पोखरा विमान दुर्घटनाः यती एअरलाइन्सको जहाजमा हराइरहेका मानिसको खोजी किन जटिल

तस्बिर स्रोत, Getty Images
पोखराको सेती नदी खोँचमा भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा हराइरहेका चार जनाको खोजी सोमवार बिहानैबाट तीव्र पारिएको छ।
आइतवार अबेरसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूले दुर्घटनास्थलमा ६८ जनाको शव फेला पारेका थिए। तीमध्ये ६६ जनाको शव अस्पताल लगिसकिएको छ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले सोमवार बिहान ७ बजेबाट दोस्रो दिनको खोजी कार्य सुरु भएको जानकारी दिए।
"हराइरहेका बाँकीको खोजी आज मुख्य प्राथमिकता हुन्छ," प्रवक्ता भण्डारीले भने।
के चार जना मात्र हराइरहेका हुन्?
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले भने हराइरहेका व्यक्तिको सङ्ख्या छ हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।
"दुई जनाको दोहोरो गणना भए जस्तो देखिएको छ। अस्पतालमा अहिलेसम्म ६६ जनाको मात्रै शव पुगेको अवस्था रहेछ," उनले भने।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले कतिपय शवहरू क्षतविक्षत अवस्थामा रहेको र एकै व्यक्तिको दोहोरो गणना गरिएको हुन सक्नेबारे आफूहरूले बुझिरहेको बताएका छन्।
"सग्लो शरीर नभएका कारण दोहोरो गणना भएको हो कि भन्ने कुरा पनि आएको छ। हामी बुझ्दै छौँ," उनले भने।
हामीलाई के थाहा छ
७२ जना यात्रु र चालकदलका सदस्य
१५.५ वर्षअघि निर्मित विमान
9N-ANCविमानको दर्ता नम्बर
काठमाण्डूबाट पोखरा उडेको थियो
पोखरामाविमानस्थलनजिकै सेती खोँचमा दुर्घटनाग्रस्त
उद्धारमा कस्तो जटिलता?
ढकालका अनुसार उद्धारमा ८०० सुरक्षाकर्मी परिचालन गरिएको छ।
यद्यपि विमान दुर्घटना भएको ठाउँमा खोँच र नदी भएका कारण उद्धारमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन्।
"खोँचमा जहाज टुक्राटुक्रा भएर उछिट्टिएका कारण भग्नावशेषमा पुरिएको ठाउँमा पुग्न भर्याङ र डोरीको प्रयोग गरेर जानुपर्ने अवस्था छ," सैनिक प्रवक्ता भण्डारीले भने।
सहायक प्रतिअ ढकालले खोँचको पुछारमा रहेको नदीमा पनि खोजी भइरहेको जानकारी दिए।
शव कहिले हस्तान्तरण हुन्छ?
दुर्घटनामा ज्यान गुमाउने यात्रु र चालकदलका सदस्यहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र पहिचानको काम भइरहेको अधिकारीहरूले बताएका छन्।
सोमवार बिहानसम्म २६ जनाको पहिचान भइसकेको छ। विमान दुर्घटनापछि आगो लागेका कारण केही शवहरू पहिचान गर्न कठिन पर्न सक्ने ढकालले बताए।
अर्का सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले पहिचान भएका शवहरू परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया सोमवारबाट सुरु हुने जानकारी दिए।
कास्कीका निवासी मृतकहरूको शव पोखराबाटै बुझाइने र बाँकी शव काठमाण्डू पठाइने अधिकारीहरूले बताएका छन्।
"पहिचान भएका शवहरू परिवार र आफन्तलाई बुझाउने तयारी गर्दै छौँ। पहिचान नभएका र विदेशी नागरिकहरूका शव पनि काठमाण्डू पठाइनेछ," उनले भने।
Hull occurrences in Nepal
दुर्घटनामा भारतीय, रुसी, कोरियाली, आइरिश, अस्ट्रेलियाली, आर्जेन्टिनी र फ्रान्सेली गरी १५ जना विदेशी नागरिक परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
"विदेशी नागरिकको हकमा हामीले सम्बन्धित दूतावासहरूसँग सम्पर्क गरिसकेका छौँ। दूतावासको समन्वयमा शव पहिचान र हस्तान्तरणको काम हुन्छ," प्राधिकरणका प्रवक्ता निरौलाले भने।
विमान आइतवार बिहान १०:५० बजे अन्तिम पटक सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यती एअरलाइन्सले आफ्नो विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा सोमवार आफ्ना सबै उडानहरू स्थगित गरेको छ।
प्राधिकरणका अनुसार अहिले उद्धारकार्यमा ध्यान केन्द्रित भएकाले ककपिट भोइस रेकर्डरको खोजी गर्न अझै बाँकी नै छ।
शोकमा सार्वजनिक बिदा, सरकारको आलोचना
आइतवारको दुर्घटना नेपालको आन्तरिक हवाई उड्डयनको इतिहासकै सबैभन्दा ठूलो भएको जानकारहरूले बताएका छन्।
सरकारले यती एअरलाइन्सको विमान दुर्घटनाको शोकमा माघ २ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
तर कतिपयले सार्वजनिक बिदा दिने निर्णयको आलोचना गरेका छन्।
चिकित्सक रामेश कोइरालाले सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक बिदाका कारण सोमवारका लागि तय भएका मुटुका सातवटा शल्यक्रिया स्थगित गर्नुपर्ने अवस्था आएको बताएका छन्।
पूर्वसम्पादक नारायण वाग्लेले पनि "दुर्घटना रोक्न झन् काम गर्नुपर्ने होइन?" भन्दै प्रश्न गरेका छन्।

Yeti airlines crash 2004-2023

नेपालमा भएका केही विमान दुर्घटना
- मे २०२२ - पोखराबाट जोमसोमका लागि उडेको एअरको यात्रुवाहक ट्विनअटर 9NAET विमान दुर्घटनामा पर्दा २२ जनाको मृत्यु
- एप्रिल २०१९ - सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु
- फेब्रुअरी २०१९ - एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
- सेप्टेम्बर २०१८ - गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
- मार्च २०१८ - बाङ्ग्लादेशबाट नेपाल आएको यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु
- फेब्रुअरी २०१६ - पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
- मे २०१५ - भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त; छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
- जुन २०१५ - सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
- मार्च २०१५ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द
- फेब्रुअरी २०१४ - पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु
- सेप्टेम्बर २०१२ - काठमाण्डूबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, विमानमा रहेका सबै १९ जनाको मृत्यु
- मे २०१२ - भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु
- सेप्टेम्बर २०११ - हिमालको दृश्यावलोकन अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाण्डूनजिकै कोतडाँडामा दुर्घटनाग्रस्त; नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु
- डिसेम्बर २०१० - लामीडाँडाबाट काठमाण्डू उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु
- अगस्ट २०१० - काठमाण्डूबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु
- अक्टोबर २००८ - लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु, एक जना घाइते
- सेप्टेम्बर २००६ - सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के

यो पनि हेर्नुहोस्











