पोखरा विमान दुर्घटना: कसरी गरिँदैछ खोजीकार्य, कति चुनौतीपूर्ण?

तस्बिर स्रोत, RSS
- Author, नारायण कार्की
- Role, बीबीसी न्यूज नेपाली, पोखरा
आइतवार पोखरामा भएको यति विमानको दुर्घटनास्थल सुरक्षा निकायको सहज पहुँचमा भए पनि खोजी कार्य निकै चुनौतीपूर्ण बनेको खोजी कार्यमा खटिएका सुरक्षाकर्मीले बताएका छन्।
नेपालमा सामान्यतः दुर्गम भीर पाखाहरूमा साना विमानहरू दुर्घटना हुने भए पनि आइतबार भने पोखरा सहरको लगभग मध्य भागमा यति एयरलाइन्सको जहाज दुर्घटना भयो।
दुर्घटना समथर भागमा नभई पोखरालाई दुई भागमा छुट्टाउने गरी बग्ने सेती नदीको गहिरो खोँचमा भएको छ।
विमानमा चालक दलका चार सदस्यसहित जम्मा ७२ जना सवार विमानबाट अहिलेसम्म ४० जनाको शव पहिचान भइसकेको छ।
सहरी क्षेत्रमै जहाज दुर्घटना भए पनि बस्ती नभएको ठाउँमा विमान खसेका कारण जमिनमा थप कुनै भौतिक र मानवीय क्षति भने हुन नपाएको सुरक्षाकर्मीले बताएका छन्।
के भन्छन् खोजीकार्यमा खटिने सुरक्षाकर्मी?
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका करिब ३५ जना तालिम प्राप्त जनशक्ति खोजी कार्यमा खटिएका छन्।
उनीहरूले सेती खोँचको तलसम्म पुगेर खोजीको काम गरेका थिए।
त्यसरी खटिने मध्येका एक हुन् नेपाल प्रहरीका वरिष्ठ हवलदार श्याम श्रीवास्ताव।
विगत १५ वर्षदेखि विपद् व्यवस्थापनको क्षेत्रमा पोखरामै काम गरेका श्रीवास्तवले सेती खोँचमा करिब चालिस जनाको खोजी आफैँले गरेको बताए।
आइतवारको घटनामा उद्धारकर्ताहरू डोरी, क्याराबिना, हार्नेसजस्ता उपकरणहरू प्रयोग गरेर खोँचमा गएका थिए।
श्रीवास्तव भन्छन्, “उद्धारमा खटिने काम धेरै कठिन हो। सास फेर्न गाह्रो हुने त छँदैछ, शक्ति र सीप पनि धेरै चाहिन्छ।”
सशस्त्र प्रहरी जवान माधव भुसाल पनि उद्धार कार्यमा संलग्न थिए। उनी गोताखोरका रूपमा काम गर्छन्।
दुर्घटना नदी खोँचमा भए पनि शवहरू पानीमा नपुगी ठूलो ढुङ्गा र जहाजको पाताहरूमा अड्किएको कारण उद्धार केही सहज भएको उनले बताए।
उद्धारमा क्रेन पनि प्रयोग गरिएको हुँदा शवहरू निकाल्न सहज भएको उद्धारकर्ताहरूले बताएका हुन्।

तस्बिर स्रोत, RSS
सेतीमा माछा मार्न जानेहरूले प्रयोग गर्ने गरेको बाटो प्रयोग गरेर खोँचमा गएका सुरक्षाकर्मी र सर्वसाधारणले बाल्टिनीमा पानी बोकेर पनि आगो निभाउन मद्दत पुर्याएको बताइएको छ।
पोखराको केआइसिंह पुलबाट भूमिगत भएको सेती नदी नारायणस्थान र रामघाट दुई ठाउँमा निस्कन्छ।
खोँचको लम्बाइ करिब ३ किलोमिटर रहेको र गहिराई ७० देखि ११० मिटर भएको भूगर्भविद् इन्जिनियर नारायण गुरुङले बताए।
करिब १३०० वर्षअघि हिमालबाट आएको भीषण बाढीले पोखरा उपत्यका ढाकेको थियो। त्यसपछि करिब ८०० वर्षअघि आएको अर्को बाढीले कमलो भाग काटेर नदी बग्दा सेती खोँच बनेको गुरुङको भनाइ छ।
सेती खोँचमा विभिन्न खालका घटनाहरू बेलाबेला भइरहन्छन्। खोँचमा आत्महत्या गर्ने उद्देश्यले हामफाल्ने, घाँस काट्न जाँदा खस्ने र किनारमा हिँड्दा खोँच र धाँजा फाटेको ठाउँमा खस्ने घटना बारम्बार हुने गरेको बताइन्छ।
चौध वर्षअघि अढाई वर्षकी बालिका आराधना प्रधानलाई २२ घण्टापछि सेतीको खोँचबाट उद्धार गरिएको थियो।
पोखरेलीमाझ चर्चित उक्त घटनामा करिब ६० फिट तल सेती धाँजामा अड्केकी बालिकालाई ११ वर्षीय बालक कमल नेपालीले उद्धार गरेका थिए।
ठूलो मानिस जान नसक्ने भएका कारण ११ वर्षीय बालकलाई पठाएर बालिकाको उद्धार गरिएको थियो।
११ वर्षीय बालक कमल नेपालीले जीवितै उद्धार गरेको बहुचर्चित घटना आज पनि पोखरेलीहरूले सम्झन्छन् ।
सेती खोँचमा बेलाबेला विभिन्न घटनाहरू भइरहने कारणले सेती खोँचलाई सुरक्षित बनाउन नदीको मापदण्ड निर्धारण गरेर बारको व्यवस्था गर्नुपर्ने भूगोलविद् कृष्ण केसी सुझाव दिन्छन्।








