लाइभ, इलाम १ र गोरखा १ को समानुपातिक मत गनिँदै, देशभरिको अन्तिम परिणाम 'दिउँसोसम्म आउने'

प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ सबै क्षेत्रको मतपरिणाम घोषणा भइसकेको छ। निर्वाचन आयोगले समानुपातिक मतगणना सकिने चरणमा पुगेको जनाएको छ।

सारांश

  • प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको र आज दिउँसोसम्म सबै मत गनेर सकिने निर्वाचन आयोगले जनाएको छ
  • प्रत्यक्षतर्फ सबै १६५ स्थानको परिणाम आइसकेको छ
  • एक करोड सात लाखभन्दा बढी समानुपातिक मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजारभन्दा बढी मतसहित अग्रस्थानमा छ, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४९ हजार मत कटाएको छ
  • मतगणना सकिएपछि निर्वाचन आयोगले पार्टीहरूलाई समानुपातिकतर्फका ११० सीट बाँडफाँट गर्छ - यस्तो छ सीट निर्धारण गर्ने तरिका
  • प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ ठूलोदेखि क्रमशः सानोमा रास्वपा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन्

लाइभ कभरेज

  1. प्रत्यक्षबाट १४ महिला सांसद भएपछि समानुपातिकबाट 'धेरै आउनुपर्ने', प्रदीप बस्याल, बीबीसी न्यूज नेपाली

    महिला सांसद्

    तस्बिर स्रोत, Reuters

    सङ्घीय संसद्‍मा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने कानुनी प्रावधानअनुसार अब बाँडफाँट हुने सामानुपातिकतर्फ रहेका ११० सीटमा "धेरै नै महिलाहरू आउने सम्भावना" रहेको निर्वाचन आयोगका प्रवक्ताले बीबीसीलाई बताएका छन्।

    "प्रत्यक्षतर्फ निकै कम महिला निर्वाचित भएकाले सदनमा आवश्यक प्रतिशत त पुग्नैपर्छ," आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने। "कुन दललाई कति पुर्‍याउनुपर्ने भन्ने हिसाबकिताब हुन बाँकी छ।"

    यद्यपि समानुपातिक प्रणालीबाट अब छानिनेमध्ये महिलाको सङ्ख्या झन्डै दुईतिहाइ हुने आकलन गरिएको छ।

    प्रत्यक्षतर्फ कम महिला सांसद जितेकाले पनि राष्ट्रिय दल बन्न लागेका छवटा दलमाथि त्यस्तो दबाव पर्ने देखिएको हो।

    प्रत्यक्षतर्फ १६५ सीटमा १४ जना मात्र महिला निर्वाचित भएका छन्। तीमध्ये चारवटा दलबाट कुनै महिला परेनन्।

    सङ्घीय संसद्‌मा प्रतिनिधिसभा र राष्ट्रिय सभा पर्छन्। दलहरूले ती दुवैमा गरेर महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्छ।

    समानुपातिकको बन्दसूचीमा महिला र अन्य समावेशी क्लस्टरमा रहेकामध्ये अब आवश्यक सङ्ख्यामा महिला पुग्ने गरी अन्य समूहबाट समेत उम्मेदवार सिफारिस गर्नुपर्ने हुन्छ।

    प्रत्यक्षतर्फ कुन दलबाट कति महिला निर्वाचित?

    • रास्वपा - १२५ सांसदमध्ये १३ महिला
    • कांग्रेस - १८ मध्ये १ महिला
    • एमाले - ९ मध्ये ० महिला
    • नेकपा- ८ मध्ये ० महिला
    • श्रसंपा- ३ मध्ये ० महिला
    • राप्रापा‍- १ मध्ये ० महिला
  2. समानुपातिक सीट कसरी बाँडफाँट हुन्छ

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा समानुपातिक निर्वाचनको परिणामको प्रावधान समाविष्ट छ।

    उक्त दफाको उपदफा ११ मा "समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने" उल्लेख छ।

    अहिलेको निर्वाचनमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त 'थ्रेश्होल्ड' कटाएका छन्। अर्थात् तिनले आफ्नो पक्षमा खसेको मतको आधारमा ११० समानुपातिक सीटमा भाग पाउने छन्।

    कसले कति सीट पाउँछन् भन्ने निर्णय गर्न चाहिँ एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को परिच्छेद ५ मा समाविष्ट दफा ३३ र ३४ मा समानुपातिक सीट बाँडफाँटबारे उल्लेख छ।

    तिनले "मतपरिणाम विभाजक सूत्रको आधारमा दलले प्राप्त गर्ने सीट सङ्ख्या निर्धारण" हुने जनाएका छन्।

    पढ्नुहोस् विस्तारमा

  3. समानुपातिक मतगणना सकिने चरणमा, अब के हुन्छ?, प्रदीप बस्याल, बीबीसी न्यूज नेपाली

    निर्वाचन आयोग

    तस्बिर स्रोत, Reuters

    निर्वाचन आयोगले यतिखेर गोरखा-१ र इलाम-१ को समानुपातिकतर्फको मतगणना मात्र सकिन बाँकी जानकारी दिएको छ।

    "दिउँसोसम्ममा उक्त मतगणना सकिने आकलन छ," आयोगका एकजना सहायक प्रवक्ता कुलबहादुर जीसीले बीबीसीसँग भने।

    "त्यसपछि देशभरिबाट दलहरूले पाएका समानुपातिक मतको यकिन गर्दै कार्यविधिअनुसार पहिल्यै तय गरिएको सूत्र प्रयोग गरेर थ्रेश्होल्ड कटाउने दलबीच ११० सीटको बाँडफाँट हुन्छ।"

    सहायक प्रवक्ता जीसीले समानुपातिकतर्फका सीटको भाग लगाउने काम बुधवार अबेरसम्म सक्ने आयोगको प्रयास रहेको बताए।

    "त्यसपछि दलहरूलाई जानकारी दिइन्छ। अनि यसअघिकै बन्द सूचीअनुसार नामावली पठाउन केही दिनको समय तोकेर अनुरोध गरिन्छ," जीसीले भने। "त्यसको रुजुपश्चात् समानुपातिकतर्फका विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरणको काम हुन्छ।"

    त्यसपछि मात्र आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसामु निर्वाचनको प्रतिवेदन पेस गर्ने छ।

    "प्रतिवेदन बुझाउने बेलासम्म अझै करिब एक साता जति लाग्न सक्छ," जीसीले भने।

  4. अहिलेसम्म कसले कति समानुपातिक मत पाए

    निर्वाचन आयोगले अहिलेसम्म कुल १,०७,३९,११५ समानुपातिक मत गनिएको विवरण आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ।

    समानुपातिक मतमा तीन प्रतिशतको 'थ्रेश्होल्ड' कटाउने पार्टीहरूले प्राप्त गरेको मत यसप्रकार छ -

    • राष्ट्रिय स्वतन्त्र पार्टी - ५१,३९,२३५
    • नेपाली कांग्रेस - १७,४९,५८३
    • नेकपा एमाले - १४,४८,८५४
    • नेपाली कम्युनिस्ट पार्टी - ८,०५,७७३
    • श्रम संस्कृति पार्टी - ३,७८,६४९
    • राष्ट्रिय प्रजातन्त्र पार्टी - ३,२९,४७२
  5. दुई क्षेत्रको समानुपातिक मत गनिँदै

    नमस्कार। बीबीसी न्यूज नेपालीको लाइभ पेजमा यहाँहरूलाई स्वागत छ।

    गत साता फागुन २१ गते बिहीवार भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका एक अधिकारीका अनुसार अब केही हजार मत मात्र मत गन्न बाँकी छ।

    अहिलेसम्म हामीलाई के थाहा छ?

    • प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको र आज दिउँसोसम्म सबै मत गनेर सकिने निर्वाचन आयोगले जनाएको छ
    • प्रत्यक्षतर्फ सबै १६५ स्थानको परिणाम आइसकेको छ
    • एक करोड सात लाखभन्दा बढी समानुपातिक मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजारभन्दा केही बढी मतसहित अग्रस्थानमा छ
    • मतगणना सकिएपछि निर्वाचन आयोगले पार्टीहरूलाई समानुपातिकतर्फका ११० सीट बाँडफाँट गर्छ
    • प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ ठूलोदेखि सानो क्रमशःरास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन्

    आज हामी यो लाइभ पेजमा निर्वाचन र मतपरिणामसँग सम्बन्धित जानकारी र समाचार प्रकाशित गर्ने छौँ।

    धन्यवाद।