इरानका नयाँ सर्वोच्च नेता चुनिए मोज्तबा खामेनेई

मोज्तबा खामेनेईलाई सर्वोच्च नेता घोषणा गर्दा इरानी टेलिभिजनमा देखाइएको तस्बिर

तस्बिर स्रोत, IRINN

तस्बिरको क्याप्शन, मोज्तबा खामेनेईलाई सर्वोच्च नेता घोषणा गर्दा इरानी टेलिभिजनमा देखाइएको तस्बिर
पढ्ने समय: २ मिनेट

इरानको नयाँ सर्वोच्च नेतामा मोज्तबा खामेनेईको नाम घोषणा गरिएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनका बुबा आयातोल्लाह अली खामेनेई पछिल्लो अमेरिकी र इजरेली आक्रमणको पहिलो चरणमै तेहरानस्थित निवास परिसरमा मारिएका थिए।

उनको पहिचान रेभोलुसनरी गार्डनिकट रहेका कट्टरपन्थी व्यक्तिको रूपमा छ। जसले गर्दा यस चयनसँगै तेहरान अझै लडाइँका लागि प्रतिबद्ध देखिएको रूपमा हेरिएको छ।

मोज्तबाका तर्फबाट हालसम्म कुनै अभिव्यक्ति आएका छैनन् तर यसअघि नै राष्ट्रपति ट्रम्पले आफ्नो पूर्वस्वीकृति नलिइए नयाँ नेता "धेरै बेर नरहने" चेतावनी दिएका थिए।

अली खामेनेईका छ सन्तानमध्ये मोज्तबा दोस्रो हुन्।

अमेरिका र इजरेलले के भनेको छ

मोज्तबा खामेनेई

तस्बिर स्रोत, EPA

"खामेनेईका छोरा मलाई अस्वीकार्य छ," ट्रम्पले यसै साताको सुरुमा भनेका थिए।

उनले केही घण्टा अघि मात्र आफ्नो स्वीकृति बिना उक्त पद सम्हाल्ने व्यक्ति "लामो समय टिक्ने छैन" भनेका थिए।

मोज्तबालाई नयाँ सर्वोच्च नेताको रूपमा पुष्टि गर्नुअघि इजरेलले एक चेतावनी जारी गरेको छ।

इजरेलले आफूहरूले मारिएका आयतोल्लाहका "हरेक उत्तराधिकारीलाई पछ्याउने काम जारी राख्ने" जनाएको छ।

नयाँ इरानी नेताबारे के थाहा छ?

उनको जन्म सन् १९६९ को सेप्टेम्बर ८ मा उत्तरपूर्वी सहर मशहदमा भएको हो।

उनले आफ्नो माध्यमिक शिक्षा तेहरानको एक धार्मिक विद्यालय अलावीबाट प्राप्त गरे।

इरानी सञ्चारमाध्यमका अनुसार १७ वर्षको छँदा मोज्तबा छोटो अवधिका लागि इरान-इराक युद्धको समयमा सेनामा थिए।

त्यसबेला चलेको आठ वर्षको रक्तपातपूर्ण द्वन्द्वले इरानी सत्तालाई अमेरिका एवं इराकलाई समर्थन गर्ने पश्चिमाहरूप्रति अझ बढी सशङ्कित बनाएको थियो।

मोज्तबा खामेनेई

तस्बिर स्रोत, Getty Images

सन् १९९९ मा उनी आफ्नो धार्मिक अध्ययन जारी राख्न सिया धर्मशास्त्रको महत्त्वपूर्ण केन्द्र मानिने पवित्र सहर कोम गए।

उनले त्यसबेलासम्म धर्मगुरुको पोसाक नलगाउनुलाई उल्लेख्य मानिने गरिन्छ।

उनले न कहिल्यै कुनै सरकारी पद सम्हालेका छन् न त सार्वजनिक भाषण वा अन्तर्वार्ता नै दिएका छन्।

सीमित सङ्ख्यामा मात्र उनका तस्बिर र भिडियोहरू प्रकाशित भएका छन्।

यद्यपि आफ्ना बुबाको 'गेटकिपर'का रूपमा उनको प्रभावका बारेमा लामो समयदेखि विभिन्न चर्चा हुने गरेका छन्।

एसोसिएटेड प्रेसका अनुसार सन् २००० को दशकको अन्त्यतिर विकिलीक्सले प्रकाशित गरेका अमेरिकी कूटनीतिक पत्राचारहरूमा उनलाई "पोसाक पछाडिको शक्ति" भनेर वर्णन गरिएको छ।

त्यसमा उनलाई व्यापक रूपमा उक्त शासनसत्ता भित्र "सक्षम र शक्तिशाली नेता" को रूपमा मानिन्थ्यो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।