दुर्घटनामा बितेका मृतकको परिवारको प्रश्न: वियोग र व्यक्तिगत जानकारी सार्वजनिक नगर्दा हुँदैन?

तस्बिर स्रोत, Getty Images
- Author, स्वेच्छा राउत
- Role, बीबीसी न्यूज नेपाली
यति एअरलाइन्सको एटिआर-७२ विमान पोखरामा दुर्घटना हुँदा लोक गायिका नीरा छन्त्यालले पनि ज्यान गुमाइन्।
बहिनी गुमाएकी उनकी दिदी शव सनाखत गर्ने पालो पर्खिरहेकी थिइन्। घटनापछिको परिस्थितिबारे जानकारी सङ्कलन गर्न पुगेका एक पत्रकारले उनीतर्फ माइक सोझ्याए।
त्यस अन्तर्वार्तामा छन्त्यालकी दिदी नम्र आवाजमा बोल्छिन्, "धेरै सञ्जालहरूमा बहिनीलाई श्रद्धाञ्जली दिएको फोटोदेखि जलेको भिडिओसम्म हाल्नु भएको छ। म त्यो हेर्न पनि सक्दिनँ। आमा त अझै बेहोस हुनुहुन्छ।”
“उनको खुट्टा भाँचिएर पछाडि फर्किएको फोटोहरू पनि देखेँ। सञ्जालमा त्यस्तो नराखिइदिए पनि हुन्थ्यो। नीरा बहिनीको आफन्त भएर हेर्दा त्यो सबै हेर्न सकिँदैन,” उनले थप भनेकी छन्।
तर, दुर्घटनापश्चात् सामाजिक सञ्जालदेखि सञ्चार माध्यमहरूसम्म विमान दुर्घटनासम्बन्धी विभिन्न जानकारी, तस्बिर र भिडिओहरू सार्वजनिक भइरहेका छन्। कतिपयको व्यक्तिगत जानकारीहरू टिकटकमा भाइरल भएका छन् भने “विमानमा सवार कसका कारण दुर्घटना भयो?” भन्नेबारे विभिन्न टीकाटिप्पणी समेत भइरहेका छन्।
तीमध्ये अधिकांश सामाग्री आफूले हेर्न नसकेको बताउँछन् विमानकी को-पाइलट अन्जु खतिवडाका आफन्त शेखर रेग्मी।
”व्यक्तिगत गोपनीयता र वास्तविकताको मतलब नगरी सम्पूर्ण जानकारी सार्वजनिक गरिएको छ। कतिपय जानकारी अतिरञ्जित गरिएको छ जसले परिवारलाई असर पुर्याएको छ,” उनले बीबीसीसँग भने।
दुर्घटना र मृत्युजस्तो संवेदनशील विषयलाई समेत “समाचार बिकाउने” अवसरको रूपमा प्रयोग गर्नु खेदजनक भएको उनको विचार छ।
उनी भन्छन्,”सत्यतथ्य नबुझी हरेक व्यक्तिगत तथा पारिवारिक जानकारी समाचार बनाउनु निन्दनीय छ।”
यतिबेला अन्जु र उनको नाबालक छोराबीच घरभित्र भएको कुराकानीका दृश्यसमेत टिकटकमा भाइरल छ।
उनीहरूको परिवारबाट खतिवडाकी बहिनीका श्रीमानको तस्बिरको समेत गलत प्रयोग भयो। दुर्घटनाग्रस्त विमानको चालक भन्दै यति एअरकै को-पाइलट रहेका प्रमोद पौडेलको तस्बिर सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा छाएको रेग्मीले बताए।
उनले भने, ”शोकसभामा समेत अन्जुको सँगै जीवित ज्वाइँको फोटो राखेको पायौँ। त्यसो गर्नु हतारको नतिजा हो। त्यसले परिवार र आफन्तमा कस्तो असर पार्यो भन्ने समेत सोचिएन।“
सञ्चार संस्था वा व्यक्ति विशेषले त्यसरी कसैको तस्बिर र व्यक्तिगत जानकारी परिवारको अनुमति/इच्छा विपरीत सार्वजनिक गर्नुलाई वैयक्तिक गोपनीयताको हननका रूपमा व्याख्या गर्छन् कानुनविद् कृष्णभक्त पोखरेल।
के छ कानुनी प्रावधान?
नेपालको संविधानको धारा २८ ले प्रत्येक नेपालीलाई गोपनीयताको हक सुनिश्चित गरेको छ।
वैयक्तिक गोपनीयता सम्बन्धी ऐन २०७५ ले पनि व्यक्तिको शारीरिक तथा निजी जीवनको गोपनीयता स्वयं व्यक्तिमा निहित हुने जनाएको छ।
“कसैले कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने, आघात पुग्ने वा बेइज्जत हुने गरी कुनै पनि विषय लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनै पनि प्रकारले सार्वजनिक गर्नु वा गराउन नहुने” ऐनमा उल्लेख गरिएको छ।
सम्बन्धित व्यक्तिको मन्जुरीमा वा उसले आफूखुसी सार्वजनिक गरिसकेको विषय भएमा मात्र निजी जीवनको गोपनीयता खुलासा गर्न सकिने जनाइएको छ। त्यस्तै अनुसन्धानका लागि पनि व्यक्तिको विवरण प्रयोग हुनसक्ने उल्लेख छ।
ऐनमा “प्रत्येक व्यक्तिलाई पारिवारिक जीवन कायम राख्न वा पारिवारिक अखण्डता कायम राख्नको लागि पारिवारिक गोपनीयता कायम राख्न पाउने अधिकार हुने” स्पष्ट लेखिएको छ। यद्यपि, को-पाइलट खतिवडाको हकमा उनले “जीवनभर सीमित मानिसहरूबीच कायम राखेको जानकारी यत्रतत्र भएको” रेग्मीको आरोप छ।
पीडित परिवारको भावना सम्बोधन हुनुपर्नेमा मृतकको परिवारलाई थप पीडा र आघात हुने किसिमका सामाग्री सम्प्रेषण भएको विज्ञ पोखरेलले बताए।
“मृतकहरूको विगत, यात्रा गर्नुको सन्दर्भ वा शरीरको अवस्थाको गोपनीयता राख्ने कुरामा राज्यस्तरदेखि सबैजना सचेत हुनुपर्ने हो। नत्र पीडित परिवारमा झन् पीडा थपिरहन्छ।“
“यस्ता कुरा पटकपटक प्रसारण गर्नुभन्दा बढी असंवेदनशील विषय अरू हुँदैन। पीडितको सुरक्षाको सबै अवयवहरूलाई बढो संवेदनशील ढङ्गमा पूरा गर्नुपर्छ।“
सामाजिक सञ्जाल प्रयोगकर्ताले यो विषय रमाउने र सञ्चारकर्मीले कमाउने विषय होइन भनेर बुझ्नु पर्ने उनको धारणा छ।
“गोपनीयता मानव अधिकारको प्रमुख तत्त्वको रूपमा मौलिक हकमा लेखेका छौँ। त्यसैले कसैको गोपनीयता भङ्ग हुँदा त्यसले सिङ्गो परिवारमा पार्ने असरबारे गम्भीर भएर सोच्नै पर्छ,” उनले आफ्नो मत राखे।

तस्बिर स्रोत, Getty Images
नियमन कसले गर्ने?
पत्रकार आचारसंहिता २०७३ ले पनि पत्रकार र सञ्चारमाध्यमको कर्तव्यका रूपमा कसैको गोपनीयताको हकको सम्मान गर्नुपर्ने जनाएको छ।
तर ठूलो मानवीय क्षति भएको दुर्घटनाबारे समाचार सम्प्रेषण गर्दा केही सञ्चारमाध्यमहरू सजग नभएको र गोपनीयताको हनन भएको स्विकार्छन् प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत।
“यस्ता विषयमा कुनै पनि जानकारी सार्वजनिक गर्न हतार गर्नु हुँदैन। त्यसलाई पुष्टि गर्न समय लिनु पर्छ। संवेदनशील हुनुपर्छ,” उनले भने।
विशेषगरी युट्युबलगायत सामाजिक सञ्जालहरूमा गोपनीयता भङ्ग गरिने खालका समस्या देखिएको उनको ठहर छ।
“सूक्ष्म ढङ्गले निगरानी गर्ने र सम्बन्धित माध्यमहरूलाई त्यस्ता सामाग्री हटाउन आग्रह गरेका छौँ। कतिपयको ठेगाना, सम्पर्क नम्बर वा सञ्चालक को हुन् भन्नेबारे थाहा हुँदैन। दर्ता भएका र प्रणालीमा चलेका अनलाइनहरूको हकमा भने आन्तरिक रूपमा छानबिन गरिरहेका छौँ,” बस्नेतले जानकारी दिए।
प्रश्न गरिएका सामाग्रीहरूको हकमा जवाफ दिने वा सामग्री हटाउने काम भएको उनको दाबी छ।
केही मानिसहरूले काउन्सिलले आफ्नो कारबाही पत्राचारमा मात्र सीमित राख्ने गरेको छ नि? भन्ने प्रश्नमा बस्नेत भन्छन्:
“पत्राचार कारबाहीको एउटा प्रक्रिया हो। गल्ती गर्नेहरूलाई क्षमा माग्न वा सामाग्री हटाउन लगाउँछौँ। नहटाए प्रेस प्रमाणपत्र जफत गर्ने जस्ता अन्य कारबाही हुन्छ।"
कानुनी पाटोमा कस्ता उपचार?
व्यक्तिगत प्रवृत्तिको सुधार गर्नुलाई नै गोपनीयता सुनिश्चित गर्ने पहिलो उपायका रूपमा प्रस्तुत गर्छन् कानुनविद् कृष्णभक्त पोखरेल।
“सञ्चारकर्मीलाई मैले यस्तो देखाएँ भन्ने दम्भ हुन छोड्नु पर्छ। दुर्घटनाबारे संवेदनशील नभई दिइने जानकारीलाई हिरोइज्मको विषय बनाउनु हुँदैन। आम रूपमा प्रवृत्तिमा सुधार गर्नुपर्छ,“ उनले भने।
यदि कसैले आफ्नो शैली परिवर्तन गर्दैन भने वा कसैको व्यक्तिगत विषयलाई अन्यथा ढङ्गबाट प्रयोग गर्छ भने कानुनी बाटोबाटै निरुत्साहित गरिनुपर्ने उनको तर्क छ।
परिवारले देख्न चाहेको फरक पाटो
अन्जु खतिवडाको परिवारले भने अहिले समाचार हेर्न सकेका छैनन्।
“हामीले सुरुवातमा एक, दुई वटा समाचार हेरेपछि अरू खोलेर हेर्न सकेका छैनौँ। आफैलाई थप पीडा कसरी दिनु?,” खतिवडाका काका कमल खतिवडाले सुनाए।
“एउटा कुराभन्दा फरक भएर समाचार आउँछ। त्यसैले हामीले कसैलाई प्रतिक्रिया नै दिन छाड्यौँ। तर पनि तस्बिरहरू कहाँबाट कसले कसरी प्रयोग गरिरहेको छ समेत थाहा छैन,” उनले भने।
अन्जु खतिवडा कसैकी छोरी, श्रीमती र आमा थिइन्। सँगै उनी एक व्यावसायिक विमानचालक थिइन्।
विमान दुर्घटनाग्रस्त भएपछि उनको “श्रीमानको सपना र वैवाहिक जीवन” समाचारको केन्द्र बने तर विमानचालक बन्नु अघि र पछिका सङ्घर्षबारे कुनै सोधखोज नभएको उनी निकट आफन्तहरू बताउँछन्।
उनको साहस, अठोट र सङ्घर्षको कुरामा कसैले ध्यान नदिएको खतिवडा बताउँछन्।
“ऊ एकदम हिम्मतिलो र केही गर्छु भनेपछि अठोट नछोड्ने मान्छे थिई। निडर र तीक्ष्ण। म गर्छु भनिसकेपछि गरेरै छाड्ने स्वभाव थियो। निकै स्वाभिमानी। खोइ त यी कुराहरू आएको?”
यद्यपि, आफूहरूको अपेक्षा अनुरूप केही नभए पनि, यथार्थ लेखिदिए र फोटो प्रयोग गर्दा गोपनीयता कायम गरिदिए धेरै मद्दत हुने खतिवडा बताउँछन्।







