पोखरा विमान दुर्घटनाः सेती खोँचमा खस्यो यती एअरलाइन्सको विमान, कम्तीमा ६८ जनाको मृत्यु

पोखरामा सेती खोँच

तस्बिर स्रोत, Getty Images

पोखरामा अवतरणका क्रममा आइतवार बिहान दुर्घटनामा परेको यती एअरलाइन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको उक्त वायुसेवा कम्पनीले पुष्टि गरेको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार तीमध्ये केही शव दुर्घटनास्थलबाट निकालेर अस्पताल लगिएको छ।

नेपाली सेनाका अनुसार विमान खसेको खोँचमा आइतवार अपराह्णसम्म कोही जीवितै फेला परेका छैनन्। हराइरहेका यात्रुको खोजी भइरहेको यती एअरलाइन्स र नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन्।

आन्तरिक उडानमा रहेका विमान दुर्घटनामा पर्दा यो नै सबैभन्दा ठूलो मानवीय क्षति भएको घटना भएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताएका छन्।

सरकारले दुर्घटनाबारे छानबिन गर्न एउटा आयोग गठन गरेको छ तथा वायुसेवाहरूलाई आन्तरिक उडानमा रहेका विमानहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन पनि दिएको छ।

प्राधिकरण तथा यती एअरलाइन्सका अनुसार विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए। विमान बिहान १०:५० बजे अन्तिम पटक सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ।

खोजी तथा उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू परिचालित भएका छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी प्रवक्ताले भने,"सुरुमा भेटिएकामध्ये कोही जीवित छन् कि भन्ने ठानिएको होला। तर हामीले अहिलेसम्म घाइते अवस्थामा कसैलाई पनि फेला पारेका छैनौँ।"

यसअघि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले "गम्भीर अवस्थामा फेला परेका दुई जनालाई जीवितै उद्धार गरेर अस्पताल पठाइएको" बताएका थिए। उनका अनुसार विमान लगभग पूरै जलेको छ।

"सेती खोँचमा विमानबाट अरू मानिस पनि खसेको आशङ्कामा खोजी गर्न उद्धारकर्मीहरू डोरीमा झुन्डिएर तल गएका छन्," ढकालले भने।

Nepal Army
पोखरामा दुर्घटनाग्रस्त यती एअरलाइन्सको विमानबारे

हामीलाई के थाहा छ

  • ७२ जना यात्रु र चालकदलका सदस्य

  • १५.५ वर्षअघि निर्मित विमान

  • 9N-ANCविमानको दर्ता नम्बर

  • काठमाण्डूबाट पोखरा उडेको थियो

  • पोखरामाविमानस्थलनजिकै सेती खोँचमा दुर्घटनाग्रस्त

Source: Flightradar24

यती एअरलाइन्सले आफ्नो विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा सोमवार आफ्ना सबै उडानहरू स्थगित गरेको छ।

आइतवार साँझ सूचना प्रकाशित गर्दै यतीले "आपत्कालीन र उद्धार बाहेकका सबै उडान" रद्द गरिएको जनाएको छ।

प्राधिकरणका अनुसार अहिले उद्धारकार्यमा ध्यान केन्द्रित भएकाले ककपिट भोइस रेकर्डरको खोजी गर्न अझै बाँकी नै छ।

विमान अवतरण हुने क्रममा दुर्घटना

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीका अनुसार 9N-ANC, ATR-72 500 विमानले अवतरण गर्न "१० देखि २० सेकेन्ड मात्रै बाँकी" थियो।

विमान काठमाण्डूबाट १० बजेर ३२ मिनेटमा उडेको थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हालैमात्र सञ्चालनमा आएको हो।

"दुर्घटनापछि नयाँ बनेको अन्तर्राष्ट्रिय र पुरानो आन्तरिक दुवै विमानस्थल हाललाई बन्द भएका छन्। कहिलेबाट सञ्चालनमा आउँछन् अहिले नै भन्न सकिने अवस्था छैन," ती अधिकारीले बीबीसी न्यूज नेपालीसँग भने।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले "सेती खोँचमा खसेको जहाजका तीनवटा मुख्य टुक्रासम्म पुगेर सुरक्षाकर्मीले उद्धार गरिरहेको" बताएका छन्।

उनले खोँचको तलसम्म पुगेर नै खोजी जारी राखिएको भए पनि जीवित फेला पर्ने सम्भावना कम रहेको बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सेती खोँचमा विमान दुर्घटना भएको ठाउँमा धुँवाको मुस्लो उडेको देखिन्छ
रेड लाइन

पोखराविमान दुर्घटनापछि सरकारले गर्‍यो यी निर्णय

  • यती एअरलाइन्सको विमान दुर्घटनाको शोकमा माघ २ गते सोमवार सार्वजनिक बिदा घोषणा
  • पोखरामा भएको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच-सदस्यीय जाँच आयोग गठन
  • हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन, अनुगमनको जिम्मा नागरिक उड्डयन प्राधिकरणलाई
रेड लाइन

विमानमा को थिए

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा ६८ यात्रुमध्ये ५३ जना नेपाली र अरू विदेशी नागरिक थिए।

यती एअरलाइन्सका अनुसार विमानमा भएका ७२ जनामध्ये ३७ पुरुष र २५ महिला थिए। यात्रुमध्ये तीन बालक र तीन शिशु थिए।

दुर्घटनास्थल

तस्बिर स्रोत, KRISHNAMANI BARAL

हालसम्म एक शिशुको मृत्यु भएको प्राधिकरणले पुष्टि गरेको छ।

  • नेपाली: ५३ यात्रु
  • भारतीय: ५ जना
  • रुसी: ४ जना
  • कोरियाली: २ जना
  • आइरिश: १ जना
  • अस्ट्रेलियाली: १ जना
  • आर्जेन्टिनी: १ जना
  • फ्रान्सेली: १ जना

दुर्घटनाको कारण थाहा भइसकेको छैन।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार आइतवार साँझ ६ बजेसम्म मृतकमध्ये २४ जनाको सनाखत भएको छ।

उनका अनुसार अस्पताल लगिएका शवको पोस्टमोर्टम परीक्षण सोमवार सुरु हुनेछ।

रेड लाइन

Hull occurrences in Nepal

रेड लाइन

उद्धारकार्य

तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरू खोजी तथा उद्धारकार्यमा खटेका थिए।

आइवार साँझ एउटा विज्ञप्ति जारी गर्दै यती एअरलाइन्सले ६८ जनाको शव फेला परेको पुष्टि गरेको छ। फेला पर्न बाँकी अन्य यात्रुको खोजी जारी राखिने प्राधिकरणले जनाएको छ।

रात परिसकेकाले उद्धारकार्य स्थगित गरिएको र सोमवार बिहानै फेरि सञ्चालन गरिने नेपाली सेनाले जनाएको छ। दुर्घटनास्थलवरिपरि सुरक्षाको प्रबन्ध मिलाइएको छ।

यसअघि नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले "पोखरा विमानस्थलबाट डेढ किलोमिटर वर सेती नदीको खोँचमा विमान दुर्घटनाग्रस्त भएको छ। त्यहाँ उद्धारका लागि रेन्जरतर्फका १२० गरी २०० जना सैनिक परिचालित भएको" बताएका थिए।

दुर्घटनाग्रस्त विमानमा आगो लागेको र धुवाँ आएकाले सुरक्षाकर्मीहरूले आगो निभाउने प्रयास गरेका थिए।

सेती खोँच

तस्बिर स्रोत, RSS

पोखरा विमानस्थलनजिकै दुर्घटनास्थलमा उद्धारकार्यका लागि पठाइएको क्रेन

तस्बिर स्रोत, RSS

सो दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी र नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्।

आइतवार दिउँसो मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो।

मन्त्रिपरिद्को निर्णयानुसार सरकारले दुर्घटनाको जाँच गर्न एउटा आयोग गठन गरेको छ भने सोमवार शोक बिदा घोषणा गरिएको छ।

प्रचण्ड

तस्बिर स्रोत, CM PRACHANDA/Facebook

तस्बिरको क्याप्शन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्धार समन्वय केन्द्रमा प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्धार समन्वय केन्द्रमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन टोली गठन हुने बताएका थिए।

उनले कुनै कसर बाँकी नराखी उद्धार कार्यमा लाग्न पनि निर्देशन दिए।

प्रवक्ता निरौलाका अनुसार ज्यानुअरी १ मा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि उक्त यती एअरलाइन्सको विमान काठमाण्डूबाट उडेको थियो।

सो विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान सुरु भइसकेको छैन। तर आन्तरिक उडानहरू भने विमानस्थल उद्घाटनयता जारी रहेको प्रवक्ता निरौलाले बताएका छन्।

पोखरा विमानस्थलनजिकै दुर्घटनास्थलमा उद्धारकार्य गर्दै सुरक्षाकर्मीहरू

तस्बिर स्रोत, RSS

नेपाली सेनाका अनुसार सैनिक अस्पताल पोखराबाट मेडिकल टोली पनि घटनास्थलमा पुगेको थियो।

घाइते यात्रु भेटिए उद्धार तथा उपचार गर्न सेनाले प्रबन्ध मिलाएको थियो। उसका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा हेलिकप्टर र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य टोली पनि तयारी अवस्थामा राखिएको थियो।

उद्धारकार्यमा सुरक्षाकर्मीबाहेक स्थानीय सर्वसाधारण र स्थानीय निकाय पनि खटेका थिए।

Nepal Aeroplane Accident

रेड लाइन

Yeti airlines crash 2004-2023

रेड लाइन

नेपालमा भएका केही विमान दुर्घटना

  • मे २०२२ - पोखराबाट जोमसोमका लागि उडेको एअरको यात्रुवाहक ट्विनअटर 9NAET विमान दुर्घटनामा पर्दा २२ जनाको मृत्यु
  • एप्रिल २०१९ - सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु
  • फेब्रुअरी २०१९ - एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
  • सेप्टेम्बर २०१८ - गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
  • मार्च २०१८ - बाङ्ग्लादेशबाट नेपाल आएको यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु
  • फेब्रुअरी २०१६ - पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
  • मे २०१५ - भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त; छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
  • जुन २०१५ - सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
  • मार्च २०१५ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द
  • फेब्रुअरी २०१४ - पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु
  • सेप्टेम्बर २०१२ - काठमाण्डूबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, विमानमा रहेका सबै १९ जनाको मृत्यु
  • मे २०१२ - भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु
  • सेप्टेम्बर २०११ - हिमालको दृश्यावलोकन अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाण्डूनजिकै कोतडाँडामा दुर्घटनाग्रस्त; नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु
  • डिसेम्बर २०१० - लामीडाँडाबाट काठमाण्डू उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु
  • अगस्ट २०१० - काठमाण्डूबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु
  • अक्टोबर २००८ - लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु, एक जना घाइते
  • सेप्टेम्बर २००६ - सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के
रेड लाइन

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, पछिल्लो १० वर्षमा नेपालमा ज्यान जाने गरी २० वटा हवाई दुर्घटना कुनकुन हुन्?
रेड लाइन