धराप बिछ्याइरहेका १६ इरानी पानीजहाजमा हमला गरेको अमेरिकी दाबी

तस्बिर स्रोत, Reuters
इजरेलले इरान र लेबननमा थप क्षेप्यास्त्र प्रहार गरेको छ। इजरेली सेनाले बेरुतको दक्षिणमा रहेका हिज्बुल्लाहका पूर्वाधार तथा तेहरानमा रहेका निशानाहरूमा "थप आक्रमण" सुरु गरेको बताएको छ।
राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुजमा "कुनै पनि बारुदी सुरुङ नबिछ्याउन" चेतावनी दिएपछि अमेरिकी सेन्ट्रल कमान्डले आफ्नो सेनाले १६ इरानी बारुदी सुरुङ बिछ्याउने जहाजहरूलाई "सखाप" पारेको जनाएको छ।
तेल निर्यात हुने एउटा मुख्य जलमार्ग हर्मुजनजिकै माइन बिछ्याउने ती इरानी पानीजहाजहरू ध्वस्त पारेको अमेरिकी सेनाले बताएको हो।
अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समा राखेको एउटा भिडियो पोस्टमा कैयौँ डुङ्गाहरूमा प्रहार गरिएको र विस्फोट भएको देखाइएको थियो।
ट्रम्पले इरानलाई उक्त जलमार्गमा माइन नबिछ्याउन चेतावनी दिएपछि यस्तो घटनाक्रम आएको हो। अमेरिकी चेतावनी त्यसो गर्दाको सैन्य परिणाम पहिले कहिल्यै नदेखिएको स्तरमा हुने भनिएको थियो।
तेलको भाउ

तस्बिर स्रोत, AFP via Getty Images
त्यसअघि ह्वाइटहाउसले ऊर्जा मन्त्री क्रिस राइटको सामाजिक सञ्जाल पोस्टसँग विरोधाभास हुने गरी उक्त जलमार्गमा कुनै पनि तेल ट्याङ्करहरूलाई 'एस्कर्ट' नगरिने बताएको थियो।
उक्त पोस्टले तेलको मूल्य घटाउन मद्दत गरे तापनि लगत्तै त्यो पुनः बढेको थियो।
इरान युद्धका विकासक्रम बुधवार बिहानका कारोबारमा एसियाली बजार ठूलो अस्थिरतापछि तेलको मूल्य धेरै हदसम्म स्थिर देखिएको छ।
अमेरिकामा व्यापार हुने कच्चा तेलको मूल्य हाल प्रति ब्यारल ८३.३५ अमेरिकी डलर छ जबकि एसियाली बजारमा कच्चा तेलको बेन्चमार्क 'ब्रेन्ट क्रूड' करिब ८७.८८ अमेरिकी डलर छ।
सोमवार करिब १२० अमेरिकी डलरसम्म बढेको दुवैखाले भाउ घटेका छन्। तर युद्ध सुरु हुनुभन्दा पहिलेभन्दा तेलको मूल्य अझै पनि निकै माथि छ।
उक्त जलमार्ग ठप्प हुँदा त्यहाँबाट हुने खाडी क्षेत्रको तेल ढुवानी प्रभावित भएको छ र विश्वव्यापी आर्थिक चिन्ता निम्तिएको छ।
व्यापक हमला

तस्बिर स्रोत, Getty Images
इरानको सरकारी प्रसारक आईआरआईबीले पछिल्लो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो तेहरानका हमला बताइरहँदा इजरेलभरि हवाई आक्रमणको चेतावनी दिने साइरन बजाइएको छ।
इजरेलले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले देशतर्फ आइरहेका क्षेप्यास्त्रहरू रोकेको जनाएको छ।
इरानको रेभोलुस्नरी गार्ड्सले उत्तरी इजरेलको हाइफामा रहेको एउटा स्याटलाइट कम्युनिकेसन सेन्टर र कैयौँ सैन्य अखडाहरूलाई निशाना बनाएको जनाएको छ।
उनीहरूले इराकी कुर्दिस्तान र बहरीन लगायत उक्त क्षेत्रभर रहेका अमेरिकी निशानामा आक्रमण गरिएको दाबी गरेका छन्।
संयुक्त अरब इमिरेट्स र साउदी अरबमा अन्य हमलाहरू समेत भएका विवरण छन्।
रियादले देशको पूर्वमा रहेको प्रीन्स सुल्तान एअर बेसमा लक्षित गरिएका सात क्षेप्यास्त्रहरूलाई रोकेको जनाको छ।
प्रदर्शन नगर्न इरानी प्रहरीको चेतावनी

तस्बिर स्रोत, Reuters
इरानका प्रहरी प्रमुखले संस्थापनविरुद्धमा प्रदर्शन गर्ने जो कोहीलाई शत्रु मानिने बताएका छ।
अहमदरेजा रादानका अनुसार सरकारी सेना शत्रुको इशारामा प्रदर्शन गर्ने जो कोहीमाथि गोली चलाउन तयारी अवस्था रहेको बताए।
तेहरानले शत्रु शब्द सामान्यतः अमेरिका र इजरेलको हकमा प्रयोग गर्ने गर्छ।
यसैबीच बीबीसीसम्म सन्देशहरू पुर्याउन सफल इरानीहरूले निरन्तरका बमबारीमाझ आफूहरू जीवन पूरै हड्बडाउनुका साथै चिन्तित र थकित बनेको बताएका छन्।
इरानी अधिकारीहरूका अनुसार ११ दिन अघि युद्ध सुरु भएदेखि एक हजार तीन सय भन्दा बढी मानिसहरू मारिएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




























