तारा एअरको विमान दुर्घटना भएको एक महिना पूरा

जेठ १५ गते बिहान पानी परिरहेको थियो।
चालकदलका तीन सदस्य र १९ यात्रु बोकेर तारा एअरको ट्विनअटर हाभिल्यान्ड DCH-6 विमान पर्यटकीय नगरी पोखराबाट हिमालपारि अवस्थित मुस्ताङ जिल्लाको जोमसोमका लागि उड्यो।
गन्तव्यमा पुग्नुअघि विमान सम्पर्कविहीन भएपछि देशभरि ठूलो खैलाबैला मच्चियो। अनिष्टको आशङ्का हुने नै भयो।
Flightradar24 का अनुसार सानो किसिमको उक्त विमान समुद्र सतहबाट १२,८२५ फिटको उचाइमा पुग्दासम्म सम्पर्कमा थियो। तर त्यसपछि त्यसको अत्तोपत्तो थिएन।
विमानले कतै सुरक्षित रूपमा अवतरण पो गरेको छ कि भनेर झिनो आशा नगरिएको पनि हैन। तर दिनभरि विमानको कुनै सङ्केत फेला परेन। साँझपख खोजीकार्यलाई विश्राम दिइयो। भोलिपल्ट एउटा दुर्गम स्थानमा उक्त विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो।
विमानमा भएका सबै जनाको शव फेला पर्यो। उक्त घातक दुर्घटना भएको एक महिना पुगेको छ।
विमानको भग्नावशेष काटेर दुर्घटनास्थलबाट ल्याइएको ब्ल्याक बक्सको अध्ययन गरेर दुर्घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्।
छानबिनमा के हुँदै छ?
ककपिट भोइस रेकर्डरमा रहेको आवाज सुन्ने काम सकिएको छानबिन समितिले बीबीसीलाई बताएको छ।
"हामीले ककपिट भोइस रेकर्डरबाट आवाज सुन्ने र उतार्ने काम सकिसकेका छौँ। विमानमा इम्प्याक्ट पर्नु (विमान पहरामा ठोक्किनु) एक-दुई सेकन्ड अघिसम्मकै आवाज त्यसमा छ," छानबिन समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले भने।
"अन्तर्राष्ट्रिय मापदण्डअनुसार चाहिने केही विवरण सङ्कलन भइसकेपछि हामी छानबिनलाई अन्तिम रूप दिन्छौँ, त्यसपछि मात्रै हाम्रो निष्कर्ष तयार हुन्छ।"
दुर्घटनालगत्तै रतीशचन्द्र लाल सुमनको अध्यक्षतामा गठित सरकारी छानबिन समितिलाई छानबिन सकेर प्रतिवेदन बनाउन अझै केही महिना लाग्न देखिएको छ।
"हामीले सकभर छिट्टै काम सक्ने प्रयास गरिरहेका छौँ। तर अहिलेसम्म सबैभन्दा छिटो एउटा हेलिकप्टर दुर्घटनाको प्रतिवेदन दुई महिनामा तयार भएको थियो। बाँकी दुर्घटनाको छानबिनमा तीनदेखि छ महिनासम्म लाग्ने गरेको छ," लामिछानेले भने।
त्यसपछि मात्र तारा एअरको विमान कसरी दुर्घटनामा पर्यो भन्ने खुल्नेछ।
तारा एअरले सञ्चालन गरेको उक्त विमानमा चालकदलका तीन सदस्य र १९ यात्रुसहित २२ जना थिए।
विमान पोखरा विमानस्थलबाट बिहानको ९:५५ मा उडेको थियो।
विमान प्रसिद्ध तीर्थस्थल मुक्तिनाथनजिकै अवस्थित जोमसोमका लागि उडेको थियो।
विमानले अन्तिम पटक बिहान १०:०७ बजे जोमसोम विमानस्थलसँग सम्पर्क गरेको थियो।
विमान जोमसोम विमानस्थलमा अवतरण गर्नुभन्दा ६ मिनेट पहिले सम्पर्कविहीन भयो।
झन्डै २४ घण्टापछि मुस्ताङको दुर्गम थासाङमा एउटा भीरमा विमानका भग्नावशेषहरू फेला परे।
नेपालमा विमान दुर्घटना
नेपालमा सन् १९१९ यता ४० वटाजति घातक हवाई दुर्घटना भएका छन्। तिनमा परी ८०६ जनाको मृत्यु भएको तथ्याङ्क छ। अधिकांश दुर्घटना छिटोछिटो परिवर्तन भइरहने मौसम र विकट क्षेत्रमा धावनमार्ग भएका कारण भएको बताइन्छ।
सन् १९९२ मा एउटा पाकिस्तानी विमान दुर्घटनाग्रस्त हुँदा अहिलसम्मकै सर्वाधिक मानवीय क्षति भएको थियो। कराचीबाट काठमाण्डूका लागि उडेको उक्त एअरबस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोमिटर दक्षिणमा दुर्घटनामा परेको थियो।
सन् २०१० देखि २०२२ बीचको १२ वर्षमा मात्रै नेपालमा भएका ६४ पटक विमान दुर्घटना भएको छ। तिनमा परेर ५३० जनाको मृत्यु भएको छ।
विगत दुई दशकमा नेपालमा अधिकांश विमान दुर्घटनाहरू अवतरणको चरणमा भएका छन्। त्यसपछि क्रमशः उडानको क्रममा र विमानस्थल पुग्नुअघि भएका छन्।
विमानले उचाइ लिने क्रममा निकै कम दुर्घटना भएका छन्।
विश्वमा व्यावसायिक उडानमा भएका दुर्घटनाको प्रवृत्ति पनि यस्तै किसिमको छ। बोइङ कम्पनीले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार सन् २०११ देखि २०२० बीचमा विश्वभरि भएका बहुसङ्ख्यक (२८ प्रतिशत) घातक दुर्घटनाहरू विमानले विमानस्थल अवतरण गर्ने अन्तिम तयारी गर्ने समयमा भएका छन्। साथै २६ प्रतिशत दुर्घटना अवतरणको क्रममा र १३ प्रतिशत उडानकै क्रममा भएका छन्। तर अवतरण गर्ने प्रारम्भिक तयारीका बेला कुनै पनि दुर्घटना भएको छैन।
दुर्घटनामा परेको ट्विनअटर विमान ४३ वर्षअघि बनेको थियो।
भीरमा अड्किएको विमानको एउटा भग्नावशेषबाट काटेर सुरक्षाकर्मी र माउन्टेन गाइडहरूले ब्ल्याक बक्स निकालेका थिए।
दुर्घटनास्थल मानवबस्तीभन्दा निकै टाढा धौलागिरि हिमशृङ्खलाको फेदतिर छ।
दुर्घटनामा तारा एअरका विमान
तारा एअरसँग छोटो धावनमार्गमा पनि अवतरण गर्न सक्ने खालका सातवटा एसटीओएल विमान छन्। कम्पनीको वेबसाइटका अनुसार तीमध्ये पाँचवटा ट्विनअटर (DHC 6/300) र दुईवटा डोर्निअर (DO 228) विमान छन्।
सन् २०१० देखि २०२२ को बीचमा तारा एअरका विमानहरू छवटा दुर्घटनामा परेका छन्। तिनमा परेर ६७ जनाको ज्यान गएको छ। सन् २०१६ मा पोखरा-जोमसोम मार्गमै तारा एअरको अर्को ट्विनअटर पनि दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा २३ जनाको ज्यान गएको थियो।
DHC 6/300 ट्विनअटरमा क्षति
क्यानडामा निर्मित यो विमान छोटो धावनमार्गमा पनि उड्न र अवतरण गर्न सक्छ। हाभिल्यान्ड क्यानडा यसको निर्माता हो। अहिले भाइकिङ एअरले उत्पादन गर्दै आएको छ।

सन् १९७१ यताका पाँच दशकमा DHC-6/300 ट्विनअटरका १७३ वटा विमान ‘हल लस’ हुनेगरी दुर्घटनामा परेका छन्। तिनमा १,०४१ जनाको ज्यान गएको छ।
उड्डयन क्षेत्रमा प्रयोग हुने शब्दावली ‘हल लस’ ले विमान पुनः मर्मत गरेर सञ्चालन गर्न नसकिनेगरी क्षतिग्रस्त भएको बुझाउँछ।
यस प्रकारका दुर्घटनामा सबैभन्दा धेरै मानिसको (२५ जनाको) मृत्यु म्यान्मारमा सन् १९९७ मा भएको थियो। त्यतिबेला बर्मा एअरवेजको ट्विनअटरमा ठूलो क्षति पुग्नेगरी दुर्घटना भएको थियो।
सन् २००० मा बझाङबाट धनगढीका लागि उडेको शाही नेपाल वायुसेवा निगमको एउटा ट्विनअटर पनि दुर्घटनामा परेको थियो।
चुरे क्षेत्रमा सल्लाका रूखमा ठोकिएपछि उक्त विमानमा आगो लागेको थियो। दुर्घटनामा परेर २५ जनाको मृत्यु भएको थियो।
लेखन तथा उत्पादनः स्वाति जोशी
डिजाइनः लोकेश शर्मा
रिपोर्टिङ: अशोक दाहाल
सम्पादन: केशव कोइराला
तस्बिरः Getty Images, नरेन्द्र शाही, इन्द्रसिंह शेरचन