सडकको मर्मतसम्भार किन सधैँ हतारोमा

Kathmandu Roads

दक्षिण र दक्षिणपूर्वी एसियाली राष्ट्रहरू सदस्य रहेको सङ्गठन बिम्स्टेकको सम्मेलन मुखैमा आएपछि राजधानीमा सडक मर्मतको काम धमाधम हुँदैछ।

तर सर्वसाधारणले भने ठाउँठाउँमा बाटो बन्द भएकाले सास्ती खेप्नुपरेको छ।

भदौ दोस्रो साता काठमाण्डूमा बिम्स्टेकको शिखर सम्मेलनमा सहभागी हुन सात राष्ट्रका नेताहरू आउँदैछन्।

सडक निर्माण र मर्मतका काम समयमै नहुने र यस्ता कार्यक्रमको मुखैमा आएर अन्तिम अवस्थासम्म तात्तिने सरकारी प्रवृत्ति यसपटक पनि दोहोरिएको हो।

काम सक्ने चटारोमा दिउँसो पनि बाटोमा अवरोध हुँदा धेरै ठाउँमा सवारी आवागमन समेत अस्तव्यस्त भइरहेको छ।

पुरानै

मेलम्ची खानेपानी आयोजनाका लागि भनेर काठमाण्डूका सडक एक वर्ष अघिदेखि नै खन्न थालियो।

तर मेलम्ची आउने समयसीमा बारम्बार सरिराख्दा सर्वसाधारण भने भत्किएका सडकको पीर खेपिरहेका छन्।

कालोपुलमा बस्ने नम्रता श्रेष्ठको दुई महिनाअघि सडकछेउको खाल्डोमै खसेर खुट्टा भाँच्चियो।

उनी भन्छिन्, "बाटो बनाउने काम अधकल्चै छाडिएको हुन्छ। अँध्यारोमा हिलो र खाल्डो छुट्याउनै नसक्दा खुट्टा भाँचिँदा एक महिना घरमै बस्नुपर्‍यो।"

निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काम सुरु भएका सडकहरू कालोपत्रे गर्ने काम कात्तिकभित्रै सक्ने बताएका छन्।

उनका अनुसार अब सडक निर्माणको ठेक्का पाउनेले नै तीन वर्ष मर्मत गर्नुपर्ने व्यवस्था ल्याउन लागिएको छ।

उनी भन्छन्, "अब सडकमा कतै खाल्डो भएको पाइएमा जानकारी पाएको २४ घण्टाभित्र पुर्ने व्यवस्था ल्याउँदैछौँ।"

यद्यपि उनले सर्वोच्च अदालतको निर्णयले विकास निर्माणका काममा अप्ठ्यारो सिर्जना गरिराखेको समेत बताए।

समस्या

Kathmandu Roads

सरकारी कार्यक्रमहरूमा नयाँ सडक निर्माण र तिनलाई चौडा पार्ने कामहरू मात्र प्राथमिकतामा पर्ने र तिनको नियमित मर्मतसम्भारलाई ख्याल नगरिने बानीले गर्दा वर्षेनी यस्तो समस्या दोहोरिने गरेको विज्ञहरू बताउँछन्।

सडकको गुणस्तरसँग प्रत्यक्ष रूपमा जोडिएका खानेपानी र ढललाई समेत एकीकृत रूपमा नहेरिँदा सडकहरूको नियमित मर्मतमा प्रक्रियागत जटिलता रहेको अधिकारीहरू बताउँछन्।

काठमाण्डूको खानेपानी सञ्जालमा अधिक मात्रामा हुने चुहावटका कारण सडकमा खाल्डाखुल्डी रहेको अधिकारीहरूको मत छ।

पूर्वाधारविज्ञ कमलराज पाण्डे भन्छन्, "मर्मतका कामहरू ढिलो नगरीकनै सक्नुपर्नेमा त्यसको समयावधि लम्बिनु भनेको सडकको अवस्थालाई झन् दुरावस्थातिर धकेल्नु हो।"

दिगो सडकका लागि एकीकृत मर्मतसम्भार अभ्यासको आवश्यकतामा विज्ञ तथा अधिकारीहरू एकमत छन्।