कोरोना भाइरस नेपाल: एक करोड मात्रा कोभिड खोप लगाइयो; यो वर्षभित्रै सबैलाई खोप लगाउने सरकारको दाबी

खोप

तस्बिर स्रोत, RSS

    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

नेपालमा एक करोडभन्दा बढी मात्रा कोभिड खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बुधवारसम्म ४६ लाख ७७ हजारले पूर्ण मात्रा र ५४ लाख २५ हजारले पहिलो मात्रा कोभिड खोप लगाइसकेका छन्।

पहिलो खोप लगाएको सात महिनामै नेपालमा एक करोड मात्रा खोप लगाइनु सकारात्मक भएको जनस्वास्थ्यविद्हरू बताउँछन्।

तर जनस्वास्थ्यविद्हरू खोप लगाउने गति बढाउन, खोप लक्षित वर्गसम्म पुगेको छ/छैन हेर्न र भाइरसको उत्परिवर्तन अनुसारका खोप ल्याउने कुरालाई ध्यानमा राख्न सुझाउँछन्।

सकारात्मक

सङ्क्रामक रोग विज्ञ डा. अनुप सुवेदी भन्छन्, "हाम्रैजस्तो अल्पविकसित अरू धेरै मुलुकहरूमा यति मात्रामा खोप लगाएका छैनन्। त्यो हिसाबले जतिलाई लगाइएको छ, त्यो सकारात्मक हो।

"तर खोपको वितरण कति न्यायपूर्ण छ भन्ने कुरा पनि महामारी नियन्त्रण गर्ने हिसाबले उत्तिकै महत्त्वपूर्ण हो। नभए खोप कार्यक्रम असफल हुन्छ।"

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन पनि नेपालको खोपमा प्रगतिलाई सकारात्मक रूपमा लिनुपर्ने तर लगाउनुपर्ने बाँकीलाई पनि उत्तिकै ख्याल गर्नुपर्ने बताउँछन्।

कतिले पाए अहिलेसम्म खोप?

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार १८ वर्षमाथिका खोप लक्षित जनसङ्ख्या दुई करोड १७ लाख छ।

असोजसम्म नेपालले एकतिहाइ लक्षित जनसङ्ख्यालाई खोप लगाइसक्ने लक्ष्य राखेको छ।

"लक्षित १८ वर्षमाथिका जनसङ्ख्यामध्ये पूर्ण मात्रा खोप लगाउने लगभग २२ प्रतिशत छन् भने पहिलो मात्रा लगाउने २५ प्रतिशत छन्," मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले भने।

पहिलो वा पूर्ण मात्रा खोप लगाएका मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भइहाले पनि सिकिस्त हुने गरेको कमै पाइएकाले बाँकी जनसङ्ख्यालाई पनि खोप लगाउनेतर्फ सरकारको ध्यान हुनुपर्ने डा. पुन बताउँछन्।

"खोप लगाउनुपर्ने मानिस अझै पनि धेरै छन् भन्ने कुरा बुझ्नुपर्छ र ती सबैलाई लगाइसकेपछि मात्रै सङ्क्रमणको क्रम स्थिर रहन्छ र गम्भीर अवस्थाका बिरामीलाई उपचार गराउन सहज हुन्छ," डा. पुनले भने।

खोप

तस्बिर स्रोत, RSS

अहिलेसम्म नेपालले कोभिशील्ड, भेरोसेल र जोनसन एन्ड जोनसन गरी एक करोड ३७ लाख सात हजार ३० मात्रा खोप प्राप्त गरिसकेको मन्त्रालयको तथ्याङ्क छ।

त्यसमध्ये एक करोडभन्दा बढी मात्रा प्रयोग भइसकेको अवस्थामा बाँकी खोप दोस्रो मात्राको प्रतीक्षामा रहेकालाई र त्यसबाहेक ढुवानीको क्रममै रहेको मन्त्रालयले जनाएको छ।

नेपालको कूल जनसङ्ख्यामध्ये १७.९ प्रतिशत पहिलो मात्रा खोप लगाइसकेका छन् भने १५.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

सरकारले १८ वर्षमाथिका दुई करोड १७ लाख ५६ हजार मानिसलाई खोप लगाउने लक्ष्य राखेको हो।

तर सरकारको प्रयास सकारात्मक देखिए पनि भाइरसको प्रकृति परिवर्तन भइरहेका बेला कुन खोप बढी प्रभावकारी छ भनेर पनि हेरिनुपर्ने जनस्वास्थ्यविद् डा. सुवेदी बताउँछन्।

"कुन खोप सबैभन्दा बढी प्रभावकारी हुन्छ र त्यो कसरी ल्याउने? भारतमै बनेका खोप पनि डेल्टा भेरिअन्टविरुद्ध प्रभावकारी जस्तो देखिन्छ। त्यस्ता नयाँ खोप ल्याउने कुरामा पनि हामी जागरूक हुनुपर्ने हो," डा. सुवेदीले भने।

"हामीले हेर्दा सरकारको गृहकार्य त्यता अलि पुगेको छैन भन्ने लागिरहेको छ।"

यो वर्षभित्रै सबैले खोप पाउलान्?

खोप

तस्बिर स्रोत, RSS

प्रधानमन्त्री शेरबहादुर देउवाले पद सम्हालेपछि पहिलो पटक संसद्‌मा सम्बोधन गर्दै आफ्नो सरकारको पहिलो दोस्रो र तेस्रो प्राथमिकता नै खोप रहेको बताएका थिए।

यो वर्षको अन्तिममा अर्थात् चैत महिनासम्ममा सबै जनसङ्ख्यालाई खोप लगाइसक्ने उनले बताएका थिए।

प्रधानमन्त्रीले भनेअनुसार अहिलेसम्मको अवस्था हेर्दा चैतसम्ममा १२ वर्षमाथिका सबै जनसङ्ख्यालाई खोप लगाउन सम्भव रहेको डा. अधिकारी बताउँछन्।

थप खोप कहिले आउँछ?

नेपालले कोभ्याक्स सुविधा अनुसार, आफैँ खरिद गरेर र अनुदानस्वरूप पाउने गरी करिब पाँच करोड खोप आउने क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसमध्ये असोजभित्र चीनबाट खरिद गरिएको ६० लाख मात्रा र अनुदानमा १६ लाख मात्रा भेरोसेल एवम् भारतबाट खरिद गरिसकिएको १० लाख मात्रा कोभिशील्ड खोप आउने क्रममा रहेका छन्।

अमेरिकाबाट १८ वर्षमुनिका बालबालिकाका लागि ल्याउने भनेको ६० लाख मात्रा खोप पनि माघभित्र आइसक्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै १२ देखि १८ वर्षका बालबालिकाले पनि खोप लगाउनका लागि अमेरिकाबाट खोप ल्याउने तयारी गरिएको मन्त्रालयका डा. अधिकारीले बताएका हुन्।

"१८ वर्षमाथिका अहिलेको लक्षित समूह सबैलाई खोप लगाइसकेपछि खोप राख्ने ठाउँ हुन्छ अनि चिसो तापक्रम कायम गर्न सक्ने भएपछि माघ महिनाभित्र ल्याउने भन्ने हाम्रो तयारी हो," उनले भने।

एशियामा नेपालको अवस्था कस्तो छ?

एशियामा भुटानले सबैभन्दा धेरै जनसङ्ख्यालाई पूर्ण मात्रा खोप लगाइसकेको छ। त्यहाँ जनसङ्ख्याको ६३.२१ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्।

त्यसपछि श्रीलङ्काले ३८.९४ प्रतिशत जनसङ्ख्यालाई खोप लगाएको छ।

भारतले दुवै मात्रा खोप १०.६१ प्रतिशतलाई लगाएको छ भने बाङ्ग्लादेशले अहिलेसम्म जम्मा ४.७५ प्रतिशतलाई मात्रै खोप लगाएको छ।

जनसङ्ख्याको हिसाबले नेपालले अहिलेसम्म लगाएको खोपको मात्रा सन्तोषजनक रहेको डा. अधिकारी बताउँछन्।

खोप

तस्बिर स्रोत, RSS

"थोरै जनसङ्ख्या रहेको भुटान र आफैँ उत्पादक रहेको भारतबाहेक प्रयासका आधारमा हेर्ने हो भने खोप लगाउने कुरामा नेपालको अवस्था तेस्रो अथवा चौथो स्थानमा पर्ने गरेको छ जुन राम्रो हो," उनले भने।

उमेर समूहका आधारमा कति उमेरसम्मका कति मानिसले खोप पाए भन्ने तथ्याङ्क आउन बाँकी रहेको मन्त्रालयको भनाइ छ।

तर छुटफुटबाहेक ५० वर्षमाथिका सबै र ४० माथिका धेरैजसोले लगाइसकेको मन्त्रालयको दाबी छ।

"१८ वर्षदेखि ४० वर्षका पेसागत हिसाबले अग्रपङ्क्तिमा रहेका काम गर्नेले लगाएका छन् र अरू व्यक्तिचाहिँ बाँकी छन्," डा. अधिकारीले भने।

* सच्याइएको: यो सामग्रीमा यसअघि प्रकाशित तथ्याङ्कहरू सच्याइएको छ। यसबाट पर्न गएको असुविधाको लागि क्षमायाचना गर्दछौँ। - सम्पादक