायतका सामग्रीहरू वैज्ञानिक उपकरण हुन् र यी पनि पढाउन लायक प्रविधि हुन् भन्ने बुझाइ स्थापित गरिनुपर्छ,” उनले भने,”विद्यार्थीहरू कोरा किताबी ज्ञानबाट वञ्चित भए भन्नुभन्दा शिक्षालाई व्यावहारिक बनाउनुपर्यो।“
बालबालिकाको विकासका लागि कसको कस्तो भूमिका?
बालबालिकाको विकास र सिकाइमा अभिभावक मात्र नभई शिक्षक, अभिभावक, सरकार लगायतका समेत भूमिका रहने विज्ञहरू बताउँछन्।
आफ्नो पक्षबाट कसले के गर्ने त? भन्ने विषयमा सर्वेक्षणको नतिजाको आधारमा युनिसेफले केही सुझाव समेत दिएको छ।
विकासको लयभन्दा बाहिर हुने उच्च जोखिममा रहेका बालबालिकालाई उपचारात्मक सिकाइमा जोड दिने भनिएको छ।
घर र विद्यालयमा सिकाइलाई सक्षम बनाउन प्रयोगकर्तामैत्री मूल्याङ्कन तथा पढ्ने, सिक्ने निर्देशिकामार्फत् प्रत्येक बालबालिकाको व्यक्तिगत विकास र सिकाइको स्तर बुझ्ने प्रणालीहरूको विकास गरिनुपर्ने जनाइएको छ।
विद्यालय बन्द हुने समयमा वैकल्पिक सिकाइ माध्यमहरू प्रयोग गर्नु महत्त्वपूर्ण मानिएको छ।

तस्बिर स्रोत, RSS
त्यस्तै अभिभावकले नै बालबालिकालाई कसरी सिकाउने भन्नेबारे पर्याप्त बुझाइ राख्नुपर्ने बताउँछिन् बाल विकासविद् कुन्ती राना।
बीबीसीसँग उनले भनिन्,”महामारीको समयमा बालबालिकाको विकास पढाइदेखि अन्य पाटोबाट प्रभावित भयो। त्यस समय घरमा उनीहरूसँगै रहेका आमाबुवालाई उनीहरूलाई के र कसरी सिकाउने भन्ने बुझाउनु आवश्यक थियो।”
विविध माध्यमबाट आफूहरूसँग सम्पर्कमा आएका अभिभावकलाई ‘टेली लर्निङ’ नाम दिइएको कार्यक्रमअन्तर्गत बाल विकासको तालिम समेत दिएको उनले जानकारी दिइन्।
युनिसेफले पनि अभिभावक शिक्षालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ।
अभिभावकले बालमैत्री पुस्तकहरू पढ्ने, कथाहरू सुनाउने, गीत गाउने, बालबालिकालाई घुमाउन लैजाने, उनीहरूसँग खेल्ने, वस्तुहरूको नामकरण गर्ने, चिजहरू गन्ने वा सँगै चित्र कोर्ने जस्ता प्रारम्भिक क्रियाकलापमा संलग्न हुनुपर्ने जनाइएको छ।
त्यस्तै विद्यालय जान पाएका बालबालिकामा पनि ‘किताब मैले पढ्ने हो। नबुझेको अवस्थामा सोध्नुपर्छ र सोध्नका लागि यी मानिस मसँगै छन्’ भन्ने बुझाइ विकास गराउनुपर्ने बताउँछन् शिक्षाविद् कोइराला।
त्यसो हुँदा घरमै समेत अध्ययनशीलता वृद्धि हुने उनको तर्क छ।
र, अभिभावक र शिक्षकले सिकाइ प्रक्रियामा कुनै व्यवधान आए वैकल्पिक बाटो खोज्नुले विकासको लय गुम्ने जोखिम न्यूनीकरण गर्न सक्ने उनले बताए।








