पोखरा विमान दुर्घटना : मुख्य कारण र कमजोरीबारे जाँच आयोगको प्रतिवेदन के भन्छ

तस्बिर स्रोत, Reuters
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
गत वर्ष माघ १ गते ७२ जनाको ज्यान जाने गरी पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको सम्भावित कारण “मानवीय त्रुटि” हुन सक्ने उक्त दुर्घटनाको जाँच गर्न गठित आयोगले जनाएको छ।
आयोगले सरकारलाई बुझाएको अन्तिम प्रतिवेदनमा चालकको त्रुटि नै दुर्घटनाको "मुख्य सम्भावित कारण" हुन सक्ने उल्लेख गरिएको हो।
विमान उडाइरहेका पाइलटले त्रुटिपूर्ण रूपमा दुवै “कन्डिशन लिभर” तान्दा इन्जिन बन्द भई दुर्घटना निम्तिएको हुन सक्ने त्यसमा लेखिएको छ।
यद्यपि एक वरिष्ठ पाइलटले उक्त प्रतिवेदनले औँल्याएको दुर्घटनाको सम्भावित कारणप्रति अविश्वास व्यक्त गरेका छन्।
आयोगका सदस्यसचिवले अन्तर्राष्ट्रिय मापदण्डअनुसार "प्राविधिक परीक्षणहरू" गरेर प्रतिवेदन तयार पारिएको र त्यसमा विभिन्न सम्भावित कारणको पहिचान गरिएको बताए।
आयोगले बिहीवार उक्त दुर्घटनाको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाएको थियो।
प्रतिवेदनमा के छ?
जाँच आयोगका सदस्यसचिव एवं पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले “ठूलो विमानस्थल, सफा मौसम र ‘कन्डिशन’को जहाज एवं तालिमप्राप्त चालकहरू हुँदाहुँदै” पनि दुर्घटना भएको बताए।
उनले भने, “दुर्घटनाको अध्ययन गर्दा त्यसका विभिन्न कारण हुन सक्ने देखिएका छन् तर अन्तिममा ‘ट्रिगरिङ फ्याक्टर’ के हो भनेर हेर्दा जहाज चलाइरहेको को-पाइलटले ‘फ्ल्याप-३०’ भन्दा ‘इन्स्ट्रक्टर पाइलट’ले दुवै कन्डिशन लिभरहरू तानेको हुन सक्ने सम्भावित कारण देखिन्छ।”
त्यसरी पाइलटले दुवै कन्डिशन लिभरहरू तानेपछि जहाज ‘फेदर पोजिशन’मा गएको र अगाडि बढ्न नसकेको कारण खसेर दुर्घटना भएको हुन सक्ने आयोगको प्रतिवेदनमा उल्लेख छ।

तस्बिर स्रोत, Reuters
लामिछानेका अनुसार चालकले झुक्किएर ‘कन्डिशन लिभर’हरू तानेको हुन सक्ने सम्भावना देखिन्छ।
त्यसरी झुक्किनुमा पाइलट र को-पाइलटबीच “अवतरणका बेलामा अनावश्यक कुराकानी हुनु” पनि एउटा कारण हुन सक्ने लामिछानेले बताए।
त्यस्तै दुवै पाइलटका लागि उक्त धावनमार्ग नयाँ हुनु र उनीहरूले विशेष तालिम नपाउनु पनि अर्को कारण हुन सक्ने लामिछाने बताउँछन्।
त्यस्तै जहाज उडाउनुअघि पूरा गर्नुपर्ने एसओपी भनिने ‘स्ट्यान्डर्ड अपरेटिङ प्रसीजर’ पनि ‘क्रू मेम्बर’ अर्थात् चालकदलले पूरा नगरेको पाइएको उनले बताए।
प्रतिवेदनमा पनि उक्त कुरा उल्लेख गरिएको छ।
प्रतिवेदनप्रति ‘अविश्वास’
सरकारी प्रतिवेदनले दुर्घटनाको सम्भावित कारण मानवीय त्रुटि देखाए पनि वरिष्ठ विमानचालक वाईके भट्टराईले त्यसप्रति आफूलाई विश्वास नलागेको बताए।
उनले भने, “दुवै कन्डिशन लिभरहरू एकैपटक तानिएर फेदर कन्डिशनमा जान्छन् भने त्यो त जहाज निर्माताको पो गल्ती भयो नि! कन्डिशन लिभर जुन बेलामा फेदर कन्डिशनमा गएको छ त्यस्तो त हुँदैन। दुवै इन्जिन फेल हुने अवस्था कसरी आउँछ?”
“पाइलटले त्यसरी दुवै कन्डिशन लिभरलाई तान्ने त हुँदैन। त्यसो हो भने जहाज निर्माताले कस्तो जहाज बनाएछ त?”
उनले त्यस्तो अवस्था आएको भए पाइलटलाई मात्र दोष नलगाएर “डिजाइनिङ एरर” पनि भनिनुपर्ने बताए।

भट्टराईले भने, “यो सबै भनेको नेपाल नगरिक उड्डयन प्राधिकरणको कुनै पनि दोष छैन भन्ने देखाउनका लागि बनाइएको जस्तो भयो। त्यसैले मलाई यसमा विश्वास छैन। म पूर्ण रूपमा यसलाई मान्दिनँ। पाइलटको मात्र दोष हुँदै होइन।”
लामिछानेले चाहिँ अन्तर्राष्ट्रिय मापदण्डहरूअनुसार प्राविधिक विश्लेषण गरेर आयोगले सम्भावित कारणबारे प्रतिवेदनमा उल्लेख गरेको बताए।
बीबीसीले कुराकानी गरेका दुर्घटना भएको एटीआर जहाज नै चलाउने तथा प्रशिक्षण पनि दिने वरिष्ठ पाइलटले भने भट्टाराईले भनेको जस्तो एकैपटक दुवै कन्डिशन लिभर तान्ने अवस्था बन्नु भनेको अपवाद जस्तै भएको बताए।
यद्यपि उनले भने, “प्रतिवेदनमा उल्लेख भएका कुरा हेर्दा त्यो कुनै इन्टेन्शनका कारणभन्दा पनि झुक्किएर एकैपटक तानेको जस्तो देखिन्छ। जसरी हामीले कहिलेकहीँ झुक्किएर गाडीका दुवै ब्रेक एकैपटक लाउँछौँ त्यसै गरी।”
“यस्तो अवस्था हत्तपत्त नआउने भएकाले नै यसलाई मानवीय त्रुटि भनिएको हो नि! मानवीय त्रुटिमा त हुन सक्छ नि!”

आयोगले देखेका दुर्घटनालाई बल पुर्याउने कारण
आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा निम्न कुरालाई दुर्घटनालाई बल पुर्याउने कारणहरू मानिएको छ:
- नयाँ विमानस्थल र नयाँ भूगोल
- उच्च कार्यबोझ र तनाव
- अवतरणको प्रयास गरिएको रूटमा जहाज घुम्ने ठाउँ एकदमै साँघुरो हुनु
- अनुभव र मूल्याङ्कनबिनै धावनमार्ग-१२ तर्फ जानु
- धावनमार्ग-१२ मा अवतरण गर्न पर्याप्त प्राविधिक दक्षता र तालिमको अभाव
- चालकदलले एसओपी पूरा नगर्नु
- नयाँ विमानस्थलबारे पर्याप्त मात्रामा जानकारीहरू प्रकाशित नभएको हुनु र त्यसले चालकदललाई अन्योलमा पार्ने स्थिति बन्नु
कम्पनी र प्राधिकरणमाथि पनि प्रश्न

तस्बिर स्रोत, MoCCT
उक्त प्रतिवेदनमा उल्लेख भएका कतिपय कुराहरूले उक्त जहाज चलाउने कम्पनी यती एयरलाईन्सप्रति पनि केही प्रश्न उठाएको देखिन्छ भने नागरिक उड्डयन प्राधिकरणले पनि पूरा गर्नुपर्ने कतिपय कुरा पूरा नगरेको देखाउँछ।
नयाँ विमानस्थलबारे जानकारी दिने ‘एरोनटिकल इन्फरमेशन पब्लिकेशन’ (एआईपी) मा पर्याप्त जानकारी नभएको उक्त जाँच आयोगले पाएको प्रतिवेदनमा उल्लेख छ।
एआईपीमा विवरणहरू अद्यावधिक गर्ने काम प्राधिकरणले गर्नुपर्नेमा त्यो नगरेको त्यसले पुष्टि गर्छ।
त्यसबारे बीबीसीले प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलालाई सोधेको थियो। तर उनले उक्त प्रतिवेदनबारे तत्काल कुनै प्रतिक्रिया नदिने बताए।
वरिष्ठ पाइलट भट्टराई एआईपीका आधारमा नै पाइलटले धेरै जानकारी पाउने हुँदा त्यो महत्त्वपूर्ण बन्ने बताउँछन्।
आयोगले दिएका सुझाव
आयोगले आगामी दिनमा त्यस्ता खाले दुर्घटनाहरू हुन नदिनका लागि विभिन्न सुझावहरू पनि दिएको छ।
आयोगले विमान सेवा सञ्चालक, प्राधिकरण र पर्यटन मन्त्रालयलाई छुट्टाछुट्टै सुझाव दिएको छ।
उसले विमान सेवा सञ्चालकले नियामक प्राधिकरणले तोकेका मापदण्डहरूलाई निरन्तर रूपमा पालन गर्नुपर्ने सिफारिस गरेको छ।
त्यस्तै विमान सेवा सञ्चालकले नयाँ विमानस्थलमा आफ्नो सेवा सुरु गर्नुपूर्व पर्याप्त मात्रमा तालिम दिनुपर्ने, सुरक्षा विभागले चालकदलका सादस्यहरूले एसओपी पूरा गरे नगरेको विषयमा जहाज उडाउनुपूर्व जाँच गर्नुपर्ने सिफारिस आयोगको छ।

तस्बिर स्रोत, Reuters
नयाँ क्षेत्रमा उडान गर्ने बेलामा त्यस्ता कम्पनीहरूले मानवीय पक्षबारे पनि विशेष ध्यान दिनुपर्ने र प्राविधिक रूपमा चालक दललाई दक्ष बनाउनुपर्ने सिफारिस त्यसमा गरिएको छ।
प्राधिकरणले पनि कुनै पनि हवाई अड्डालाई प्रमाणित गर्ने बेलामा सुरक्षित उडान हुन्छ भन्ने सुनिश्चित गर्न सबैखाले प्राविधिक पक्षको अध्ययन र विश्लेषण गर्नुपर्ने सुझाव आयोगको छ।
त्यस्तै प्राधिकरणले नयाँ विमानस्थलमा व्यावसायिक उडान गर्नुपूर्व कताबाट उडान र अवतरण गर्न मिल्छ भन्नेसहित त्यहाँका सबै प्राविधिक पक्षको विश्लेषण गर्नुपर्ने र त्यसको स्पष्ट मापदण्ड बनाउनुपर्ने सुझाव पनि त्यसमा दिइएको छ।
पर्यटन मन्त्रालयले पनि शिकागो कन्भेन्शनअन्तर्गत अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नका लागि नियमित रूपमा उडान सुरक्षाको चेकजाँच गर्ने निकाय बनाउनुपर्ने सुझाव पनि त्यसमा दिइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








