त्रिशूलीमा खसेका दुई बस अझै किन फेला परेनन्, अबको योजना के छ

खोजीमा खटिएको टोली

तस्बिर स्रोत, APF

तस्बिरको क्याप्शन, गत शुक्रवार बिहान दुई बसलाई पहिरोले त्रिशूली नदीमा पुर्‍याएदेखि नै खोजी कार्य जारी रहेको बताइएको छ
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

गत साता चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस चार दिन बितिसक्दा पनि हालसम्म फेला पर्न सकेका छैनन्।

ती बसमा यात्रा गरिरहेकामध्ये हालसम्म तीन भारतीय नागरिकसहित १४ जनाको शव भेटिएको र तीमध्ये सात जनाको सनाखत भएको अधिकारीहरूले बताएका छन्।

घटना भएको चार दिनसम्म पनि डुबेका बस फेला पार्न नसक्नु र अधिकांश यात्रुको अवस्था अज्ञात रहनुले नेपालको "आपत्कालीन प्रतिकार्य संयन्त्र निकै कमजोर देखाएको" कतिपय विज्ञहरूको भनाइ छ।

उता नेपालमा उपलब्ध उपकरणहरू तथा जनशक्तिले मात्र खोजी तथा उद्धार प्रभावकारी हुन नसकेको भन्दै सरकारले त्यसका लागि भारतको सहयोग खोजेको गृह मन्त्रालयका एक अधिकारीले पुष्टि गरेका छन्।

विज्ञहरूले भने यस्ता विपद्का बेलामा गरिने खोजी र उद्धारमा नेपाली निकायहरूको विफलतालाई यो घटनाले उजागर गरिदिएको ठान्छन्।

बीबीसीसँग कुराकानी गरेका खोजी तथा उद्धारमा संलग्नसहित विपद् व्यवस्थापनसम्बन्धी काम गर्ने निकायका अधिकारीले समेत त्यस्तो कमजोरीलाई अस्वीकार गरेनन्।

यद्यपि "आगामी दिनमा यस्तै परिस्थिति आए त्यसका लागि तयारी थाल्न यो घटनाले पाठ सिकाएकाले त्यसअनुसार योजना बनाउने" उनीहरूको भनाइ छ।

कसरी हुँदै छ खोजी

खोजी तथा उद्धार

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, हरेक बिहानदेखि साँझसम्म खोजी गर्ने र अँध्यारो भएपछि त्यसलाई स्थगित गर्ने गरिँदै आएको अधिकारीहरूले जानकारी दिएका छन्

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालका अनुसार पहिरोले बस बगाएको दिनदेखि विभिन्न तरिका अपनाएर खोजी कार्य जारी राखिएको छ।

हरेक बिहानदेखि साँझसम्म खोजी गर्ने र अँध्यारो भएपछि त्यसलाई स्थगित गर्ने गरिँदै आएको अधिकारीहरूले जानकारी दिएका छन्।

भुसालले जनाएअनुसार खोजी कार्यमा चितवनस्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको विपद् तालिम शिक्षालय कुरिनटारका प्राविधिक तथा अधिकृत र जवानहरू अनि नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीका प्राविधिक, अधिकृत र जवानहरू संलग्न रहेका छन्।

उक्त कार्यमा सशस्त्र प्रहरी र नेपाली सेनाका गोताखोरहरू खटाइएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले दिएको जानकारीअनुसार दुवै निकायका गरेर कुल २८ जना गोताखोरहरू काममा निरन्तर खटिएका छन्।

उनले सरकारले हराइरहेका बस तथा यात्रुहरूको खोजीका लागि "सम्पूर्ण सामर्थ्य" लगाएको बीबीसीलाई बताका छन्।

उनले आइतवार बीबीसीसँग भनेका थिए, "हामीले हालसम्म उपलब्ध सबै प्रविधि प्रयोग गरेर दक्ष जनशक्ति परिचालन गरेका छौँ। उहाँहरूले निरन्तर खटिएर काम गरिरहनु भएको छ।"

भुसालले आइतवार साँझ जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार खोजी कार्यमा "एङ्कर अर्थात् फलामे हुक, गोताखोर, वाटर ड्रोन, सोनर उपकरण, र्‍याफ्टिङमा प्रयोग हुने डुङ्गा, बाइनाकुलर टेलिस्कोप, कायाक"लगायतको प्रयोग गरिएको छ।

उनका अनुसार खोजी कार्यमा चितवनस्थित एउटा रिसोर्टले चलाउने गरेका बाइनाकुलर टेलिस्कोप र कायाक प्रयोग गरिएको हो।

त्यस्तै उनले खोज तथा उद्धार कार्य जारी रहेकाले र यात्रुको खोजी कार्यका लागि आएका परिवारका सदस्यहरूलाई चितवनका स्थानीय होटल व्यवसायीहरूसँग अनुरोध गरेर निःशुल्क खाना र बासको व्यवस्था गरिएको पनि जनाएका छन्।

खोजीमा किन भयो ढिलाइ

खोजी तथा उद्धारमा संलग्न सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कुमार न्यौपानेका अनुसार बस तथा यात्रुको खोजीका लागि मुख्यत: तीन वटा तरिका अपनाइएको छ।

-पानीको सतहमा विभिन्न माध्यमबाट निरीक्षण गर्ने

-पानीको सतहमुनी 'ग्राउन्ड वाटर ड्रोन' र 'सोनर उपकरण' प्रयोग गरेर बस तथा यात्रु पहिचानको प्रयास गर्ने

-सम्भावित वस्तु देखिएको वा शङ्का लागेको स्थलमा गोताखोर पठाएर निरीक्षण, परीक्षण तथा निकाल्ने काम गर्ने

यसरी जारी राखिएको खोजी कार्यमा विभिन्न अवरोध उत्पन्न भएकाले सफल हुन नसकेको उनले बताए।

"धमिलो, लेदो र गेग्र्यान मिसिएको अनि तीव्र गतिमा बगेको पानीका कारणले गर्दा परिणाम दिन सकेको छैन," उनले भने।

उनका भनाइमा धमिलो पानी मात्रै भएको भए पनि पानीमुनि तस्बिर र भिडिओ लिने ड्रोन क्यामराले केही तस्बिर लिन सक्ने हुन्थ्यो।

तर लेदो र गेग्र्यानले छेक्दा त्यस्तो तस्बिर समेत लिन नसकिएको उनले बताए।

त्यसै गरी भिरालो जमिनमा तीव्र गतिमा बगेको पानीमा कुनै पनि उपकरण प्रयोग गर्दा यताउता ठोकिएर उपकरण नै बिग्रनेदेखि विभिन्न समस्या उत्पन्न भएको उनको भनाइ छ।

"जमेको पानीमा जस्तो यसरी तीव्र बहाव भएको पानीमा उद्धार तथा खोजी कार्य पनि जोखिमपूर्ण र निकै गाह्रो हुने भएकाले हामीले सोचेजस्तो परिणाम दिन नसकेका हौँ," उनले भने।

गोताखोरहरू

तस्बिर स्रोत, RSS

उपकरणको अभाव

भएका उपकरण प्रयोगमा समस्या भइरहेका बेलामा सशस्त्र प्रहरीले यस्तो परिस्थितिमा पानीमाथिबाटै 'स्क्यान' गरेर वा अन्य विधिबाट डुबेका बस खोज्ने खालका उपकरण आफूसँग नभएको स्वीकार गरेको छ।

घटनाको चार दिनपछि सशस्त्र प्रहरीले निजी क्षेत्रमा सञ्चालनमा रहेको धमिलो पानीमा पनि ३०० मिटरमुनिसम्मका वस्तुहरूलाई 'रे'का माध्यमबाट पहिचान गर्न सक्ने सोनर डिभाइस सशस्त्र प्रहरीले त्रिशूलीमा पुर्‍याएको छ।

त्यो पनि आफूसँग नभएकाले "अन्य क्षेत्रबाट" व्यवस्थापन गरिएको न्यौपानेले बताए। तर उनले "त्यो कहाँबाट ल्याइएको हो" भन्ने खुलाउन चाहेनन्।

सशस्त्रले सोमवार उक्त उपकरण र त्यसलाई चलाउने इन्जिनियरसमेत "बाहिरबाटै व्यवस्थापन गरेको" जनाइएको थियो।

तर उक्त सोनर उपकरण चलाउन प्रयोग भएको "मोटर बोट"मा खराबी आएपछि त्यसलाई पनि उपयोग गर्न नसकिएको अधिकारीहरूले बताएका छन्।

न्यौपानेले आफूहरूसँग यस्तो अवस्थामा चाहिने उच्च प्रविधिका आधुनिक उपकरण नभएको कुरा उजागर भएको अस्वीकार गरेनन्।

उनले भने, "रिमोट अपरेटिङ भेहिकल 'आरओभी' भन्ने हुने रहेछ। त्यो हामीसँग छैन। हामीले अब थप उच्च प्रविधिका उपकरणको व्यवस्थापन गर्नुपर्ने यसले देखाएको छ।"

'सोनर उपकरण उपयोगी'

सोनर उपकरण प्रयोग गर्दै सशस्त्र प्रहरी

तस्बिर स्रोत, APF

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारका सूचना अधिकारी जनक पुरीले खोजी कार्यका लागि सोनर उपकरणलाई पुन: प्रयोग गर्ने प्रयास भइरहेको बताए।

सोमवार दिउँसो उनले बीबीसीसँग भने, "अन्य उपकरणले भन्दा सोनर उपकरणले धेरै प्रभावकारी सूचना दिएको छ। यसले पानीमुनिका वस्तुहरू स्पष्ट रूपमा देखाइरहेको छ।"

"यसले 'रे'का माध्यमबाट पानीमुनिका वस्तुहरू देखाउने रहेछ। ड्रोनले वस्तु भएको कुरा देखाउँथ्यो तर यसले त्यो कस्तो आकारको छ पनि देखाउने रहेछ। त्यसले हामीलाई बस पत्ता लाग्ने आशा जागेको छ।"

उनका भनाइमा गेग्र्यान, लेदोसहितको धमिलो र उच्च बहावको पानीमा पनि अन्य उपकरणको तुलनामा सोनर उपकरण प्रभावकारी देखिएको छ।

विज्ञका दृष्टिमा ढिलाइको कारण

नेपाल रेडक्रस सोसाइटीका पूर्वमहामन्त्री तथा विपद्‌‌विज्ञ पिताम्बर अर्याल त्रिशूली घटनाले नेपालले यस्ता विपद्‌मा गर्ने "आकस्मिक प्रतिकार्य" पर्याप्त छैन भन्ने देखाएको बताउँछन्।

उनले भने, "विपद्‌को क्षेत्रमा धेरै सरकारी र गैरसरकारी निकाय लामो समयदेखि काम गरे पनि, अभ्यास गरे पनि 'आकस्मिक प्रतिकार्य'का लागि हाम्रो तयारी अझै पनि पुगेको देखिएन।"

"योजनहरू बने पनि ती दराजमा थन्किएको जस्तो अवस्था भयो।"

उनी नेपालमा तालिम लिएर आएका जनशक्तिहरू यहाँको भूगोलअनुरूप नभएको हुनाले पनि ढिलाइ भएको हुन सक्ने बताउँछन्।

जमेको पानीमा उद्धारबारे तालिम लिएका व्यक्तिहरूले हिमाली र पहाडी क्षेत्रमा गेग्र्यान तथा लेदो मिसएको तीव्र गतिको पानीमा उद्धार गर्न समस्या भएको हुन सक्ने उनको भनाइ छ।

उनले भने, "आकस्मिक प्रतिकार्यबारे धेरै प्रशिक्षण भएका छन्। गोताखोरको तालिम हामीले बाङ्ग्लादेशमा पठाएर गरायौँ तर हाम्रो र बाङ्ग्लादेशको एकै खालको भूगोल होइन।"

"हाम्रो जस्तो गेग्र्यान र लेदो लिएर तीव्र गतिमा बगेको पानीमा हुने खोजी र उद्धार अनि जमेको स्थानको पानीमा एकै खालको हुँदैन। हामीले तयार पार्ने जनशक्ति र प्रशिक्षण हाम्रो अवस्थाअनुसार बनाउनुपर्छ।"

खोजीका लागि प्रयोग गरिएको क्यामरा

तस्बिर स्रोत, EPA

उनले समुद्री सतहमा हुने डुबानको खोजी र उद्धारको तुलनामा नेपालमा निकै फरक हुनुपर्ने भएकाले नयाँ खालको तालिम आवश्यक देखिएको उनको भनाइ छ।

त्यस्तै यसपालि ढिलाइ हुनुमा एउटा कारण विपद् भएकै बेलामा राजनीतिक नेतृत्व नहुनु पनि एउटा कारण हुन सक्ने उनी बताउँछन्।

"यस्तो बेलामा स्थायी सरकार सक्रिय हुनुपर्ने हो तर त्यसमा अलि ध्यान नपुगेको जस्तो देखियो," उनले भने।

त्यस्तै विपद्‌मा खटिने निकायहरूबीच समन्वयको अभाव पनि देखिएको उनले बताए।

अर्यालले भने, "नेपाली सेना र सशस्त्र प्रहरीले यस्तै विपद्‌मा अन्यत्र राम्रो काम गरेर प्रशंसा कमाउने तर नेपालमै गर्न नसक्ने देखिनु राम्रो भएन। त्यसको कारण निकायहरूबीच समन्वय अभाव नै देखियो।"

भारतको सहायता खोज्दै सरकार

यसैबीच गृह मन्त्रालयका एक अधिकारीले उक्त घटना नेपालमा भए पनि शवहरू समेत भारतमा पुगेको पृष्ठभूमिमा भारतीय सहयोग र समन्वय आवश्यक देखिएको भन्दै भारतको पनि सहयोग खोज्न थालिएको पुष्टि गरेका छन्।

मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार नेपाल र भारतका विपद् व्यवस्थापन अधिकारीहरू तथा निकायबीच घटना भएको दिनदेखि नै अनौपचारिक कुराकानी जारी थियो।

सोमवार उनले बीबीसीसँग भने, "आज चाहिँ हामी भारतलाई परराष्ट्र मन्त्रालयमार्फत् औपचारिक रूपमा नै पत्र पठाउँदै छौँ।"

उनका अनुसार नेपालले भारतलाई उच्चतम प्रवधिसहितको उद्धार कार्यका लागि सहयोग तथा शवहरू पत्ता लगाउन आवश्यक समन्वयका लागि औपचारिक पत्र पठाउन लागेको हो।

भूसालले दिएको जानकारी अनुसार परराष्ट्र मन्त्रालयमार्फत् नेपालस्थित भारतीय राजदूतावासलाई पत्र पठाइने छ।

त्यस्तै बाङ्ग्लादेशसँग पनि उच्च प्रविधि तथा जनशक्ति हुन सक्ने भएकाले अनौपचारिक कुराकानी जारी रहेको र आवश्यक परेमा औपचारिक पत्र पठाइने उनले बताए।

'एउटा पाठ'

त्रिशूली नदीमा बस तथा यात्रुको खोजी

तस्बिर स्रोत, RSS

भूसालले त्रिशूलीको अहिलेको घटनाले आगामी दिनमा आउन सक्ने उस्तैखाले विपद्‌का लागि आवश्यक पूर्वतयारी गर्नुपर्ने देखाएको स्वीकार गरे।

उनले भने, "यस्तो अवस्थाका लागि हामी तयारी अवस्थामा बस्नुपर्ने देखिएको छ। सरकारले त्यसैअनुसार योजनाहरू अघि बढाउँछ। विशेष गरी उपकरणहरू आवश्यक पर्ने देखियो।"

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले पनि नेपालमा अहिले रहेको प्रविधि र उपकरणहरू यस्ता विपद्‌का लागि पर्याप्त नभएको देखिएको बताए।

उनले भने, "यो अनपेक्षित घटना हो। तीनचार दिन हुँदा पनि हामीले व्यक्ति र बस फेला पारेनौँ। हामीसँग विद्यमान खोजी उपकरणमा अझै पनि थप्नुपर्छ र अझै हामी परिष्कृत हुनुपर्छ भन्ने अनुभूति भएको छ।"

"जनशक्तिलाई पनि अझ दक्ष बनाउनु पर्छ भन्ने सिकाइ भएको छ। यो महत्त्वपूर्ण सिकाइ भएको हो। अबका नीति र योजनामा हामी यो कुरालाई प्राथमिकतामा राख्छौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।