कोभिड नेपाल: धमाधम विद्यालय खोल्दै स्थानीय तह, अभिभावक भन्छन्- 'छोराछोरी पठाउने कि नपठाउने अन्योलमा छौँ'

तस्बिर स्रोत, RSS
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
काठमाण्डू उपत्यकाभित्रका केही विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सुरु गरेका बेला कतिपय अभिभावले भने आफ्ना सन्तानलाई विद्यालय पठाउने कि नपठाउने "अन्योलमा रहेको" बताएका छन्।
उपत्यकाका केही स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गराउन अनुमति दिइसकेका छन्। अन्यले पनि आगामी सातादेखि अनुमति दिने सम्बन्धमा छलफल गरिरहेको बताएका छन्।
उपत्यकाभित्र विद्यालय खुल्न थालेपछि देशका अन्य क्षेत्रमा पनि भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने तयारीमा विद्यालय सञ्चालकहरू रहेको बताइएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाहिँ "बालबालिकाहरूको भिडभाड हुने काम तत्कालै गर्ने अवस्था नरहेको" भन्दै चिन्ता व्यक्त गरेको छ।
सङ्क्रामक रोग विज्ञहरू पनि नेपालका विद्यालयहरूको पूर्वाधारको अवस्था हेर्दा "बालबालिकाले स्वास्थ्य मापदण्ड पालन गर्न सक्ने स्थिति नदेखिएको" चिन्ता व्यक्त गर्छन्।
विद्यालय खोल्ने तयारी
काठमाण्डूको गोकर्णेश्वर नगरपालिकाले गत मङ्गलवारबाट भौतिक उपस्थितिमा पठनपाठन गर्न खुला गरेपछि उपत्यकाका अन्य स्थानीय तहले पनि सोही निर्णयलाई पछ्याउन थालेका छन्।
ललितपुरको गोदावरी नगरपालिकाले आगामी आइतवारदेखि विद्यालय खोल्ने निर्णय गरेको छ भने दक्षिणकाली नगरपालिकाले केही विद्यालयमा भौतिक रूपमा पठनपाठन गर्न अनुमति दिएको छ।
उपत्यकाका अन्य स्थानीय तहले पनि विद्यालय खोल्नेबारे 'छलफल जारी रहेको' बताएका छन्।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भने, "महानगरीय शिक्षा समितिको बैठक राखेर निर्णय गर्छौँ। हामी ठ्याक्कै हतारिएका चाहिँ छैनौँ।"
उनले सबै पक्षको सुझाव लिएर निर्णय गर्ने बताए।

तस्बिर स्रोत, RSS
आइतवारदेखि विद्यालय खोल्ने निर्णय गरेको गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले चाहिँ "स्वास्थ्य मापदण्ड पछ्याउने गरी भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको" बताइन्।
त्यसको कारणबारे उनले भनिन्, "अनलाइनमा पनि सबैको पहुँच नहुने र विद्यार्थीको त भविष्य नै डामाडोल हुने अवस्थाले गर्दा खोल्ने निर्णयमा पुगेका हौँ।"
दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले "बालबालिकालाई घरैमा राख्दा उनीहरूको भविष्य नै अन्धकार हुने अवस्था देखिएकाले" विद्यालय खोल्ने मनस्थितिमा पुगेको बताए।
हाल एउटा सामुदायिक विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिएको उक्त नगरपालिकाले आगामी साताबाट अन्यलाई पनि अनुमति दिने तयारी गरेको उनले बताए।
आफ्नो क्षेत्रका सबै विद्यालयमा पठनपाठन सुरु गर्न अनुमति दिएको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले "सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अनलाइन शिक्षा लिन नपाएको" दाबी गरे।
उनले भने, "मेरो क्षेत्रमा रहेका सामुदायिक विद्यालयका धेरै विद्यार्थीसँग मोबाइल समेत छैन। अनलाइन शिक्षा भनेको त कामचलाउ शिक्षा हो। त्यसैले एकदमै सुरक्षा अपनाएर विद्यालय खोल्ने निर्णय गरेका हौँ।"
सरकारले स्थानीय तहको कोरोनाभाइरस सङ्क्रमणको अवस्था हेरेर विभिन्न प्रतिबन्धात्मक उपायहरू गर्न जिल्लास्थित कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रलाई निर्णय गर्न अधिकार दिएको अधिकारीहरूले बताएका छन्।
उक्त केन्द्रले लकडाउनका विभिन्न चारवटा अवस्थाहरूमध्ये कुन लकडाउन लगाउने भन्ने निर्णय गर्नसक्ने छ।
त्यसैका आधारमा कम सङ्क्रमण भएका वा नभएका क्षेत्रमा स्थानीय तहले निर्णय गरेर भौतिक उपस्थितिमा पनि पठनपाठन गराउनसक्ने भएकाले सोही अनुसार आफूहरूले निर्णय गरेको स्थानीय तहका अधिकारीहरूको भनाइ छ।
अभिभावक अन्योलमा
भौतिक उपस्थितिमा पठनपाठन सुरु हुनै लाग्दा कैयौँ अभिभावकहरू भने आफ्ना सन्तानलाई विद्यालय पठाउने कि नपठाउने भन्ने दोधारमा रहेको पाइएको छ।
बालबालिका घरमा बसेर पठनपाठनलाई कम ध्यान दिइरहेका चिन्ता र विद्यालयबाटै कोभिड सर्ला भन्ने डर दुवै रहेको उनीहरू बताउँछन्।

तस्बिर स्रोत, RSS
एउटा सरकारी विद्यालयमा कक्षा नौमा अध्ययनरत छोरी रहेकी कीर्तिपुरकी एक अभिभावक कमला श्रेष्ठले भनिन्, "बच्चाहरूलाई विद्यालयमा पढाउन पाए झनै राम्रो हुन्थ्यो। अनलाइनमा पढ्दा खासै बुझेको छैन भन्छन्।"
"तर विद्यालय पठाउँ त कोरोनाभाएरस बढिरहेको छ, मास्क लगाउँछ कि लगाउँदैन थाहा हुँदैन। अब कसो गर्नु?"
"बच्चाको पढाइ त बिग्रिसक्यो तर हामी त के गर्ने के गर्ने अन्योलमा छौँ।"
कतिपय अभिभावकले आर्थिक अवस्था र सेवा अभावका कारण अनलाइनबाट हुने पढाइका लागि बालबालिकालाई पूर्वाधार जुटाइदिन नसकेको भन्ने विवरणहरू पनि आइरहेका छन्।
आफ्ना तीनजना छोराछोरी भएकी काठमाण्डूकै अर्की अभिभावक धौलीदेवी खड्का पनि घरमा बसेर छोराछोरीले खासै पढेको जस्तो नलागेको बताउँछिन्।
उनले भनिन्, "तर विद्यालय लाग्यो भने पनि भिडभाड हुन्छ। कोरोनाकै डर लाग्छ। बच्चालाई मास्क लगाओ भनेर पठाउनु पर्ला।"
विद्यालय सञ्चालक के भन्छन्?
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनका अध्यक्ष टीकाराम पुरी सरकारले अन्य सबै क्षेत्र खोलेर विद्यालय मात्र बन्द गर्नु उचित नभएको बताउँछन्।
उनी अन्य क्षेत्र खुलेपछि अभिभावकहरू कामका लागि पनि बाहिर जानै पर्ने र बालबालिकासँग घरमा भेट हुने भएकाले घरमा बालबालिका सुरक्षित छन् र विद्यालयमा असुरक्षित छन् भन्ने तर्क वैज्ञानिक नभएको दाबी गर्छन्।
त्यस्तै धेरै विद्यार्थी भर्चुअल कक्षाबाट बाहिर रहेकाले पनि विद्यालय खोल्नुपर्ने उनको तर्क छ।
उनले भने, "स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पूरा गरेर हामीले पठनपाठनलाई अघि बढाउँदै पर्छ। सरकारले अब बालबालिकाका लागि पनि खोपको पहल गर्नुपर्छ।"
उनले सङ्क्रमण कम भएका क्षेत्रमा विद्यालय सञ्चालन गर्न पाइने निर्णय भएको र त्यसको अधिकार पालिकाहरूलाई दिइएकाले आफूहरूले स्थानीय तहहरूलाई विद्यालय खोल्न आग्रह गरिरहेको बताए।

तस्बिर स्रोत, RSS
स्वास्थ्य मन्त्रालयको भनाइ
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले चाहिँ बालबालिकाका हकमा अझै संवेदनशील हुनुपर्ने अवस्था रहेको बताए।
उनका अनुसार बालबालिकाका लागि खोप उपलब्ध नभएको र उनीहरूले स्वास्थ्य मापदण्ड पालन गर्ने सम्भावना कम हुने भएकाले जोखिम बढ्ने देखिन्छ।
उनले भने, "कोभिडभन्दा अघि जुन कक्षा कोठामा राखेर बालबालिकालाई राखेर पढाइएको थियो ती पूर्वाधारमा सुधार भएको पक्कै छैन। त्यसैले जोखिम बढी रहन्छ।"
नेपालमा कोभिडको तेस्रो लहरमा बालबालिका बढी जोखिममा पर्ने प्रक्षेपण मन्त्रालयले गरेको छ।
त्यसैलाई मध्यनजर गर्दै अहिले नै बालबालिकालाई भिडभाडमा लाने कार्य गर्नु उचित नहुने ठानेको उनले बताए।
तर मन्त्रालयले सम्भावित जोखिमलाई हेरेर कोभिड सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या बढे कसरी उपचार प्रभावकारी बनाउने भनेर स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन थालिएको उनले बताए।
विज्ञ के भन्छन्?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पालतको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुन बालबालिकामा कोभिडको जोखिम धेरै हुने भएकाले हतारमा विद्यालय सञ्चालन गर्दा सङ्क्रमण बढ्नसक्ने ठान्छन्।
उनी विद्यालयहरूले पूर्वाधारमा सुधार गर्ने अवस्था नरहेकाले एउटै कक्षाका विद्यार्थीलाई पनि "आलोपालो गरेर पढाउनु" उपयुक्त हुने सुझाव दिन्छन्।
त्यस्तै विद्यार्थी ओसारपसार गर्ने सवारीसाधनमा हुने भिड कम गर्नुपर्ने उनको सुझाव छ।
विद्यालय खोल्नै पर्ने र भौतिक उपस्थितिमा पठनपाठन गर्नुपर्ने अवस्थामा अन्य अतिरिक्त सुरक्षात्मक उपाय पनि अपनाउनु पर्ने उनको भनाइ छ।
डा. पुन भन्छन्, "हाम्रोमा शिक्षक र विद्यार्थी दुवै बोलेर पढाउने चलन छ। तर जति धेरै बोल्यो उति भाइरस फैलने डर बढी हुन्छ।"
"त्यसैले शिक्षकले लेखेर मात्र वा एकतर्फी मात्र बोलेर पढाउने तरिका अपनाउनु उपयुक्त हुन्छ।"








